विकासन्युज

कृषि विकास बैंकको १८ ‍‍औं साधारण सभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्‍याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको छ । सभामा सेयरधनीले उठाएका जिज्ञासा सञ्चालक समिति अध्यक्ष पुडासैनीले मेटेका थिए । साथै उनले सेयरधनीबाट प्राप्त सुझावलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिवद्धतासमेत व्यक्त गरे । सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू क्रमश: दीर्घराज मैनाली, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाईं, श्रीमती रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो ।

हिमालयन बैंकको ३२ औं साधारण सभा सम्पन्न, खुद आम्दानी १ अर्ब माथि

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२ औं साधारण सभा सम्पन्न सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ । अध्यक्ष श्रेष्ठले सेयरधनीहरूलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आवबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए । यसका साथै बैंकले नयाँसडकमा पनि आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए। अध्यक्ष श्रेष्ठले आव २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको र अन्य आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड उनान्चालिस लाख एक हजार रुपैयाँ रहेको जानकारी दिए । जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको बैंकले जनाएकाे छ । यसैगरी, बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको जानकारी गराए । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः ३ खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाखमात्र सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाखमा सीमित भएको जानकारी श्रेष्ठले जानकारी दिए । यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आवको नाफामा सहयोग पुग्ने विश्वास दिलाए ।

ज्योति विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बैंकको साधारणसभा सम्पन्न भएको हो । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, बैंकका विभिन्न पदाधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए । साधारणसभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले ज्योति विकास बैंकको संस्थापक शेयरधनी समूहका तर्फबाट हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ रसन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट ध्रुव कोइराला र नरेशराज आचार्यलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुका साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । साधारणसभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए । साथै आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ-आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए । शेयरधनीहरूबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए । यसका साथै सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरिचन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए ।

एनआईसी एशिया बैंकले सुरु गर्‍यो लिलाम बिक्रीको लागि अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकको यस पहलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता र सजिलो पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ । बैंकका अनुसार ग्राहकहरूले पोर्टल मार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण, फोटो, नक्सा, र स्थान (गुगल म्याप) सहितका जानकारीहरू प्राप्त गर्न सक्नेछन् । लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको बारेमा थप जानकारी चाहिने ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समा सम्पर्क विवरण राखेर सोधपुछ गर्न सक्नेछन् । यस पोर्टलमार्फत नियमित रूपमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूका बारेमा जानकारी अपडेट गरिनेछ। यसका साथै, ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको क्युआर कोड स्क्यान गरेर पोर्टलमा पहुँच प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । एनआईसी एशिया बैंकले यस अनलाइन पोर्टललाई सुरु गरेर लिलाम बिक्री प्रक्रिया थप सुलभ र पारदर्शी बनाउने आशा गरेको छ ।

शिवम् सिमेन्टको साधारणबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको उद्योगले जनाएको छ । काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण समेत पारित गरेको छ । यसैगरी साधारण सभाले आगामी आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभाले बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता र जारी पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ पुर्‍याउने निर्णय समेत पारित गरेको छ ।

राष्ट्रिय कृषि कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईं र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘माटोदेखि सफलतासम’ भन्ने यसको मूल नाराका साथ २०८१ साल वैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको स्थापना भएको हो । कम्पनीले कृषिलाई सजायको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । कम्पनीले कृषिको ई-कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापनाजस्ता महत्त्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरूलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ । लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढी प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ । शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ । अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ रहेकोमा भविष्यमा ५० करोड रुपैयाँ जारी पूँजी पुर्‍याउने योजना रहेको यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरू आवद्ध भइसकेका छन् ।

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । लक्ष्मी सनराइज बैंक प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । नवीकरणीय ऊर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिका लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलविद्युत तथा दिगो ऊर्जा क्षेत्रमा लगानी गरेको छ । लक्ष्मी सस्टनेवल इनर्जी फण्ड नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रूपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो ऊर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।