१६ बैंकका कर्मचारीको तलब बढ्यो, २ बैंकको अर्ब नाघ्यो
काठमाडौं । बैंकका कर्मचारीहरूको तलब तीन महिनामा झण्डै १ अर्ब बढेको छ । गत वर्षको तु्लनामा चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए । यस अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यसपटक १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । तीन महिनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च भने १ अर्बभन्दा बढी रहेको देखिन्छ । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको कर्मचारी खर्च ३६.९६ प्रतिशत अर्थात् २४ करोड ३९ लाख रुपैयाँ बढेको छ । गत वर्ष ६६ करोड रुपैयाँमात्रै कर्मचारीलाई तलब दिएको यस बैंकले यस वर्ष भने ९० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको २६.६९ प्रतिशत बढेर ९४ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको २१.७८ प्रतिशत बढेर ४५ करोड ६७ करोड रुपैयाँ, हिमालयन बैंकको २१.१५ प्रतिशत बढेर ७५ करोड रुपैयाँ, कुमारी बैंकको १८.९१ प्रतिशत बढेर ९६ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई भुक्तानी गरेका छन् । सिद्धार्थ बैंकको १४.९४ प्रतिशत बढेर ६८ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.३३ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ, प्रभु बैंकको १४.२१ प्रतिशत बढेर ९३ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकको १४ प्रतिशत बढेर ४० करोड २७ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् । एभरेष्ट बैंकको १२.९६ प्रतिशत बढेर ४९ करोड ५० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.४४ प्रतिशत बढेर २८ करोड ३६ लाख रुपैयाँ, एनएमबी बैंकको ६.४० प्रतिशत बढेर ५६ करोड २८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२४ प्रतिशत बढेर ७६ करोड ३९ लाख रुपैयाँ तलब भुक्तानी गरेको तथ्याङ्क छ । यस्तै, सिटिजन्स बैंकको २.७९ प्रतिशत बढेर ४० करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकको २.४१ प्रतिशत बढेर ९१ करोड १९ लाख रुपैयाँ, कृषि विकास बैंकको १.९२ प्रतिशत बढेर ८९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । तर, समीक्षा अवधिमा विभिन्न ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले कर्मचारी खर्च घटाएको देखिन्छ । किनभने यस अवधिमा यी बैंकको कर्मचारीलाई भुक्तानी गरेको तलब रकम घटेको छ । ग्लोबल आइएमई बैंकको २३.९२ प्रतिशत घटेर ९३ करोड ३६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८.३१ प्रतिशत घटेर ६० करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ७.०३ प्रतिशत घटेर ३६ करोड ३ लाख रुपैयाँ र नबिल बैंकको ३.७३ प्रतिशत घटेर १ अर्ब ११ करोड रुपैयाँ तलब भुक्तानी गरेका छन् ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट एक खर्ब उठाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १०० अर्ब अर्थात् १ खर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । बैंकले बुधबार बोलकबोल विधिमार्फत् २१ दिनका लागि तरलता खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्न लागेको हो । केन्द्रीय बैंकले यसअघि ८ गते ५० अर्बको निक्षेप संकलन गर्ने भने पनि ९ अर्ब ५० करोड रुपैयाँको मात्र आवेदन प्राप्त भएको छ ।
मेरो माइक्रोफाइनान्सको अध्यक्ष बने पाण्डे र सञ्चालकमा मुलेपती
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याणविक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ । यस अघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमितबाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग हुने भएकोले सञ्चालकमा बस्न पाउँदैनन् । संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिए । पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि : ग्लोबल आइएमई बैंक) समूहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रूपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् । यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि सञ्चालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन्।
कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने- रोकिएको आईपीओ समयमै आउँछ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउन थाल्ने दावी गरेका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै उनले यस्तो दावी गरेका हुन् । अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने पनि बताए । साथै उनले आफ्नो कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । नवनियुक्त अध्यक्ष श्रेष्ठले मंगलबार शपथ लिएका थिए । उनलाई अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराएका हुन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंसमेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहँदै आएको थियाे ।
तोलामा ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता निरन्तर घटेको सुनको मूल्य बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९ सयले सुनको मूल्य बढेको हो । मंगलबारको तुलनामा बुधबार प्रतितोला ९ सयले बढेर सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको तथ्यांकमा उल्लेख छ । मंगलबार प्रतितोला २ हजार ६ सय र सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, बुधबार सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँले बढेर १ लाख ८ सय ३० रुपैयाँ कायम भएको हो ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । ‘दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ’, निर्माण व्यवसायी राजु गौतमले भने । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो । यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताइन् ।
जेमी डिमोनको भविष्यवाणी : हप्तामा साढे तीन दिनमात्र काम, १०० वर्षको जीवन
काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोन कृतिम बौद्धिकता (एआई) लाई लिएर धेरै सकारात्मक छन् । उनी एआईले मानिसको जागिर खोस्ने भविष्यवाणी गलत भएको बताउँछन् । एआईले व्यापारमात्र सुधार नगरी कर्मचारीहरूको कार्यजीवन सन्तुलनमा पनि सुधार गरिरहेको डिमोनको धारणा छ । यसले गर्दा मानिसले हप्ताको कम दिनमात्र काम गरे पुग्नेछ । द फर्च्यूनको रिपोर्टअनुसार डिमोन परम्परागत कामका तरिकाको समर्थक हुन् । जस्तै- कडा परिश्रम र कार्यालयमा काम गर्ने प्रवृत्ति । तर, एआईका कारण आगामी पुस्ताले हप्तामा साढे तीन दिनमात्र काम गर्न सक्ने उनको विश्वास छ । डिमनको यो भविष्यवाणी यस्तो समयमा आएको हो, जब हालै इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिको कामको घण्टाको बारेमा बयान आएको थियो । उनले युवाहरूलाई हप्ताको ७० घण्टा काम गर्न आग्रह गरेका थिए । भविष्यमा मानिसहरू १०० वर्षसम्म बाँच्ने जेमी डिमोन विश्वास गर्छन् कि एआईको मद्दतले कर्मचारीहरूले हप्तामा साढे तीन दिनमात्र काम गर्नेछन् । वर्तमानमा कर्मचारीहरूले जुन काम गर्न ६० प्रतिशतदेखि ७० प्रतिशत समय लिन्छन्, ती काम एआईद्वारा स्वचालित ढंगले सम्पन्न हुनेछन् । उनले भविष्यमा मानिसहरू सय वर्षसम्म बाँच्न सक्ने भविष्यवाणी पनि गरेका छन् । ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा डिमोनले भनेका छन्, ‘तपाईंका बच्चाहरू १०० वर्षसम्म बाँच्नेछन् र प्रविधिका कारण उनीहरूलाई क्यान्सर हुने छैन । सायद उनीहरूले हप्तामा साढे तीन दिनमात्र काम गर्नेछन् ।’ एआईको डर अस्वीकार जेपी मोर्गन अमेरिकाको सबैभन्दा ठूलो बैंक हो । यसले पहिले नै एआईलाई आफ्नो धेरै कार्यमा समावेश गरिसकेको छ । यी कार्यहरूमा गल्ती भेटाउन , व्यापार, अनुसन्धान र हेजिङ समावेश छन् । डिमोनले ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्ताको क्रममा एआई समयसँगै परिवर्तन हुने पनि बताए । धेरै क्षेत्रमा यसले मानिसलाई प्रतिस्थापन गर्ने डर छ । गोल्डम्यान साक्सले प्रविधिका कारण करिब ३० करोड रोजगारी गुम्ने भविष्यवाणी गरेको छ । लगभग एक चौथाई अमेरिकी कामदारहरू डराउँछन् कि एआईले भविष्यमा उनीहरूको जागिर खोस्नेछ । यद्यपि डिमोनले प्रविधिको विकाससँगै समाज परिवर्तन हुँदै गएको र एआईले जीवनस्तरमा सुधार ल्याउन ठूलो अवसर प्रदान गर्ने बताए । जेपी मोर्गन चेस अमेरिकाको मल्टीनेसनल फाइनान्स कम्पनी हो, जसकाे हेडक्वार्टर न्यूयाेर्कमा रहेकाे छ । जेमी डिमोन सन् २००५ देखि यस कम्पनीकाे सीईओकाे रूपमा कार्यरत छन् । (एजेन्सीहरूको सहयाेगमा )
आइसीएफसी फाइनान्सका ग्राहकलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस दिने
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्मतीले उपलब्ध गराउने सेवा मूल्यमा १० प्रतिशत बोनस दिने भएको छ । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वल्र्डबाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङतीको सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको छ । समझदारीअनुसार बैंकका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ ।