आईएमई लाइफ इन्स्योरेन्सको सीईओ बने पवनकुमार खड्का
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरी कम्पनीका सञ्चालक समितिलाई आवश्यक कार्य गर्न जानकारी गराएको थियो । सीईओ खड्कासँग आईएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालीन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जरपश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्च व्यवस्थापकीय पदसहित सीईओ र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्य अनुभव रहेको छ । उनीसँग बीमा, जलविद्युत तथा सिमेन्ट क्षेत्रको कार्य अनुभव रहेको छ । उनीसँग एसीसीए संयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शैक्षिक योग्यता रहेको छ ।
लघु निर्जीवन बीमाको व्यापार २६ करोड बढी, कुनको कति ?
काठमाडाैं । चालु आर्थिक वर्ष (२०८१/०८२) को चार महिना (साउनदेखि कार्तिकसम्म) मा लघु निर्जीवन बीमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका ४ लघु निर्जीवन बीमा कम्पनीले उक्त रकम संकलन गरेका हुन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै पहिलो स्थानमा रहेको छ । यसैगरी, ५ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै ट्रस्ट माइक्रो इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ भने ६ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ट्रस्टलाई पछ्याइरहेको छ ।
रियलमीको सर्भिस सेन्टर अब दाङमा
काठमाडौं । रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो । यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ । काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरुले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सर्पोट जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् । रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ । बिहान १० बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरिय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त सर्भिस सेन्टरबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीले भने, ‘हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई अझै राम्रो सेवा दिने उद्देश्यले हामीले दाङ्गमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसै गरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पुर्याउँदै रहनेछौँ ।’ दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियम पोस्ट पर्चेज सेवा प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । भविष्यमा देशभरनै आफ्ना सर्भिस सेन्टरहरु विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।
निर्जीवन बीमाको व्यापार १४ अर्ब बढी, शीर्षस्थानमा सलिको, तेस्रो स्थानमा झर्यो शिखर
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्न ५ कम्पनी सफल भएका छन् भने अन्य कम्पनीहरूको व्यापार १ अर्बभन्दा कम रहेको छ । १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्नेहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । जसमध्ये सबैभन्दा धेरै सलिकोले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा स्थानमा ओर्लिँदै शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ । विगतमा दिनहरूमा शिखर पहिलो स्थिानमा रहँदै आएको थियो । चालु आवको तेस्रो त्रैमासदेखि शिखर तेस्रो स्थानमा झरेको हो । यस्तैगरी, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ कारेड र आईजीआई इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, दि ओरिन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, यूनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जीआईसीले ७७ करोड ९३ लाख, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न
काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् । यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो । कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो जसमा उनले स्टार्टअपहरुलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए । कार्यक्रमको समापन एनवाईईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठको सम्बोधनबाट भएको थियो । कार्यक्रम बारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको थियो । हाई–टी सेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किङका लागि पनि उपयुक्त वातावरण बनेको थियो । ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० केवल एक प्रतियोगिता मात्र होईन । यो ५ लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि हो । यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको संकेत गरेकोे छ । प्रतियोगिताका आगामी चरणहरू र थप जानकारीका लागि एनवाईईएफका सुचनाहरु निरन्तर अवलोकन गर्न फोरमले अनुरोध गरेको छ । नेपाली स्टार्टअपहरूको महत्वाकांक्षालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता एनवाईईएफले व्यक्त गरेको छ ।
लेखामान बोर्डको अध्यक्षमा ढुङ्गेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त
काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए । सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका थिए ।
रवि लामिछानेलाई आज अपराह्न काठमाडौं लगिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं लगिने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिनेछ । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लामिछानेलाई काठमाडौं लगेर बयान लिइनेछ । सभापति लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको पनि अभियोग छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले पनि लामिछानेलाई आज अपराह्न पोखराबाट काठमाडौं ल्याउन लागिएको बताएको छ ।
८.३ अंकले घट्यो सेयर बजार, सबै उपसमूह राताम्ये
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटी २ हजार ७४८.०५ अंकमा बन्द भएको छ । आज दिनभरिमा ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्राेफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयर काराेबार धेरै भएकाे छ । यस कम्पनीको ३१ करोड ८ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, नेपाल फाइनान्स लिमिटेडकाे २९ करोड ७४ लाख १९ हजार, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे २७ करोड ९४ लाख २४ हजार, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २३ करोड १६ लाख ४४ हजार सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै उपसमूह राताम्ये छन् ।