विकासन्युज

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न सक्रियता देखाएका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए । अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् । यसका लागि डाक्टर दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय मिति गठन गरिएको छ । समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका का र्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए । नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरुको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ । अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आयोनिक फाइभले राख्यो विश्व कीर्तिमान, विद्युतीय कारमध्ये सर्वाधिक उचाइमा पुग्न सफल

काठमाडौं । हुन्डाई मोटर कम्पनीको अवार्ड विजेता हुन्डाई आयोनिक फाइभले विश्व कीर्तिमान कायम गरेको छ । आयोनिक फाइभले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो । अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाइ पुगेर आयोनिक फाइभले विश्व रेकर्ड बनाएको हो । समुद्री सतहबाट ५ हजार ७९९ मिटर उचाइमा अवस्थित रहेको लद्दाखको उम्लिङ लाबाट यात्रा सुरु भएको थियो भने केरलाको कुट्टानाडमा समाप्त भयो, जुन समुद्र सतहभन्दा तीन मिटर तल अवस्थित छ । आयोनिक फाइभले यो यात्रा १४ दिनमा पूरा गरेको थियो । यस अवधिमा गाडीले ४ हजार ९ सय किलोमिटर दुरी तय गरेको थियो । निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनिक फाइभले उत्कृष्ट यात्रा प्रदान गरेको उल्लेख छ । सबैभन्दा अग्लो स्थानको यात्रा सकिएसँगै आयोनिक फाइभ एक भरपर्दो, एडभान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम विद्युतीय कार रहेको पुष्टि भएको कम्पनीको दाबी छ । हुन्डाईको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनिक फाइभले यसअघि विश्वभर थुप्रै अवार्डहरु आफ्नो नाममा लेखाउन सफल भएको छ । उपलब्धिको बारेमा बोल्दै हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक अनसु किमले भने, ‘हुन्डाई आयोनिक फाइभले गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्न पाउँदा हामीले गर्व गरेका छाैं । यो उपलब्धि हुन्डाईको नवप्रवर्तन, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।’ लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई आयोनिक फाइभ नेपालमा उपलब्ध गराउँदै आएको छ । लक्ष्मी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता हो ।

कोटेश्वरबाट पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौंको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आइतबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो ।’ पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए ।

कस्तो हुनुपर्छ बैंकर्स संघको भूमिका ?

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले हालै नयाँ नेतृत्व पाएको छ । बैंकर्स संघको नयाँ अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला चुनिएका छन् । कोइरालाको अध्यक्षतामा बनेको नयाँ बैंकर्स संघले कस्तो भूमिका खेल्ला ? अथवा खेल्नुपर्छ । बैंकर्स संघको आगामी कार्यभार के हो ? त्यसै विषय उपर यस लेख केन्द्रित छ । मूलतः बैंकहरू आफैमा नियमनकारी निकाय होइनन् । त्यसकारण बैंकर्स संघ नियमाकीय निकाय होइन । खासगरी बैंकहरूले आफ्ना आवाज, मुद्दा र हकहितका विषयमा संगठित रूपमा सरोकारवालासमक्ष राख्न बैंकर्स संघ जन्मिएको हो । देशको मूल पुँजीको बागडोर सम्हालेका कुल २० वाणिज्य बैंकहरूको यस छाता संगठन नियामक निकाय नभए पनि शक्तिशाली संस्था भने अवश्य हो । यस संस्थाले देशको मूल पुँजीको लागानीलाई कुन बाटोमा हिँडाउन प्रोत्साहित गर्ने, ग्राहक र बैंकहरूबीचको सम्बन्धलाई कस्तो बनाउने, अस्वस्थ प्रतिस्पर्धालाई कसरी न्युनीकरण गर्ने, अल्पकालीन तथा दीर्घकालीन खालका समस्याहरूमा छलफल गरी नियमाकीय निकाय नेपाल राष्ट्र बैंकसमक्ष पुर्‍याउने भूमिका हुन्छ । त्यसकारण बैंकर्स संघ नियमाकीय निकाय नभएर पनि महत्त्वपूर्ण संस्था हो । यस संस्थाको नेतृत्वकर्ताले आफ्नो क्षमता प्रर्दशन गर्न सक्दा बैंक र ग्राहकबीचको सम्बन्ध, बैंक र सरकारबीचको सम्बन्ध, बैंक र नियामकीय निकाय नेपाल राष्ट्र बैंकसँगको सम्बन्ध प्रगाढ हुनसक्छ । त्यतिमात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिने गरी बैंकहरूको लगानी प्राथमिकता सिर्जना गर्न बैंकर्स संघको अग्रणी भूमिका हुन सक्दछ। हाम्रोजस्तो कमजोर आर्थिक अवस्था भएको एउटा अल्पविकसित देशको पुँजीलाई क्रमशः उत्पादनमूलक क्षेत्रमा आर्कषित गर्दा देशलाई फाइदा हुन्छ । जसले गर्दा रोजगारीका अवसरहरू सँगसँगै सिर्जना हुन्छन् । वाणिज्य बैंकहरूको पुँजी कृषि, उत्पादन, उद्योग, पर्यटन, जलविद्युतजस्ता सम्भावना भएका क्षेत्रहरूमा धेरैजसो प्रवाह गर्न सकियो भने त्यसले आर्थिक बृद्धि र अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ । त्यो भूमिका वा सेतुको काम बैंकर्स संघले गर्न सक्छ । बैंकर्स संघ आफूहरूलाई आइपरेका सानाठुला समस्याहरूमा मात्र केन्द्रित नभएर फराकिलो सोचसहित अघि बढ्न जरुरी छ । नयाँ संविधान बनेर संघीय संरचनामा देश गइसकेपछिका सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाएका छन् । यस्तोमा देश सम्मृद्ध बनाउने भूमिका बैंकहरूको अहम हुने गर्छ । उनीहरूको लगानी सही ठाउँमा हुनसक्यो भने देश समृद्ध हुनसक्छ । त्यसकारण बैंकर्स संघको नयाँ कार्य समितिले फराकिलो अवधारणा राखेर काम गर्नुपर्छ । रिसब गौतम । बैंकहरू कुनै निश्चित व्यक्तिहरूको निजी संस्था नभएर हजारौं लगानीकर्ताहरूको लगानीको साझा संस्था हो । त्यसकारण पनि बैंकहरूको सोच र सरोकार फराकिलो हुनुपर्छ । यसै पनि बैंकहरू सबै क्षेत्र, तह, तप्काका मानिसहरूसँग विविधतापूर्ण तवरले जोडिएका हुन्छन् । उनीहरूले सबै किसिमका समुदाय र मानिससँग उठबस, सहकार्य गर्छन् । फलस्वरुप उनीहरू फराकिलो अवधारणाले अघि बढ्न जरुरी छ । सीमित साहुको स्वार्थ सिद्धिको एजेण्डामा केन्द्रित भएर होइन, असीमित ग्राहक, सरोकारवाला, सेयरधनीको पक्षमा बैंकहरूले आफ्ना गतिविधि केन्द्रित गनुपर्छ । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका लागि बनाउने ऐन, निर्देशिका प्रगतिशीलका साथै बैंकहरूको हितमा केन्द्रित गर्न भूमिका खेल्नुपर्छ । बैंकहरू राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिहरू, ऐन, नियम तथा निर्देशिकाहरू कार्यान्वयन गर्ने निकाय हो भने राष्ट्र बैंक नीतिहरू बनाएर कार्यान्वयन गराउने निकाय हो । त्यसकारण नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई सही र अत्यावश्यक नीतिहरू बनाउन गहन छलफलमार्फत सही सुझाव दिएर भूमिका खेल्नुपर्ने हुन्छ । र, नयाँ कार्यसमितिले त्यसतर्फ आफूलाई केन्द्रित गराउनु पर्छ । अर्को सरकारले ल्याउने हरेक बजेटहरू बैंकहरूसँग जोडिन्छन् । तर कतिपय सरकारले बैंकहरूमार्फत कार्यान्वयनमा ल्याउन चाहेका राम्रा कार्यक्रमहरू पनि बैंकहरूले अलिकति जोखिम र हिम्मत गर्न नसकेका कारण कार्यान्वयन भएका छैनन् । उदाहरणका लागि देशमा शैक्षिक बेरोजगारी बढिरहँदा बेलाबेला सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितोमा उद्यमी बन्नका लागि कर्जा दिइने भनेर कार्यक्रमहरू ल्याइरहेको हुन्छ । ती राम्रा र विदेशमा पनि प्राक्टिसमा आएका कार्यक्रमहरू हुन् । तर त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न/गराउन बैंकहरूको प्रभावकारी भूमिका विगतमा देखिएन । बैंकहरू डराउने र राष्ट्र बैंकले पनि आवश्यक सहजीकरण नगरेका कारण बजेटमार्फत आएका राम्रा कार्यक्रमहरू पनि कार्यान्वयन भएका छैनन् । त्यस्ता कार्यक्रमहरू कार्यान्वयन गर्न नेपाल बैंकर्स संघको भूमिका हुनसक्छ । जसले देशमै रोजगारी, उत्पादन बढाएर आर्थिक क्रियाकलापलाई बढावा दिनसक्छ । फलस्वरूप आर्थिक गतिविधिहरू बढ्दा उद्यम तथा व्यावसायिक क्रियाकलापहरू बढ्दा अन्तत: बैंकहरूकै व्यवसाय विस्तार हुने हुन्छ । उनीहरूकै दायरा फराकिलो हुने हो । त्यसकारण नयाँ कार्यसमितिले नयाँ ढगंले काम अघि बढाउन जरुरी छ ।  बैंक टिक्ने र अर्थतन्त्र अघि बढ्ने आधार औद्योगिक क्षेत्रको विकास नै हो । रेमिट्यान्स स्थायी हुँदै होइन । अहिले ६० लाखभन्दा बढी युवायुवती विदेशिएका छन् भनिन्छ । समग्र अर्थतन्त्रमा घरेलु उद्योग-व्यवसायको योगदान ६/७ प्रतिशतभन्दा बढी छैन । मुलुक पूरै मजदुर उत्पादन गर्ने देशजस्तो भएको देखिन्छ । सीप, श्रम, साधन-स्रोत र पुँजीको परिचालनबाट औद्योगिक विकास हुन सकेको छैन । त्यस हिसाबले पनि बैंकहरूले औद्योगिक क्षेत्रमा, कृषि, उत्पादन र उद्योगहरूमा लगानी गर्न हिच्चकिचाइरहेका देखिन्छन् । उद्योगी वा व्यवसायी भनेका बैंकहरूका लागि पुँजी निर्माणका साधन हुन् । एउटा उद्योगीले कुनै बैंकमा आफ्नो मात्रै खाता खोलेको हुँदैन । उसका कर्मचारी तथा कामदारहरूको पनि खाता खोलिन्छ । उद्योगीले आयात तथा निर्यातका माध्यमबाट राज्यको आर्थिक गतिविधिलाई चलायमान बनाएका हुन्छन् । त्यसकारण बैंकको उद्योगी व्यवसायीसँगको सम्बन्ध बढी महत्त्वपूर्ण हुन्छ र हुनुपर्छ । विगतमा खालि साहु र आसामी मात्रैको सम्बन्ध बैंक र ग्राहकबीच हुन्थ्यो । त्यस्तो धारणामा बिस्तारै परिवर्तन भएर आएको छ । समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उद्योग कलकारखानाको विकासप्रति बैंकको उत्तिकै दायित्व हुन्छ, जो बढेर गएको छ । नेपालमा खासगरी उद्योग-व्यवसायको क्षेत्र कमजोर भएको, त्यो क्षेत्रको कारोबारको आकार बढ्न नसकेका