विकासन्युज

पेट्रोलियम पाइपलाइनबाट आयात सुरु, ढुवानी भाडा बचत हुने

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रूपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । ‘पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु,’ प्रमुख आचार्यले भने, ‘अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेका छौं ।’ पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताए । सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र सो पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए । यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,’ प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको ।’ मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । यो आयोजना निर्माणसम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । रासस

डीपसीकको कमाल : एक महिनामा चीनको बजारमा १.३ खर्ब डलरको उछाल

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मा चीनको एक कदमले सेयर बजारमा ठुलो परिवर्तन ल्याएको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार डीपसीकको लन्च भएपछि गत एक महिनामा चीनको सेयर बजारमा १.३ खर्ब डलर वृद्धि भएको छ । डीपसीकको प्रभावले चीनको प्रविधि सेयरहरूमा तीव्र उछाल आएको छ, जसका कारण बढीभन्दा बढी हेज फण्डहरूले त्यहाँ लगानी गरिरहेका छन् । चीनमा सम्पूर्ण एआई इकोसिस्टम निर्माण गर्नसक्ने कम्पनी विश्लेषकहरूका अनुसार डीपसीकले चीनमा सम्पूर्ण एआई इकोसिस्टम निर्माण गर्न सक्ने कम्पनीहरू रहेको प्रमाणित गरेको छ । केही वर्षदेखि चीनबाट बाहिरिएको लगानी अब चीनमै फर्किने विश्वास गरिन्छ । विश्लेषकहरूका अनुसार डीपसीकको विकासले चीनको अर्थतन्त्र र सेयर बजारलाई ठूलो फाइदा पुर्‍याउन सक्छ । रिस्क रिवार्डको आधारमा चीन आकर्षक गन्तव्य बनेको छ । बढ्दै चिनियाँ सेयरमा लगानी  चीनको एमएससीआई चाइना इन्डेक्सका अनुसार चीनले ११ गुणा बढी मूल्यमा व्यापार गरिरहेको छ । ब्लूमबर्गको डेटा अनुसार एसियाका ठूला इक्विटी फण्डहरूले भारतीय बजारमा लगानी घटाई चीनका सेयरहरूमा लगानी बढाइरहेका छन् । डीपसीकले चीनमा विदेशी लगानी बढाउन ठूलो भूमिका खेलेको छ । चिनियाँ सरकार अर्थतन्त्रलाई पुनः सशक्त बनाउने उद्देश्यले थप प्रोत्साहन प्याकेजहरू ल्याउने तयारीमा छ । द म्यान एसिया एक्स जापान इक्विटीले गत वर्षमा चीनमा आफ्नो लगानी ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्‍याएको छ । अलिबाबाको बजार पूँजीकरणमात्र पाँच हप्तामा १०० अर्ब डलरले बढेको छ । (एजेन्सीहरूको सहयोगमा) डीपसीकको उदयपश्चात प्रविधि कम्पनीहरूप्रति चिनियाँ सरकारको धारणा परिवर्तन गुगलको एआई डीपमाइन्डका सीईओ भन्छन्– डीपसीकको एआई मोडेल राम्रो तर प्रचार ‘अतिरञ्जित’ एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान हुने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने गरी सम्झौता भएको हो । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङमा भूकम्प गएको छ । साेमबार बिहान साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाएको छ ।

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइतेभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्र्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’ सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।

