ऋणको दलदलमा भासिँदै अमेरिका, ट्रम्प र मस्कले जोगाउलान् डलरको सान ?
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिका तीव्र गतिमा ऋणको भारमा थिचिँदै गएको बताएका छन् । उनको भनाइले सारा अमेरिका तर्सिएको छ । उनले यो समस्या समाधान नभए डलरको मूल्य नरहने चेतावनीसमेत दिए । इकोनोमिक टाइम्सका अनुसार अमेरिकी मुद्रा डलरले आगामी दिनमा ठूलो झट्का सामना गर्न सक्नेछ । किनभने अमेरिकामा ऋणको बोझ लगातार बढिरहेको छ । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्नुअघि नै अमेरिकाको ऋण रेकर्ड स्तरमा पुगेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको हो । यो वर्ष दुई ट्रिलियन डलरले ऋण बढेको छ । जीडीपीको प्रतिशतको रूपमा घाटा खर्च दोस्रो विश्वयुद्धको स्तरमा पुगेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन । २४ वर्षमा ६ गुणा ऋण बढ्यो पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो । यो २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन थियो । यूएस कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । देशको ऋण जीडीपीको करिब १२५ प्रतिशत छ। अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट छ । तत्काल आवश्यक उपायहरू नअपनाएको खण्डमा अमेरिकाको अर्थतन्त्र धरासायी हुनेछ । के मस्क र ट्रम्पले बचाउलान् ? एलन मस्क र डोनाल्ड ट्रम्पबीचको मित्रताबारे सबैलाई थाहा छ । मस्कले चुनावमा ट्रम्पलाई खुलेरै समर्थन गरेका थिए । चुनाव जितेपछि ट्रम्पले मस्कलाई पुरस्कार पनि दिएका थिए । ट्रम्पले ट्रम्प र विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखको रूपमा नियुक्त गरे । यस विभागको काम अनियन्त्रित सरकारी खर्च कटौती गर्ने हो । अमेरिकाको ब्याज भुक्तानी अमेरिकी सेनामा खर्च गर्नेभन्दा बढी भएको मस्क बताउँछन् । उनले यसलाई ठूलो समस्या भनेका छन् । मस्कले अत्यधिक सरकारी खर्चले मुद्रास्फीति निम्त्याउने दाबी पनि गरे । यसलाई सकेसम्म चाँडो समाधान गर्न आवश्यक छ । अन्यथा, डलरको बल छोटो समयमा उल्लेखनीय रूपमा कमजोर हुनेछ । अब डीओजीईले के-कसरी काम गर्छ, त्यो भने हेर्न बाँकी छ ।
राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढि रुचाईएको बैंक बनाउन आग्रह गरेका हुन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दावी गरे । यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताए । साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै सीईओले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैंकले आफ्ना सूचकहरुलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए ।
ओमानसँगको व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर पुर्याउने टर्किएको लक्ष्य, १० सम्झौतामा हस्ताक्षर
काठमाडौं । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पुर्याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताए । यद्यपि यस चरणको समयावधि तोकिएको छैन । एर्दोगानले ओमानी सुल्तान हैथम बिन तारिक अल सइदसँग अंकारामा भएको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । टर्कीका ठेकेदार कम्पनीहरूले ओमानमा हालसम्म ७ अर्ब डलरको परियोजना पूरा गरिसकेको एर्दोगानले बताए । आफ्नो पक्षबाट टर्किए भ्रमण गर्ने पहिलो ओमानी राज्य प्रमुख हैथमले क्षेत्रीय सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए । हैथमको भ्रमणका क्रममा दुवै पक्षले लगानी, कृषि, स्वास्थ्य, श्रम, संस्कृति, कुटनीति, केन्द्रीय बैंक तथा साना तथा मझौला उद्यमहरूबीचको सहकार्यलगायतका प्रमुख क्षेत्रहरूलाई समेट्ने १० वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
निर्धन उत्थान लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा/नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरू अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरू स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घट्यो
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ । देशको केन्द्रीय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ४३ करोड डलरले घटेर ५६६.७९१ अर्ब डलर पुगेको भारतीय रिजर्भ बैंकले जनाएको छ । तर समग्र सुनको सञ्चिति १ अर्ब ८२८ करोड डलरले बढेर ६७ अर्ब ५७३ करोड डलर पुगेको छ । अघिल्लो साता (नोभेम्बर १५ मा समाप्त भएको) मा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ बिलियन डलरले घटेको थियो । जसलाई एक सातामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट भनिएको थियो । सेप्टेम्बरमा ७०४.८८५ बिलियन डलरको सर्वकालीन उच्चमा पुगेको विदेशी मुद्रा सञ्चिति धेरै सातादेखि घट्दै गइरहेको थियो ।
समृद्धि फाइनान्सको सीईओमा लोहोनी पुन: नियुक्त
काठमाडाैं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको यसअघिको कार्यकाल मङ्सिर १४ गते सकिएको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले लोहनीलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।
सिटी होटलले ऋण तिर्न हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रदसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गरिने होटलले जनाएको छ ।
सानिमा रिलायन्स लाईफले सुरु गर्यो पुनर्जागरण अभियान
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।