अर्थमन्त्री र गर्भनरले कृषि विकास बैंकको प्रशंसा गर्दै भने- ‘बैंकको व्यवस्थापन अब्बल’
काठमाडौं । कृषि विकास बैंकको व्यवस्थापनबारे अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरले खुलेर प्रशंसा गरेका छन् । सोमबार बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीले खुलेर प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल र प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले उक्त बैंकले विगतमा धेरै समस्या झेल्दै अघि बढेको उल्लेख गर्दै अब्बल व्यवस्थापन र कर्मचारीका कारण अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘कृषि विकास बैंकले जुन समस्या झेल्दै आएको थियो, बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा पछाडि पर्दै गएको थियो । तर, पछिल्ला दिनमा बैंकको व्यवस्थापन र कर्मचारीले गरेको सामूहिक प्रयासका कारण आज अब्बल बैंक, राम्रो बैंक, अन्य बैंकको तुलनामा प्रतिस्पर्धा गर्न सामर्थ्य राख्ने बैंकका रूपमा आफूलाई चिनाएको छ ।’ यस्तै, अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बैंकले गरेको प्रगतिमा रमाएर बस्न नहुने धारणा व्यक्त गरे । उनले कर्मचारी र व्यवस्थापनलाई सुझाव दिँदै भने, ‘पछिल्लो समय बैंकले गरेको प्रगतिमा रमाएर बस्ने होइन । थप उपलब्धी आर्जन गर्ने, थप सफलता आर्जन गर्न स्पेस छ । त्यो स्पेसलाई यहाँहरूले भरपुर सदुपयोग गर्नुहोस् ।’ बैंकका कर्मचारी र व्यवस्थापनको राम्रो सम्बन्ध भएको बैंकले धेरै प्रगति गर्ने सम्भावना धेरै हुने उल्लेख गर्दै उनले बैंकका कर्मचारी तथा संगठनका पदाधीकारीहरूलाई बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन अनुरोध गरे । ‘बैंक सफल भयो, प्रभावकारी भयो र बैंकको इज्जत माथि उठ्यो भने समग्र कर्मचारीको इज्जत माथि उठ्छ । यसैगरी, बैंकको प्रतिष्ठा, पफर्मन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिने भएकाले बैंकको उन्नति र प्रगतिमा प्रहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने । कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तीतो अनुभव रहेको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘कृषि विकास बैंकमा अन्यको तुलनामा सम्बन्ध राम्रो रहेको महशुस मैले गरेको छु । यो सम्बन्धलाई अझै राम्रो बनाउनु पर्दछ ।’ यस्तै, गभर्नर अधिकारीले कर्मचारी र व्यवस्थापनको सुमधुर सम्बन्ध रहेको भन्दै बैंक बधाईको पात्र भएको उल्लेख गरे । उनले सम्बोधन गर्नुअघि बैंकका कर्मचारी यूनियनका पदाधीकारीहरूले आ-आफ्नो मन्तव्य राखेको थिए । कर्मचारीहरूले खुलेर आफ्नो कुराहरू राखेको विषयलाई उदृत गर्दै उनले यसरी सञ्चालक र व्यवस्थापनको बारेमा कर्मचारीले खुलेर कुरा राखेको दुर्लभ पाइने गरेको बताए । त्यसकारण पनि कर्मचारी, व्यवस्थापन र सञ्चालकहरू बधाईको पात्र भएको उनको भनाइ थियो । कृषि विकास बैंकको विगतलाई कोट्याउँदै गभर्नर अधिकारीले उक्त बैंकको सुधारका लागि राष्ट्र बैंक र नेपाल सरकार मिलेर लगानी गरेको इतिहास सम्झिए । त्यस्तै, उनले कृषि विकास बैंकले हाल धेरै अब्बल व्यवस्थापकहरूमध्यको व्यवस्थापक पाएको दाबी गरे । उनले भने, ‘व्यवस्थापकीय सीपको सन्दर्भमा केही सीमित व्यवस्थापकहरूको व्यवस्थापन बैंकले पाइरहेको महसुस भएको छ ।’ राष्ट्र बैंकले निरीक्षण गर्दा र तथ्यांकहरू केलाउँदा पनि सो बैंकको पफर्मेन्स राम्रो रहेको पाइएको उनले बतए । यसका साथै गभर्नर अधिकारीले गत वर्षको मुनाफाबाट बैंकले १० प्रतिशत लाभांश वितरण गरेको, कर्मचारी र कर्मचारी युनियनको गुनासो बैंकले राम्रोसँग सम्बोधन गरेको उल्लेख गर्दै उनले साैहार्द किसिमले बैंक अघि बढेको बताए । यस्तै, उनले बैंकको ऋण नतिर्न उक्साउने गतिविधिहरू रहेको बताउँदै कृषि विकास बैंकको लाहान शाखामा भएको घटनाप्रति नेपाल राष्ट्र बैंक र नेपाल सरकार संवेदनशील रहेको बताए । त्यस विषयमा आफूहरू सरकारका निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले दिए । सम्बन्धित निकायहरूलाई बैंकिङ क्षेत्रमा यस्तो अराजकताको असर कति पर्छ ? अर्थतन्त्रमा कति असर पर्छ भनेर विषय उठान गराएको पनि उनले जानकारी दिए । कृषि विकास बैंक वाणिज्य बैंक भए पनि कृषि कर्जामा यस बैंकले नेतृत्व गरिरहेको गभर्नर अधिकारीले बताए । उक्त बैंकले कृषिमा गरेको लगानी समग्र बैंकिङ क्षेत्रमा ठूलो योगदान रहेको भन्दै साना तथा मझाैला उद्योगमा पनि सो बैंकले लगानी बढाउँदै गएको उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले ५ वर्षे व्यावसायीक रणनीती ल्याएको जानकारी दिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइको बैंक’ भन्ने दूरदृष्टिका साथ २०८१ देखि २०८६ सम्मको ५ वर्षे व्यावसायीक योजना बैंकले अघि सारेको उनले बताए । