विकासन्युज

फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि आह्वान गरिएको बताउँदै मन्त्री गुरुङले नआएको खण्डमा चल्न नदिने चेतावनी दिएका हुन् । नेपालमा उनीहरुले आफ्नो प्लेटफर्म चलाएबापत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  टिकटक मात्र नेपालमा दर्ता भएको र नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गरिरहेको गुरुङको भनाइ छ । सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको बताए । आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेश गर्ने उनले बताए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको उनले बताए । केहीले विरोध गरेको भए पनि लोकतन्त्रमा बिरोध हुनु स्वभाविक रहेको उनको भनाइ छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए । देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने उनले बताए । जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको उनले बताए । जनताको अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको गुरुङले बताए । अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर मात्रै नेपालीहरुको समृद्धिको यात्रा सहज हुने कुरालाई बुझेर नै विधेयक ल्याइएको उनको भनाइ छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ । बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालय समझदारी भएको हो । समझदारी पत्रमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समीर शेखर बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालले हस्ताक्षर गरेका हुन् । सीईओ रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताउनुका साथै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सीमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे । सम्झौता कार्यक्रममा बोल्दै डीसीईओ बज्राचार्यले उक्त साझेदारी व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि भएको बताए । यसका साथै उनले कम आय भएका मानिसहरूको वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने प्रतिबद्धता जाहेर गरे । यसले दिगो विकासलाई टेवा पुर्‍याउने उनको दाबी छ । यसैगरी, सीईओ रिजालले सहकार्यबाट नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवर्द्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजिएको उल्लेख गरे । जसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ । कार्यक्रममा इन्स्योरेन्सका डीसीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृत मनोजकुमार चौधरी र विकास बैंकका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने

काठमाडौं । लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो पूर्ण विद्युतीय कार (ईभी) सार्वजनिक गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले मंगलबार यसबारेमा घोषणा गर्दै यस वर्ष राजस्व र मुख्य आम्दानी कम्तीमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको बताएको छ। फरारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेनेडेटो भिग्नाले प्रतीक्षित ईभी अक्टोबर ९ मा इटालीको मारेनेल्लोस्थित मुख्यालयमा आयोजना हुने क्यापिटल मार्केट्स डे कार्यक्रममा प्रदर्शन गरिने जानकारी दिए । फरारीले लामो समयदेखि आफ्नो ईभी सार्वजनिक गर्ने समय भनेर संकेत गर्दै आएको थियो । सीईओ भिग्राले ‘अनौठो र नवप्रवर्तनीय तरिकाले सार्वजनिक गरिने’ भन्दै कारको विस्तृत विवरण दिन अस्वीकार गरे । ६ नयाँ मोडल सार्वजनिक गर्ने योजना फरारीले यस वर्ष छवटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । सीईओ भिग्नाका अनुसार यो योजना अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति वा व्यापार युद्धको जोखिमले प्रभावित हुने छैन । फरारीले सन् २०१९ देखि हाइब्रिड मोडलहरू आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । २०२३ मा कम्पनीका ५१ प्रतिशत कार बिक्री हाइब्रिड मोडलका थिए । मंगलबार फरारीले घोषणा गरेअनुसार २०२५ मा मुख्य आम्दानी २.६८ अर्ब युरो (२.७७ अर्ब डलर) पुग्नेछ । २०२४ को २.५६ अर्ब युरोभन्दा वृद्धि हुने अनुमान छ। से‍यर मूल्यमा ७.६ प्रतिशतले वृद्धि मिलान स्टक एक्सचेन्जमा फरारीका सेयर मूल्य मंगलबार ७.६ प्रतिशतले बढेको थियो । ’दृढ वृद्धि’ को अपेक्षा कस्टुमाइजेसन, बलियो उत्पादन संयोजन र मूल्य निर्धारण क्षमताले २०२४ को मुख्य आम्दानी १२ प्रतिशतले बढाएको छ । ‘यी मजबुत आधारहरूमा हामी २०२५ मा अझ बढी वृद्धि हुने अपेक्षा गर्छौं,’ भिग्नाले भने । उनका अनुसार फरारीले २०२६ को उच्च लाभ लक्ष्य एक वर्ष अगावै प्राप्त गर्ने सम्भावना छ । फरारीका ग्राहकहरूले सामान्यतः कार कस्टुमाइज गर्ने गर्छन्, जसमध्ये मुख्य रूपमा रङ, लिभरी र कार्बन प्रयोग जस्ता सुविधाहरू पर्छन् । फरारीका वित्तीय प्रमुख (सीएफओ) एन्टोनियो पिक्का पिक्कनले बताएअनुसार २०२३ मा कस्टमाइजेसन सेवाबाट कुल राजस्वको १९ प्रतिशत योगदान थियो, जुन २०२४ मा २० प्रतिशतले वृद्धि भएको छ। चीन र अमेरिकी बजारमा अवसर फरारीले २०२४ मा अमेरिकी ग्राहकहरूलाई थप कारहरू डेलिभर गरेपछि राम्रो नतिजा प्राप्त गरेको छ । तर सीईओ भिग्नाका अनुसार भविष्यमा सम्भावित ट्यारिफहरूलाई ध्यानमा राखेर अमेरिका पठाइने कारहरूको ढुवानी बढाउने कुनै योजना छैन । २०२३ मा १३ हजार ७५२ कार अमेरिकामा डेलिभर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ८९ वटा बढी हो । हाल फरारीले चीनमा कुल डेलिभरी १० प्रतिशतको सीमामा राख्ने नीति लिएको छ । भिग्नाका अनुसार चीनमा ईभी लोकप्रिय भएकाले नयाँ विद्युतीय कार त्यहाँका लागि ठूलो अवसर बन्न सक्छ । साथै पेट्रोल कारभन्दा ईभीमा कम कर लाग्ने भएकाले पनि चीनमा बजार विस्तार गर्न मद्दत पुग्नेछ । सान्दर्भिक सामग्री :  १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको बुधबार निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्’, मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाए । तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । एक सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि एक सय ८३ हेक्टरको हुनेछ । तालको वरपर पैदलमार्ग निर्माण गर्न एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए । अनुगमनमा ऊर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुगेका थिए ।