कारण पनि बैंकहरूले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् तर अब नेपालमा बैंकहरूले जसरी आफ्नो विकास र फैलावटलाई विस्तारित गर्दै लगेका छन्, त्यही हिसाबमा उत्पादनमूलक उद्योग र व्यवसायका क्षेत्रमा लगानी विस्तार हुनुपर्छ । केही वर्षयता बैंक र व्यवसायीबीचको सम्बन्ध त्यति हार्दिक छैन । तर पनि पछिल्ला केही महिनायता लगातार घटेको कर्जाको ब्याजदरसँगै बैंक र व्यवसायीबीच सम्बन्धमा केही सुधार हुन थालेका छन् । तर कोरोना महामारी र आर्थिक मन्दीको प्रभावले गलेका उद्यमी व्यवसायीको व्यावसायिक मनोबल बढ्न सकेको छैन । आजको मितिमा बैंकहरूसँग ६ खर्ब अधिक तरलता रहँदा पनि व्यवसायिकहरू ऋण माग्न बैंकसमक्ष गएका छैनन् । विगत केही वर्षमा मंसिर लागेसँगै बैंकहरू तरलता संकटको मारमा हुन्थे । त्यो क्रम निकै वर्ष चल्यो । तर अघिल्ला वर्षहरूमा देशका ठुला भनिएका धेरै सहकारीहरू धराशाही भए, सहकारी क्षेत्र ठगहरूको चंगुलमा फसेसँगै त्यो क्षेत्रमा गएका निक्षेप बैंकहरूमा फर्किएका छन् । त्यसकारण पनि बैंकहरूमा तरलता चुलिएका हुन् । अर्को राष्ट्र बैंक अलिक कडा हुँदा बैंकहरू ऋणीमार्फत ब्याज र किस्ता असुल्ने कुरामा त्यसरी नै प्रस्तुत हुँदा बैंक र ब्यवसायीबीच सम्बन्ध बिग्रिएको हो । त्यसलाई पुनर्ताजकी गर्ने र हार्दिकतातर्फ अग्रसर बनाउन बैर्कस संघले भूमिका खेल्नुपर्छ । २ वर्षअघिसम्म पनि बैंकहरूको ब्याजदरलाई लिएर बेलाबेला व्यवसायीले आन्दोलन गर्थे । व्यवसायीले बेलाबेला बैंकहरूको ब्याजदर चर्को भयो भन्दै घटाउन प्रधानमन्त्रीलाई नै हार-गुहारेर गरिरहेका हुन्थे । खासगरी बैंक र व्यवसायीबीच प्रगाढ सम्बन्ध नभएकै कारण त्यो आन्दोलन भएको थियो । यी दुई पक्षबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदा मात्र उद्योग क्षेत्रले प्रगति हासिल गर्न सक्छ । उद्योग क्षेत्रको प्रगति हुँदा मात्रै उनीहरूको बैंकसँगको कारोबार बढ्ने र बैंकको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ; तर यहाँ लय मिलेको छैन । बैंकहरूले दीर्घकालीन सोच राख्न सकेका छैनन् । अल्पकालीन उपलब्धि र नाफामा रमाइरहेका छन् । उत्पादनमूलक उद्योगहरूमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदा मात्रै बैंकहरूको मुनाफा र गतिविधि दीर्घकालमा चलायमान हुन सक्छन् । त्यसकारण नमिलेका धेरै कुराहरू मिलाउने सेतुको भूमिकामा बैंकर्स संघ अगाडि आउनुपर्छ । सन्तोष कोइराला नेतृत्वको नयाँ कार्यसमिति जहाँ ग्लोबल आइएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी उपाध्यक्ष, प्रभु बैंकका सिईओ अशोक शेरचन, सानिमा बैंकका सिईओ निश्चलराज पाण्डे, प्राइम बैंकको सिईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सिईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका सिईओ रामचन्द्र खानाल, एभरेष्ट बैंकको सिईओ सुदेश खालिङ, नेपाल बैंकको सिईओ तीलकराज पाण्डे कार्यसमिति सदस्य रहेका छन् । त्यसैगरी,  निवर्तमान अध्यक्ष एवं एनएमबि बैंकका सिईओ सुनिल केसी कार्यसमितिको पदेन सदस्य रहेका छन् भने पूर्वअध्यक्षहरू हिमालयन बैंकका सिईओ अशोकशमशेर राणा र नविल बैंकको सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना नयाँ कार्यसमिति सल्लाहकार रहेका छन् । त्यसले आफनो कार्यभार प्रभावकारी रूपमा पुरा गरोस् । शुभकामना !

