विकासन्युज

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर  ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे ।  | मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पको  धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए । ‘पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’

ठूलो खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारणसभा मंगलबार कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट सञ्चालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् । सभाबाट सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले सभामा सेयरधनीहरूलाई सुनाए ।

ताल बाराही मन्दिर पुनर्निर्माणका लागि नेपाल एसबीआई बैंकको १० लाख सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुंगाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरुसमेतको उपस्थिति थियो ।

अवैध कल सेन्टर सञ्चालन गर्ने दुई भारतीय नागरिकसहित ५३ जना पक्राउ

काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गर्ने दुई भारतीय नागरिकसहित ५३ जना पक्राउ गरेका छन् । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको सातदाेबाटाेबाट उनीहरूलाई पक्राउ गरेको हो । सातदोबाटोस्थित सुरेन्द्रगोपाल श्रेष्ठको पाँच तले घरको चौथो तला भाडामा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाई रहेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीले पक्राउ गरेको हो । सीआईबीले कल सेन्टरबाट कम्प्यूटर, मोबाइललगायतका इलेक्ट्रोनिक्स उपकरणहरूसहित नियन्त्रणमा लि‍इएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट सिंगम लोटरी, अना लोटरी, भाउ लोटरी र इन्डसबेट लोटरी लगायतका ग्याम्बलिङ एपहरूको दुरुपयोग गरी अनलाइन प्लेटफर्म फेयर गेम्स डट कम स्ल्यासआरटीसी डट इनमार्फत् कुराकानी गरी ह्वाट्सएपमार्फत विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ अनलाइन ग्याम्बलिङ (सट्टाबाजी)गर्ने गरेको खुल्न आएको छ । पक्राउ गरिएका भारतीय नागरिकहरू केही समय अगाडि विभिन्न देशहरूमा सोही प्रकृतिको कारोबारमा संलग्न भएको र यसै समूहले हाल विभिन्न सात देशहरूमा समेत अवैध सट्टेवाजी क्रियाकलाप सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सीआईबीले जनाएकाे छ । उनीहरूले नेपालमा भने विगत ९ महिनादेखि प्रोलिन्कटेक सोलुसन प्राइभेट लिमिटेड नामक कम्पनी दर्ता गरी कल सेन्टर खाेली अवैध अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए । प्रारम्भिक अनुसन्धानपश्चात घटनामा संलग्न मुख्य ७ (२ विदेशी र ५ नेपाली नागरिक)जना उपर ‘मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) परिच्छेद ५ दफा १२५ (४)‘सट्टाबाजी गर्न नहुने’ सम्बन्धि कसुरअन्तर्गत मुद्दा दर्ता गरीअनुसन्धान भइरहेको र बाँकी ४६ जना उपर थप अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएकाे छ ।

बढ्यो सेयर बजार, फाइनान्समा लगानीकर्ताको आकर्षण

काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरूमा सेयर बजार बढिरहेको छ । नेप्सेका अनुसार १२६ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको भने सेयर मूल्य घटेको छ । आज ३०५ कम्पनीको १ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । सिन्धुको १६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख, साहस ऊर्जाको १४ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ९ करोड ८२ लाख र भूगोल इनर्जी डेभलपमेन्टको ९ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज अरुभन्दा फाइनान्स सेक्टरमा बढी आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशतले बढेको छ । साथै व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशतले बढेको । बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

‘क्रेटा ईभी’को इन्टेरियर सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । जनवरी १७ तारिख सार्वजनिक हुने हुन्डाई क्रेटा इलेक्ट्रिकको इन्टेरियर पनि सार्वजनिक भएको छ । कम्पनीले क्रेटा ईभीको टिजर भिडियोमार्फत इन्टेरियरमा भएका फिचर सार्वजनिक गरेको हो । पेट्रोल क्रेटामा जस्तै क्रेटा ईभीको ड्यासबोर्डमा समान १०.२५ इन्चको दुईवटा स्कृन दिइएको छ । ड्यूल जोन क्लाइमेट कन्ट्रोल, लेभल टु एडास फिचर, अटो डिमिङ रियर भ्यू मिरर, बोसको ८ वटा स्पीकर क्रेटा ईभीमा पाउन सकिन्छ । रेगुलर क्रेटाभन्दा विल्कुलै फरक स्टेरिङ ह्वील ईभीमा दिइएको छ । उक्त स्टेरिङ कोना इलेक्ट्रीकबाट लिइएको हो । कोनाकै जस्तो गियर सेलेक्टर दिइएको नयाँ क्रेटामा ‘सिफ्ट वाइ वायर सिस्टम’ दिइएको छ । विभिन्न ड्राइभिङ मोड उपलब्ध ईभीमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, अटो होल्ड फङ्गसन पनि पाउन सकिन्छ । हुन्डाईले क्रेटा ईभीमा मोवाइल एप पनि अफर गरेको छ । हुन्डाईले क्रेटामा दिएको लेभल टु एडास फिचर भित्र लेनकीप एसिस्ट, फर्वाड कुलिसन वार्निङ, ब्लाइन्ड स्पट मोनिटरिङ, एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर समेत छन् । यसका अलावा स्पोर्ट रियर डिस्क ब्रेक, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल एसिस्ट, टायर प्रेसर मोनिटर, ३६० डिग्री क्यामेरा, रेन सेन्सिङ वाइपर, फ्रन्ट पार्किङ सेन्सर पाउन सकिन्छ । क्रेटा ईभीमा ४२ र ५१ किलोवाट आवरको दुई ब्याट्री अप्सन र १०० र १२५ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ ।

