‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न
काठमाडौं । समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा ‘अदृश्य मोतीहरू’को तेस्रो संस्करण सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन तथा उनीहरूको दैनिक जीवन सहजीकरणका निम्ति प्रयोग गर्ने सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो । शनिबार सम्पन्न भएकाे कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो । कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा लेखपढका निम्ति प्रयोग गर्ने सामग्रीहरू जस्तै ब्रेललिपिमा लेख्ने स्लेट, स्टाइलस, कम्प्युटर, ब्रेल सेन्सर, क्रिकेट बल, फुटबल, चेस आदि प्रदर्शनीमा राखिएको थियो । ‘लाइभ म्युजिक नेपाल’ नामक दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ब्यान्डका कलाकारहरूले विभिन्न सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष सुशिल अधिकारीले दृष्टिविहीन व्यक्तिहरूलाई समान व्यवहार र सहज बुझाइको खाँचो रहेको औंल्याए । संस्थाका अध्यक्ष युवराज वाग्लेले विभिन्न कर्पोरेट क्षेत्रको सहयोगमा संस्थाले तालिम एवम् कार्यक्रमहरू गरेको भए तापनि राज्यको तर्फबाट सहयोग नरहेको गुनासो व्यक्त गरेका थिए ।
८ अर्ब डलरको घाटा बेहोरेको त्यो बयान
काठमाडौं । बुढापाकाहरूले राम्ररी सोंचविचार गरेर मात्र कुरा गर्नुपर्छ भन्छन् । धेरै पटक सोचविचार नगरी भनिएका कुराहरूले ठूलो हानि पुर्याउन सक्छनु् । क्वान्टम कम्प्युटिङ उद्योगमा पनि यस्तै केही भयो । विश्वका शीर्ष धनी व्यक्तिहरूमध्ये एक व्यक्तिको बयानले उद्योगमा यस्तो आँधीबेहरी मच्चायो कि एकै झट्कामा ८ अर्ब डलर (लगभग १०९८६२.४ करोड) घाटा भयो । ती व्यक्ति हुन् एनभीडीयाका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ । एनभीडिया एक प्रविधि कम्पनी हो, जुन ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) को डिजाइन र निर्माणको लागि परिचित छ । अर्थात् यो कम्पनीले जटिल कम्प्युटिङका लागि चिप्स बनाउँछ । जटिल कम्प्युटिङ उच्च गुणस्तरको भिडियो सम्पादन, भीएफएक्स र ग्राफिक डिजाइनिङआदि जस्ता विभिन्न उद्देश्यका लागि प्रयोग गरिन्छ । के दिएका थिए बयान ? गत बुधबार हुआङले क्वान्टम कम्प्युटिङको भविष्यको बारेमा एक बयान दिए । उनले भनेका थिए, ‘क्वान्टम प्रशोधन हालको क्युबिट्सको संख्याभन्दा १० लाख गुणा बढी हुनु आवश्यक छ । साँच्चै उपयोगी क्वान्टम कम्प्युटर बजारमा ल्याउन १५ देखि ३० वर्ष लाग्न सक्छ ।’ उनले कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा यस्तो बयान दिएका हुन् हुआङको भनाइले क्वान्टम कम्प्युटिङ उद्योगमा बहस सुरु गरेको छ । यो बहसले क्वान्टम कम्प्युटिङको वर्तमान उपयोगिता र भविष्यको बारेमा फरक-फरक विचारलाई हाइलाइट गरिरहेको छ । उद्योग विज्ञहरूले हुआङको भनाइ गलत भएको बताएका छन् । बयानको प्रभाव हुआङको भनाइले क्वान्टम कम्प्युटिङ कम्पनीहरूको सेयरमा असर गर्यो । जसले गर्दा यस उद्योगको सेयर एकै झटकामा क्र्यास भयो । यसमा ४० प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । यसका कारण यी कम्पनीहरूको बजार पूँजीकरण ८ अर्ब डलर (लगभग १०९८६२.४ करोड) ले घट्यो । यसभन्दा अगाडि एनभीडीयाविरुद्ध एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा चीनले अनुसन्धान सुरु गरेपछि एनभिडियाको सेयर घटेको थियो । हुआङको कुल सम्पत्ति हुआङकाे नेटवर्थ ११९ अर्ब डलर छ । उनी संसारको १२ औं धनी व्यक्ति हुन् । एनभीडीया द्रुत गतिमा बढिरहेको कम्पनी हो । एप्पलपछिको दोस्रो मूल्यवान कम्पनी एनभीडीया एप्पलपछि विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो । माइक्रोसफ्ट ३.१ ट्रिलियन मार्केट क्यापसहित विश्वको तेस्रो सबैभन्दा मूल्यवान कम्पनी रहेकाे छ । यसैगरी, गुगलकाे मूल कम्पनी अल्फाबेट इंक र अमेजनको लगभग २.३ ट्रिलियनकाे मूल्य छ । साउदी आरामको, फेसबुक, टेस्ला, ब्रोडकम र टीएसएमसी शीर्ष १० मा छन् । एआईमा विश्वको चासो र विभिन्न उद्योगहरूमा एआई केन्द्रित चिप्सको माग बढ्दै गइरहेको छ । गत वर्ष एआई चिप्समा उच्च मागका कारण एनभीडीयाको सेयर १८० प्रतिशतले वृद्धि भएको थियो ।
