रास्वपाका सभापति लामिछानेको बयान सकियो
वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए ।
तोलामा २ हजारले बढ्यो सुन
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा बुधबार प्रतितोला सुनमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मंगललबार एकतोला सुन एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा कैलाश खड्का निर्वाचित
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् । महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए । नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । महासंघमा आबद्ध सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको भन्दै उनले समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको उनले बताए । कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट नभएको भन्दै उनले व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी नराख्ने उनले बताए । अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँ कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । महाधिवेशनले महासंघको प्रगति र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हो ।
एचआईडीसीएलको लाभांश घोषणा
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंसिर २६ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज मंसिर २६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । उक्त मुनाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।
१० प्रतिशत लाभांश वितरण गर्ने कालिका लघुवित्तको घोषणा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ३७ करोड २३ लाख २१ हजार ७३९.५१ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको प्रस्तावबमोजिम ९.५ प्रतिशतले हुन आउने ३ करोड ५३ लाख ७० हजार ५६५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनर्थ ०.५ प्रतिशतले हुन आउने १८ लाख ६१ हजार ६०८.७० रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, होटल तथा रेष्टुरेन्ट लगायतका संस्था तथा कम्पनीहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायसाथ ती संस्था तथा कम्पनीसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस विकास बैंकका ग्राहक तथा कर्मचारीका लागि लाभदायि बन्ने अपेक्षा गरिएको छ । नयाँ सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बताइएको छ । महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीले छुट पाउने विभिन्न कम्पनी तथा संस्थाहरु यसप्रकार रहेका छन् : १ काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावर (वन्डर्स नेपालप्रा.लि.) टावर प्रवेशमा १५ प्रतिशत छुट २ काठमाडौंको विशालनगरस्थित चेरिस गु्पको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट ३ ललितपुरको सानेपास्थित अमैचामा कपडा खरिद गर्दा १० प्रतिशत छुट ४ ललितपुरको भैंसेपाटीस्थित मलाला युनिसेक्स सैलुनमा ब्युटिसियन सेवामा १० प्रतिशत छुट यस्तो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ पनि सञ्चालनमा ल्याएको छ ।