मलेसियाद्वारा विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणालीलाई निरन्तरता
काठमाडौं । मलेसियाले नेपालसहित आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने भन्दै एक दशकदेखि कार्यान्वयनमा ल्याइएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमस)लाई निरन्तरता दिइएको जनाएको छ । मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै गत कार्तिक १६ गते (१ नोभेम्बर)देखि नै एफडब्लूसीएमएसलाई नवीकरण गरेको जनाएको हो । मलेसियाले यो प्रणालीअनुसार श्रमिकको भर्ना प्रक्रियालाई अगाडि बढाउन सूचना जारी गरेको हो । मलेसियाले विदेशी श्रमिकका लागि छुट्टाइएको कोटाभन्दा बढी श्रमिक भित्रिएपछि गत असार १ गतेदेखि नयाँ विदेशी श्रमिकको भिसा जारी गर्न बन्द छ । गत असोजमा मात्रै प्लान्टेसन (पाम आयल), गार्मेन्ट, गरगहना र नाई क्षेत्रमा विदेशी श्रमिक लैजाने निर्णय गरेको हो । यो क्षेत्रमा नेपालीहरू निकै कम जाने गरेका छन् । प्लान्टेसन क्षेत्रमा न्यून सख्यामा नयाँ श्रमिकको भर्ना प्रक्रिया अगाडि बढेको हो । रोजगारदाताले कलिङ भिसा (भीडीआर) र श्रमिकको अस्थायी भिसाका लागि यो प्रणाली प्रयोग गर्नुपर्छ । कलिङ भिसा भएपछि मात्रै रोजगारदाताले काम गर्न पाउने अस्थायी भिसाको लागि आवेदन दिन पाइन्छ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका श्रमिकको कलिङ भिसा जारी हुन्छ । मलेसिया जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण (बायोमेडिकल) सुनिश्चित गर्न एफडब्लूसीएमएसमा २०७२ देखि नेपालको तर्फबाट ३६ वटा स्वास्थ्य परीक्षण संस्था जोडिएको छ । एफडब्लूसीएमएसको छनोट मापदण्डमा नपरेका स्वस्थ्य संस्थाले एकाधिकार भएको भन्दै ३२ साउन २०७२मा सर्वोच्च अदालतमा परेको रिटलाई २०७९ मा न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले खारेज गरिदिएका थियो । २०७५ मा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताअनुसार श्रमिकको भर्ना प्रक्रियामा प्रयोग हुने मलेसियाको प्रणाली प्रयोग गरेबापत लाग्ने सबै शुल्क रोजगारदाताले नै बेहोर्नुपर्छ । रोजगारदाताले नेपालमा श्रमिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण संस्थालाई तिरेको ६५ सय रुपैयाँ शुल्क पहिलो महिनामा सोधभर्ना गर्नुपर्ने उल्लेख छ । नेपालका लागि मलेसियन कार्यवाहक राजदूत मोहम्मद फिर्दोस आजामले आफ्नो देशमा रोजगारीका लागि आउने नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न नेपालसँग गरिएको साझेदारी उपलब्धिमूलक भएको बताए । श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै गन्तव्य देशहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरू छनोट गर्दै आएका छन् । जसमा मलेसियाद्वारा ३६, साउदी, बहराइन, ओमान र कुवेतद्वारा १९ (गाम्का), र कतारद्वारा एक, कोरियाद्वारा चारवटालाई मान्यता दिएको छ । वैदेशिक रोजगारीमा जाने र गएका नेपालीको स्वास्थ्य परीक्षणका विषयमा अध्ययन गरी सुझाव दिन स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा विज्ञ सम्मिलित ३० सदस्यीय उच्चस्तरीय टोलीले सूचीकृत सबै स्वास्थ्य संस्थाहरूलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा लैजान सुझाव दिइएको छ ।
४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको छ : सुनिल केसी
काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले ४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । बुधबार संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको छ । तरलता अभाव वा तरलता अधिक हुने समस्या बैंकिङ क्षेत्रले भोग्नुपरेको छ । अहिले पनि ७ सय अर्ब निक्षेप थुप्रो छ ।’ केसीले खराब कर्जाले पनि समस्या निम्त्याएको बताए । उनले भने, ‘खराब कर्जाले पनि समस्या निम्त्याएको छ । ४ प्रतिशत खराब कर्जा भएपनि डराउनु पर्ने अवस्था छैन । तर यसबाट हामी सजग हुनुपर्ने देखिन्छ ।’ केसीले नेपालको बैंकिङ क्षेत्रले उच्च प्रगति गरेको भन्दै बैंकहरूले गत वर्ष ४० अर्ब कर तिरेको जानकारी दिए । उनका अनुसार बैंकले ४७ हजारलाई रोजगार दिएको छ । उनले बैंकिङ क्षेत्रबाट जनशक्ति बाहिरिने अर्को चुनौतीको रूपमा भोग्नुपरेको यथार्थ चित्रण गरे । विभिन्न समयमा कर्मचारीमाथि हुने धरपकडले पनि कर्मचारी बाहिरिने समस्या रहेको उनको भनाइ छ । केसीले कर्मचारीको मनोबल बढाउनुपर्नेमा पनि जोड दिए । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले सन्तोष काेइरालालाई संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
सिटिजन्स बैंकको एपमार्फत् सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने, नेपालकै पहिलो सुविधा
काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले यस्तो सुविधा ल्याएको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक यस्तो सुविधा ल्याइएको हाे । एपमार्फत ग्राहकहरूले सिधै आईपीओ /एफपीओ/राइट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ। कारोबार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् । आईपीओ/एफपीओ/राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्ध भएपश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। कोइरालासँगै ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी उपाध्यक्षमा निर्विरोध चुनिएका छन् । संघका तीन रिक्त सदस्य पदमा पनि निर्विरोध चयन भएको छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ सदस्यमा चयन भएका छन् । अन्य दुई सदस्यमा नेपाल बैंकका सीईओ तीलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रूपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तीलकराज पाण्डे छन् । सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन् ।
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह, कतार सकारात्मक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ । यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए । कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताए । कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारलेसमेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गरे । कतारी राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए । कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए । उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्न सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ । यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको अवसर दिइनेछ । कम्पनीका अनुसार यस अभियानको प्रमुख उद्देश्य भनेको आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकहरूलाई पुनः बीमा दायरामा ल्याउनु र ग्राहक र ग्राहकको परिवारको आर्थिक भविष्यलाई सुनिश्चित गर्नु हो । यसै गरी, ग्राहकहरूको सुरक्षालाई निरन्तरता दिने र समयमै बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ । इन्स्योरेन्सले यस अभियान मार्फत जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्दै ग्राहकहरूलाई आर्थिक सुरक्षा र स्थिरता प्रदान गर्ने लक्ष्य राखेको छ ।
डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’
काठमाडौं । डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकले ’नेटिभ पकेट वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ’रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ’नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे । साथै उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरूको समेत सराहना गरे । २५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ । यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ । लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न नवाैं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ । यस सहकार्यले वातावरणीय संरक्षणको लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको साझेदारी र यस्ता सामूहिक पहलहरूको महत्त्वलाई उजागर गर्ने बताइएको छ ।