विकासन्युज

एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।

घनश्याम उपाध्यायले पाए अर्थसचिवको जिम्मेवारी, डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा

काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । यसअघि अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई अब देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू बनाउनु पर्ने जिम्मेवारी आएको छ । उपाध्यायसँग आर्थिक प्रशासनमा राम्रो अनुभव रहेको बताइन्छ । उनले कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन् । त्यस्तै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष बिताएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन् । ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका उपाध्याय सरल स्वभावका तथा कामकाजी प्रशासकका रूपमा चिनिन्छन् । साथै यसअघि अर्थ सचिव रहेका डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा भएपछि राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको कामु प्रदेश सचिव रहेका अधिकारी सचिवमा बढुवा भएका हुन् । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त सचिवमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो । अधिकारी बढुवा भएका हुन् ।

विशाल बजार कम्पनीको लाभांश घोषणा, १० वर्षपछि बोलायो साधारण सभा

काठमाडौं । विशाल बजार कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरूलाई वितरण गर्ने भएको हो । साथै विशाल बजार कम्पनीले १० वर्षपछि आफ्नो साधारण सभा बोलाएको छ । लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाण्डौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अरव १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ । यस्तै, सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिनेछ । सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा सभाबाट अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी डलरको भाउ बढ्यो, कतारी रियालको मूल्य ३८.४७ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.६७ रुपैयाँ र बिक्रीदर १४०.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.४१ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.५४ रुपैयाँ र बिक्रीदर १५४.२० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७४ रुपैयाँ र बिक्रीदर ८८.१२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.२३ रुपैयाँ र बिक्रीदर १०३.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३१ रुपैयाँ र बिक्रीदर ३८.४७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०३ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२५ रुपैयाँ र बिक्रीदर ३१.३८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८१ रुपैयाँ र बिक्रीदर १२.८६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३५ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.९३ रुपैयाँ र बिक्रीदर १८.०१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४५२.३३ रुपैयाँ र बिक्रीदर ४५४.२७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.५२ रुपैयाँ र बिक्रीदर ३७२.११ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.७७ रुपैयाँ र बिक्रीदर ३६४.३२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनले बताए । स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताए । उनले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पुर्याउन आग्रह गरे । उनले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गरे । पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताए । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उनले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गरे । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् । यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।

धरहरा चढ्ने समय बढ्यो, तीन महिनामा डेढ करोड राजस्व संकलन

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत १ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक १ हजार २ सयको हाराहारीमा रहेको उनले जानकारी दिए । पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ  शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क रहेको अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको निर्देशक अर्यालले उल्लेख गरे ।

