विकासन्युज

सेयर बजारमा ९ अर्बको कारोबार, ४ वटा कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो करोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । सप्तकोशीको ३९ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड, सिन्धु विकास बैंकको २९ करोड र सीइडीबी होल्डिङकाे २५ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । आज उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जदविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, ४ वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल बालाजु, एनआइसी एसिया डिभेन्चर, डोटी पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्री पौडेलले दिए निर्देशन

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा उनले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको बताएका हुन् । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैङ्कर्स एशोसियसन, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताए । बैठकमा अर्थतन्त्र, बैङ्क, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पूँजी बजार लगायतका विषयमा छलफल भएको थियो । बैठकमा अर्थतन्त्रका मुद्दाहरूमा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको थियो ।

नेपालीले खान्छन् भियतनामको मरिच, २४ करोडको आयात

काठमाडौं । मरिच स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । मरिच घरायसी प्रयोजनका साथै आयुर्वेदिक औषधिमा समेत प्रयोग हुँदै आएको छ । चियासँगै खानाका परिकारमा मरिच मिश्रण गर्दा स्वादिष्ट हुन्छ । अधिकांशले मरिचलाई मसलाका रूपमा पनि प्रयोग गर्दै आएका छन् । मरिच स्वदेशमै उत्पादन हुने गरेको भएपनि करोडौंको मरिच विदेशबाट आयात गर्नुपरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २४ करोड ७६ लाख रुपैयाँ बढीको मरिच आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार उक्त मरिच आयात हुँदा सरकारले ७ करोड ९६ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नेपालमा सेतो र कालोगरी दुई प्रकारका मरिच आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पुससम्ममा २३ करोड रुपैयाँ बढीको कालो मरिच आयात भएको विभागको तथ्याङ्क छ । विभागका अनुसार ६ महिनामा २३ करोड १२ लाख रुपैयाँको मरिच आयात भएको छ । उक्त मरिच आयात हुँदा सरकारले ७ करोड २५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । विशेषगरी नेपालीले भियतनामबाट आयात भएको मरिच खाने गरेका छन् । यसका साथै भारत, कतारबाट समेत मरिच आयात हुने भन्सार विभागले जनाएको छ । सबैभन्दा धेरै कालो मरिच भियतनामबाट आयात भएको छ । भियतनामबाट १६ करोड ९५ लाख रुपैयाँ बढीको मरिच आयात भएको छ । यस्तै, भारतबाट ६ करोड १६ लाख रुपैयाँ र कतारबाट १ हजार रुपैयाँको मरिच आयात भएको छ । विभागको तथ्यांक अनुसार भियतनामबाट २ लाख ९ हजार किलो मरिच आयात हुँदा ५ करोड ९२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । भारतबाट ५९ हजार किलो मरिच आयात हुँदा १ करोड ३२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । साथै चालु आवकाे ६ महिनामा १ करोड ६४ लाख रुपैयाँ बढीको सेतो मरिच आयात भएको छ । उक्त मरिच भियतनामबाट नै आयात भएको देखिन्छ । १४ हजार किलो मरिच आयात हुँदा ७० लाख ८९ हजार रुपैयाँ बढी राजस्व संकलन भएको विभागले जनाएको छ । हेर्नूहोस् मरिचका फाइदा -मरिचको नियमित सेवनले शरीरको मोटोपना कम गर्न मद्दत गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सहयोग गर्दछ । यसकाे सेवनले पेटको दुखाइ कम गर्नुका साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । -क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्दा  क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । -मरिच पिसेर धूलो बनाइ घिउसँग मिसाएर नियमित सेवन गरे आँखा तेजिलो हुन्छ । -पेटमा जुका, चुना, कीरा परेका छ भने थोरै मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा लाभ मिल्छ । -श्वाससम्बन्धी समस्या भएमा पनि पुदिनाको चियामा मरिच हालेर पिउँदा लाभ मिल्दछ । – मरिच चपाउने गरेमा अनुहारका दागधब्बा र रोग निको भएर जान्छ । – भुल्ने बानी भएकाहरूले महमा मरिचको धुलो हालेर दिनमा दुईचोटि खाँदा लाभ मिल्दछ । यद्यपि धेरै मरिच सेवन गर्नुहुँदैन । यसको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ ।  

