उपनिर्वाचन : ४१ पदका लागि ३७६ जनाको प्रतिस्पर्धा, दुई दिनभित्रै मतपरिणाम
काठमाडौं । आज देशभरका विभिन्न ठाउँमा स्थनीय तहको उपनिर्वाचन भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण ढंगबाट अगाडि बढिरहेको बताइएको छ । विभिन्न ठाउँमा ४१ पदका लागि ३७६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट ३७६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । विभिन्न ठाउँमा भइरहेको मतदान शान्तिपूर्ण ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको र शान्तिपूर्ण ढंगबाट भइरहेको बताए । अहिले उपनिर्वाचनलाई लक्षित गर्दै नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेका छन् । उनीहरु आफ्ना समथर्थकलाई मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन् । निर्वाचन आयोगले दुई दिनभित्र निर्वाचनको मतपरिणाम आइसक्ने जानकारी दिएको छ ।
लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ६ करोड १० लाख १८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव पियुस राज अर्यालले जानकारी दिए । यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
युनिक नेपाल लघुवित्तले लाभांश नदिने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । मंसिर १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
कालीकोट-जुम्ला सडक १३ घण्टा बन्द
मान्म । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले बताए । ‘मङ्सिर १६ गते आइतबार बिहान ५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ’, उनले भने, ‘स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।’ तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । ‘निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ’, उनले भने, ‘वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।’
हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य
काठमाडौं । हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो । क्रिकेटमार्फत सम्पूर्ण युवाहरूलाई फिटनेस र टिमवर्कप्रति जागरूक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन सदैव सहयोग रहने यस कम्पनीको भनाई छ । हाइलाइफका विभिन्न खाद्य वस्तुहरूमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरूलाई जोड्न समेत यस कम्पनीको ब्रान्डहरूको विशेष भूमिका रहेको छ । कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरूमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरहरूका साथै विदेशमा हङकङ, मकाउ लगायतका देशहरूमा विक्री वितरण हुँदै आइरहेको भने अस्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा विराटनगरमा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् भने प्रमुख अतिथिले निर्जीवन बीमाको क्षेत्रमा भन्झट रहित दावी भुक्तानी प्रकृया सहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गरे । कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघ सँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।
ज्योति विकास बैंकका ग्राहकलाई ‘हमर फिटनेस’ मा छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित हमर फिटनेस एण्ड जिममा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितको जिमले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ । हालै बैंकले काठमाडौंस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन् । ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो । यस्तै स्व. सञ्जय न्यौपाने रिसर्च ग्राण्ट अवार्ड क्यापिटल नेपाल डटकमका सुवास योञ्जनले पाएका छन् । शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ। साथै शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे । प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् । डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे । सो अवसरमा स्वर्णिय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।