विकासन्युज

आभूषण महासंघद्वारा राजश्व विभागका महानिर्देशक आचार्यसमक्ष सुझाव प्रस्तुत

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यसमक्ष सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ‘बहुमुल्य धातु वा वस्तुको कारोवार गर्ने व्यवसायीसूचक संस्थाहरूको लागि जारी निर्देशन’का विभिन्न प्रावधानहरूमा सरलीकरण गर्न र जानकारीमूलक एवं भौतिक रूपमा पूरा गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा गरी मात्रै कार्यान्वयनमा ल्याउन सुझाव प्रस्तुत गरेको हो । पहिलो पटक २०७७ सालमा निर्देशन जारी हुँदा थोक कारोबारको मात्र प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएको तर हालै त्यसमा संशोधन गरी खुद्रा तहले पनि प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएकोले पूर्व तयारी र गृहकार्यका लागि पर्याप्त हुने गरी थप समय आवश्यक परेको पनि महासंघले सुझावमा स्पष्ट पारेको छ । नियामक निकायले मात्रै गर्न मिल्ने कतिपय कार्यहरू पनि व्यवसायीलाई जिम्मा दिइएकोले त्यस्ता कार्यहरू नियामक निकायबाट नै गरिनु पर्नेमा महासंघले जोड दिएको छ । प्रतिवेदन प्रस्तुत गर्नु पर्ने कारोबारको सीमालाई १० लाख रुपैयाँबाट बढाएर कम्तिमा ५० लाख पुर्‍याउन र एउटै वस्तुको पुनः खरिद, फिर्ता, साटफेर आदि हुने भएकोले विलासिता शुल्कले उपभोक्तामा अनुचित आर्थिक भार पर्न जाने हुँदा उक्त शुल्क हटाउन पनि महासंघले माग गरेको छ । प्रतिनिधिमण्डलमा महासंघको संघीय कार्यसमितिका पदाधिकारीहरू क्रमंश: द्वितीय उपाध्यक्ष सुधीर अग्रवाल, तृतीय उपाध्यक्ष प्रेमबहादुर विश्वकर्मा, महासचिव नीरबहादुर विश्वकर्मा, सचिव पृथ्वी विश्वकर्मालगायत अन्य व्यवसायी सम्मेलित थिए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन विधेयक ल्याइएको हो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानून संशोधन गरिएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सांसदहरुका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेकोले सुरक्षित कारोबार ऐन संशोधन विधेयक ल्याउनुपरेको जानकारी दिए । सुरक्षित कारोबार ऐनले मुलतः चल सम्पतीको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित एवं प्रभावकारी बनाई चल सम्पती उपरको दायित्व परिपालना गराउने उद्देश्य लिएको उनको भनाइ छ । उनले चल सम्पतीको धितोमा हुने कारोबारमा विश्वव्यापी रुपमा आएको परिवर्तन र साविकको कानूनी व्यवस्थाको कार्यान्वयनबाट प्राप्त विश्लेषणसहितको आधारमा प्रश्तुत संशोधन विधेयक संशोधन गरिएको जानकारी गराए । ‘अन्तर्राष्ट्रिय रुपमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षति कारोबारसम्बन्धी व्यवस्था समयानुकुल बनाउन आवश्यक भएकोले यो संशोधन विधेयक पेस गरिएको हो,’ उनले भने । विधेयकमा अधिकार पत्र, खरिद मूल्यसम्बन्धी धितोको हक, चल सम्पत्ति, दायित्व परिपालना नभएको अवस्था, धितो दिने व्यक्ति, धितोको सम्पती लागयतका शब्दावलीहरुलाई थप स्पष्ट गरी उल्लेख गरिएको मन्त्री पौडेलले बताए ।

ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा यही माघ २९ देखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासङ्घको आयोजना हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थ व्यवस्थाको लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ । ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त कार्यक्रम १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागी रहने बताइएको छ । विभिन्न ९० सत्रमा छलफल हुने, पाँच सय वक्ताले धारणा राख्ने र सात सय कम्पनीले प्रदर्शन कक्ष राख्ने जनाइएको छ । मन्त्री खड्काले उक्त कार्यक्रममा ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई वटा मन्त्रिस्तरीय सेसनलाई सम्बोधन गर्नेछन्। मन्त्री खड्कासँगै कार्यक्रममा भाग लिन मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ नयाँदिल्ली प्रस्थान गरेका छन् ।

अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि: शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो । उक्त सम्झौता-पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १ वर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

दुम्कीबासमा पुल मर्मतमा ९० लाख खर्च लाग्ने, भाँचिएको एक महिना बित्दा पनि काम अगाडि बढेन