सेयर बजारमा ५ अर्ब बढीको कारोबार, लघुवित्तमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आइतबार ६९ कम्पनीको सेयर बढ्दा घट्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३१६ कम्पनीको १ करोड १० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु बैंकको भएको छ । प्रभुको २६ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, जानकी फाइनान्सको १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १५ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख र रिभर फल्स पावरको ११ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक लागेको छ । महिला लघुवित्त १० प्रतिशत र आत्मनिर्भर लघुवित्त ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यस्तै, ३ वटा उपसूचकबाहेक अरू सबै उपसूचक राताम्मे रहेका छन् । उपसूचकमा माइक्रोफाइनान्स १.१२ प्रतिशत, म्युचल फन्ड ०.१८ प्रतिशत र अन्य ०.२९ प्रतिशतले बढेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममा निरन्तर टेलिकम

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरू समेत गर्दै आएको छ । हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका मुख्य कार्यहरू निम्न छन् । हरियाली संरक्षण तथा वृक्षरोपण नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको थियो । यसअन्तर्गत मौसमी फूलका बिरुवा रोप्ने, रुख तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएका थिए । विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण नेपाल टेलिकमले निरन्तर रूपमा नेपालभरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा फर्निचर, कम्प्युटर, झोला, ट्र्याकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ । साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री (स्यानिटरी प्याड भेन्डिङ मेसिन) उपलब्ध गराइएको छ । वातावरण सरसफाइ धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचालगायतका महत्त्वपूर्ण सार्वजनिक स्थलमा आवश्यकताबमोजिम डस्टविन वितरण गरिएको छ । वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ । अस्पतालमा बेड कम चेयर वितरण नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरूले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ । विद्यालयमा इन्टरनेट सेवा नेपाल टेलिकमले विद्यालयहरूमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न सयवटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ । एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग: नेपाल टेलिकमले आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट नि:शुल्क रूपमा पढ्न पाउने व्यवस्था मिलाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गतका अन्य कार्यक्रमहरू फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेजसहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङ्गटोनको प्रसारण गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरू नि:शुल्क गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सहकारीसम्बन्धी अध्यादेश जारी, बचत र ऋणमा सीमा, अन्य व्यवस्था के-के छन् ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् । ‘राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका छन्,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा  सरकारले उक्त अध्यादेश ल्याएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अध्यादेश कार्यान्वयनमा आउने भएको छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने उल्लेख छ । सरकारले समस्यामा परेका सहकारीको बचत फिर्ताको विषय पनि अध्यादेशमा समेटेकाे छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गरेर बचतकर्ताको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ताका लागि फाष्टट्र्याकमा काम गर्ने अध्यादेशमा उल्लेख छ । यस्तै, अध्यादेशमा सहकारी संस्थामा व्यक्तिगत बचत तथा ऋणको सीमा पनि तोकिएको छ । एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रुपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेकोसंस्थामा २५ लाख रुपैयाँसम्म, बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको कारोबार गर्नेसंस्थामा १० लाख रुपैयाँसम्मको सीमा तोकिएको छ । अध्यादेशमा सहकारी प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा समिति बन्नेछ । सोही समितिले सिफारिस गरेको तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ । सहकारीमा पनि बैंकजस्तै वर्गीकरणको व्यवस्था, गाडी किन्न ऋण दिन पाउने, यस्तो बन्यो प्राधिकरणको मस्यौदा सहकारीको ब्याजदर प्राधिकरणले नै तोकिदिने, मर्जरमा प्रोत्साहन, सञ्चालकलाई १० लाख जरिवानादेखि ५ वर्ष कैद सहकारीको नियमनका लागि प्राधिकरण बन्ने

लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्कि‍एपछि आकस्मिक अवतरण, प्राविधिक परीक्षण जारी

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको हेली एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकोप्टरमा आइतबार चरो ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता रन्जी शेर्पाले बताए । उनले भने, ‘हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलिकप्टरमा त्यस्तो समस्या त केही थिएन । एक्कासि आकासमा उडिरहेको चरासँग हेलिकप्टर ठोकिन पुग्यो । कुनै ठूलो क्षति भएको देखिएको छैन ।’ प्रवक्ता शेर्पाका अनुसार हेलिकप्टर चरासँग ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् । हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए। सबै यात्रु सुरक्षित रहेको जनाइएको छ । अहिले हेलिकोप्टरमा प्राविधिक परीक्षण जारी रहेको प्रवक्ता शेर्पाको भनाइ छ ।