विकासन्युज

राजश्व संकलनमा १७ प्रतिशतको वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानको लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताए । अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौं । मूल्यवृद्धिलाई सिमाभित्र राख्न सफल भएका छौं ।’ सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरू चाल्दै गएको समेत अर्थमन्त्री पौडेलको भनाइ छ । उनले अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचकहरु सरकारको कामको परिमाण भएको समेत दाबी गरे । ‘बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव थिएन,’ उनले थपे, ‘ब्याजदर एकल अंकमा ल्याउनका लागि सरकारले केही काम गरेको छ ।’ गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजश्व संकलन दर चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशत पुगेको छ । अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा समेत बढेको छ । यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उनको भनाइ छ । उनले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्चरुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए । अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने, उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानु पर्नेमा जोड दिए ।

दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा झरेको छ । सोमबार १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । साथै, ३०४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको २६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १८ करोड ४९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १५ करोड २३ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सबै उपसमूह राताम्मे रहेको नेप्सेले जनाएको छ ।

सीएनआईवाईईएफको ‘सिनर्जी’ सम्मेलन : उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको बदलिँदो व्यावसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकमा उद्यमीहरूका लागि धेरै अवसर रहेको बताउँदै अग्रवालले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यावसायिक जीवनमा सफलता हासिल हुने उनको भनाइ छ । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताए । सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरूको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीहरूका लागि महत्त्वपूर्ण भएकाले सम्मेलन आयोजना गरिएको बताए । सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरूको प्रबर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

उपकार लघुवित्तले लाभांश नदिने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ । कम्पनी सञ्चालक समितिको १ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले सेयर दाखिला खारेज ८ पुस र छैटौं वार्षिक साधारणसभा २४ पुसमा तोकेको छ ।

खुम्बुमा हेलिकप्टर उडान रोकको विषयले तीन निकायबीच टकराव, मन्त्रालय मूकदर्शक

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने विषय झन् पेचिलो बन्दै गएको छ । यस विषयमा उड्ययन कम्पनीहरूले असन्तुष्टि जनाउँदै आएका छन् । गत शुक्रबार वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति नै जारी गरेर उडानलाई नरोक्ने र निरन्तरता दिने बताएकाे थियो । संघले विज्ञप्तिमार्फत् ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य नभएको उल्लेख गरेको छ । वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की निकुञ्जले प्रक्रिया बाहिर रहेर गरेको निर्णय मान्न बाध्यकारी नहुने बताउँछन् । ‘उडान क-कसले रोक्न पाउँछ भन्ने ऐनमै व्यवस्था छ, त्यसअन्तर्गत निकुञ्जको अधिकारमा उडान रोक्ने अधिकार छैन,’ उनले भने । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले पनि शुक्रबार नै प्रेस विज्ञप्ति नै जारी गरेर निकुञ्जको परिपत्रसम्बन्धमा आपत्ति जनाएकाे छ । क्यानले उक्त क्षेत्रमा हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म निर्वाध रूपमै व्यावसायिक उडान सञ्चालन गर्न/गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई जानकारी गराएको छ । क्यानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीलगायतका कानुनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको सो पत्राचारको कुनै पनि कानूनी आधार र औचित्य नभएको दाबी गरेको छ । ‘निकुञ्ज कार्यालयले प्राधिकरणको नियमन दायरामा रहेका ११ वटा हेलिकप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थानको संरक्षण, ध्वनि प्रदूषण नियन्त्रण र खुम्बु क्षेत्रको व्यापार, व्यवसाय तथा रोजगारी व्यवस्थापन गर्ने भन्दै हेलिकप्टरको उडानमा पूर्णरूपमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । गत साता सगरमाथा राष्ट्रिय निकुञ्जले सन् २०२५ को सुरुदेखि हेलिकप्टर कम्पनीहरूलाई उद्धारबाहेकका काममा करिब चार हजार क्षेत्रमाथि उडान गर्न रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार नै निकुञ्जले वायुसेवा कम्पनीलाई पत्रचार गरेको थियो । एउटा निकायले उडान रोक्न पत्राचार गर्नु र अर्कोले नमान्ने निर्णयले दुई निकायबीच विवाद चर्किने सम्भावना बढेर गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख सुष्मा रानाले वन्यजन्तुको संरक्षण र हीतको लागि खुम्बु क्षेत्रमा हेलिकप्टर उडानलाई रोक्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘हेलिकप्टरले ध्वनि प्रदूषण बढाएको छ, वन्यजन्तुलाई क्षति पुगेको छ भने उनीहरूको बानीबेहोरा अनि आनीबानीलाई नै परिवर्तन गरिदिएको छ ।’ निकुञ्जका प्रमुख राणाले हेलिकप्टर उडानले त्यस क्षेत्रवरिपरि वातावरणमा समेत प्रदूषण बढेकोले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको सुनाइन् ।रानाले हेलिकप्टर ल्याण्ड गर्ने क्षेत्रमा नागरिक उड्ययन प्राधिकरणले कुनै पनि सुरक्षाको व्यवस्था नगरेको बताइन् । ‘हाम्रो क्षेत्रभित्र जथाभावी ल्याण्डिङ भइरहेको छ, त्यसमा प्राधिकरणले सुरक्षाको कुनै व्यवस्था गरेको छैन । उडाउने आकाश सबैको साझा भएपनि ल्याण्डिङ गर्ने क्षेत्र हाम्रो हो, हामीले त्यही अधिकारभित्रै रहेर यस्तो निर्णय गरेका हौं,’ उनले भनिन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेद कुमार ढकालले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने विषयमा सगरमाथा राष्ट्रिय निकुञ्जले कुनै सहकार्य नगरी निर्णय गरेको बताए । प्रवक्ता ढकालले यस विषयमा मन्त्रालयमा छलफल हुन लागेको र त्यसपछि मात्रै आधिकारिक धारणा सार्वजनिक हुने जानकारी दिए । ‘उडान रोक्ने निर्णय हाम्रो अधिकारभित्र छैन, सगरमाथा निकुञ्जले वायुसेवा सञ्चालक संघलाई जसरी पत्रचार गरेकाे छ, त्यस विषयमा हामी छलफल गर्दैछौं । अब दुई/तीनभित्रै त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्छौं,’ उनले भने । यस विषयमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय भने मूकदर्शक बनेको छ । सबै निकायलाई राखेर समस्याको समाधान गर्नुको साटाे मन्त्रालय यस विषयमा मौन रहेर रमिते बनेको छ ।

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर । ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्न अनुरोध छ ।’ काठमाडौं उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ । तर कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि वाग्मती नदीको देब्रेपट्टिको लेनमा वर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ । पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन् । बर्खाका बेला जमेको पानी अझै हटेको छैन । दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ । उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन् । पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनले भने, ‘बागमती कारिडोरको स्तरोन्नति र वाग्मती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हो तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन ।’ कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठ सुनाउँछन् । उनी भन्छन्, ‘वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवारी निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट व्यहोर्नु परिरहेको छ ।’

राष्ट्रिय बीमा कम्पनीको साधारण सभा पुस २४ गते हुने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पुस २४ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औं बैठकले काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बीमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।