विकासन्युज

भारतमा आँधीका कारण विद्यालय बन्द, तमिलनाडुमा अवतरण गर्ने

काठमाडौं । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिएका छन् । साथै, सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ । चक्रवात फेङ्गलले ७०÷८० किलोमिटर प्रतिघण्टाको हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्यूरोले जनाएको छ । पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ । तमिलनाडुका धेरै जिल्लाहरूमा विद्यालय तथा कलेजहरू बन्द गरिनुका साथै कम्तिमा ४७१ जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ । पछिल्लो समयमा चक्रवातहरू–उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रुपमा देखा परेका छन् । यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले ६ जना बालबालिका सहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो । वैज्ञानिकहरूले जीवाश्म ईन्धनहरू जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुदाँ आँधी बेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।

एनपीएलको अफिसियल अम्पायर पार्टनर नेपाल पे, खड्का र प्रधानले गरे सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे, नेपालको आफ्नै क्यूआर बनेको छ । एनपीएल २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे हुने गरी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको हो । क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको पहिलो क्रिकेट लिग एनपीएल आजदेखि टियूको क्रिकेट मैदानमा शुरु हुँदैछ । राष्ट्रिय स्तरको भुक्तानीका पूर्वाधारहरू प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको हो । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नृपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।

ग्लोबल आइएमई बैंक बन्यो सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकका डीसीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ‘बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्‍याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं,’ पोखरेलले भने । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ । सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।

क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्ने छन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् । सधै अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् । त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्ने छन् । १२५ रुपैयाँमा ३ दिन, १९९ रुपैयाँमा ७ दिन र ९९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ । भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि १४९ रुपैयाँ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । माथि उल्लेखित सधंै अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् । यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १०० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँनेछन् । त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो । नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुरÞ्याउने विश्वास लिईएको छ ।

पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरियो

काठमाडौं । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो । शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको थियो । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । बालाचतुर्दशीको पशुपतिनाथ मेला समापन गर्न पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका छन् । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ । धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन् । ‘भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,’ उनले भने । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारणा गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीयरुपमा दीपदान एवं शतबीज रोपण गर्ने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । तर कूल परम्पराअनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ । धेरै भक्तजनले कोषले सार्वजनिक गरेको कार्यतलिका अनुसार नै शतबीज छरेका छन् ।

सुपर काबेली राष्ट्रिय प्रसारणमा जोडिँदै, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक मुख्य लगानीकर्ता

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा-८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत गृहबाट अमरपुर सब-स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । वि.सं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ । करिब २ अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक भई वित्तीय व्यवस्थापन गरेको थियो । यो आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१.१३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । कामपाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महाबौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चाबहिलको स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । नसर्ने रोग पहिचानका लागि परीक्षण महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने जनाएको छ । विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गत वैशाख महिनामा दृष्टि (आँखा तथा वातावरण), जेठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थ्यकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भइसकेका छन् । मङ्सिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वासप्रश्वास तथा अन्य जटिल दीर्घरोग, माघमा मादकपदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।

घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

काठमाडौं । बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेपछि दुई वर्षदेखि बरेङ ‘शून्य होमडेलिभरी’ बनेको हो । आर्थिक वर्ष २०८०÷८१ मा गाउँपालिकाले पाँचवटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरेपछि गर्भवती सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउने गरेका छन् । महिलामा स्वास्थ्य सचेतना बढ्दै गएपछि कोही पनि गर्भवती महिला घरमा सुत्केरी नहुने बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिए । गाउँपालिकाले ‘शून्य होमडेलिभरी’ बनाउनका लागि कार्यविधिनै बनाएर लागेको जनाउँदै प्रत्येक महिना स्वास्थ्यकर्मी गर्भवतीका घरमा पुगेर गर्भ जाँच गर्ने र परिवारका सबै सदस्यलाई समेत सचेत गराउने गरेको उजको भनाइ छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई सरकारले दिन २८ यसबाहेक थप १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म यातायात खर्च दिने गरेको प्रमुख पुनले बताए । गत वर्ष पालिकाभर १३३ जनामा गर्भवतीमध्ये ७० जना गाउँपालिकाभित्रको बर्थिङ सेन्टरमा र अन्य सुविधा सम्पन्न अस्पतालमा पुगेर सुरक्षित सुत्केरी भएको उनको भनाइ छ । गाउँपालिकाले ‘पोषिलो नाङ्लो’ कार्यक्रममा र ‘पोषिलो झोला’ कार्यक्रम सञ्चालन गरेपछि स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने चेतनाको वृद्धि भएको पुन बताउँछन् । ‘पहिला घरमै सुत्केरी हुने चलन थियो, अहिले त्यो पूर्णरुपमा अन्त्य गरेका छौँ, यस वर्ष ‘पोषिलो झोला’ कार्यक्रम छ, यस कार्यक्रममा झोलामा सुत्केरीलाई चाहिने पोषिलो खाने कुरा हुन्छ, स्वास्थ्य चेतनासम्बन्धी किताब र पोस्टर हुन्छन्, अर्को ‘पोषिलो नाङ्लो’ कार्यक्रम पनि छ, यो कार्यक्रमअन्तर्गत सुत्केरीलाई एक नाङ्लो पोषिलो र स्वास्थ्यवद्र्धक स्थानीय उत्पादन दिने गरेका छौँ,’ उनले भने । प्रमुख पुनले गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने नसक्ने र शल्यक्रिया गर्नुपर्ने महिलालाई थप ५ हजार रुपैयाँ यातायात खर्च दिने गरेको बताए । वडामै पुगेर भिडियो एक्सरे गर्दानै सामान्य सुत्केरी हुने र शल्यक्रिया गर्नुपर्छ कि पर्दैन भन्ने थाहा हुने हुँदा त्यहीअनुसार गर्भवतीलाई जानकारी गराउने उनको भनाइ छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले ‘शून्य होमडेलिभरी’ बनाउनका लागि सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र आवश्यक उपकरण तथा औषधि व्यवस्थापन गरेको बताए । आर्थिक अवस्था कमजोर भएर कारण घरमै सुत्केरी हुने महिलालाई गाउँपालिकाले आर्थिक सहयोग गरेर स्वास्थ्य संस्थामा ल्याउने काम गरेको उनको भनाइ छ ।