सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे । ‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्यो । निर्यातका लागि पनि सोही अनुरूप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,’ उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे । यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिनसमेत अनुरोध गरे । यस्तै, अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरूप तार्गेट दिन र सो अनुरूपको मूल्याङ्कन गर्नसमेत आग्रह गरे । उनले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनु पर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासो प्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई समेत आफ्नो प्रतिष्पर्धात्मक क्षमता बढाउन आग्रह गरे । कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
किमाथाङ्का । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ । भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उनले बताए । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरु भने सकुशल रहेका छन् । भूकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको प्रजिअ खड्काले बताए । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।
स्वास्थ्य र खर्च संकटमा सारथी बन्दै सन मेडिकेयर
काठमाडौं । विश्वव्यापी रूपमा हृदयघातका कारण हरेक वर्ष लाखौं मानिस प्रभावित हुन्छन् । यस्तै, अन्य आकस्मिक स्वास्थ्य उपचार समयमै नपाएर धेरैको निधनसमेत हुने गरेको छ । अझै पनि कयौं मानिस समयमै उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य उपचारसम्बन्धी विकास भएपनि आर्थिक रूपमा भने अझै कयौं मानिस अस्पतालसम्म जान नसक्ने अवस्थामा छन् । आर्थिक र स्वास्थ्यसम्बन्धी उपचारमा सहयोग पुर्याउने हेतुले सन नेपाल लाइफ इन्स्योरेन्सले सन मेडिकेयर योजना ल्याएको छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधान गर्ने गरी कम्पनीले आपतमा राहत प्रदान गर्ने गरी सन मेडिकेयर विशेष योजना ल्याएको हो । यस्ता समस्याबाट अनाहकमा ज्यान गुमाउन नपरोस् भनेर कम्पनीले एक अचुक उपाय अर्थात् सन मेडिकेयर योजना ल्याएको जनाएको छ । आकस्मिक स्वास्थ्य समस्यालाई सन मेडिकेयर योजनाले समेट्नेछ । साथै सडक दुर्घटना, घर वा कार्यस्थलमा दुर्घटना, विषाक्तता, डुबान, गम्भीर चोटपटक, मानसिक स्वास्थ्यको समस्या, स्ट्रोक, हृदयाघात जस्ता जीवन रक्षाका घटनामा परेका व्यक्तिलाई सन मेडिकेयर योजनाले समेट्ने छ । यस्तै, ग्यास्ट्रोइन्टेस्टाइनल ब्लिडिङ, इलेक्ट्रिकल बर्न्स, ट्रम्याटिक ब्रेन इन्जुरी, एक्टोपिक प्रेग्नेन्सीलगायत रोगलाई यस योजनामा समेटिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त योजनामा आवद्ध भइसकेपछि दावी भुक्तानीको अनौठो विधि छ । सन मेडिकेयरले अस्पतालको बिल बमोजिम भुक्तानीभन्दा पनि अस्पतालमा भर्ना भएको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बताएको छ । सस्तो, प्रभावकारी र भरपर्दो रहेको यस योजनाले वार्षिक १ हजार ३९३ रुपैयाँमा १ लाख रुपैयाँसम्मको आर्थिक राहत प्रदान गर्ने कम्पनीको भनाइ छ । अप्रत्यासित तथा आकस्मिक चिकित्सा खर्चको बोझ कम गर्न सन मेडिकेयर योजना साथी बन्ने कम्पनीले जनाएको छ । विश्वासिलो सेवा भएकाले सबैले सन मेडिकेयर रोज्ने कम्पनीको अपेक्षा छ । यस योजनाबाट आकस्मिक स्वास्थ्य समस्याहरूले वित्तीय अवस्थामा असर नगर्ने, दावी प्रक्रिया सजिलो, छिटो र पारदर्शी रहेको कम्पनीले जनाएको छ । अस्पताल खर्चको तनाव नलिई उपचारमा केन्द्रित हुने सुविधा रहेको कम्पनीको भनाइ छ ।
नयाँ वर्षमा जुकरबर्गको भाग्य चम्कियो, कमाइमा एलन मस्कलाई उछिने
