राजस्व संकलन १३ प्रतिशतले वृद्धि, ६ महिनामा ५ खर्ब ५९ अर्ब उठ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो । चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारेपनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको बताए ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । आज अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो हालसम्मकै उच्च दर हो । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ आठ पैसा कायम भएको छ। केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा तय भएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।
सार्वजनिक निष्काशनलाई परिमार्जन गर्न समिति गठन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनलाई थप समयानुकुल परिमार्जन गर्नु पर्ने भन्दै अध्ययन समिति गठन गरेको छ। बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको बोर्डले जनाएको छ। धितोपत्र निष्कासन सहजीकरणको लागि अहिले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले काम गर्दै आइरहेको छ। सोही नियमावलीमा टेकेर प्राथमिक निष्कासन,ऋणपत्र तथा डिबेञ्चर, हकप्रद,प्रिमियममा धितोपत्र निष्काशन,बुक बिल्डिङ्ग लगायत विधिबाट सार्वजनिक निष्कासन अनुमति दिने गरिएको छ। तर पछिल्लो समय भने उक्त नियममा टेकेर निष्कासन अनुमति दिइँदै आएको भएपनि प्रमियममा शेयर निष्कासन अनुमति र बुक बिल्डिङ बिधिमा प्रश्न उठ्न थालेको छ। सोही अवस्थामा के कसरी अघि बढ्न सकिन्छ भनेर अध्ययन समितिले प्रतिवेदन लेख्नु पर्ने छ। सोही प्रतिवेदनको आधारमा बोर्डले आउने दिनमा निर्णय गर्ने व्यवस्था मिलाउने बताइएको छ।
आज माघ १ गते : मकर सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताए । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिए । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ । थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ । आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ । आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ ।
सहकारीमा थप कडाइ, अधिकतम् ५० लाखसम्मको बचत सीमादेखि १० लाख बचतमा स्रोत खुलाउनु पर्नेसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले सोमबार मस्यौदा सार्वजनिक गर्दै बचतको सीमा र बचतको स्रोत सम्बन्धी व्यवस्था गर्न लागेको जानकारी गराएको छ । मस्यौदामा संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न सक्ने, प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्ने, संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म (जुन कम हन्छ त्योसीमासम्म) ऋण लिन सक्नेछ व्यवस्था गर्न लागेको जानकारी गरेको छ । यस्तै, एक जिल्ला कार्यक्षेत्र भएको दश लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको पच्चीस लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको सहकारीका लागि पचास लाख रुपैयाँको बचत सीमा तोक्न लागेको हो । वि.सं २०८१ पौष १४ अघि कायम रहेको बचतको हकमा सो मितिबाट दुई वर्षभित्र सीमाभित्र ल्याईसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गर्दैछ । यस्तै, संस्थाले साधारण र नियमित प्रकारका बचत खाताहरु सञ्चालन गर्न सक्ने, संस्थाले स्वीकार गर्ने बचत परिचालन सम्बन्धी कार्यविधि साधारणसभाबाट स्वीकृत गराई लागू गर्नुपर्ने र सदस्यले दश लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले ऋणको सीमा पनि तोकेको छ । संस्थाले सदस्यता लिएको न्यूनतम ३ महिना नपुगेका सदस्यहरुलाई ऋण लगानी गर्न नसक्न व्यवस्था गरेको छ । संस्थाले प्रति सदस्य प्राथमिक पुँजीकोषको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने व्यवस्था गरेको छ । संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको ५ गुणा वा बढीमा रु ३ लाखमध्ये जुन कम हुन्छ सो बरावरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्ने, बिना धितोकर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरुकोजमानी लिनुपर्ने र सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण बाहेक कुनै प्रकारको थप ऋण लिन नपाउने व्यवस्था गर्न लागेको छ । संस्थाले इजाजतपत्रप्राप्त सहकारी बैंक र साना किसान लघुवित्त संस्थाको शेयर