ललितपुर महानगरभित्रका थप तीन रुटमा ट्राफिक लाइट जडान हुने

काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विभिन्न स्थानमा थप ट्राफिक लाइट जडान हुने भएको छ । आइतबार महानगरद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले अर्को वर्ष नगरभित्रका विभिन्न रुटमा ट्राफिक लाइट जडान गरिने बताएका हुन् । प्रमुख महर्जनका अनुसार आउँदो वर्ष पुल्चोकबाट मंगलबार हुँदै ग्वार्कोसम्म, जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलखेलबाट एकान्तकुना, भैंसीपाटी हुँदै बुंगतीसम्म ट्राफिक लाइट जडान हुने भएको छ । महानगर प्रमुख महर्जनले ट्राफिक लाइट व्यवस्थापनलाई प्राथामिकताका साथ काम गरिरहेको बताए । उनले भने, ‘महानगरलाई स्मार्ट सिटी बनाउने भनेर हामी लागिपरेको छौं तर कसरी ? एकैचोटि महानगरलाई स्मार्ट सिटी बनाउन सकिँदैन । त्यसको लागि समय लाग्छ । हामीले त्यसअनुसार प्राथामिकताका साथ काम गरिरहेका छौं ।’ हाल सञ्चालनमा रहेका ट्राफिक लाइट राम्रोसँग चलिरहेको उल्लेख गर्दै प्रमुख महनर्जले आगामी दिनमा त्यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । महानगरले केही समयअघि मात्रै नेपालमै पहिलोपटक एआई ट्राफिक लाइटको सुरुवात गरिसकेको छ । यसकाे सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण काम भएको महनर्जले उल्लेख गरे । उनले सडकमा जडान गरिएका ट्राफिक लाइट सबैको लागि समान भएकाले एउटै सिस्टम हुनुपर्ने बताए । उनले बेलाबेला भिआइपी व्यक्तिको आगमन हुँदा लाइटको सिस्टम घढबढ हुने गरेको बताउँदै यो सिस्टममा एकरूपता हुनुपर्नेमा जाेड दिए । ‘कहिलेकाहीं भिभीआइपी मुभमेन्ट हुँदा यसमा लाइट एडजस्ट भइरहेको हुन्छ । ट्राफिक लाइटको समय घटिरहेको हुन्छ । भिआइपीको लागि भन्नदै सिस्टम बिगारेर हुँदैन, यो सबैको लागि समान हुनुपर्छ,’ उनले भने । सडक दुर्घटनाबाट अकालमा धेरै मान्छेको मृत्यु भइरहेको हुँदा त्यसको न्यूनीकरणको लागि आकाशे पुल निर्माणमा पनि महानगरले जोड दिँदै आएको प्रमुख महर्जनले बताए । उनका अनुसार कुसुन्तीमा अपांगता भएकाहरूलाई समेत मध्यनजर गरी पुल निर्माण हुँदैछ । त्यसैगरी, धोबिघाटमा पनि आकाशेमैत्री पुलको निर्माण हुँदैछ । पाटन अस्पताल नजिक पनि दुर्घटनायुक्त क्षेत्र भएकाले त्यहाँ पनि आकाशे पुल निर्माणको लागि सबै सरोकारवालासँग छलफल र सहमित पनि भइसकेको प्रमुख महर्जनको भनाइ छ । त्यहाँ पनि पुल निर्माण कार्य छिट्टै अघि बढ्ने जनाइएकाे छ । महानगरले आजबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको सुरुवात गरेकाे छ । उक्त कार्यक्रमका विद्यार्थीहरूलाई पनि सहभागी गराइएको महनगरले जनाएको छ ।