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति गत वर्ष २०३ अर्ब डलरले बढ्यो । अहिले ४३७ अर्ब डलरको नेटवर्थसहित उनी नम्बर एक स्थानमा अडिग छन् । तर नयाँ वर्षमा धेरै धनीले कमाइको मामिलामा उनीहरूलाई पछि पारेका छन् । मस्कको कुल सम्पत्ति यो वर्ष अहिलेसम्म ५.०५ बिलियन डलरले बढेको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका मार्क जुकरबर्ग यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने हिसाबले पहिलो स्थानमा छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ८.८६ बिलियन डलरले बढेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५.४ बिलियनले बढेको छ । उनी २२३ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । एनभीडीयाका संस्थापक जेन्सेन हुआङको कुल सम्पत्ति यस वर्ष १२.७ बिलियन डलरले बढेको छ भने चेङ्पेङ झाओको कुल सम्पत्ति ११.९ बिलियन डलरले बढेको छ । अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति यो वर्ष ७.६३ अर्ब डलरले बढेको छ र उनी २४६ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । ल्यारी पेजको कुल सम्पत्ति यस वर्ष ५.९८ बिलियन डलरले बढेको छ भने सर्गेई ब्रिनको कुल सम्पत्ति ५.५८ बिलियन डलरले बढेको छ । त्यस्तै, माइकल डेलको कुल सम्पत्ति ४.५४ बिलियन डलरले बढेको छ । यता, मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ घटेको छ । अम्बानीको नेटवर्थ २.५९ र अडानीको नेटवर्थ ३.५३ बिलियन डलरले घटेको हो । भारतीय सेयर बजारमा सोमबार आएको गिरावटले दुबै जनाको नेटवर्थ घटेको हो । अडानीले यस वर्ष ४.२१ अर्ब डलर गुमाएका छन् भने अम्बानीले ११९ मिलियन डलर गुमाएका छन् । अम्बानी ९०.५ अर्ब डलरका साथ विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् भने अडानी ७४.५ अर्ब डलरसहित १९औं स्थानमा छन् ।
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
काठमाडौं । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
काठमाडौं । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय यातायात प्राधिकरणले जनाएको छ । तीमध्ये, केवल तीन लाख ८० हजार ६०९ विद्युतीय कार थिए, जुन १३ दशमलव ५ प्रतिशतको बजार हिस्सा बराबर छ । इवाई विश्लेषक कन्स्टान्टिन गलले भने, ‘सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ । नयाँ इभि मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्ताहरूलाई विद्युतीय कार छनौट गर्न निरुत्साहित गरेको छ ।’ विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखांकित गर्छ । यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारी साधन समस्यासँग सङ्घर्ष गरेको छ । निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेको थियो । फेब्रुअरी २३ गते हुने निर्वाचनअघि अटो उद्योगको सङ्कट राजनीतिक मुद्दा बनेको छ । केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनमा सँग जोडेका बताएका छन् । यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ । अर्थ कार निर्माताहरूले आगामी वर्ष बिक्रीमा सामान्य वृद्धि भन्दा बढी आशा गर्न सक्ने अवस्था नरहेको उनले बताए । रासस
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
सोलुखुम्बु । मंगलबार गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
मुक्त्तिनाथ विकास बैंकले ल्यायो एनिभर्सरी बोनाञ्जा योजना, १० हजार रुपैयाँसम्म पाइने
काठमाडौं । मुक्त्तिनाथ विकास बैंकले १९ औं वर्ष प्रवेश गरेको अवसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्त्तिनाथ एनिभर्सरी बोनाञ्जा योजना ल्याएको छ । पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जनाले लक्की ड्रमार्फत मोबाइल फोन पाउनेछन् । बैंकका अनुसार यसैगरी १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने ग्राहकमध्ये दैनिक १९ जनाले लक्की ड्रमार्फत १०० रुपैयाँ टपअप प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने छ । यस्तै बैंकको मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ ग्राहकले लक्की ड्रमार्फत भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने बैंकले जनाएको छ । बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की डमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ । मोबाइल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने ग्राहकमध्ये दैनिक १ जनालाई लक्की ड्रमार्फत १,००० रुपैयाँ क्यास ब्याक र क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की ड्रमार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने बैंकले जनाएको छ । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ ।