कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे । हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको छ । पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गरे । उक्त अवसरमा प्रमुख अतिथिबाट बैंकको नयाँ वेबसाइटको शुभारम्भ समेत भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गरे । पछिल्लो समय बैकिङ्ग बजार केही चुनौती भए पनि पालना गर्नु न्युनत्तम नियमको पालना गर्दै कषि विकास बैंकले गत आ.व.मा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हितचाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्तगर्दै उनले बैंकको प्रशंसा गरे । त्यसैगरी बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागतगर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए ।
अनलाइनबाटै कृषि बीमा गराउन ७ वटै प्रदेशमा तालिम
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको रियल टाइम सफ्टवेयरबारे देशव्यापी रूपमा तालिम सञ्चालन गरिरहेको छ । प्राधिकरणले कोशी प्रदेशबाट तालिम सञ्चालन गरी समाप्त गरिसकेको जनाएको छ । माघ महिनाभित्रै अन्य ६ प्रदेशमा पनि तालिम सञ्चालन गरिसक्ने कार्यतालिका रहेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । उनका अनुसार कोशी प्रदेशमा माघ २ गतेबाट ४ गतेसम्म ३ दिने तालिम समापन भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा तालिम सञ्चालन भएको थियो । तालिमको पहिलो दिन बीमा कम्पनीका कर्मचारीहरू र अभिकर्ताहरूलाई दिइएको तालिममा ६० जनाको सहभागीता रहेको थियो । दोस्रो र तेस्रो दिन कृषि ज्ञान केन्द्रका कर्मचारी, महानगरका कर्मचारी, प्रदेश मन्त्रालयका कृषि तथा पशु क्षेत्रका कर्मचारीलाई दिइएको तालिममा ४० जनाको सहभागीता रहेको सूचना अधिकारी निर्मल अधिकारीले बताए । यसैगरी, आज ६ गतेदेखि सुर्खेतमा तालिम सञ्चालन सुरु भएको पनि उनले जानकारी दिए । आजदेखि ३ दिनसम्म तालिम सञ्चालन हुनेछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बीमाको रियल टाइम सफ्टवेरको सञ्चालनमा ल्याएसँगै अनलाइनबाटै कृषि बीमा गर्नेको संख्या पनि बढदै गएको छ । गत कार्तिक ५ गते सफ्टवेयरको उद्घाटन गरिए पनि मंसिर १६ गतेदेखि पाइलट प्रोगामको रूपमा दुई वटा बीमालेखमा यो सफ्टवेयरको प्रयोग गरिएको थियो । सोही सफ्टवेयरको प्रयोग, अनलाइनबाट कसरी बीमा गर्नका लागि आवेदन दिने, दिएको आवेदनलाई कसरी भेरिफाइ गर्ने लगायतका विषय तालिममा स्पष्ट पारिने जनाइएको छ । कृषि बीमामा सफ्टवेयरको प्रयोग सुरु भएदेखि हरेक दिन १०० भन्दा धेरै किसानले बीमाका लागि अनलाइनबाटै आवेदन दिने गरेको प्राधिकरणले जनाएको छ । उक्त सफ्टवेयरको लगइन पहुँच बीमित, अभिकर्ता, बीमा कम्पनी, बीमा प्राधिकरण, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लगायतलाई हुन्छ ।
३१ प्रतिशतले बढ्यो निर्यात, ६ महिनामा ८ खर्ब २२ अर्ब बढीको आयात
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्यात ह्वात्तै बढेको छ । यो अवधिमा ३१.७८ प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत आवको ६ महिनामा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । चालु आवको ६ महिनामा यस्तो निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ पुगेको छ । निर्यातसँगै आयात पनि वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा आयात ७.०६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ७ खर्ब ६८ अर्ब १६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । चालु आवको सोही अवधिमा यस्तो आयात ८ खर्ब २२ अर्ब ३७ लाख पुगेको विभागले जानकारी दिएको छ । यस्तै, व्यापार घाटा पनि बढेको छ । यो अवधिमा व्यपार घाटा ४.३८ प्रतिशतले वृद्धि हुँदा वैदेशिक कारोबार ९.२५ प्रतिशतले वृद्धि भएको छ ।
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास
कलकत्ता । एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । कलकत्तास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए । प्रतिवादी सञ्जय रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो । अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएको थियो । सुनुवाईका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दावी गरेका थिए । भारतमा एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका चिकित्सकहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो । रासस
रिभियनसँगको साझेदारीलाई अझ गहिरो बनाउने फक्सवागनको चाहना