१३८ कन्या कुमारीको बेल विवाह (तस्बिरहरू)
काठमाडौं । नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ । आइतबार बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो । सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात पूजा सुरु गरिएको थियो । पूजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो ।
ललितपुर महानगरको सहयोगमा पाटन अस्पतालको शवगृह स्तरोन्नति
काठमाडौं । ललितपुर महानगरपालिका र पाटन अस्पतालको संयुक्त सहकार्यमा अस्पातलमा रहेको शवगृहको स्तरोन्नति भएको छ । आइतबार अस्पतालमा एक कार्यक्रमबीच महानगर प्रमुख चिरीबाबु महर्जनले स्तरोन्नति शवगृहको उद्घाटन गरे । शवगृहको स्तरोन्नतिसँगै अब २४ शवलाई राख्न मिल्ने व्यवस्था भएको छ । यसभन्दा अघि शवगृहमा चार शवमात्रै राख्न मिल्ने क्षमता थियो । महानगर प्रमुख महर्जनले शवगृह स्तरोन्नतिका लागि अस्पताललाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । विगतमा पनि महानगरको तर्फबाट अस्पताललाई सहयोग गर्दै आइरहेको कुरा जानकारी दिँदै प्रमुख महर्जनले भने, ‘अस्पतालाई सहयोग गर्नुपर्ने अवस्थामा महनगर संधै तयारी अवस्थामा छ । कोभिडको समयमा अक्सिजन प्लान्ट सहयोग गरेका थियौं, यसले धेरै बिरामीलाई सहज पुग्यो । अहिले पनि हामीले शवगृहको लागि सहयोग गर्न पाउँदा खुसी महसुस गरेका छौं ।’ विगतमा पाटन अस्पतालको शवगृह शव राख्ने ठाउँ कम हुँदा लासमाथि लास खप्टेर राख्नुपर्ने अवस्था थियो । पहिचान नखुलेको शव लामो समय राख्नुपर्दा दुर्गन्धित भएर अस्पताल मात्रै नभएर अस्पताल परिसरमा पनि त्यसले नकारात्मक सन्देश प्रवाह भएको अस्पतालका डाइरेक्टर प्राध्यापक डा. रवि शाक्यले बताए । उनले भने, ‘शवगृहभित्रको स्थिति दर्दानात्मक थियो नै । साथै अस्पताल नजिकका छिमेकीहरुबाट दुर्गन्ध फैलियो भनेर गुनासो आइरहन्थ्यो ।’ शवगृहको स्तरोन्नतिसँगै अब शवको व्यवस्थापन गर्नमा अस्पतालाई सहयोग पुग्ने शाक्यले सुनाए । अस्पातलका फरेन्सिक विज्ञ सम्झना घिमिरेले शवगृहको स्तरोन्नति हुँदा लासको व्यवस्थापन गर्न सहज हुनुका साथै काम गर्न पनि सहज पुग्ने विश्वास व्यक्त गरिन् । लाशको फरेन्सिक परीक्षणबाट मृत्यु हुनुको कारण खुल्ने हुँदा यसले लाशले न्याय पाउने बताउँदै उनले भनिन्, ‘हामीले लाशलाई पनि सम्मान दिनु जरुरी छ, मृत्युपछि लासले सम्मान पाउने भनेको उहाँहरूको मृत्यु के कारणले भयो भनेर वास्तविक कुरा पत्ता लगाउनु हो । त्यो कुरा फरेन्सिक जाँचले सम्भव छ ।’ प्रमुख महर्जनले पहिचान नखुलेका शवहरूको व्यवस्थापनको जिम्मा महानगरको लिनेसमेत बताए । साथै उनले यस्ता शवहरूको व्यवस्थापन गर्ने संघसंस्थालाई पनि प्रोत्सहानस्वरूप सम्मान गर्दै आइरहेको जनाए । उनका अनुसार महानगरले वेवारिसे शव व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गर्दै आइरहेको विनय जंगको संस्थालाई एक लाख सहयोगसहित सम्मान गरेको छ ।
नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका छन् । अध्यक्ष ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेकोले सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका हुन् । नेपाल योङ आन्टप्रेनर फोरम (एनवाइइएफ)ले काठमाडौंमा आयोजना गरेको चौथो स्टार्टअप अवार्ड वितरणका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका साथै अध्यक्ष ढकालले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकास गर्न सके मात्रै देश विकास सम्भव रहेको बताए । उनले सूचना प्रविधि क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात गर्दै स्टार्टअपलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । ‘अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको छ । साच्चि नै देशको आर्थिक उन्नती हेर्ने मन हो भने उद्यमशीलता प्रवर्द्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा हामी केन्द्रित हुनुपर्दछ र यो नै आजको आवश्यक्ता हो ।’ उनले भने । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रर्वद्धनका लागि स्टटार्ट अप एण्ड ईन्नोभेशन फोरम, नेपाल युवा उद्यमी मञ्च, घरेलु तथा साना उद्योग, लगानी तथा अन्तरराष्ट्रिय फोरम (आइसीटी) र उद्योग तथा व्यवापार जस्ता समिति तथा फोरमहरुहरु स्थापनाका साथै उनीहरु मार्फत विभिन्न कामहरु गर्दै आईरहेको जानकारी दिए । उनले महासंघले मुलुक भित्र नविनतम सोंच सहितको उद्यमशीलता प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूसङ समन्वय गरेर काम गरिरहेको पनि बताए । उनले अझै पनि नेपालका कतिपय कानून पुराना भएकोले काम गर्न समस्या हुने गरेको उल्लेख गर्दै समयानुकूल कानुन ल्याउन तथा पुराना कानूनहरुको संशोधन गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘पछिल्लो समय निजि क्षेत्रको सुझाव अनुसार कतिपय कानून परिमार्जन भएका छ्न् । प्रायः सबै दलहरू अहिले आर्थिक एजेन्डाबिना मुलुक समृद्ध हुदैन भन्नेमा सहमत छन् । यो सकारात्मक पक्ष हो । तर यो प्रयाप्त छैन ।’ स्टार्टअप अवार्डबाट सम्मानित हुनेलाई बधाई ज्ञापन गर्दै अध्यक्ष ढकालले स्टार्टअपको विकास र विस्तारको लागि महासंघ सधैं तयार रहेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले देश विकासको लागि यूवाहरुको नविन सोचको सम्मान गर्दै सोही अनुरुपको वातावरण निर्माण गरिदिनुपर्ने बताए। उनले झन्झटिलो कानूनी प्रक्रियाको सुधारको लागि कार्यविधि, मापदण्ड जस्ता विषय खारेज गर्ने र सहजताका साथ काम गर्ने वातावरण बनाइने प्रतिवद्द्ता व्यक्त गरे । चौथो (एनवाईइएफ) स्टार्टअप अवार्डका लागि छनोट भएका ७ वटा कम्पनी मध्यबाट डिएल ड्ट सर्फले प्रथम, मेल्ट डाउनले दोस्रो र खेतीपाती अर्गानिक्सले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ ।
सोल्टी होटल्स एण्ड रिसोर्ट्सको ब्रान्ड एम्बेसडरमा पन्त, सोल्टी हेरिटेज क्लबको मोबाइल एप सुरु
काठमाडौं । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले सोल्टी हेरिटेज क्लबको लागि मोबाइल एप सुरु गरेको छ । सोल्टी हेरिटेज क्लब मोबाइल एपले सदस्यहरूलाई पोइन्ट ट्र्याक गर्न, बुकिङ व्यवस्थापन गर्न र व्यक्तिगत अफरहरूको पहुँच लिन सजिलो बनाउने छ । हाल यो एप्लिकेशन एन्ड्रोइड फोनमा उपलब्ध छ र चाँडै नै आईओएसमा पनि उपलब्ध हुने बताइएकाे छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले आफ्नो नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्तलाई नियक्त गरेको छ । ब्रान्डसँगको पन्तको सम्बन्धले यसको बजार उपस्थितिलाई अझ बलियो बनाउने प्रेस विज्ञप्तिमा जनाइएकाे छ । यो होटल चेनको लागि एक रोमाञ्चक नयाँ अध्याय भएको विज्ञप्तिमा उल्लेख छ । यसले स्थानीय र विश्वव्यापी बजार दुवैमा प्रिमियम अनुभव ल्याउने विश्वास व्यक्त गरिएकाे छ । आतिथ्य उद्योगमा एक अग्रणी नामको रूपमा द सोल्टी होटल्स एण्ड रिसोर्ट्स विश्वस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।
एनसेलको आम्दानी ३४ अर्ब र लाभांश ७० प्रतिशत, २७ अर्ब रहेको ऋण २२ अर्बमा झार्यो
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको व्यापार निरन्तर घट्दै गएको छ । सार्वजनिक तथ्यांकअनुसार कम्पनीको आम्दानी पछिल्लो चार वर्षमा निरन्तर घट्दै गएको देखिएको हो । सन् २०२५ को पहिलो त्रैमासमा यस कम्पनीको अपरिष्कृत सञ्चालन आम्दानी ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ देखिएको छ । यस्तै, सन् २०२४ को अपरिष्कृत सञ्चालन आम्दानी ३४ अर्ब ६ करोड ८० लाख र सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ रहेको छ । एनसेलको आम्दानी प्रत्येक वर्ष घटिरहेको देखिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार मोबाइल फोन सेवाको प्रयोग घट्दै जाँदा र मोबाइल डाटाको प्रयोग बढ्दै जाँदा आम्दानी घटेको हो । पछिल्लो समयमा फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्स एप लगायत सामाजिक सञ्जालको प्रयोग बढेसँगै मोबाइल फोन सेवाबाट प्राप्त हुने आम्दानीको आकार दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा असर परिरहेको छ । विगतका तीन आर्थिक वर्षमा औसत ८३ प्रतिशत लाभांश वितरण गरेको एनसेलले गत आर्थिक वर्षमा भने ७० प्रतिशत मात्रै वितरण गरेको बताइएको छ । स्पाइस नेपाल प्राइभेट लिमिटेडको रूपमा सन् २००१ मा दर्ता भएको यस कम्पनीले पहिलो निजी क्षेत्रको जीएसएम टेलिकम अपरेटरका रूपमा मेरो मोबाइल ब्रान्ड नाम अन्तर्गत सन् २००५ को सेप्टेम्बरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसपछि सन् २००८ को सेप्टेम्बरमा युरोपियन टेलिकम जायन्ट टेलियासोनेराले कम्पनीमा बहुमत सेयर लिएर सन् २०१० को मार्चमा यसको ब्रान्ड नाम परिवर्तन गरी एनसेल र कम्पनीको नाम परिवर्तन गरी एनसेल प्राइभेट लिमिटेड राखिएको थियो । सन् २०१६ अप्रिल १२ मा यो कम्पनी मलेसियन कम्पनी एक्सियाटाको स्वामित्वमा गयो । यस कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खदिर गरेको थियो । बाँकी २० प्रतिशत सेयर नेपालकै सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडसँग थियो । त्यसपछि फेरि कम्पनीको नाम परिवर्तन गरी एनसेल एक्सियाटा लिमिटेड राखिएको थियो । सन् २०२० अगस्ट ३ मा यो पब्लिक लिमिटेड कम्पनीमा परिणत गरियो । सन् २०२३ को डिसेम्बरमा एक्सियाटाले रेनोल्ड्स होल्डिङ लिमिटेडको आफ्नो सतप्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री ग¥यो । तर, यो सेयर स्थानान्तरणमा हुन सकेको छैन । सरकारले स्वीकृति दिएको छैन । स्पेक्ट्रलाइट यूके लिमिटेडका सेयरधनी सतिशलाल आचार्य हुन् । उनी नेपाली मूलका सिंगापुरेली नागरिक हुन् । इक्रा नेपालका अनुसार एनसेलले २२ अर्ब ६० करोड रूपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । त्यसमध्ये १० अर्ब ६० करोड दीर्घकालिन र १२ अर्ब रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । यसअघि कम्पनीले २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीले यो बिचमा ४ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा घटाएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि एल ए र अल्पकालीन कर्जाका लागि ए वानको रेटिङ पाएको छ ।
८ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए । पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ । चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ । चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्दछ । यसका लागि कम्पनीले प्रतिकिलो २० का दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ । छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो । यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताए । उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ । कम्पनीले पहिलोपटक एक हजार दुई सय सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो भएको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावरअन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताए । पर्वतमा चुत्रो समुद्री सतहबाट एक हजार मिटर उचाइदेखि तीन हजार मिटर उचाइसम्म पाइने गरेको उनको भनाइ छ । बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उनको भनाइ छ । नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद बिक्रीका लागि पुर्जी जारी गर्नसमेत नपर्ने उनले बताए । चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन नसकेको उनको भनाइ छ । जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जङ्गल आसपासमा चुत्रको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन् । रासस