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल-नारायणगढ सडकखण्डको दुम्कीबासमा पुल भाँचिएको एक महिना पुरा भएको छ । तर, यसको मर्मतबारे सरोकारवाला निकाय मौन देखिएका छन् । गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ११० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको थियो । ट्रक पुलको बीच भागमै फसेको थियो । पुलको झन्डै ६० मिटर भाग पूरै भत्किएको थियो । धेरैले पुल पुरानो भएकोले भाँचिएको तर्क गरेका थिए । पुल विसं २०३२ सालमा ब्रिटिस सरकारको अनुदानमा बनेको हो । पुल महेन्द्रराजमार्ग निर्माण हुँदा नै बनेको थियो । पुल बनेको झण्डै ५० वर्ष पुरा भइसकेको छ। तत्कालको लागि पुलको पुरै ड्यामेज भएको पूर्वपट्टिको भाग र अन्य ड्यामेज ठाउँमा सामान्य मर्मत गरेर सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए। उनका अनुसार सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले पुलबारे प्रतिवेदन पठाइसकेको छ । मर्मत गर्न ९० लाख लाग्ने  ड्यामेज भएको उक्त पुललाई अस्थायी रूपमा मर्मत गर्न करिब ९० लाख रुपैयाँ लाग्ने जनाइएको छ । उनले भने, ‘पुरै पुलको ओभरल ब्रिज डिजाइन गरेर यसको कस्टिम निकालेपछि मात्रै थाहा हुन्छ । तत्काल ड्यामेज भएको ठाउँमा मात्रै सामान्य मर्मत गर्ने गरी तयारी भइरहेको र उक्त मर्मतका लागि करिब ९० लाख रुपैयाँ लाग्नेछ ।’ पुल मर्मतको जिम्मा सडक विभागको रहेको उनले जानकारी दिए । के भन्छ स्थानीय सरकार ? विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पुल सडक विभागले बनाउने कुरा भएपनि अहिलेसम्म काम अगाडि नबढेकाे बताए । पटक-पटक सडक विभागसँग सम्पर्क गर्दा पनि कल नै नउठाएको गुनासो गरे । उनले भने, ‘पुल भाँचिएको एक महिना बितिसक्यो । यसको निर्माणबारे कुनै सुरसार नै देखिँदैन । पटक-पटक सडक विभागसँग सम्पर्क गरिरहेको छु । तर कल नै उठाउँदैनन् ।’ उनका अनुसार पुललाई ६० मिटर ग्राबेल र बेलिब्रिज गरेर बनाउने याेजना छ । उनले गाँउपलिकाबाट हुने सहयोगका लागि आफूहरू तयार रहेको बताए । उनले भने, ‘पालिका जति बेला पनि तयारी अवस्थामै छ । पालिकाले गर्ने सबै सहयोग गर्छ । पुलको अनुगमन गर्न मन्त्रीस्तरीय मान्छे आए पनि यसको निर्माणका लागि ठोस निर्णय नै गर्न सकेनन् ।’ हाल उक्त खण्डमा दायाँबायाँ डाइभर्सन गरेर सवारीसाधन सवारीसाधन आवतजावत भइरहेको उनको भनाइ छ । उनले दुर्घटनाग्रस्त स्थानभन्दा २०० मिटर परबाट वैकल्पिक बाटो खोलिएको र दुवैतर्फका सवारीसाधनहरू सञ्चालनमै रहेको जानकारी दिए । ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?

सेयर बजारमा ६ अर्ब ९६ करोडको कारोबार

काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७७ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको भएको छ । नेपाल रिपब्लिकको २४ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, सीईडीबी होल्डिङको १५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावर र गार्डिन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै बोटर्लस नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

यी १५ बैंकका कर्मचारीको तलब बढ्यो, कुन बैंकले कति बढायो ?

काठमाडौं । बैंकका कर्मचारीहरूको तलब ६ महिनामा साढे १ अर्बभन्दा बढी बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्ममा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब ६.०६ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बढाएर २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको पुसमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई २६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यस अवधिमा १५ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ५ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । गत वर्षको तुलनामा घटेको भएपनि यस अवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको देखिन्छ । यस बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको पुसमा बैंकले कर्मचारीहरूलाई २ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा हिमालयन बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको देखिन्छ । हिमालयनको २७.६१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । यस्तै, प्राइम बैंकको २५.६६ प्रतिशत बढेर ८५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २४.९१ प्रतिशत बढेर १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकको २३.१६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ तलब वापत भुक्तानी गरेका छन् । एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् । प्रभु बैंकको ५.९७ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५.५८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२९ प्रतिशत बढेर १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९१ प्रतिशत बढेर ५४ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.८३ प्रतिशत बढेर ८३ करोड ८९ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको १.६२ प्रतिशत बढेर १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।