कालीगण्डकी कोरिडोर : माझीबस्ती-खनियाघाट खण्ड कालोपत्र
म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए । विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
गलेश्वर । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो । चालु आर्थिक वर्षमा तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो । अनुकूल, मौसम रोगको कम प्रभाव, रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । दुई हजार दुई सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ । हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ ।
सबैभन्दा सस्तो काउली, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ गाजर रुपैयाँ (लोकल) प्रतिकेजी १३० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली तराई प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ५० रुर्पैयाँ, भन्टा लाम्चो प्रतिकेजी ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ९० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ, तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ६० रुपैयाँ, परवर (लोकल) प्रतिकेजी ८० रुपैयाँ, परवर (तराई) प्रतिकेजी १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकेजी ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी ३० रुपैयाँ, सलगम प्रतिकेजी १०० रुपैयाँ, भिण्डी प्रतिकेजी १०० रुपैयाँ, सखरखण्ड प्रतिकेजी १००, बरेला प्रतिकेजी ४० रुपैयाँ, पिँडालु प्रतिकेजी १०० रुपैयाँ, स्कूस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ९० रुपैयाँ, चमसुरको साग, ९० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, मेथीको साग प्रतिकेजी ९० रुपैयाँ, प्याज हरियो प्रतिकेजी ७० रुपैयाँ, बकुला प्रतिकेजी ९० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ४०० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चुकुन्दर प्रतिकेजी ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, जिरीको साग प्रतिकेजी १०० रुपैयाँ, ग्याठ कोबी प्रतिकेजी ९० रुपैयाँ, सेलरी प्रतिकेजी ४०० रुपैयाँ, पार्सले ९ प्रतिकेजी ८०० रुपैयाँ, सौफको साग प्रतिकेजी १०० रुपैयाँ, पुदिना प्रतिकेजी ४०० रुपैयाँ, गान्टे मूला प्रतिकेजी ८० रुपैयाँ, इमली प्रतिकेजी १६० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, गुन्दुक प्रतिकेजी ३०० रुपैयाँ तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैयाँ, स्याउ (फूजी) प्रतिकेजी ३०० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकेजी १३० रुपैयाँ, अनार प्रतिकेजी ४०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकेजी २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकेजी ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकेजी १२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकेजी १२० रुपैयाँ, काक्रो (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ, निबुवा प्रतिकेजी ५० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, लप्सी प्रतिकेजी ६० रुपैयाँ, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५०० रुपैयाँ, किवि प्रतिकेजी ५० रुपैयाँ, आभोकाडो प्रतिकेजी २५० रुपैयाँ, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १३० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकेजी ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी १०० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकेजी १०० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकेजी १०० रुपैयाँ, लसुन हरियो प्रतिकेजी २०० रुपैयाँ, हरियो धनिया प्रतिकेजी ७० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकेजी ३०० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकेजी ३०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी १६० रुपैयाँ, छ्यापी हरियो प्रतिकेजी २५० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकेजी ३५० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ तोकेको छ ।
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
ढोरपाटन । बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउँने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए ।
बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको निधन
काठमाडौं । सर्लाहीमा तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । गए राति बागमती प्रदेश०१-००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
आज यी ३ कम्पनीको सेयरधनी बने ३० प्रतिशतसम्म लाभांश पाइने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ । नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ३ कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । यस्तै, गरिमा विकास बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रिस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते पोखरा, कास्कीमा १८औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ । यस्तै, बुटवल पावर कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौँमा ३२औँ वार्षिक साधारण सभा बिहान ११ बजे आह्वान गरेको छ ।
अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छ : गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् । गर्भनर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ।’ अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । ‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,’ उनले थपे । गर्भनर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे । ‘यो नेपालका लागि एउटा सफलता हो,’ उनले भने । गर्भनर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए । ‘ठ्याक्कै जादुको छडीजस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ,’ गर्भनर अधिकारीले भने ।
नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट
काठमाडौं । नबिल बैंकका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइनेछ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । भिभान्ता होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको बैंकको भनाइ छ ।