एमएडब्लूको पोर्टफोलियो २ अर्ब ५३ करोड, बैंकको भन्दा उच्च एनपीए

काठमाडौं । उद्योगी विष्णुकुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीको आम्दानी केही घटेको देखिएको छ ।  सन् २०२३ को तुलनामा २०२४ मा केही घटेको देखिएको हो । एमएडब्लू हायर पर्चेजले २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सार्वजनिक विवरणका अनुसार एमएडब्लूको कुल पोर्टफोलियो २ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसअघि अर्थात्  २०२४ मा यस कम्पनीको कुल पोर्टफोलियो २ अर्ब ४८ करोड ४० लाख, २०२३ मा २ अर्ब ३७ करोड ३० लाख र २०२२ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ थियो । २०२२ को तुलनामा पोर्टफोलियोमा गिरावट देखिए पनि २०२५ मा २०२३ र ०२४ को तुलनामा बढेको देखिएको हो । कम्पनीले आफ्नो कुल पोर्टफोलियोभन्दा बढी ऋण लिएको छ । रेटिङ एजेन्सी इक्राका अनुसार कम्पीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।  जुन रकम पोर्टफोलियोभन्दा कम हो । कम्पनीले दीर्घकालीन ऋणका लागि एल डबल बी प्लसको रेटिङ पाएको छ भने अल्पकालिन ऋणका लागि ए फोर प्लसको रेटिङ प्राप्त गरेको छ । हालसम्म कम्पनीसँग कुल २ अर्ब ६८ करोड ५० लाख रुपैयाँबराबरको सम्पत्ति रहेको देखिएको छ । सन् २०२४ सम्म कुल २ अर्ब ६० करोड ८० लाख रुपैयाँ सम्पत्ति कम्पनीसँग थियो । यस्तै, कुल नन् पफर्मिङ लोन (एनपीए) बढ्दै गएको देखिन्छ । २०२४ मा ४.१९ प्रतिशतको अनुपातमा रहेको एनपीए २०२५ मा आइपुग्दा ४.३६ प्रतिशत पुगेको छ । यसले कम्पीको ब्याज आम्दानी मार्जिन पनि घटेको छ । २०२४ मा ८.०८ प्रतिशत रहेको कम्पनीको खुद ब्याज मार्जिन २०२५ मा ८.०३ प्रतिशतमा झरेको छ । सो ऋणका लागि रेटिङ गराएपनि कम्पनीले सबै ऋण भने उपभोग नगरेको बताएको छ । एमएडब्लूका डाइरेक्टर गोपाल अग्रवालका अनुसार कम्पनी अघिल्लो आर्थिक वर्षको तुलनामा यो त्रैमासमा केही सूचक दबाबमा रहे पनि आर्थिक वर्षको अन्तिममा सन्तुलन हुने बताउँछन् । उनका अनुसार कम्पनीको एनपीए बैंकको तुलनामा केही बढी भएपनि अन्य हायर पर्चेज कम्पनीको तुलनामा भने कम हो । कम्पनीले हायर पर्चेज कर्जा पनि प्रवाह गर्दै आएको छ । कम्पनीले प्रवाह गरेको कर्जा असुल गर्न चुनौती देखिएको विज्ञप्तिमा उल्लेख छ । सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ । यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् । थप अपडेट : ८ः२१ बजे