चिनियाँ ‘वाटर बम’ काे बदलामा भारतीय अरुणाचल

काठमाडाैं । चीनले यार्लुङ साङ्पो नदीमा जलविद्युत् आयोजनाका लागि बाँध बनाउँदै छ । यो संसारको सबैभन्दा ठूलो बाँध हुने बताइएकाे छ । चीनको यो बाँधले ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसलाई ‘वाटर बम’ पनि भनिन्छ । चीनको यो परियोजनामाथि विश्वका धेरै देशले प्रश्न उठाएका छन् । यसै क्रममा भारतले पनि चीनको बाँधको जवाफ बाँधबाट दिने तयारी गरेको छ । चीनको यो यार्लुङ साङ्पो नदी अरुणाचल प्रदेशमा सियाङ र असममा ब्रह्मपुत्रको रूपमा चिनिन्छ । भारतको तयारी भारतले अरुणाचल प्रदेशमा आफ्नो सबैभन्दा ठूलो जलविद्युत बाँध बनाउने तयारी गरिरहेको छ । इकोनोमिक टाइम्सका अनुसार २.४ अर्ब रुपैयाँ लागतको यो परियोजनामा ​​९.२ अर्ब घनमिटर (बीसीएम) पानी भण्डारण क्षमता हुनेछ । यो ४ सय ६५ मिटर अग्लो बाँध सियाङ नदी (ब्रह्मपुत्र) मा बन्न लागेको हो । यो बाँध म्याकमोहन रेखाको छेउमा रहेको मेडोग नदीमा चीनले बनाएको ठूलो बाँधको प्रतिरोध गर्ने उद्देश्य राखेको छ । अर्को महिनादेखि तयारी सुरु हुने अरुणाचल प्रदेशमा बन्ने यो बाँधको तयारी अर्को महिनादेखि सुरु हुनेछ । अरुणाचल प्रदेशको सियाङ जिल्लाको परोङ गाउँलाई यस परियोजनाका लागि छनोट गरिएको छ । ड्रिलिङ मेसिन अर्को महिना अध्ययनका लागि यहाँ पुग्ने अपेक्षा गरिएको छ । अधिकारीहरूका अनुसार साइटको पूर्व सम्भाव्यता अध्ययन गर्न करिब एक महिना लाग्न सक्छ । सन् २०१७ मै बाँध बनाउने प्रस्ताव अरुणाचल प्रदेशमा यो बाँध बनाउने प्रस्ताव पहिलो पटक सन् २०१७ मा आएको थियो । त्यसपछि केही आन्दोलन पनि भए । जसका कारण यो आयोजनाको प्रगति निकै सुस्त भएको छ । अब चीनले तिब्बतको यो नदीमा बाँध बनाइरहेको बेला भारतले पनि अरुणाचल प्रदेशमा यो बाँध बनाउने चर्चालाई तीब्र बनाएको छ । फाइदा र बेफाइदा यो बाँध निर्माण भएसँगै ११ हजार मेगावाट विद्युत उत्पादन हुने जनाइएकाे छ । यस बाँधको ठूलो जलाशयले आगामी मेदोग बाँधतर्फ नदीको बहावमा सुधार ल्याउने सरकारको भनाइ छ । यसले अचानक बाढी वा पानीको कमीबाट पनि सुरक्षा गर्नेछ । यस बाँधका केही खतराहरू पनि अल्जजीराको रिपोर्टमा उल्लेख गरिएको छ । रिपाेर्टका अनुसार करिब २० गाउँ डुबानमा पर्ने स्थानीयले चेतावनी दिएका छन् । दुई दर्जनभन्दा बढी गाउँहरू आंशिक रूपमा डुब्ने र हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाउने जनाइएकाे छ ।  ‘वाटर बम’ विरुद्ध भारतकाे बाँध चीनको बाँधलाई वाटर बम भनिएको छ किनभने यदि यो बाँधबाट चीनले पानी छोड्यो भने यसले भारतको उत्तर-पूर्वी भागमा ठूलो असर पार्नेछ । यसले धेरै क्षेत्र पूरै जलमग्न हुनेछन् । चीनमा बाँधको अनुमानित भण्डारण क्षमता ५.५ बीसीएम रहेको र भारतकाे ९.२ बीसीएम रहेको एक अधिकारीले बताए । त्यसैले चीनले यस बाँधबाट सबै पानी छोडे पनि भारतकाे बाँधमा त्यति पानी सोस्ने क्षमता हुनेछ । (एजेन्सीहरूकाे सहयाेगमा)

