२५ अंकले घट्यो सेयर, सबै उपसूचक राताम्ये
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३०१ कम्पनीको ८० लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रहेको छ । एनआरएनको २० करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीन्धु विकास बैंकको १८ करोड ८० लाख, सिंगटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख र नेपाल लाइफ इन्स्याेरेन्सकाे ७५ लाख रुपैयाँ बढीकाे काराेबार भएकाे छ । आज सबै उपसूचक राताम्ये भएकाे नेप्सेले जनाएकाे छ ।
हुन्डाईले जापानमा सार्वजनिक गर्यो १८ हजार डलरको ईभी ‘इनस्टर’
काठमाडौं । दक्षिण कोरियाको हुन्डाई मोटरले जापानमा २.८५ मिलियन येन (करिब १८ हजार डलर) मूल्यको इनस्टर नामक सस्तो कम्प्याक्ट इलेक्ट्रिक कार (ईभी) सार्वजनिक गरेको छ, जसले पेट्रोल र हाइब्रिड प्रविधिमा प्रभुत्व जमाएका स्थानीय कम्पनीहरूको बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ । यससँगै इनस्टरले जापानमा सबैभन्दा सस्तो कम्प्याक्ट इलेक्ट्रिक कारको स्थान लिएको छ, जुन २०२३ मा बीवाईडीको डल्फिनको ३.६३ मिलियन येन मूल्यभन्दा कम हो । यो कारले मे महिनादेखि जापानी ग्राहकहरूलाई डेलिभरी सुरु गर्ने योजना रहेको हुन्डाई मोबिलिटी जापानका सीईओ तोशियुकी शिमेगीले टोकियो अटो सैलुन मोटर शोको क्रममा एक पत्रकार सम्मेलनमा जानकारी दिए । हुन्डाई इन्स्टरको जापान सुरुवातले टेस्लाको प्रयासलाई पछ्याउने जनाइएकाे छ । इन्स्टरको साथ हुन्डाईले चीनको अग्रणी ईभी निर्माता बीवाईडीजस्तै कम मूल्यको रणनीति लिने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानको अल्ट्रा-कम्प्याक्ट ‘केई कार’ श्रेणीमा निसान मोटरको सकुरा २.६ मिलियन येनमा बिक्री भइरहेको छ र यो देशको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक कार हो । तर गत वर्ष सकुराको बिक्री २३ हजारभन्दा कम थियो, जुन २०२३ को तुलनामा लगभग ४० प्रतिशतले कम हाे । यसले जापानी यात्रु कार बजारमा इलेक्ट्रिक कारहरूको लोकप्रियता कम रहेको देखाउँछ । हुन्डाईले गत वर्ष जापानमा मात्र ६०७ गाडीहरू बेचेको थियो, जबकि बीवाईडीले २ हजार २२३ गाडीहरू बेचेको थियो। हुन्डाईले आगामी पाँच वर्षमा जापानमा आफ्नो बिक्रीलाई दश गुणा बढाउने लक्ष्य राखेको छ । हुन्डाईले २००९ मा जापानी बजारबाट बाहिरिएपछि २०२२ मा मात्र इलेक्ट्रिक र फ्युल सेल गाडीहरूमार्फत पुन: प्रवेश गरेको थियो।
आईएसएमटी चितवन म्युजिक फेस्ट हुँदै, इलिमेन्ट्सको प्रस्तुति रहने
काठमाडौं । आईएसएमटी चितवन म्युजिक फेस्टको आयोजना हुने भएको छ । भरतपुर महानगर- १२ स्थित आईएसएमटी कलेजले माघ १ गते आफ्नै प्रांगणमा म्युजिक फेस्टको आयोजना गर्न लागेको हो । युनिभर्सिटी अफ सुन्डरल्यान्डसँग मिलेर कलेजले म्युजिक फेस्टको आयाेजना गर्न लागेको हाे । पढाइका साथसाथै मनोरञ्जन गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालकै चर्चित ब्यान्ड ‘द इलिमेन्ट्स’को प्रस्तुति रहने कलेजले जनाएकाे छ । साथै कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो कला, गायन र नृत्यको प्रस्तुति गर्ने पनि जनाइएकाे छ । आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सुन्डरल्यान्डकाे सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए, बीएचएम, बीएस्सी, आईटी, बीएस्सी, साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर, ५ करोडको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीन सय रुपैयाँ २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आइतबार अदालतमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरूको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप-पत्रमा उल्लेख गरेको छ । श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बुबा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतका नाममा राखेको देखिएको आयोगको दाबी छ । आयोगले श्रेष्ठको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफतको माग गरेको छ । आयोगले श्रेष्ठकी पत्नी, बुबा, आमा र छोरालाई समेत प्रतिवादी कायम गरेको छ ।
माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार पुस २८ गते साधारणसभा सम्पन्न भएको हाे । कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । १५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तसम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसँग सम्वद्ध अनुसूचीहरू पारित गरेको छ । साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।
सोमबार सार्वजनिक बिदा
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिता पर्वको अवसरमा भोली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरिएको छ । सोमबारदेखि थारु समुदायको माघ पर्व सुरु हुने गर्छ । माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ । माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा संघीय सरकारले नै सार्वजनिक बिदा दिँदै आएको छ।
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भने । ‘मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने, ‘त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो ।’ उनले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरे । सो अवसरमा महान्यायाधिवक्त बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।
‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न
काठमाडौं । समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा ‘अदृश्य मोतीहरू’को तेस्रो संस्करण सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन तथा उनीहरूको दैनिक जीवन सहजीकरणका निम्ति प्रयोग गर्ने सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो । शनिबार सम्पन्न भएकाे कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो । कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा लेखपढका निम्ति प्रयोग गर्ने सामग्रीहरू जस्तै ब्रेललिपिमा लेख्ने स्लेट, स्टाइलस, कम्प्युटर, ब्रेल सेन्सर, क्रिकेट बल, फुटबल, चेस आदि प्रदर्शनीमा राखिएको थियो । ‘लाइभ म्युजिक नेपाल’ नामक दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ब्यान्डका कलाकारहरूले विभिन्न सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष सुशिल अधिकारीले दृष्टिविहीन व्यक्तिहरूलाई समान व्यवहार र सहज बुझाइको खाँचो रहेको औंल्याए । संस्थाका अध्यक्ष युवराज वाग्लेले विभिन्न कर्पोरेट क्षेत्रको सहयोगमा संस्थाले तालिम एवम् कार्यक्रमहरू गरेको भए तापनि राज्यको तर्फबाट सहयोग नरहेको गुनासो व्यक्त गरेका थिए ।