१.१६ करोड लिएर बाहिरिए सीईओ कार्की, कामु सीईओमा निरन्जन फुयाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की बाहिरिएका छन् । २०७८ माघ २० गते सीईओमा नियुक्त भएका कार्की कार्यकाल सकिएपछि माघ २५ गते नेप्सेबाट बाहिरिएका हुन् । सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएका नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि बाँकी अवधिका लागि कार्की नियुक्त भएका थिए । तीन वर्षको अवधिमा सीईओ पदमा काम गरेबापत कार्की नेप्सेबाट १ करोड भन्दा बढी भुक्तानी बुझेका छन् । कार्कीले चालु आर्थिक वर्ष २०८१/८२ मा लिएको भुक्तानी सार्वजनिक भएको छैन । तर, त्यसअघि उनी सीईओ पदमा बहाल रहँदा नेप्सेले १ करोड १६ लाख ३१ हजार रुपैयाँ तलब तथा भत्ता बुझेका छन् । आर्थिक वर्ष २०७८/७९ मा कार्कीले तलब बापत ३१ लाख ४२ हजार ८०८ रुपैयाँ बुझेका थिए । जसमा उनले अल्पकालिन कर्मचारी लाभ वापत १० लाख ८० हजार २६२ रुपैयाँ, रोजगारी पछीको लाभ वापत ९० हजार रुपैयाँ, अन्य दीर्घकालिन लाभ तथा सुविधा वापत १६ लाख १२ हजार ५४६ रुपैयाँ र बैठक भत्ता तथा अन्य सुविधाहरु ३ लाख ५८ हजार रुपैयाँ बुझेको नेप्सेको तथ्याङ्क छ । साथै सञ्चालक समिति बैठकको भत्ता बापत उनले १० लाख ७१ हजार रुपैयाँ बुझेका थिए । यस्तै आर्थिक वर्ष २०७९/८० मा कार्कीले ३१ लाख १० हजार १२५ रुपैयाँ तलब सुविधा बापत बुझेका थिए । जसमा अल्पकालिन कर्मचारी लाभ वापत २३ लाख ६१ हजार १२५ रुपैयाँ, अन्य दीर्घकालिन लाभ तथा सुविधा वापत १ लाख ८० हजार रुपैयाँ र बैठक भत्ता तथा अन्य सुविधाहरु ५ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरिएको नेप्सेले जनाएको छ । साथै सञ्चालक समिति बैठकमा सहभागी भए बापत उनले ५ लाख ६९ हजार रुपैयाँ समेत यस वर्ष बुझेका थिए । नेप्सेका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा भने कार्कीले ३३ लाख ६ हजार ८९९ रुपैयाँ बुझेका छन् । जसमा उनले अल्पकालिन कर्मचारी लाभ वापत २४ लाख २० हजार २७४ रुपैयाँ, अन्य दीर्घकालिन लाभ तथा सुविधा वापत १ लाख ८० हजार रुपैयाँ र बैठक भत्ता तथा अन्य सुविधाहरु ७ लाख ६ हजार ६२५ रुपैयाँ भुक्तानी गरिएको नेप्सेको तथ्याङ्क छ ।साथै सञ्चालक समिति बैठकमा सहभागी भए बापत उनले ४ लाख ३१ हजार २५० रुपैयाँ रुपैयाँ समेत गत वर्ष बुझेका थिए । कार्की बाहिरिएपछि सञ्चालक समिति बैठकले कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । प्रबन्धक पदमा कार्यरत फुयाललाई माघ २५ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।

गुगलको एआई डीपमाइन्डका सीईओ भन्छन्– डीपसीकको एआई मोडेल राम्रो तर प्रचार ‘अतिरञ्जित’

