घट्यो सेयर बजार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । नेप्सेकाअनुसार ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । साथै, ३१४ वटा कम्पनीको ८१ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, रिभर फल्स पावरको १२ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख, सिकलेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज उपकार लघुवित्त वित्तिय संस्था र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।साथै, ३ वटा उपसमूहमा बाहेक सबै उपसमूह राताम्मे रहेका छन् । वित्त समूह १.०७, लघुवित्त समूह ०.०९ र व्यापार समूह ०.५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३६, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०,३६, लगानी ०.३२ र जीवन बिमा समूह ०.३३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.३२, म्युचुअल फण्ड ०.२६, निर्जीवन बिमा ०.१४ र अन्य समूह ०.३७ अंकले घटेको नेप्सेले जनाएको छ ।
यूएसएआईडीको सहकार्यमा एनएमबि बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू छलफलमा सहभागी भएका थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआएको छ ।
एमजीले विन्टर एक्सचेन्ज कार्निवल- २०२४ को आयोजना गर्ने, १० लाखसम्मको एक्सचेन्ज बोनस
काठमाडौं । एमजी विन्टर एक्सचेन्ज कार्निवल- २०२४ को आयोजना हुने भएको छ । डिसेम्बर २० देखि २२ सम्म (पुस ५-७) सिल्भर ओक, बालुवाटारमा कार्निवल आयोजना हुन लागेको हो । कार्निवलले एमजी, माज्दा, म्याक्सस र वुलिङजस्ता प्रमुख लक्जरी अटोमोबाइल ब्रान्डहरू प्रदर्शन गर्ने जनाइएको छ । प्यारामाउन्ट मोटर्सले कार्निवलको आयोजना गर्न लागेको हो । कार्निवलमा विशेष एक्सचेन्ज अफर राखिने आयोजकले जनाएको छ । यसअन्तर्गत कुनै पनि लक्जरी सवारीसाधनमा अपग्रेड गर्दा १० लाखसम्मको एक्सचेन्ज बोनससहित एक्सचेन्ज मूल्य पाउन सकिने जनाइएको छ । यसैगरी, तुरुन्तै सवारीसाधन खरीदका लागि सहज र छिटो वित्तीय सेवा उपलब्ध हुनेछ । एमजी, माज्दा, म्याक्सस र वुलिङका प्रिमियम सवारीसाधनहरू चलाउने मौका पनि कार्निवलमा राखिनेछ । वातावरणलाई रोमाञ्चक बनाउन सांगीतिक कार्यक्रम र विभिन्न प्रदर्शन गरिने आयोजकले जनाएको छ । सबै सहभागीहरूका लागि स्वादिष्ट परिकारहरू पनि पस्किने जनाइएको छ । त्यस्तै, सबै उमेर समूहका लागि मनोरञ्जनात्मक गतिविधिहरू पनि कार्निवलमा हुने जनाइएको छ । साथै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलको पनि प्रत्यक्ष प्रसारण हुनेछ। थप जानकारी वा कार्निवलमा सहभागी हुन एमजी मोटर नेपालको आधिकारिक वेबसाइटमा गई बुझ्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इन्ड्राइभ आइसिटी अवार्डको ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १५ विधामा अवार्ड प्रदान हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ । फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ । प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनल लगायत स्वदेश तथा विदेशबाट करिब १ हजार विशिष्ट व्यक्तिहरूको सहभागीता रहनेछ । नवौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ३ जना विदेशी विज्ञ जुरी समिती र १२ जनाको सल्लाहकार समिति गठन गरिएको थियो । यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ८०० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ । अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् । व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन । संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ । यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । ग्राण्ड फिनाले सातै प्रदेशमा स्टार्टअप मिटअप, बुटक्याम्प, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पीड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन गरिएको थियो । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए । आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ । हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् भने एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ । शुक्रबार आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रमलाई सफल बनाउन इन्ड्राइभ, एनसेल, नेपालपे क्युआर, जेनस, जुम, स्मार्टन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, फोर्टिनेट, राष्ट्रिय वाणिज्य बैंक, हाम्रो पे, एमआईटी कलेज, नबिल बैंक, सस्तो टिकेट्स, मेन्टरल्याब, हामो पात्रो, टेक्नोरियो, सिटी एक्सप्रेस, ब्रोडवे इन्फोसिस, कान्तिपुर टिभी, रूटिन अफ नेपाल बन्द, टेकस्पायर कलेज, एम्बिसन गुरू, आकाश टेल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको छ ।
ब्याजदर घटेसँगै बैंकहरूले बढाए घरजग्गामा लगानी, कुमारी आक्रामक बन्दा ५ बैंकले घटाए
काठमाडौं । ब्याजदर घटेसँगै बैंकहरूको घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जासमेत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा बैंकहरूले घरजग्गा क्षेत्रमा जाने कर्जा ६.६४ प्रतिशत बढाएका हुन् । गत कात्तिकसम्म बैंकहरूले घरजग्गा क्षेत्रमा २ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका थिए । सुस्ताएको घरजग्गा क्षेत्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएर एकल अंकमा झारेका छन् । विगतमा ब्याजदर उच्च भएपनि पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर न्यूनतम बिन्दुमा झारेका हुन् । त्यसैले पनि घरजग्गा क्षेत्रमा प्रवाह गर्ने कर्जा बढेको देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै कुमारी बैंकले घरजग्गा क्षेत्रमा लगानी बढाएको देखिन्छ । यस बैंकले १५८.