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउण्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय अमेरिकी राष्ट्रपतिमा अघिल्लो हप्ता मात्र पुनरागमन गरेका ट्रम्पले इजरायलले अर्डर गरेका ‘धेरै कुरा’ अहिले आपूर्ति भइरहेको बताएका छन्। ‘इजरायलले माग गरेका र पैसा तिरेका तर बाइडेन प्रशासनले नपठाएका धेरै कुराहरू अहिले आफ्नो बाटोमा छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् । पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गत वर्ष गाजाको घना बस्ती भएको क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही सुरु गर्न लागेको देखेपछि दुई हजार पाउण्डको बमको ढुवानी रोकेको थियो । पूर्वराष्ट्रपति बाइडेनले त्यस्ता क्षेत्रमा ठूला विष्फोटक हतियारको प्रयोगले ‘ठूलो मानवीय त्रासदी र क्षति’ निम्त्याउने भन्दै आपूर्तिमा रोक लगाएका थिए । पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो । इजरायल र हमासले इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको दोस्रो समूहलाई सप्ताहन्तमा आदानप्रदान गर्दै युद्धविराम सम्झौतालाई निरन्तरता दिइरहेका छन् । ट्रम्पको पोस्टमा इजरायलमा कुनै खास हतियार पठाउने उल्लेख गरिएको छैन । तर एक्जिओसमा लेख्दै इजरायलका प्रमुख राष्ट्रिय सुरक्षा पत्रकार बाराक राविडले ट्रम्पले रक्षा मन्त्रालयलाई बाइडेनले दुई हजार पाउण्डको बममा लगाएको रोक फुकुवा गर्न आदेश दिएको बताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौडान ‘ह्वाइट हाउसमा इजरायलले कहिल्यै राम्रो मित्र बनाउन नसकेको’ दावी गरेका थिए । यो भावना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अक्सर प्रतिध्वनित गरेका थिए । इजरायली नेताले बाइडेनलाई फोन गरेर सन् २०२० को चुनावमा जित हासिल गरेकोमा बधाई दिएपछि ट्रम्प र नेतान्याहुबीचको सम्बन्धमा केही समयका लागि तिक्तता आएको थियो । सन् २०२० को चुनाव जितेको झुटो दाबी गरेका ट्रम्पले नेतन्याहूमाथि विश्वासघात गरेको आरोप लगाएका थिए । रासस

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता

फाइल फोटो चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए । आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । वडामा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् । महानगरप्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहनस्वरुप भत्ता दिएको बताइन् । यो सुविधाले पहाडी क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन हुनुका साथै शिक्षामा पनि सुधार हुने उनले विश्वास व्यक्त गरिन् । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि यसबाट समाधान हुने उनको भनाइ छ ।

रिलायन्स फाइनान्सले दिगो ग्रुपको विद्युतीय गाडी फाइनान्स गर्ने

काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतिय सवारीसाधन (ईभी) खरिदकर्ताहरूलाई वित्तीय सेवा प्रदान गर्न साझेदारी गरेका छन् ।  माघ १० गते आधिकारिक रूपमा सुरु भएको यो विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ । सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारीसाधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउने जनाइएकाे छ । यस साझेदारीअन्तर्गत ११-सीटर, १४-सीटर, १६-सीटर, र १९-सीटर विद्युतिय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरूको लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन् । दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ । यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरु तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ । कम्पनीका अनुसार रिलायन्स फाइनान्सको उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरू फाइनान्सको लागि आवेदन दिन सक्छन् ।