व्यस्त दम्पत्तिको सहारा बन्दै शिशु स्याहार केन्द्र, भर्ना पाउनै मुस्किल

काठमाडौं । भक्तपुर दुवाकोट बस्ने सन्दीप कार्की मार्केटिङको जागिर गर्छन् । कार्कीको श्रीमती पनि नर्समा जागिरे छिन् । दुवैजना जागिरे त्यसमा पनि एकल परिवार भएकाले सन्दीप दम्पतीले आफ्नो सन्तानलाई समय दिन पाउँदैनन् । उनीहरूले आफ्नो नानीलाई नगरपालिकाले सञ्चालन गरेको नजिकैको शिशु स्याहार तथा बालविकास केन्द्रमा भर्ना गरे । शिशु स्याहार केन्द्रमा बच्चालाई राखेर ढुक्कले काम गर्न पाएको कार्की बताउँछन् । ‘हामीले एक वर्षदेखि नानीलाई शिशु स्याहार केन्द्रमा राखेका छौं,’ उनले भने, ‘शिशु स्याहार केन्द्रमा नानीलाई राख्दा हामीले ढुक्कले काम गर्न पाएका छौं ।’ भक्तपुर दूधपाटी बस्ने उर्मिला प्याथ सहकारीमा जागिर गर्छिन् । श्रीमान पनि काममा व्यस्त हुँदा उनले काम गर्न नपाउने हो कि भन्ने चिन्तामा थिइन् । तर उनले पनि आफ्नो बाबुलाई नगरपालिकाले नै सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा भर्ना गरेपछि जागिर गर्न पाएकी छिन् । बाबुलाई स्याहार केन्द्रमा राख्न थालेको एक महिनामात्रै भएको उनले सुनाइन् । केन्द्रको सेवाप्रति निकै सन्तुष्टि छिन् उर्मिला । निजी संस्थाले सञ्चालन गरेको स्याहार केन्द्रमा भन्दा यस स्याहार केन्द्रमा धेरै राम्रो स्याहार र सुविधा भएको उनले बताइन् । ‘प्राइभेटमा भन्दा यहाँ धेरै राम्रो लाग्यो, यहाँ बच्चालाई खेल्ने ठाउँदेखि खानाको पनि राम्रो व्यवस्था छ, बच्चालाई केही भइहाल्ल्ने हो कि भन्ने कुरामा चिन्ता लिनुपर्दैन । बेलाबेला स्वास्थ्य जाँच पनि गराइरहेको हुन्छ । शुल्क पनि न्यून छ,’ उनले भनिन् । माथि प्रस्तुत गरिएका प्रसंग केही प्रतिनिधि पात्रमात्रै हुन् । अहिले एकल परिवार, त्यसमा पनि श्रीमान/श्रीमती दुबैजना जागिरे हुने चलन बढ्दै गएको छ । गाउँघरमा यस्तो चलन कम देखिएता पनि सहर बजारमा भने प्रशस्तै भेटिन्छन् । कमाउनका लागि दम्पती नै जागिर गर्न जाँदा सन्तानलाई समय दिन अभिभावक असमर्थ हुन्छन् । यस्तो अवस्थामा बच्चालाई समय दिनकै लागि दम्पतीमध्ये एक जना विशेषगरी महिलाहरूले आफूले गरिरहेको जागिर छाड्नुपर्ने बाध्यता छ । यो अवस्थामा पनि विस्तारै परिवर्तन हुँदै आएको छ । पछिल्लो समय आफ्नो सन्तानको हेरविचारको लागि भनेर जागिर नै छाडेर बस्नुपर्ने बाध्यता छैन । अहिले साना बच्चाहरूको हेरविचारको लागि विभिन्न बाल स्याहार केन्द्र सञ्चालनमा आइसकेका छन् । निजीमात्र नभएर सरकारी संघसंस्थाहरूमा पनि अहिले शिशु स्याहार केन्द्र सञ्चालनमा छन् । यसैले आजको दिनमा महिलाहरूलाई जागिर नै छाडेर घर बस्नुपर्ने अवस्था छैन । बढ्दै शिशु स्याहार केन्द्रको प्रभावकारिता आजभन्दा २५ वर्ष अर्थात विसं २०५६ सालअघि शिशु स्याहारको अवधारणा आइसकेको थिएन । अहिलेजस्तो व्यावसायिक रूपमा छ्यापछ्याप्ती स्याहार केन्द्रहरू पनि खुलेका थिएनन् । त्यतिबेला दम्पतीमध्ये एक जनाले बच्चा हेर्नेपर्ने बाध्यता थियो । त्यसैलाई मध्यनजर गरेर भक्तपुर नगरपालिकाले शिशु स्याहार तथा बालविकास केन्द्रको अवधारणा अघि सारेको हो । जागिर गर्ने महिलाले बच्चाकै कारण कामबाट वञ्चित हुनुनपरोस् भन्ने सोंचले शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता दामोदर सुवाल बताउँछन्। उनले भने, ‘विशेषगरी आर्थिक अवस्था कमजोर र एकल परिवारलाई लक्षित बनाएर सुरु गरेका हौं । आजको दिनसम्म आइपुग्दा यसको प्रभावकारिता बढ्दै गएको छ।’ यो केन्द्र सञ्चालनमा ल्याएपछि यसबाट धेरै जना दम्पती लाभान्वित भएको प्रवक्ता सुवालले जानकारी दिए । यो केन्द्रमा आफ्ना बच्चालाई राखेर आमाहरूले ढुक्कले काम गर्न, पढ्न पाएका छन् । यसले नगरबासीको स्वास्थ्य र आर्थिक स्थितिमा टेवा पुगेको सुवालले बताए । उनका अनुसार केन्द्रबाट हालसम्म पाँच हजारभन्दा बढी बालबालिका लाभाविन्त भइसकेका छन् । केन्द्रमा भर्ना गरिएका धेरै शिशु अहिले डाक्टर, इन्जिनियर, नर्सलगायत विभिन्न पेशामा जागिरे भइसकेको प्रवक्ता सुवालले बताए । केन्द्रका शाखा प्रमुख दीपेन्द्र प्रजापती जागिरे दम्पतीमात्रै नभएर कृषिमा आवद्ध परिवारलाई पनि सहज होस् भन्ने हिसाबले यो कार्यक्रम सुरु भएको बताए । ‘जागिरे महिला मात्रै नभएर कृषि व्यवसाय गर्नेहरूलाई पनि समस्या हुन्छ । बच्चालाई घरमा एक्लै छाड्न नमिल्ने, खेतमा सँगै लगेर जान पनि नमिल्ने । शिशुलाई केन्द्रमा भर्ना गरेपछि आमाबुवाले ढुक्कले खेतमा काम गर्न पाएका छन्,’उनले भने । नगरपालिकाभित्र ६ वटा शिशु स्याहार केन्द्र सञ्चालनमा छन् । प्रजापतिका अनुसार भार्वाचो, मंगलतीर्थ, गोल्मढी, खँचा, भोलछें र लिवालीवडामा सञ्चालन भइरहेका छन् । १८ महिनादेखि ४ वर्षसम्मका बच्चाहरूलाई यस केन्द्रमा राख्न सकिन्छ । एउटा केन्द्रमा २ जना आया (सहयोगी) दिदी र २ जना शिक्षिकाको व्यवस्था गरिएको छ । ६ केन्द्रमा २४ जना कर्मचारी खटिएका छन् । एउटा केन्द्रमा ४० जना मात्रै शिशुको कोटाको व्यवस्था गरिएको छ । ‘एक जना शिक्षिकाले १० जना विद्यार्थीलाई कभर गर्न सक्छन् भन्ने मान्यताले प्रत्येक केन्द्रमा ४० जनाको कोटा व्यवस्था गरेको शाखा प्रमुख प्रजापतिले बताए । हाल नगरभित्रको ६ वटा शिशु स्याहार केन्द्रमा २४० जना शिशु छन् । न्यून शुल्कमा उत्कृष्ट सेवा नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा एक जना शिशु बराबर एक हजार रुपैयाँमात्रै शुल्क निर्धारण गरिएको छ । मासिक एक हजारमै बच्चाहरूले खाजादेखि लिएर सबै सुविधा पाउने शाखा प्रमुख प्रजापतिले बताए । उनी नगरपालिकाले लिने यो शुल्क आकर्षण गर्नका लागि नभएको स्पष्ट पार्छन् । ‘हामीले लिने शुल्क आकर्षण शुल्क होइन । आकर्षणकै लागि हो भने अहिले सरकारी स्कुलमा शिशु स्याहार केन्द्र छन् । स्कुलले कम शुल्क लिन्छन्, त्यहाँ पनि सबै खालको सुविधा हुन्छन् तर त्यहाँ अभिभावकको विश्वास छैन । निजी स्कुलमा महिनाको चार हजारभन्दा माथि लिन्छन्, जुन सबै अभिभावकले तिर्न सक्ने अवस्था हुँदैन ।’ प्रजापतिका अनुसार २५० शिशु बराबर नगरपालिकाले शिशु स्याहार केन्द्रको लागि वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म खर्च गर्दै आएकाे छ । नगरपालिकाले शिशु स्याहार केन्द्रलाई नाफा नोक्सानभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेको सुनाउँछन् । ‘नगरबासीको छोराछोरीलाई स्याहार गर्नु हाम्रो धर्म हो । यो जिम्मेवारीमा पर्छ भनेर हामीले नाफा-नोक्सानसँग तुलना गरेका छैनौं, ’ उनले भने । शिशु स्याहार केन्द्रको लागि आवश्यक सबै खर्च नगरपालिकाले बेहोर्दै आइरहेको छ । नगरपालिकाले केन्द्रमा खटिएका शिक्षिका र आया दिदीलाई दिने तलब सरकारी कर्मचारीकै बराबर प्रदान गरेको प्रजापतिले बताए । यसबाहेक नगपालिकाले वडासँग समन्वय गरेर नियमित खाजाको व्यवस्था गर्दै आएको छ । अरू केन्द्रभन्दा पृथक सरकारी स्कुल, निजी विद्यालय तथा संघसंस्थाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रभन्दा नगरपालिकाले सञ्चालन गरेको केन्द्रमा धेरै भिन्नता रहेको प्रजापति दावी गर्छन् । उनका अनुसार नगरपालिकाले सञ्चालन गरेको शिशु केन्द्र पूर्ण रूपले शिशु स्याहारलाई