अडानी ग्रुपलाई किन ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भनियो ? हिन्डेनबर्गको खुलासा यस्तो

काठमाडौं । अमेरिकी रिसर्च तथा लगानी कम्पनी हिन्डेनबर्ग रिसर्चको एक रिपोर्टका कारण अडानी ग्रुपको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । हिन्डेनबर्ग रिसर्चले एक अन्तर्वार्ताका क्रममा अडानी ग्रुपलाई किन निशाना बनाइयो भन्ने बारेमा खुलासा गरेको छ । अहिले हिन्डेनबर्ग कम्पनी बन्द भइसकेको छ । कम्पनीका संस्थापक नथान एन्डरसनले कानुनी वा अन्य जोखिमका कारण व्यवसाय बन्द नगरेको बताए । अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामी कुनै कानुनी वा अन्य जोखिमका कारण हाम्रो व्यवसाय बन्द गरिरहेका छैनौं र हामीले जारी गरेका सबै रिपोर्टहरूमा अझै पनि दृढ छौं ।’ एन्डरसनका अनुसार हिन्डेनबर्गको जनवरी २०२३ मा प्रकाशित अडानी ग्रुपविरुद्धको रिपोर्ट विभिन्न समाचारमाध्यमहरूमा ग्रुपबारे आएका समाचारहरूको परिणाम थियो । हिन्डेनबर्गले अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको थियो । अडानीविरुद्धको रिपोर्टपछि भारतमा चर्चित हिन्डेनबर्ग गौतम अडानी र उनको समूहविरुद्ध रिपोर्ट प्रकाशित गरेपछि हिन्डेनबर्ग रिसर्च भारतमा व्यापक चर्चाको विषय बन्यो । यद्यपि अडानी ग्रुपले रिपोर्टमा लगाइएका सबै आरोपहरूको पटक-पटक खण्डन गर्‍यो । एन्डरसनले केही मानिसहरूद्वारा हिन्डेनबर्गलाई ओसीसीआरपी र जर्ज सोरसजस्ता भारतविरोधी समूहहरूसँग जोड्ने प्रयासलाई ‘मूर्खतापूर्ण षड्यन्त्र’ को उपमा दिए । एन्डरसनले भने, ‘हामी यस्तो षड्यन्त्रकारी सोचलाई बढावा नदिने नीति अपनाउँछौं, त्यसैले हामीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनौं ।’ हिन्डेनबर्ग रिसर्च कम्पनी किन बन्द गरियो ? हिन्डेनबर्ग रिसर्चले विभिन्न कम्पनीहरूमाथि ठगीको आरोप लगाउँदै विस्तृत रिपोर्टहरू प्रस्तुत गर्दै आएको थियो । तर गत महिना एन्डरसनले आफ्नो कम्पनी बन्द गर्ने घोषणा गरे । कम्पनी अरू कसैलाई किन हस्तान्तरण गरिएन भन्ने प्रश्नमा उनले भने, ‘हिन्डेनबर्ग मेरो पर्याय नै हो । यदि यो कुनै सफ्टवेयर एप वा साइकल कारखाना हुन्थ्यो भने यसलाई बेच्न सकिन्थ्यो । तर जब कुरा मेरो अनुसन्धानको आउँछ, यसलाई कसैलाई दिन सम्भव छैन ।’ तर उनले हिन्डेनबर्गको टोलीले भविष्यमा कुनै नयाँ ब्रान्ड ल्याएमा आफूले समर्थन गर्ने बताए । यस कारण बनाइयो अडानीलाई निशाना एन्डरसन पहिलो पटक इलेक्ट्रिक ट्रक कम्पनी निकोलाविरुद्ध रिपोर्ट प्रकाशित गरेर चर्चामा आएका थिए । उनले कार्ल इकानको इकान इन्टरप्राइजेज लगायतका ठूला वित्तीय कम्पनीहरूलाई पनि निशाना बनाएका थिए । हिन्डेनबर्गको रिपोर्ट विशेष गरी अडानी ग्रुपविरुद्धको रिपोर्टबारे सोध्दा उनले भने, ‘हामी हाम्रो सबै अनुसन्धान निष्कर्षहरूसँग पूर्ण रूपमा अडिग छौं ।’ हिन्डेनबर्गले जनवरी २०२३ मा प्रकाशित रिपोर्टमा अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो घोटाला’ गरेको आरोप लगाएको थियो । रिपोर्टमा अडानी ग्रुपले सेयर मूल्यमा हेरफेर गरेको र वित्तीय अनियमितता गरेको दाबी गरिएको थियो । यसपछि ग्रुपका कम्पनीहरूको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । अडानी ग्रुपले भने यी सबै आरोपहरू अस्वीकार गरेको थियो । भारतविरोधी भएको आरोप ? उच्चतम अदालतले हिन्डेनबर्ग रिपोर्टसँग सम्बन्धित याचिका खारेज गरिसकेको छ । समयक्रमसँगै अडानी ग्रुपले आफ्नो व्यावसायिक प्रदर्शन बलियो बनाउँदै गएको छ र बजारमा गुमाएको मूल्य पुनः प्राप्त गर्न सफल भएको छ । हिन्डेनबर्गले भारतको सेयर बजार नियामक संस्था सेबीकी अध्यक्ष माधबी पुरी बुचमाथि पनि ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को आरोप लगाएको थियो । हिन्डेनबर्गका अनुसार यही कारण अडानी ग्रुपविरुद्ध गहिरो अनुसन्धान हुन सकेन । तर बुचले यी आरोपहरू अस्वीकार गर्दै आफू नियामक प्रमुख बन्नुअघि नै अडानीले लगानी गरिसकेको र उनले सबै आवश्यक नियमनहरू पालन गरेकी बताएकी थिइन् । हिन्डेनबर्गको रिपोर्टलाई भारत विरोधी दृष्टिकोणबाट हेरियो नि भन्ने प्रश्नमा एन्डरसनले भने, ‘हामी सधैं भारतको क्षमतामा विश्वास गर्छौं । पारदर्शिता र मजबुत कर्पोरेट प्रशासन भारतको विकास कथा सफल बनाउनका लागि प्रमुख तत्वहरू हुन् ।’ हिन्डनबर्ग रिसर्चको स्थापना २०१७ मा भएको थियो । यसको अन्तिम प्रकाशित रिपोर्ट अनलाइन कार खुद्रा विक्रेता कारवानासम्बन्धी थियो ।