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड खुद नाफा आर्जन गरेको उल्लेख गर्दै सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले नाफा वृद्धि गरेको बताए । खुद नाफाको आधारमा २० वटा बैंकमध्ये कृषि विकास बैंक ७औं नम्बरमा रहेको छ । गत आवको मुनाफाबाट बैंकले ७.५३ प्रतिशत नगत र ३ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । धेरै लाभांश वितरण गर्ने वाषिज्य बैंकको चौथो नम्बरमा कृषि विकास बैंक रहेको पनि उनले जानकारी दिए ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा सोमबार आफ्नो कार्यालय प्राङ्गण जेडीए कम्प्लेक्स, बागदरबार, काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटीमण्डपसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग/समन्वयमा सम्पन्न गरेको हो । कार्यक्रममा ५४ जनाले रक्तदान गरे । आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरि रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवामा छुट लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
एलिट क्यापिटलले चिकित्सकका लागि ल्यायो ‘डक्टर्स पीएमएस’, सेयर बजारमा लगानी गर्न सघाउने
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरूलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा वार्षिक सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रूपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई नि:शुल्क बीमा सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजारसम्बन्धी नि:शुल्क तालिम र अन्य परामर्श सेवाहरूसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरूका लागि यो योजना लागू हुने क्यापिटलले जनाएको छ ।
स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु
काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् । कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाएका हुन् । आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने मन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए । प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रूपमा सुधार अघि बढाउने प्रक्रिया अघि बढाएका हुन् । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषदमा लैजाने मन्त्रालयको तयारी छ । यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकाललमा लागु गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिनेछ । यसैगरी नीतिगत तथा अन्य सुधारका विषयका लागि समेत कार्यदलले आन्तरिक अवस्थाका आधारमा सुझाव दिनेछ । ‘स्वास्थ्य बीमामा सुधार भएमात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिनसक्छ भन्ने हाम्रो विश्वास छ,’ मन्त्री पौडेलले भने, ‘प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ ।’ उनले केही दिनभित्रै कार्ययोजना र प्रतिवेदन दुवै सार्वजनिक गर्ने बताए । उनले सरकार सुधारका लागि तयार रहेकाले सम्भव भएसम्मका सुधार अघि बढाउने बताए।
सनसिल्कले गर्यो सनसिल्क भाइब्स सिजन ४ का विजेताहरूको घोषणा
काठमाडौं । युनिलिभरको ब्राण्ड सनसिल्कले ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरूको घोषणा गरेको छ । आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर विजेता भएका हुन् । तीनैजना आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरूभन्दा अघि पुगेका थिए । प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त गरे । यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ । अतुलनीय प्रतिक्रियाले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ । ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले सनसिल्क भाइब्सलाई नयाँ उचाइमा लगेको हो। सनसिल्क सधैं नयाँ प्रवृत्तिहरू सेट गर्ने र समुदायको भावना निर्माण गर्ने क्रममा रही आएको छ । यो वर्ष नेपालभरिका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रूत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी । काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रूत गतिमा अघि बढाउनुपर्ने बताएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिए । धौवादी फलाम खानीको उत्खनन, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको उच्च चासो र प्राथमिकताको विषय भएको भन्दै उनले कम्पनी सञ्चालनको काम सरकारी र निजी क्षेत्रको सहकार्यमा द्रूत गतिमा निर्माण गर्नुपर्ने बताए । उक्त फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बखत प्राथमिकताका साथ उठेकोमा अहिले यसबारे भइरहेका छलफलहरूले उपयुक्त निर्णय गर्दै फलाम उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उक्त खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताए । करिब ५२ अर्ब बढी लागतमा निर्माण हुने उक्त फलाम कम्पनी सञ्चालन गर्न ५५प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानीका विषयमा टुङ्गो लाग्न बाँकी रहेको उनले बताए । अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले उद्योगहरू सरकारको नेतृत्व र निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्नुपर्नेमा जोड दिए । धौवादी फलाम उद्योग सञ्चालनका लागि सरकार र निजी क्षेत्र सँगै अघि बढ्नुपर्ने उनको भनाइ छ । कम्पनीका कार्यकारी निर्देशक डा. जनकबहादुर चन्दले कम्पनीको लक्ष्य तथा उद्देश्यहरू समयमै हासिल गर्न कम्पनीका भावी कार्य योजना हरूलाई छिटोछरितो तथा सफलतापूर्वक सञ्चालन गर्नु जरुरी रहेको बताए । यसका लागि उपयुक्त लगानी तथा उद्योग विकासको ढाँचा, विद्यमान सेयर संरचनामा गर्नुपर्ने संशोधन आदिको बारेमा यस्ता कार्यशाला गोष्ठीबाट थप मार्गचित्र प्राप्त हुने अपेक्षा व्यक्त गरे । विसं २०६८ सालमा हुप्सेकोट गाउँपालिका- ५ को पोखरी, दुरुलंगा तथा धौवादी क्षेत्रमा फलाम खानी भेटिएको थियो । उक्त खानीको धाउ क्षेत्र करिब ४१ वर्ग किलोमिटरमा फैलिएको छ । उक्त खानीबाट २०८५ सालदेखि व्यवसायीक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । खानी सञ्चालनपश्चात् करिब २ हजार ५ सय र अप्रत्यक्ष २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बताइएको छ भने उक्त खानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन हुने बताइएको छ । सरकारले २०७६ सालमा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो । खानी पूर्ण क्षमतामा सञ्चालन हुँदा नेपालले हाल आयात गरिरहेको फलाम तथा फलामजन्य सामग्रीको २५ प्रतिशतभन्दा बढी माग पूरा हुने अपेक्षा गरिएको छ ।
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो । पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकलस्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।’ साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ । ‘अराजक समूहद्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरूद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ । रासस
संसारले पाँच वर्षभन्दा कम समयमै पहिलो खर्बपति पाउने, मस्क, बेजोस, जुकरबर्ग वा अरू कोही ?
काठमाडौं । आगामी ५ वर्षमा विश्वले आफ्नो पहिलो ट्रिलिनियर पाउनसक्ने विश्वास गरिएको छ । विश्वमा तीनवटा कम्पनीहरू छन् जसको बजार पूँजीकरण एक ट्रिलियन डलरभन्दा बढी छ । अर्बपतिको कुरा अहिले पुरानो भइसकेको छ र अबको समय भनेको खर्बपतिको हो । स्टेटिक्स्टाका अनुसार हाल संसारभर ३ हजार १९४ अर्बपति छन् । अर्को दशकमा खर्बपतिको सूचीमा ५ जना धनी व्यक्तिहरू समावेश हुने अपेक्षा गरिएको छ । आइतबार जारी गरिएको अक्सफामको वार्षिक असमानता प्रतिवेदनमा यो दाबी गरिएको हो । यसमा भनिएको छ कि यदि धनीहरूको सम्पत्ति बढ्दै जाने वर्तमान प्रवृत्ति जारी रह्यो भने आगामी १० वर्षमा कम्तिमा ५ धनी व्यक्तिको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ । प्रतिवेदनमा भनिएको छ कि टेस्ला र स्पेसएक्सका मालिक तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पाँच वर्षभन्दा कम समयमा ट्रिलिनियर बन्न सक्छन् । आगामी दश वर्षमा अमेजनका संस्थापक जेफ बेजोस, ओरेकलका संस्थापक ल्यारी एलिसन, मेटाका सीईओ मार्क जुकरबर्ग र फ्रान्सका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति पनि १ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । अक्सफामको प्रतिवेदन फोर्ब्सबाट लिइएको तथ्याङ्कमा आधारित छ । कसको कति कुल सम्पत्ति छ ? सन् २०२४ विश्वका धनी व्यक्तिहरूका लागि धेरै अद्भूत रहेको बताइन्छ । अमेरिकी सेयर बजारमा भएको वृद्धिका कारण उनीहरूको कुल सम्पत्ति द्रुत गतिमा बढेको छ । यही कारणले गर्दा अक्सफामले गत वर्षको सूचीलाई परिमार्जन गर्नुपर्यो । त्यतिबेला अक्सफामले अर्को दशकमा मात्र खर्बपति बन्ने अनुमान गरेकाे थियो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क ४४९ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । गत वर्ष उनको कुल सम्पत्ति २०३ अर्ब डलरले बढेको थियो । यस वर्ष उनको कुल सम्पत्ति १६.१ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार ४०० अर्ब डलरको आँकडा पार गर्ने मस्क विश्वकै पहिलो व्यक्तिसमेत हुन् । २४५ अर्ब डलरको कुल सम्पत्तिका साथ बेजोस विश्वका धनी व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा छन् । जुकरबर्ग २१७ अर्ब डलरको कुल सम्पत्तिसहित तेस्रो, एलिसन १८८ अर्ब डलरको साथ चौथो र बर्नार्ड अर्नाल्ट १८८ अर्ब डलरको साथ पाँचौं स्थानमा छन् ।