०८ प्रतिशत बढाएर ३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको छ । जबकि गत वर्षको कात्तिकमा १ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ मात्रै घरजग्गा क्षेत्रमा लगानी गरेको थियो । यस्तै, लक्ष्मी सनराइज बैंकको ४८.२८ प्रतिशत बढेर १५ अर्ब १० करोड रुपैयाँ, प्राइम बैंकको २२.९७ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकको १७.१४ प्रतिशत बढेर १३ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ११.६७ प्रतिशत बढेर १६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरेका छन् । प्रभु बैंकको ११.१७ प्रतिशत बढेर १५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकको ९.२१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको ७.७२ प्रतिशत बढेर २३ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६.४२ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ३२ लाख रुपैयाँ घरकर्जा प्रवाह गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५.०६ प्रतिशत बढेर ८ अर्ब २८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.२२ प्रतिशत बढेर २४ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ, एनएमबी बैंकको २.६७ प्रतिशत बढेर ४ अर्ब ९१ करोड २१ लाख रुपैयाँ, सिटिजन्स बैंकको २.०८ प्रतिशत बढेर ४ अर्ब १६ करोड ४९ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । नेपाल एसबीआई बैंकको २.०३ प्रतिशत बढेर ४ अर्ब ८२ करोड २५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.५९ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । तर, समीक्षा अवधिमा विभिन्न ५ बैंकले भने घरजग्गामा जाने कर्जा घटाएका छन् । यस अवधिमा सानिमा बैंकले सबैभन्दा धेरै घरजग्गामा प्रवाहमा हुने कर्जा घटाएको छ । यस बैंकको १३.६३ प्रतिशत घटेर ५ अर्ब ६३ करोड २२ लाख रुपैयाँमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा ६ अर्ब ५२ करोड १५ लाख रुपैयाँ कर्जा घरजग्गामा प्रदान गरेको थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको १२.२५ प्रतिशत घटेर ९ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ९.०८ प्रतिशत घटेर २७ अर्ब २१ करोड ७५ लाख रुपैयाँ, हिमालयन बैंकको ८.५० प्रतिशत घटेर १३ अर्ब २९ करोड ९८ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ०.४९ प्रतिशत घटेर १ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेका छन् ।
‘तामाकोशीबाट विद्युत आउनासाथ उद्योग क्षेत्रलाई पनि सहज हुन्छ’
काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरू मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् । उनले ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगमा विद्युत कटौती गर्नुपरेको जानकारी दिए । धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उनको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए । उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरूपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताए । कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए । उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताए । तामाकोशीबाट विद्युत आउना साथ उद्योग क्षेत्रलाई सहज हुने उनको भनाइ छ । उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत कटौती नगरी सुख्खायाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए ।
अबको एक वर्षमा बिटकोइनको मूल्य २ लाख डलर पुग्ने विज्ञको अनुमान
काठमाडौं । संसारको सबैभन्दा पुरानो, सबैभन्दा लोकप्रिय र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइनले पछिल्लो समय निकै फड्को मारेको छ । डिसेम्बर ५ मा पहिलो पटक बिटकोइनको मूल्य १ लाख नाघेको थियो। यसको कारण अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनले चुनावी क्याम्पको क्रममा देशमा तेलको भण्डारजस्तै बिटक्वाइनको भण्डार सिर्जना गर्ने योजना रहेको बताएका थिए। अमेरिकामा राष्ट्रपतीय चुनावमा ट्रम्पको जितपछि बिटकोइनले फड्को मार्दै आएको हो । उनलाई क्रिप्टोकरेन्सीको बलियो समर्थक मानिन्छ । चुनावी प्रचारका क्रममा उनले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन चाहेको बताएका थिए । नोभेम्बर ५ मा नतिजा आएदेखि बिटकोइन ५० प्रतिशतले बढेको छ। बिटक्वाइनको मार्केट क्याप २.१ ट्रिलियन पुगेको छ र यो गुगललाई हराउनबाट १० प्रतिशतमात्र टाढा छ । गुगलको मूल कम्पनी अल्फाबेटको बजार पुँजी २.३३२ ट्रिलियन छ र यो विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनी हो । आज बिटकोइनको मूल्य १ लाख ४ हजार १२४ डलर रहेको छ । सन् २०२५ को अन्त्यसम्ममा बिटकोइनको मूल्य २ लाख डलर पुग्न सक्ने विज्ञहरूको विश्वास छ ।
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट निर्णय गरी सरकारलाई त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो । समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले त्रिभुवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र सार्वजनिक गर्नु पूर्व समितिले जानकारी पाउनुपर्ने बताए । उनले प्रतिवेदनमा केही कमजोरीहरू भए समितिले अध्ययन गर्ने पनि बताए । उनले भने, ‘अहिले पनि त्रिभुवन विश्वविद्यालयको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिभुवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नु पर्दैन । राज्यको आम्दानीको श्रोत बनाउने र खर्च गर्ने विधि अवलम्बन गर्नुपर्छ । ’ सभापति थापाले त्रिभुवन विश्वविद्यालयको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिभुवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नु नपर्ने बताए ।