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुदा नाफा १०४ प्रतिशतले वृद्धि

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरू सबै बढेका छन् । यस अवधिमा खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । साथै इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि यसको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले कुल १२ लाख २ हजार ७९७ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ । विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो । पश्चिम बागलुङखण्डमा २०६४/६५ तिर मात्रै ट्रयाक खोलिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्यामा छन् । करिब ९० प्रतिशत काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण सुवेदीले हालसम्म एक सय २२ किमी सडक कालोपत्र भएको बताउँदै अब १३ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए । लोकमार्ग कार्यालयले विभिन्न खण्डमा काम गरिरहेको भन्दै निसीखोला गाउँपालिकाअन्तर्गतका १५ किमीमा काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको उनले बताए ।उनका अनुसार बागलुङ बजारबाट बयलडाँडासम्मको पाँच किमी र बयलडाँडाबाट घोडाबाँधेसम्मको आठ किमीबाहेक सबै खण्ड कालोपत्र भइसकेको छ । पाँच किमी यसै वर्ष सम्पन्न हुने र बाँकी आठ किमी आगामी वर्षमा सक्नेगरी काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । उनले भने, ‘बागलुङ खण्डमा पर्ने धेरै ठाउँमा सडक कालोपत्र भएर पुनः मर्मत पनि भइसकेका छन्, काम सकिएका खण्ड सडक विभागलाई हस्तान्तरण गर्न बाँकी छ, अब काम सकिने गतिमा छ । बिहुँ खण्डमा ठेक्का तोडेर पुनः लगाउँदा ढिला भएको हो, अबको एक वर्षमा सबै काम सकिने छ, काम सकिएपछि सबै खण्ड सडक विभागलाई हस्तान्तरण गर्नेछौँ ।’ मध्यपहाडी लोकमार्गले नजोडिँदा बागलुङको सबैभन्दा विकट मानिने निसोखोला अहिले सुगम बनेको छ । निसीखोलावासीका लागि लोकमार्ग वरदान सावित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । यो लोकमार्गले सिधैँ प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँसँग जोडेको उनको भनाइ छ । ‘विगतमा निसीखोला विकट हुँदा काम गर्ने कर्मचारी पनि आउन मान्दैनथे, यहाँका नागरिकले हप्ता दिन लगाएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो, तर अहिले एकै दिनमा सदरमुकाम होइन राजधानी नै पुग्न सकिन्छ’, अध्यक्ष घर्ती मगरले भने, ‘सहज सडकको पहुँले यहाँको उत्पादन बजारीकरण गर्न र यात्रा गर्न टेवा पुर्याएको छ भने यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर पनि परिवर्तन ल्याएको छ ।’ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङखण्ड भएर पश्चिम नेपालको पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत जिल्लाबाट दैनिक दर्जनौँ रात्रि तथा दिवा बस सङ्घीय राजधानी काठमाडौँका लागि सञ्चालन हुन थालेका उनले बताए । रासस