म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष दाहाल
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् । बेनी नगरपालिका-४ सिङ्गा र तातोपानीमा आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ भने । ‘छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ’, उनले भने, ‘त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी-दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।’ पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको रु दुई करोड बजेटबाट रु १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे । उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका-४ का वडाध्यक्ष अणबहादुर खड्का(भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए । साथै अध्यक्ष दाहालले बेनी नगरपालिका-४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन्। सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए । सिङ्गामा स्थानीय किसानको गुनासो सुनेका थिए। किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु सात अर्ब बजेट विनियोजन गरेको जनाउर्दै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
३० प्रतिशत लाभांश दिने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
क्यान्सरको न्युनिकरण गर्दै निवारणको स्थितिमा पुग्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताए । उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए । पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको जानकारी दिए । ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ,’ उनले भने । मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा बृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए । ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल-टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रालिको तर्फबाट कर्पोरेट म्यानेजर, सुबास पौडेलको समेत उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु
भोजपुर । भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको उद्घाटन गरेका हुन् । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । २२.७ किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख रुपैयाँ लागतमा गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताए । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ । अध्यक्ष राईका अनुसार दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ । निर्माण कम्पनीका प्रतिनिधि दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताए । सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ । दूधकोशी चुहार–फलामढुङ्गा–घोरेटार सडक निर्माणले जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी–५ होम्ताङका स्थानीय एक्सन राईले बताए । सडक निर्माणपश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उनले सुनाए । रासस
गोलभेँडा किलोको २५ रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री, बजारीकरण पनि सहज
पाल्पा । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो । यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको छ, अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ,’ उनले भने । रैनादेवीछहरा गाउँपालिकामा चार सय ५२ हेक्टर क्षेत्रफलमा तीन हजार छ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा तीन सय ९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन, बगनासकालीमा एक सय १३ हेक्टरमा नौ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा सात सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार एक सय ९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार एक सय ३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । जिल्लाका दश पालिकामध्ये छवटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् । रासस