काठमाडौं । गुगलको डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसले डीपसीकको एआई मोडेल चीनबाट आएको ‘सबैभन्दा राम्रो काम’ तर प्रचार ‘अतिरञ्जित’ भएको बताएका छन् । उनले डीपसीकमा कुनै नयाँ वैज्ञानिक प्रगति नदेखिएको दाबीसमेत गरे । पछिल्लो महिनामा चीनको डीपसीकले एउटा अनुसन्धान पत्र प्रकाशित गरेको थियो, जसले विश्वव्यापी बजारलाई हल्लाइदियो । उक्त पत्रमा डीपसीकले आफ्नो एआई मोडेललाई अन्य प्रमुख एआई कम्पनीहरूको तुलनामा निकै कम लागतमा र कम विकसित एनभीडीया चिपहरू प्रयोग गरेर प्रशिक्षण दिएको दाबी गरेको थियो । डीपसीक ६ मिलियन डलरभन्दा कम खर्चमा बनेको हो । जसले गर्दा अहिले ठूला प्रविधि कम्पनीहरू एआई पूर्वाधारमा धेरै खर्च गरिरहेका छन् कि भनेर व्यापक बहस चलिरहेको छ । सीईओ हासाबिसले डीपसीकको मोडेललाई ’एक प्रभावशाली काम’ भनेर प्रशंसा गरे । ‘मलाई लाग्छ यो चीनबाट आएको सबैभन्दा राम्रो काम हो,’ हासाबिसले आइतबार पेरिसमा आयोजित गुगलको कार्यक्रममा भने । यो कार्यक्रम एआई एक्शन समिटको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो । डीपमाइन्डका सीईओले डीपसीकको मोडेलले उनीहरूले ’एकदमै राम्रो इन्जिनियरिङ’ गर्न सक्ने देखाएको र यो ’भू–राजनीतिक रूपमा पनि परिवर्तन ल्याउने’ काम गर्न सक्ने बताए । तर प्रविधिको दृष्टिकोणले हेर्दा हासाबिसले यसमा ठूलो परिवर्तन नभएको दाबी गरे । ‘प्रचार भएजस्तै, यहाँ कुनै नयाँ वैज्ञानिक खोज छैन… यो पहिल्यै प्रचलित प्रविधिहरू प्रयोग गरिरहेको छ,’ उनले भने । साथै उनले डीपसीकको प्रचार ’अलिकति अतिरञ्जित’ भएको बताए । डीपमाइन्डका सीईओका अनुसार गुगलले हालै सार्वजनिक गरेको जेमिनी २.० फ्लास मोडेलहरू डीपसीकको मोडेलभन्दा बढी प्रभावकारी छन् । डीपसीकको कम लागत र प्रयोग गरिएका चिपहरूबारेका दाबीहरू विशेषज्ञहरूले प्रश्न उठाएका छन् । उनीहरूका अनुसार चिनियाँ कम्पनीले आफ्नो मोडेल विकास गर्न अनुमान गरिएकोभन्दा बढी खर्च गरेको हुनसक्छ । एजीआई ५ वर्ष टाढा एआई जगतमा वर्षौंदेखि कृत्रिम सामान्य बौद्धिकता (एजीआई) कहिले आउँछ भन्ने बहस चलिरहेको छ । एजीआई भनेको मानिसहरूभन्दा बढी बुद्धिमान एआईलाई जनाउँछ । हासाबिसका अनुसार एआई उद्योग ’एजीआई’ को मार्गतर्फ अघि बढिरहेको छ,’ जुन उनले ’मानिसहरूसँग भएको सम्पूर्ण संज्ञानात्मक क्षमताहरू प्रदर्शन गर्ने प्रणाली’ भनेर वर्णन गरे । ‘मलाई लाग्छ, अब हामी धेरै नजिक छौं । सम्भवतः त्यस्तो प्रणाली बनाउन मात्र ५ वर्ष जति बाँकी छ, जुन निकै असाधारण हुनेछ,’ हासाबिसले भने । ‘मलाई लाग्छ, समाज यसका लागि तयार हुनुपर्छ र यसले ल्याउने प्रभावहरूबारे सोच्नुपर्छ । हामीले यसको फाइदाहरू लिनुपर्छ, ताकि पूरै समाज लाभान्वित होस्, तर हामीले यसका जोखिमहरू पनि व्यवस्थापन गर्नुपर्छ,’ उनले थपे । हासाबिसका विचारहरू अन्य एआई नेताहरूका विचारसँग मेल खान्छन् । यसै वर्ष ओपनएआईका सीईओ साम अल्टम्यानले भनेका थिए कि ‘हामीले परम्परागत रूपमा बुझेअनुसारको एजीआई कसरी निर्माण गर्ने भन्ने जान्दछौं ।’ तर, धेरै विशेषज्ञहरूले एजीआईसँग सम्बन्धित विभिन्न जोखिमहरूबारे चेतावनी दिएका छन् । सबैभन्दा ठूलो चिन्ता के हो भने मानिसहरूले आफैले निर्माण गरेका प्रणालीहरूमा नियन्त्रण गुमाउन सक्छन् । एआई वैज्ञानिकहरू म्याक्स टेगमार्क र योशुआ बेन्जियो ले हालै सीएनबीसीसँग कुरा गर्दै एजीआईको जोखिमबारे आफ्नो चिन्ता व्यक्त गरेका थिए । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’