तथा नेपाल सरकारले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्ने, यस बाहेक अन्य कुनै संस्थाको शेयर/डिबेन्चरमा लगानी गर्न नपाइने, सम्पत्ति खरिद/निर्माण गर्दा साधारणसभाको कम्तीमा ५१ प्रतिशत बहुमतको निर्णयबाट मात्र गर्नुपर्ने र सम्पत्ति खरिद/निर्माण गरिएको जानकारी ३० दिनभित्र नियमनकारी निकायमा दिनुपर्ने उल्लेख गरेको छ । विशिष्टिकृत संस्थाबाहेक ठूलोकारोबार गर्ने संस्थाले कुल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालन/बिस्तार लगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नु पर्ने, उक्त सीमा हाल कायम नरहेमा २०८३ असार मसान्तसम्म कायम गर्नु पर्ने र संस्थाले कृषि, उद्योग र व्यवसायको लागि ऋण प्रवाह गर्दा किस्ता/ब्याज भुक्तानी गर्न उपयुक्त ग्रेस अवधि प्रदान गर्न सक्ने व्यवस्था गर्न लागेको छ ।
अब सासु कोषको नियमन राष्ट्र बैंकले गर्ने, १० करोड बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीको जिम्मा सेबोनलाई
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको नियमनको जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको छ । सरकारले सोमबार राजपत्र जारी गर्दै सामाजिक सुरक्षा कोषको नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको हो । यस्तै, सवारी साधन खरिद तथा गैर वित्तीय कर्जा प्रवाह गर्ने व्यवसायीको नियमन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकलाई नै दिइएको हो । सवारी साधन बिक्री गर्ने व्यवसायीको नियमनको जिम्मेवारी भने यातायात व्यवस्था विभागलाई दिइएको छ । सरकारले पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँ वासोभन्दा बढी वार्षिक कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा २०८१ पुस मसान्तदेखि लागू हुने गरी नियमनको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिएको छ । यस्तै, पाँच करोड रुपैयाँ भन्दा कम चुक्ता पुँजी वा दश करोड रुपैयाँ भन्दा्कम वार्षिक वार्षिक कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा जोखिमको आधारमा नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि नियमन गर्न सक्ने व्यवस्था गरेको छ ।
अब सरकारी कर्मचारीले स्वदेशी पोसाक मात्रै लगाउनुपर्ने, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । सरकारले सरकारी निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई स्वदेशी पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । सोमबार सरकारलेल सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यस्तै, सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने, विभिन्न सार्वजनिक कार्यक्रम, गोष्ठी, वा सेमिनारमा आवश्यक पर्ने वस्तु प्रयोग गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने राजपत्रमा उल्लेख छ । सार्वजनिक निकायले खरिद सम्बन्धि प्रचलित कानुन बमोजिम वस्तु खरिद गर्दा नेपाली उत्पाद नामक एक विद्युतीय पोर्टल बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख छ । [pdf id=534152]
तीन महिनापछि राजपत्र सच्याउने अवस्थामा किन पुग्यो अर्थमन्त्रालय ?
काठमाडौं । अर्थमन्त्रालयले राजपत्र सच्याएको छ । अर्थ सचिव रामप्रसाद घिमिरेले सोमबार भुल सुधार भन्दै तीन महिनाअघिको राजपत्र सच्याएका हुन् । नेपाल राजपत्र खण्ड ७४ संख्या ३० मिति २०८१ असोज १७ गतेको नेपाल राजपत्र भाग ५ मा प्रकाशित बेरुजु फछर्यौट समितिको गठन सम्बन्धी सूचनाको बुँदा नम्बर २ मा (मस्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक) हुनुपर्नेमा अन्यथा हुन गएकोले भूल सुधार गरिएको छ,’ सोमबार प्रकाशित राजपत्रमा भनिएको छ । असोज १७ गते जारी भएको राजपत्रमा भनिएको थियो, ‘सामान्य प्रक्रियाबाट फछर्यौट तथा सम्परीक्षण हुन नसकेका आव २०६०/६१ देखि २०६४/६५ सम्मका बेरुजु (फछर्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक) कुनै संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय, सचिवालय, आयोग विभाग, अदालत वा कार्यालय अन्तर्गतका बेरुजु सम्बन्धित संवैधानिक अंङ्ग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको पुष्ट्याईसहित फटर्यौटको निमित्त सिफारिस भई आएमा औचित्यको आधारमा त्यस्तो बेरुजु नियमित वा मिनाहा गरी लगत कट्टा गर्नुपर्नेछ ।’