अमेरिकी डलर हालसम्मकै उच्च, यूरो र पाउण्डको मूल्य कति छ ?
काठमाडौं । नयाँ वर्ष २०२५ को पहिलो दिन नै अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज पनि नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत पुस १२ गते खरिद दर १३६.५६ रुपैयाँ र बिक्री दर १३७.१६ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.३५ रुपैयाँ र बिक्रीदर १४२.९७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.४३ रुपैयाँ र बिक्रीदर १७२.१८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.१३ रुपैयाँ र बिक्रीदर १५१.७९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.९० रुपैयाँ र बिक्रीदर ८५.२८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.०७ रुपैयाँ र बिक्रीदर ९५.४९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३२ रुपैयाँ र बिक्रीदर १०१.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७२ रुपैयाँ र बिक्रीदर ८.७६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७३ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४३ रुपैयाँ र बिक्रीदर १२.४८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.६५ रुपैयाँ र बिक्रीदर ४४५.६० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.३८ रुपैयाँ र बिक्रीदर ३६३.९७ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.०२ रुपैयाँ र बिक्रीदर ३५६.५८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
आजदेखि नयाँ वर्ष सन् २०२५ सुरु, विदेशी पर्यटकीय क्षेत्रमा भीडभाड
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।
राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै, पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम हुने
काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । १२ वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ । नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
आज देशभरको मौसम सफा रहने, बिहीबार काठमाडौं उपत्यकामा हुस्सु लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । बिहीबार बिहान तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले वृद्धि, ३५ विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिए
काठमाडौं । मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले वृद्धि भएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले दिएको जानकारीअनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार ३०२ लाई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कूल ४४ लाख ४९ हजार १३३ पुगेको हो । नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । कूल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपश्चात् यो सङ्ख्या २८ भएको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । महानिर्देशक अधिकारीले पूर्वाधार निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरूयोजनाबमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको छ । त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरूलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरू सञ्चालनमा ल्याइएको छ । विमानस्थलको रनवे २ तर्फको तीन सय १५ मिटर लम्बाइमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्याण्डसाइड क्षेत्रमा करिब एक हजार चार सय वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ । त्रिभुवन विमानस्थलमा यसै वर्ष कात्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरू भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आइकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरूयोजनासँगै फेज–१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य २ रुपैयाँ बढाएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा १६२ र अन्य क्षेत्रमा १६०.५० रुपैयाँ तोकिएको छ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायलमा प्रतिलिटरको १५३ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अन्य क्षेत्रमा १५०.५० रुपैयाँ तोकिएको छ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमको भनाइ छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।