काठमाडौं । जर्मन अटोमोबाइल कम्पनी फक्सवागनले अमेरिकी विद्युतीय सवारी निर्माता रिभियनसँगको साझेदारीलाई अझ गहिरो बनाउने विचार गरिरहेको छ । फक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले स्पिगेल पत्रिकासँगको अन्तर्वार्ताका क्रममा सम्बन्ध झन् प्रगाढ बनाउन खोजेको बताएका हुन्। उनले फक्सवागन समूहले रिभियनजस्ता साना ब्रान्डहरूका लागि ठूलो अवसरहरू प्रदान गर्ने बताए । फक्सवागन र रिभियनले नयाँ पुस्ताको विद्युतीय गाडीहरूको आर्किटेक्चर र सफ्टवेयर प्रविधि विकासमा केन्द्रित संयुक्त उद्यम कम्पनी गठन गरेका थिए । भोक्सवागनले यस उद्यममा ५० प्रतिशत स्वामित्वको रूपमा पहिले घोषणा गरिएको ५ अर्ब डलरको लगानी बढाएर ५.८ अर्ब डलर पुर्याएको छ । फक्सवागन र रिभियनबीचको यो साझेदारीले फक्सवागनलाई रिभियनको उन्नत सफ्टवेयर प्रविधिमा पहुँच प्रदान गर्नेछ, जसले विद्युतीय सवारीहरूको विकासमा सहयोग पुर्याउनेछ । साथै रिभियनले फक्सवागनको वित्तीय समर्थन र आपूर्ति श्रृंखलाको फाइदा लिन सक्नेछ । सुरुवातमा यो उद्यम नयाँ पुस्ताको विद्युतीय गाडीहरूको आर्किटेक्चर र सफ्टवेयर प्रविधि विकासमा केन्द्रित हुने तर पछि ब्याट्री मोड्युलजस्ता अन्य विद्युतीय गाडी प्रविधिमा पनि स्थानान्तरण हुन सक्ने बताइएको थियो । २०२४ मा फक्सवागनको बिक्रीमा गिरावट भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी
बढ्यो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिर्वतन आएको छैन । सोमबार ३११ कम्पनीको १ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । रिभरको २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । हिमालयन पावर पाटनरको १८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको १५ करोड र सिन्धु बिकास बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ०.२०, विकास बैंक ०.६०, वित्त ०.५३, जलविद्युत् ०.०२ र लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन तथा प्रशोधन १.६८, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.२३, व्यापार १.०६ र अन्य समूह २.१३ प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९.०५ प्रतिशतको वृद्धि देखिएको छ । आज ४ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रो, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र एनआइसी एसिया डिभेन्चरमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
अमेरिकामा दुई अटोमेकरमाथि भेदभाव र दुर्व्यवहारको आरोपमा मुद्दा दायर
काठमाडौं । अमेरिकी समान रोजगार अवसर आयोग (ईईओसी) ले शुक्रबार दुई ठूला अटोमेकरविरुद्ध मुद्दा दायर गरेको छ । जनरल मोटर्स (जीएम) र युनाइटेड अटो वर्क्सर (यूएडब्लू) माथि उमेरका आधारमा भेदभाव गरेको र स्टेलान्टिसको क्राइस्लर एकाइले महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । जीएम र यूएडब्लूमाथि अक्टोबर २०१९ देखि सामूहिक बार्गेनिङ सम्झौताअन्तर्गत बिरामी र दुर्घटना लाभको नीति कायम राखेको आरोप छ, जसले सामाजिक सुरक्षा लाभ पाउने वृद्ध कर्मचारीहरूलाई कम भुक्तानी गर्छ । ईईओसीले भनेको छ कि राष्ट्रव्यापी रूपमा कम्तीमा ५० जीएम सुविधाहरूलाई समेट्ने यो नीतिले ६६ वर्ष र सोभन्दा माथिका कर्मचारीहरूमाथि भेदभाव गर्छ, जुन संघीय रोजगारमा उमेर भेदभाव ऐनको उल्लंघन हो । यसैबीच, स्टेलान्टिसको एफसीए यूएस एकाइमाथि डिसेम्बर २०२० देखि डेट्रोइटको एक एसेम्बली प्लान्टमा महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको र नेतृत्व भूमिकामा रहेका केही पुरुष सुपरभाइजर र सहकर्मीहरूबारे उनीहरूको गुनासो नियमित रूपमा बेवास्ता गरेको आरोप लागेको छ । ईईओसीले कथित दुर्व्यवहारमा अनुपयुक्त छुवाइ र यौनजन्य टिप्पणीहरू समावेश भएको र एफसीएले पुरुष दुर्व्यवहारकर्ताहरूलाई अनुशासनमा नल्याएकोले नागरिक अधिकार ऐन १९६४ को शीर्षक भीआईआई उल्लंघन भएको जनाएको छ । जीएमले आफ्नो उजुरी समीक्षा गर्न बाँकी रहेको भन्दै तत्काल कुनै टिप्पणी गरेको छैन । जीएम र यूएडब्लूविरुद्धको मुद्दाले ६६ वर्ष र माथिका कामदारहरूले पाउनुपर्ने तर नपाएका लाभहरू फिर्ता दिलाउन खोजेको छ भने एफसीएविरुद्धको मुद्दाले डेट्रोइट प्लान्टका महिला कर्मचारीहरूका लागि क्षतिपूर्ति र दण्डात्मक क्षतिपूर्ति खोजेको छ । दुवै मुद्दाले थप गलत आचरणविरुद्ध स्थायी निषेधाज्ञा पनि खोजेका छन् । जीएम र यूएडब्लूविरुद्ध न्यू अल्बानी, इन्डियानाको संघीय अदालतमा मुद्दा दायर गरिएको छ भने एफसीएविरुद्ध डेट्रोइट संघीय अदालतमा मुद्दा दायर गरिएको छ । यी मुद्दाहरू बाइडेन प्रशासनको अन्तिम दिनहरूमा विभिन्न संघीय एजेन्सीहरूले गरेका कानुनी कारबाहीको श्रृंखलाको हिस्सा हुन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि ईईओसीको कार्यान्वयन प्राथमिकताहरू कसरी परिवर्तन हुन्छन् भन्ने कुरा अस्पष्ट छ ।
आइएमई पेमा उडान मेला : आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक
काठमाडौं । आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ । गत माघ २ गतेबाट सुरू भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा तीन सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । योजनामा नियमित ग्राहकहरूले ‘सेभ१००’ प्रोमोकोड राखेर एक सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले ‘फर्स्ट फ्लाइ’ प्रोमोकोड राखेर तीन सय रूपैयाँको क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘ह्याब प्रोमोकोड?’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरू राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ । ‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।