विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र ४ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस सेयर सहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ । सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले गरेका थिए । सभामा उपस्थित सेयरधनीहरूले राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रष्टिकरण दिएका छन् । लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ । हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहेको छ । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि र नविनतम सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको छ । सभाले बैंकको स्थायित्व र विकासमा शेयरधनी तथा सरोकारवालाहरूको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

महालक्ष्मी विकास बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार काठमाडौमा सम्पन्न भएको छ । यस अवसरमा २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित भएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रुपैयाँपुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ । सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे । महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको छ । यस अवसरमा २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

काठमाडौं । नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड रुपैयाँ सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको बताए । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको दुई खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख रुपैयाँ कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । उक्ता खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए । ‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ’, उनले भने । कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताए । त्यस्तै कोषको मधेश प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीयस्तरमा सेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । ‘कोषको लगानी रणनीति जोखिम विश्लेषणका आधारमा अघि बढाइएको छ । साइबर सुरक्षामा विशेष ध्यान दिँदै प्राविधिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने कार्य भइरहेको छ’, कार्यकारी निर्देशक कार्कीले भने । सरकारी वाणिज्य बैंकको तुलनामा कोषको ब्याजदर समानस्तरमा रहेको र सजिलै कर्जा उपलब्ध गराउन व्यवस्थापनले ध्यान दिएको उनले बताए । त्यस्तै कोषको कर अघिको नाफा घटेको जस्तो देखिए कर पछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उनले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गरे । नागरिक लगानी कोषले आफ्ना गतिविधिहरूलाई पारदर्शी र जनउत्तरदायी बनाउन निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे ।

सेयर बजारमा ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ । सोमबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसभध्ये सबैभन्दा सेयर एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ४५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख र हिमालयन पावरको १५ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारणसभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पेस गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँनयाँ विषयमा अनुसन्धानसमेत गर्न आईआईएनलाई निर्देशन दिए । आईआईएनका संरक्षकसमेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाइमा पुर्‍याउनका लागि आफ्नो क्षेत्रबाट मिहिनेतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए । अध्यक्ष दहालले भने, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ । समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीव्रता दिनुपर्छ ।’ त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे । आईआईएनको सञ्चालक समितिका अध्यक्ष दीपप्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । आईआईएनका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिनुभयो । साधारणसभामा आईआईएनका सञ्चालक समितिका सदस्यहरू तथा सेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका सीईओहरूको सहभागिता रहेको थियो ।

एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर रहेको बताएका हुन् । उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताए । उनले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने जानकारी दिए । सुशासन कायम गर्नका लागि नागरिक एपको भुमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए । ‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एशियामै सबैभन्दा पछाडि छौँ,’ उनले भने । मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए ।

नेपाली बजारमा लन्च भयो ‘रेड्मी नोट फोर्टिन सिरिज’, गुगलको एआई ‘जेमिनी’को पनि सुविधा

काठमाडौं। साओमीले नेपाली बजारमा रेड्मी नोट फोर्टिन सिरिज सार्वजनिक गरेको छ। सोमबार ठमेलस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै साओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । कम्पनीले सोमबारदेखि नेपाली बजारमा यो सिरिज उपलब्ध गराएको हो । यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ । फाइभजीमा रेड्मी नोट फोर्टिन फाइभजी, रेड्मी नोट फोर्टिन प्रो फाइभजी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभजी रहेका छन् । यसैगरी, फोरजी फोनमा रेड्मी नोट फोर्टिन फोरजी फोन रहेका छन् । जसमा रेड्मी नोट फोर्टिन सिरिजमा रेड्मी नोट फोर्टिन, रेड्मी नोट फोर्टिन फाइभ जी, रेड्मी नोट फोर्टिन प्रो फाइभ जी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभ जी गरी ४ मोडलहरू रहेका छन् । यी सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता रहेको कम्पनीले जनाएको छ । हेर्नुहोस् केके छन् विशेषता नोट फोर्टिन प्रो र नोट फोर्टिन प्रो प्लस कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो । एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो-ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ । यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ । यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् । पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै, यी मोडेलमा १.५ के एमोलेड डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । प्रो प्लस फाइभजीमा स्न्यापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै, यो मोडल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, फोर्टिन प्रोमा मिडियाटेक डाइमेन्सिटी ७ हजार ३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ । यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ । नोट फोर्टिन सिरिजअन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्‍याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोर भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ भने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ । रेड्मी नोट फोर्टिन फाइभ जी रेड्मी नोट फोर्टिन फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ । मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८ जीबी २५६ जीबी र १२ जीबी ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मोडल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ । यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ । गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ  । रेड्मी नोट फोर्टिन फोर जी यस मोडेलमा मिडियाटेक हेलियो जी ९९- अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६ जीबी  १२८ जीबी र ८ जीबी  २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । १०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ । सेल्फी पारखीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ । ५ हजार ५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ । यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ । यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्चस्तरलाई विशेष ध्यान दिइएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । उनले भने, ‘शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट फोर्टिन सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप-स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरूले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।’ यस्तै, कार्यक्रममा सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरू तथा आधिकारिक डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।