विदेशी पर्यटक बढाउन ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने
काठमाडौं । सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको काम गरिरहेको बताए । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ मा ११ लाख ४७ हजार २४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । डिसेम्बरमा मात्रै ८९ हजार ७६५ पर्यटक आएका छन् । यो आज बिहानसम्मको तथ्याङ्क हो । थप एक दिनको जोडेर यो वर्ष ११ लाख ५० हजार हाराहारीमा विदेशी पर्यटकको सङ्ख्या पुग्ने बोर्डको विश्वास छ । यसअघि सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए । पर्यटनमन्त्री पाण्डेले नेपालको मौलिक पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश भएको बताउँदै उहाँले यही विविधताका बीच एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको धारणा राखे । पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए । पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए । बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने खाँचो औँल्याए । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किंदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे । कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ मा नेपालमा ११ लाख ५० हजार हाराहारी पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालमा ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए । कार्यक्रममा बोर्ड कर्मचारी सङ्गठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’को विमोचन गर्नाका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच तनाव बढ्दै
काठमाडौं । पूर्वाधार निर्माण क्षेत्रको सिजन सुरु भएको दुई महिना बितिसक्याे । तर निर्माण कार्य भने ठप्पजस्तै बनेको छ । यसको कारण हो सिमेन्ट । कार्तिककदेखि सिमेन्ट उत्पादक कम्पनीहरूले मूल्य बढाउँदै आएपछि निर्माण व्यवसायीहरूले आफूहरू मर्कामा परेका जनाएका छन् । हाल निर्माण व्यवसायीले सिमेन्टको मूल्यवृद्धिको विरोध गरिरहेका छन् । सरकारले यसबारे मूल्यवृद्धि गरिएको हो कि होइन भनेर अनुसन्धान थालिहाल्नु पर्ने हो । तर सरकार यस्ता काममा उदासीन देखिएको छ । नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा कालोबजारी भएको भन्दै आपत्ति जनाए । असार, साउनमा सिमेन्टको मूल्य ३०० रुपैयाँ हुने, अनि मंसिर-पुसमा आएर ४५० किन भयो भन्दै अध्यक्ष सिंहले प्रश्न गरे । उनले यस्तो अभ्यास अन्तर्राष्ट्रियस्तरमै नभएको दाबी गरे। अध्यक्ष सिंहले सिमेन्टको मूल्य मात्रै नभएर सिमेन्ट उत्पादनलाई समेत ६० प्रतिशत कटौती गरेको आरोप पनि लगाए । उनले विकासन्यूजसँग कुरा गर्दै भने, ‘उद्योगमन्त्रीज्यूसँगको रहोबरमा बसेर हामीले छलफल गर्याैं। उद्योगीहरू आफैले ७ सय रुपैयाँ प्रतिबोरा ओपीपीसी सिमेन्ट, ६ सय रुपैयाँ पीपीसी सिमेन्ट काठमाडौंमा उपलब्ध गर्छौं भनेर भन्नुभयो । जसको अर्थ उद्योगमा सिमेन्टको मूल्य ४४० रुपैयाँ हुनुपर्ने हो, तर ठ्याक्कै त्यो विपरीत भएको छ । हाल सिमेन्टको मूल्य ६५० रुपैयाँदेखि ७५० रुपैयाँसम्म उद्योगमै छ । यो लुटतन्त्र हो ।’ अध्यक्ष सिंहले सरकार र सिमेन्ट उद्योगीहरू मिलेर नै सिमेन्टको मूल्यमा कालोबजारी गरिरहेको जिकिर गरे । उनले सरकार यस विषयमा मौन बसिरहेको आरोपसमेत लगाए । ‘सिमेन्टको मूल्य किन बढ्यो जसको कारण नै छैन । यो बढ्दै गएपछि सरकारले निर्धारण गरिदिनुपर्ने हो । तर सरकार मौन बसेको छ । मूल्य निर्धारण समिति हुन्छ । जसले प्रत्येक जिल्लामा वर्षैपिच्छै मूल्य निर्धारण गर्ने गर्दछ,’ उनले भने । उनले गत असारमा काठमाडौंमा सिमेन्टको मूल्य ५ सय रुपैयाँ निर्धारण गरेको बताउँदै हाल काठमाडौंमै ८/९ सय पुग्दासमेत हामीले उनीहरूले नै निर्धारण गरेको दर रेटमा ठेक्कापट्टाको व्यवस्थापन गरिरहेको बताए । अध्यक्ष सिंहले भने, ‘सिमेन्ट उद्योगीहरूले अनियमित रूपमा बढाएको मूल्य कम गराउन सरकारले पहल गराउनुपर्यो । हैन भने बनेको मूल्य अनुसारको दर रेट विश्लेषण गरेर त्यसको विवरण हामीलाई दिनुपर्यो ।’ यस्तै, उनले निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको जनाए । अध्यक्ष सिंहका अनुसार निर्माण व्यवसायीहरूलाई आर्थिक वर्ष २०७९/८० र २०८०/ ८१ देखिकै राज्यले ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको र हाल बिना बजेटका टेण्डर आह्वान भएबाट निर्माण उद्योगमा प्रतिकूल अवस्था उत्पन्न भएको छ । हाल देशमा सरकार नै नभएको महसुस भइरहेको उनको आक्रोश छ । ‘अहिले राज्यविहीनको अवस्था छ । सरकार कहाँ छ, के गरिरहेको छ, सरकारको कर्तव्य के हो भन्ने कुरा सरकार आफैलाई थाहा छैन । सरकार आफै अन्योलमा परिरहेको महसुस भइरहेको छ,’ उनले भने । उनले हाल सबै काम ठप्प रहेको र आफूहरू महंगिको चापमा परिरहेको सुनाए । समयमा रकम भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकमसमेत बुझाउन नसकेको उनको भनाइ छ । उनले रकम नभएका कारण निर्माण क्षेत्र चलायमान हुन नसकेको समेत जिकिर गरे । उनले भने, ‘हामीसँग रकम छैन, हाम्रो सबै पुँजी, आपूर्ति चक्र र उद्योग संकटमा छ । यसलाई थप संकटमा पार्न डण्डीको उद्योगले पनि अब मूल्यवृद्धि गर्ने तयारीमा छ । यहाँ सिन्डिकेट गर्न खोजिएको छ ।’ आगामी पुस २६ गते यी सबै विषयमा छलफल गर्न भेला बोलाएको र यदि आफूहरूका माग सरकारले सम्बोधन नगरे सडक आन्दोलमा जान बाध्य हुने उनले चेतावनी दिए । विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाहरुका निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको महासंघले जनाएको छ । के भन्छन् सिमेन्ट उद्योगी ? सिमेन्ट उद्योगहरूले गत मंसिरमा सिमेन्टको मूल्य २० प्रतिशतले बढाएका थिए । जसले प्रतिबोरा ६ सय रुपैयाँभन्दा बढी कायम भयो । त्यसअघि प्रतिबोरा ५ सय रुपैयाँ थियो । मूल्य नबढाए सिमेन्ट उद्योगहरू धरासायी हुने निष्कर्ष नेपाल सिमेन्ट उत्पादक संघले निकालेको थियो । संघले त्यसअघि नै सिमेन्टको भाउ बढाउने प्रयास गरे पनि अनुकूल समयको पखाईमा थियो। नेपाल सिमेन्ट उत्पादक संघका पूर्वमहासचिव केशव उप्रेतीले आफूहरू घाटमा गएको भन्दै सिमेन्टको मूल्य बढाउन बाध्य भएको बताए । उनले भने, ‘हाल सिमेन्ट उद्योगलाई सबै ठाउँमा समस्या छ । बैँकमा अर्बौं रुपैयाँ ऋण छ । सिमेन्ट उद्योग ठूलो मारमा छ । बैंकहरूको ब्याज थपिँदै गएको छ । त्यो तिर्न नसक्ने भएका छौं । यदि कसैले सिमेन्ट उद्योग जिम्मा लिनुहुनुन्छ भने बैंकको पैसा तिरिदिनुस् । नामसारी गर्न हामी तयार छौं । सरकारले हामी गछौं भनेपनि केही गर्न सकेको छैन ।’ जुन मूल्य हाल बढाएको भनेको छ, त्यसमा पनि घाटा भइरहेको उनको भनाइ छ । योभन्दा कम गरेर बेच्न सकिने अवस्था नरहेको उनले बताए । उनी भन्छन्, ‘यो मूल्य कम गरेर बेच्न सकिने अवस्था छैन । निर्माण व्यवसायीले त्यही रेटमा कोड गरेर डेन्डर लिड गर्नुपर्यो, पैसा सरकारबाट माग्नुपर्यो ।’ यस्तै, उनले हाल यस बारेमा कसैसँग छलफल नै नभएको बताए । के भन्छ सरकार ? गत मंसिर २४ गते सिमेन्ट उत्पादकसँग सरकारले मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएको थियो । निर्माण व्यवसायीले निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि मन्त्रालयले उनीहरूलाई छलफलका लागि मन्त्रालयमै बोलाएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योग र निर्माण व्यवसायी महासंघ दुबैको समन्वयमा सिमेन्टको मूल्यको टुंग्याउने सहमति भएको बताए । उनले भने, ‘ती दुवै संस्थाका पूर्वअध्यक्षहरूले यो समस्या मिलाउने भन्ने सहमति भएको थियो । त्यसपछि उहाँले के गर्नुभएको छ, त्यो हामीलाई थाहा छैन । त्यो जानकारी आएपछि त्यहींअनुसार एउटामा धारणा लिनुपर्छ । हालसम्म मन्त्रालयमा उक्त जानकारी आको छैन ।’ सरकारले बजारको अवस्था हेरेर अनुगमन गरी कार्टेलिङ र सिन्डिकेट भइरहेको छ कि छैन, त्यसमाथि हस्तक्षेप गरेर कारबाही गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।