विवाह गर्न मिल्ने उमेर घटाउनु नहुनेमा सरोकारवालाको जोड

काठमाडौं । सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् । सरकारले २० वर्ष नपुगिकन कानूनी रुपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कानूनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको राष्ट्रिय तथ्यांकले देखाउँछ । अझै २० वर्षबाट घटाइ १८ वर्षमा विवाह गर्न मिल्नेगरी कानून बनाउने विषयमा बहसहरु हुने गरेका छन् । तर सरोकारवाला निकायहरु भने किशोर किशोरीको विवाह २० वर्ष पुगेपछि मात्रै गर्न सकिने कानूनी व्यवस्था नै सही रहेको जिकिर गर्छन् । २० वर्ष उमेर पुगेपछि विवाह गर्ने कुराले किशोर किशोरीको शिक्षा, स्वास्थ्य, रोजगारी र भविष्यको समग्र अवस्थालाई समेट्नसक्ने बताउँछन् । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले विवाहको उमेर कानूनी व्यवस्थाअनुसार दुवैको २० वर्ष हुनुपर्ने भएपनि अहिलेसम्मको प्रगति सन्तोषजनक नरहेको जिकिर गरे । उनले अहिले पनि ४० प्रतिशत विवाह २० वर्ष मुनि नै भएको अवस्था रहेको बताए । अहिलेको अवस्थामा कानूनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महत्वपूर्ण हुने बताए । उनले कानूनको कार्यान्वयन हुन नसक्दा बालविवाहको दर बढेको उल्लेख गरे । सरकारले कानूनी विवाहको उमेरलाई कार्यान्वयन गर्न आफ्नो नीति, कार्यक्रम त्यसको अनुगमन गर्न आवश्यक रहेको बताए । विवाहबारे शारीरिक बनावट, शिक्षा, स्वास्थ्य, रोजगारीमा पर्ने असर समग्र भविष्यमा पर्नसक्ने असरबारे अध्ययन हुन नसकेकले आयोगले पछिल्लो समय सबै सरोकारवालाहरु राखेर अध्ययन गरिरहेको बताए । कानूनको कार्यान्वयन गर्ने निकायहरुको कार्यान्वयन पक्ष फितलो रहेको गुनासो उनको छ । ‘कानूनी व्यवस्था भनेको विवाहको उमेर दुवैको लागि २० वर्ष रहेको छ । र अहिलेको अवस्थामा २० वर्ष भन्दा कम उमेरमै विवाह हुने केटाकेटीको अवस्था हेर्दा त्यो सन्तोषजनक छैन । अहिलेको अवस्थामा कानूनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महत्वपूर्ण हो,’ उनले भने । यता, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मिना शर्माले विवाहको उमेरबारे राज्यले १८—२० को जुन छलफल शुरु गरेको भन्दै असन्तुष्टि जनाइन् । उनले पहिला सरकारले बनाएको कानूनको पूर्ण कार्यान्वयन गरेर हेर्नुपर्ने बताइन् । कानूनको परीक्षण नभइ किशोरीहरुको भविष्यमाथि खेलवाड गर्नेगरी उमेर घटाइनु नहुने बताइन् । उनले नेपाली समाजमा अहिले पनि पुरातनवादी रितिरिवाज हाबी भएको भन्दै २० वर्ष भन्दा कम उमेरमा विवाह गरिदिँदा यसले किशोर, किशोरीहरुको भविष्यमा नै समस्या पैदा गर्ने गरेको बताइन् । नेपाल भौगोलिक भिन्नभिन्न रहेको र भूगोअनुसार परम्परा र संस्कृति पनि फरक रहेकाले सरकारले कानूनमा तोकेको विवाह गर्ने उमेरको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने जानकारी दिइन् । ‘अहिले राज्यले १८—२० को जुन छलफल शुरु गरेको छ । यो हुन पनि पर्छ । कुनैपनि हिसावले राज्यले बनाएको कानूनको परीक्षण पनि हुनुपर्छ । अस्ति भर्खर आएको कानून १० वर्ष नकुर्ने भन्नेकुरा हो,’ उनले भनिन् । उनले बालविवाहको दर घटाउन आम नागरिकलाई सुसूचित र सचेत गर्नुपर्ने जरुरी रहेको बताइन् । अन्तरपुस्ताबीचको समन्वय गरेर बालविवाहलाई रोक्न सबै एक भएर अभियानका रुपमा अघि बढाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

नेशनल लाईफको एमडिआरटी तालिम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई तालिम दिएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।  उनले केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको भन्दै उनले विगत केही बर्षदेखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएको जानकारी गराए । ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको लक्ष्य हासिल गरेको उल्लेख गरे । ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई सम्मान गरे ।

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो, जसमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा विस्तृत छलफल गरिएको नाडाले जनाएको छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले विभिन्न समस्याहरू उठाउँदै समाधानको लागि आग्रह गरेका थिए । कर तिर्ने व्यवसायीहरूले सरकारी तहमै उचित सम्मान नपाएको, सीमापारीबाट अटोमोबाइल प्राविधिज्ञहरू आउने कारण साना व्यवसायीहरू प्रभावित भएको, बैंकहरूले ऋण दिन अप्ठेरो बनाएको, यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्स वितरणको समस्या रहेको लगायतका मुद्दाहरू छलफलका केन्द्रविन्दु थिए । नाडाका अध्यक्ष करण चौधरीले विभिन्न प्रश्नहरूको जवाफ दिँदै, सरकारले हालै अध्यादेशमार्फत ल्याएको ऐनले नाडाका धेरै मागहरू सम्बोधन गरेको जानकारी गराए । उनले सन्दर्भ मूल्यसूची समयानुकूल बनाउन सरकारलाई निरन्तर आग्रह गरिरहेको तथा प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयहरूसँग छलफल भइरहेको बताए । साथै, बीबीआईएन (बङ्गलादेश, भुटान, भारत, नेपाल) सहमतिको सन्दर्भमा नेपालका अटोमोबाइल व्यवसायीहरूलाई पर्ने असरबारे सरकारसमक्ष धारणा राखिएको जानकारी गराए । लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए । भर्चुअल माध्यमबाट समेत गरिएको कार्यक्रममा नाडाका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा हेटौंडा अटोमोवाइल्स एशोसिएशन, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, कर्णाली अटोमोबाइल्स एशोसिएशन लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए । कार्यक्रमको अन्त्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले नाडाका अध्यक्ष करण चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए । नाडाले यस्ता अन्तरक्रिया कार्यक्रमहरू विगतमा गर्दै आएको र भविष्यमा पनि निरन्तर आयोजना गरिने बताइएको छ । आउँदो फागुन ३ गते बुटवलमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको चौथो वार्षिक साधारण सभा आयोजना हुने अवसर पारेर यो कार्यक्रम राखिएको थियो ।