वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै २८ लाख ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौं–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट सात लाख रुपैयाँ, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट १६ लाख पाँच हजार रुपैयाँ तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट पाँच लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ प्रहरीले मधुलाई काठमाडौंको टोखा–६ बाट र गीतालाई काठमाडौं–२८ बाट तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
अर्बपति अडानी श्रीलंकामा बन्दरगाह बनाउने योजनाबाट पछि हटे, अमेरिकाको सहयोग नलिने
काठमाडौं । अमेरिकी अदालतमा घुसखोरीको आरोपको सामना गरेका गौतम अडानी बन्दरगाह परियोजनाबाट पछि हटेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अडानी पोर्ट्सले श्रीलंकामा आफ्नो एउटा बन्दरगाह परियोजनामा अमेरिकाको सहयोग नलिने बताएको हो । यस आयोजनाका लागि कम्पनीले आफ्नै स्रोत परिचालन गर्ने जनाएको छ । अडानी समूहको कम्पनी अडानी पोर्ट्स र स्पेसल इकोनोमिक जोन (एपीएसईजेठ) श्रीलंकामा कोलम्बो वेस्ट इन्टरनेसनल टर्मिनल (सीडब्ल्यूआईटी) परियोजनामा काम गरिरहेको छ । यो आयोजनाका लागि कम्पनीले अमेरिकी कम्पनी युएस डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी)सँग ५५३ मिलियन डलर ऋणका लागि वार्ता गरिरहेको थियो । तर, अब अडानी पोर्टले यो ऋण अनुरोध फिर्ता लिएको छ । गत वर्ष सम्झौता एपीएसईजेठ र डीएफसीबीच गत वर्ष नोभेम्बरमा ५५३ मिलियन ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । एक डीएफसी प्रवक्ताले लेनदेन २०२३ मा स्वीकृत भएको तर कुनै कोष वितरण नभएको जानकारी दिए । अब कम्पनीले के गर्ला ? इकोनोमिक टाइम्सका अनुसार अडानी पोर्ट्सले मंगलबार राति आफ्नो स्टक एक्सचेन्ज फाइलिङमा यो जानकारी दिएको हो । कम्पनीले डीएफसीसँग रकमको लागि अनुरोध फिर्ता लिएको बताएको छ । अब यो आयोजनाका लागि आन्तरिक स्रोत परिचालन गर्ने कम्पनीले जनाएको छ । यसका लागि आन्तरिक स्रोत र पूँजी व्यवस्थापन रणनीति अवलम्बन गरिनेछ । कम्पनीका अनुसार श्रीलंकामा सीडब्ल्यूआईटी परियोजनाको काम तीव्र गतिमा भइरहेको छ । यहाँ नयाँ टर्मिनलको काम भइरहेको छ । आगामी वर्षको सुरुदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सीडब्ल्यूआईटी परियोजना के हो? यो परियोजना अडानी पोर्ट्स र श्रीलंकाली समूह जोन केल्स होल्डिङ्सले निर्माण गरिरहेको छ । यसका लागि अडानी पोर्ट्सले श्रीलंका पोर्ट्स अथोरिटी र जोन किल्स होल्डिङ्ससँग सम्झौता गरेको थियो । यो परियोजना सेप्टेम्बर २०२१ मा सुरु भएको हो । यसले कोलम्बो पोर्टको क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । सीडब्ल्यूआईटी श्रीलंकाको सबैभन्दा ठूलो र गहिरो कन्टेनर टर्मिनल हुनेछ । यसको लम्बाइ एक हजार ४०० मिटर र गहिराई २० मिटर हुने बताइएको छ । कोलम्बो बन्दरगाह हिन्द महासागरको सबैभन्दा ठूलो र व्यस्त ट्रान्स-शिपमेन्ट पोर्ट हो । यसको क्षमतालाई ध्यानमा राख्दै यसको विस्तारको आवश्यकता महसुस भएको थियो । यस नयाँ टर्मिनलको वार्षिक कार्गो ह्यान्डलिङ क्षमता ३२ लाखभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
चिनियाँ ह्याकर खोज्नेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले मङ्गलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ । विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मङ्गलबार मुद्दा खोलिएको थियो । अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका सह–षड्यन्त्रकारीहरूले कथित रूपमा बेलायतमा आधारित साइबर सुरक्षा कम्पनी सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएका थिए । ‘प्रतिवादी र उनका सह–षड्यन्त्रकारीहरूले विश्वभरका दशौँ हजार नेटवर्क सुरक्षा उपकरणमा क्षति पुर्याउने गरी आक्रमण गरे, जसका कारण उनीहरू विश्वभरका प्रयोगकर्ताहरूको डाटा चोर्न सफल भए’, उप महान्यायाधिवक्ता लिसा मोनाकोले विज्ञप्तिमा भने । सन् २०२० को अप्रिलमा विश्वभरका ८१ हजार फायरवाल उपकरणमा एकै समयमा आक्रमण गरिएको थियो, जसको उद्देश्य प्रयोगकर्ता नाम र पासवर्ड लगायत डाटा चोर्नु र रानसमवेयरद्वारा कम्प्युटरहरूलाई सङ्क्रमित गर्नु थियो । अमेरिकाका करिब २३ हजार फायरवाल उपकरण थिए, तीमध्ये ३६ वटा ‘महत्त्वपूर्ण पूर्वाधार कम्पनीका प्रणालीहरू’ सुरक्षित गरिरहेका थिए । ‘गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूले फेला पारेको र दोहन गरेको जिरो–डे कमजोरीले अमेरिकाका व्यावसायिक संस्थाहरूलाई असर पार्यो’, एफबीआई एजेन्ट हर्बर्ट स्टापलेटनले भने, ‘यदि सोफोसले द्रुत रूपमा कमजोरीको पहिचान र व्यापक प्रतिक्रिया तैनाथ नगरेको भए क्षति अझ गम्भीर हुन सक्थ्यो ।’ अभियोगअनुसार सिचुआन साइलेन्सले आफ्ना सेवाहरू र ह्याकिङबाट प्राप्त डाटालाई चिनियाँ व्यवसाय र सार्वजनिक सुरक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई बेचेको थियो । सिचुआन साइलेन्समा दर्ता गरिएको फोन नम्बरमा कलको जवाफ दिने एक व्यक्तिले कम्पनीले ‘अन्तर्वार्ता स्वीकार नगरेको’ र प्रतिबन्धहरूमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । आफ्नो परिचय नदिने ती व्यक्तिले गुआनसँग ‘सम्पर्क गर्न असम्भव छ’ भने ।
खाद्य कम्पनी सिरहाले सुरु गर्यो धान खरिद, कुन धानको मूल्य कति ?
सिरहा । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले बुधबारदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान वर्षेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । उनका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल ४ हजार २ सय रुपैयाँ तोकेको छ । जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताए । ‘सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठकबाट निर्णय गरी आजदेखि खरिद प्रक्रिया सुरु गरिएको छ । खाद्य कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर ल्याइएका धानको चेकमार्फत किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । प्रमुख सुनारका अनुसार प्रतिकिसान अधिकतम एक सय क्विन्टल धान कम्पनीले खरिद गर्नेछ । सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयमा किसानको धान खरिद गरिने खाद्य कम्पनीले जनाएको छ । सरकारले दिने मूल्यभन्दा स्थानीय व्यापारीले दिने मूल्य बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताए । किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उनको भनाइ छ ।
काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागिएको जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले तीन फिडरअन्तर्गत क्षेत्रहरुमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो । बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । प्राधिकरणका अनुसार शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ भने पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मैत्रीनगर इशानेश्वर मन्दिर क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यसैगरी, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमूलको दोभान पुल क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले लगायो मुद्दा
काठमाडौं । सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले उनी विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए । अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई गोंगबुको भोकमन्त्रमा छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहक र कर्मचारीहरुलाई काठमाडौंको गोंगबुस्थित भोकमन्त्रका विभिन्न सेवाहरुमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्ड वाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा पनि प्राप्त गर्न सकिने बताइएको छ । हालै विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । उक्त भर्चुअल क्रेडिट कार्डमा भौतिक कार्ड बिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्नसक्ने सुविधा रहेको बैंकले बताएकाे छ ।
आईसीटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य
काठमाडौं । आईसीटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आईसीटी अवार्डका लागि दुई संस्थाबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यसँगै ‘आईसीटी अवार्ड २०२४’ मा फोर्टिनेट सेक्युरिटी पार्टनरका रूपमा रहने छ । नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गर्न उत्साहित भएको र यसले आईसीटी इकोसिस्टमलाई अझै बलियो बनाउन सहयोग गर्ने फोर्टिनेट नेपाल प्रमुख सविन उपाध्यायले बताए । २० वर्ष अगाडि स्थापना भएको फोर्टिनेट ग्लोबल साइबर सेक्युरिटी कम्पनी हो, जसले नेपालमा समेत सेवा प्रदान गरिरहेको छ । ८ लाख बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीसँग १ हजार ३७१ ग्लोबल प्याटेन्ट रहेका छन् ।