रेटिनोब्लास्टोमाबारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । ओपन आइज नेपाल र निजगढ तिलगंगा सामुदाायिक आँखा अस्पतालको सहकार्यमा निजगढमा रेटिनोब्लास्टोमा (बालबालिकाकाे आँखामा हुने क्यान्स) बारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न भएको छ । ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरूको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे तालिम दिइएको हो । तालिममा आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले रेटिनोब्लास्टोमा बारेमा प्रकाश पारेकी थिइन् । रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकामा देखा पर्दछ । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ । नेपाललगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०% रहेको छ तर विकसित देशहरुमा भने ५% भन्दा कम पाइएको छ । रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ । रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् । उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ। यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ । यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ । तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले उपचार गराउँदै आएकी छन् । बर्सेनि ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।
‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक, महिला उद्यमीले १० करोड रुपैयाँसम्मको कर्जा पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरूमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो । यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित विश्वास बैंकले लिएको छ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत आकर्षक सुविधासहित न्यूनतम् ब्याजदरमा बैंकले महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरूकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरू मात्र यस कर्जाका लागी योग्य हुने बैंकले जनाएको छ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
आगामी बजेटबारे दुई मन्त्रालयसँग अर्थमन्त्री पौडेलले गरे छलफल
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम, हटाउनुपर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्तिलगायतका विषयमा समीक्षा गरी तिनीहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताए । उनले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा व्यक्त गरे । उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयहरुलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि र देशमा कसरी औद्योगीकरण गर्ने सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । उद्योगमन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनीहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नुपर्ने बताए । छलफलमा अर्थ सचिव, राजस्व सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, उद्योग मन्त्रालय सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो । अर्थ मन्त्रालयले यसअघि नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, सहरी र उर्जा मन्त्रालयसँग छलफल गरिसकेको छ ।
स्काइलाइन इन्फ्रामा नेपाल एसबिआई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
काठमाडौं । नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच बैंकका ग्राहकलाई छुटलगायतका सुविधा दिने सम्झौता भएको छ । सम्झौताअन्तर्गत सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काइलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर
काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायीक फुटबल लिग हो । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ । एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ । पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइँ पु¥याउने बताए । त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सीसीओ) उमेर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।
बैतडी घटनाका अभियुक्त कर्ण विष्ट भारतबाट पक्राउ
सुरेन्द्र विष्ट । काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका- ८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। गएको शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएका कर्णबहादुरलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी समेत खटिएका थिए । कर्णबहादुरलाई भारतीय गाउँबाट पक्राउ गरिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । पक्राउ परेका उनई नेपालतर्फ ल्याउने काम भइरहेको छ । अभियुक्त कर्णबहादुर विष्ट । फाइल तस्बिर । लेनदेनका विषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए । हत्यापछि बन्दुकसहित फरार रहेका कर्णको खोजीका लागि प्रहरी टोली खटिएको थियो । कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका हुन् । अभियुक्त पक्राउ परेपछि अब अनुसन्धानको कामअघि बढ्ने प्रहरीले जनाएको छ । कर्ण भारतको कुन ठाउँबाट पक्राउ परे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए । ४० हजारले लियो सुरेन्द्रको प्राण, ७ महिनामै पुछियो सरस्वतीको सिउँदो
कृषि विकास बैंकको मोबाइल एपमा अब नयाँ ‘एडीबीएल पे फण्ड ट्रान्सफर’को सुविधा
काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल पे थप गरी सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरू बैंकको एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा फन्ड ट्रान्सफर तथा वालेट लोड सुविधा सञ्चालनमा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ एप ’एडीबीएल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूले रकम ट्रान्सफर गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नम्बर र खातावालाको नामसहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्कसँग रकम पठाउन सक्छन् । यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ । यस्ता छन् विशेषताहरू : मोबाइल बैंकिङ एपमार्फत रकम ट्रान्सफर गर्न सकिने कृषि विकास बैंकका ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने छिटो, छरितो र सहज कारोबार हुने ग्राहकमैत्री सहज सञ्चालन गर्न सकिने तुरुन्तै कारोबार हुने
६ बैंकको लगानीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने, कुल लागत करिब ४० अर्ब
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच कम्पनीले कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुण १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता रु. ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । अन्य सहभागी बैंक हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबिआइ बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ । सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र ऊर्जा उत्पादक मध्य एकको रूपमा रहने जनाइएको छ ।