मात्रै ध्यान दिने गरेको छ, जुन कुरा अरू ठाउँमा कम हुन्छ । बढ्दो आकर्षण नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहारको अभ्यास र यसको आकर्षण बढ्दै गएको छ । २०७४ सालअघि भने केन्द्रमा यस प्रकारको आकर्षण थिएन । त्यसबेला अभिभावकको विश्वास जित्न केन्द्रलाई ठूलो चुनौती भएको प्रजापतिले स्मरण गर्दै भने । ‘त्यतिबेला अभिभावकको विश्वास जित्न निकै कठिन परिस्थिति थियो । केन्द्रमा बच्चालाई स्याहार नहुने हो कि, केही पो भइहाल्ने हो कि भन्ने शंकाउपशंकाले अभिभावकले केन्द्रमा शिशु छाड्न डराउथे । केन्द्र पनि अहिलेजस्तो व्यवस्थित बनाउन सकेका थिएनौं,’ उनले भने । केन्द्रलाई सञ्चालन गर्न नियमावली अहिले नगरपालिकाले ६ वटै केन्द्रमा शिक्षिका, आया दिदी नियुक्त गर्नुका साथै शिशुका लागि आवश्यक सबैखाले सुविधा व्यवस्थित गरेको छ । केन्द्रलाई थप व्यवस्थित बनाउन शाखा नै बनेको छ । त्यस्तै, केन्द्रलाई कसरी सञ्चालन गर्ने भन्ने नियमावली बनेको छ । नगरपालिकाले केन्द्रहरूमा नियमति अनुगन गर्ने, छलफल गर्दै आइरहेको छ । बच्चाहरूलाई समय-समयमा स्वास्थ्य जाँचदेखि लिएर अभिभावक कार्यक्रमहरू पनि केन्द्रले सञ्चालन गर्छ । केन्द्रमा बच्चाहरुका लागि भौतिक पूर्वाधार, खेल्ने, बस्ने ठाउँ सबै व्यवस्थित छ । बच्चाहरूको स्वास्थ्यलाई मध्यनजर गरेर दिनको तीनपटक स्वच्छ खानाको व्यवस्था गरेको छ । तालिमप्राप्त शिक्षिकामार्फत बच्चालाई श्रव्यदृष्यमार्फत सिकाउने, खेलाउने, सुताउने नियमित रूपमा केन्द्रमा हुने गरेको छ । बाहिरी जिल्लाका लागि पनि सुविधा यसबाहेक नगरपालिकाले सुरुवातमा नगरभित्र बसोबास गर्ने स्थायी बासिन्दाको लागि मात्रै यो कार्यक्रम सञ्चालन गरेकोमा अहिले बाहिर जिल्लाबाट आएर बसोबास गर्नेहरूले पनि आफ्नो बच्चालाई भर्ना सक्ने व्यवस्था छ । यसैले पनि अहिले अभिभावकको केन्द्रप्रतिको विश्वास ह्वात्तै बढेको शाखा प्रमुख प्रजापतिले बताए । विगतमा यहाँ केन्द्रमा खटिने शिक्षिकाहरूमाथि तलब मात्रै खाने भन्ने आरोप लाग्ने गरेकोमा अहिले शिक्षिकाहरूमाथि हेर्ने दृष्टिकोणमा पनि ठूलो परिवर्तन आएको प्रजापति सुनाउँछन् । उनका अनुसार केन्द्रमा आफ्नो शिशु राख्दिनुपर्‍यो भनेर धेरै अभिभावक नगरपालिकामा अनुरोध गर्न आउँछन् । एउटा केन्द्रमा ४० जनाको मात्रै कोटा हुँदा नगरपालिकाले सबैलाई सम्बोधन गर्न नसकेकोमा आगामी दिनमा भने केन्द्रहरू थप गर्दै लैजाने योजना रहेको प्रजापतिले बताए । केन्द्रमा खटिने आया दिदी र शिक्षिकाहरूले बच्चाहरूको सेवा गर्न पाउँदा खुसी महसुस हुने बताउँछन् । विगत दुई वर्षदेखि शिशु स्याहार केन्द्रमा सेवा गर्दै आएकी रोशनी साखकर्मी बच्चाहरूसँग समय बिताउँदा रमाइलो हुनुका साथै नयाँ कुरा सिक्ने अवसर पाउने बताउँछिन् । यसअघि पनि शिक्षण पेशामा आवद्ध भइसकेकी साखकर्मी बच्चाहरूको सेवा आफ्नो जागिरभन्दा पनि जिम्मेवारी हो भनेर लिने गरेकी छिन् । उनले भनिन्, ‘हामीलाई अभिभावकले विश्वास गरेर साना शिशुहरूलाई हाम्रो जिम्मामा छोडिदिनुहुन्छ, हामीले पनि उहाँहरूको विश्वास दिलाउनेगरी काम गरिरहेका छौं ।’ साखकर्मीमा अनुसार केन्द्रमा बच्चाहरूको शारीरिक, मानसिक र स्वास्थ्य सबैलाई ध्यानमा राखेर त्यही खालको क्रियाकलापहरू हुने गरेको छ । केन्द्रको सेवाप्रति अभिभावकले सकारात्मक प्रतिक्रिया दिने गरेको उनले बताइन् । ‘यहाँ केन्द्रमा भर्ना गरेपछि उहाँहरूले आफ्नो बच्चामा धेरै परिवर्तन देख्नुहुन्छ, यो देखेर उहाँहरू खुसी हुनुहुन्छ । हामीलाई पनि यसैले खुसी मिल्छ,’ उनले सुनाइन् ।