विकासन्युज

प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) पब्लिक युथ कलेजले प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेको हो । उनीहरुले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएपछि सोमवारदेखि विश्वविद्यालय तनावग्रस्त छ । नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखेर अध्ययन गराउने बारेमा सहमति भएको बताएको छ । लम्साल मृत्यु प्रकरणसँग सम्बन्धित एक जनालाई पक्राउ गरी अनुसन्धानअघि बढाइएको बताएको छ ।

‘बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड’

ललितपुर । बालविवाह अन्त्यका लागि विद्यमान ऐन, कानुन, नीतिको व्यावहारिक प्रचलन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार यहाँ आयोजना गरेको ‘विवाहको उमेर सम्बन्धमा कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक छलफलमा सहभागीले बालविवाह हुने समुदाय, वर्गलाई लक्षित गरी प्रभावकारी कानुन कार्यान्वयनसँगै चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताएका हुन् । सहभागीहरूले विवाहको उमेर घटाएर १८ वर्ष बनाउनुभन्दा २० वर्ष कायम गर्नुपर्नेमा जोड दिँदै यसले किशोरीको शारीरिक, मानसिक र शैक्षिकस्तरमा सुधार गर्नुका साथै बाल मृत्युदर र मातृमृत्युदर न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपसभामुख इन्दिर रानाले बालविवाह न्यूनीकरण गर्न आफ्ना छोरा र छोरी दुवैलाई सामाजिक परिवेश र शिक्षाका बारेमा समयसापेक्ष ज्ञान दिनु जरुरी रहेको बताइन् । उनले लैङ्गिक असमानता पनि बालविवाहको कारक तत्व भएकाले लैङ्गिक विभेद् अन्त्य गर्नु सबैको पहिलो कर्तव्य भएको धारणा राखिन् । उनले शिक्षा, स्वास्थ्यका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने भन्दै बालविवाहविरुद्ध भएका विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए । समूहगत र खुला छलफल गरी दुई चरणमा कार्यक्रम सञ्चालन भएको थियो । यसअघि आयोगका सचिव मुरारीप्रसाद खरेलले ‘बालविवाहको अवस्था, व्यवस्था, चुनौती र सरोकार भएका निकाय भूमिका’ मा कार्यपत्र प्रस्तुत गरेका थिए । खरेलले नेपालमा १८ वर्ष नपुग्दै पहिलो विवाह गर्नेहरू ३५ दशमलव एक प्रतिशत र १८–२० वर्षमा पहिलो विवाह गर्नेहरू ५० प्रतिशत रहेका जानकारी दिए। धनुषामा बालविवाह उच्च रहेको जनाउँदै मनाङमा न्यून बालविवाह दर पाइएको उनले उल्लेख गरे । ‘भौगोलिक क्षेत्रका आधारमा तराईमा १८ वर्ष नपुग्दै ३६ दशमलव छ र १८–२० वर्षमा विवाह गर्नेहरू ४९ दशमलव नौ प्रतिशत छन् । पहाडी क्षेत्रमा १८ वर्ष नपुग्दै ३३ दशमलव एक र १८–२० वर्षमा विवाह गर्नेहरू ४९ दशमलव नौ प्रतिशत छन् । साथै हिमाली क्षेत्रमा १८ वर्ष नपुग्दै विवाह गर्ने ३२ दशमलव छ प्रतिशत र १८–२० वर्षमा ५३ दशमलव एक प्रतिशतले विवाह गरेका छन्’, उनले भने। बालविवाहका प्रमुख कारण बालविवाह गर्दा भोग्नुपर्ने दण्डसम्बन्धी जनचेतनाको कमी, विद्यमान कानुनको कमजोर कार्यावन्यन, आर्थिक अवस्था कमजोर, गरिबी र परम्परागत सोच, राजनीतिक तथा सामाजिक अस्थिरता, कारबाही नहुनु, न्यून शैक्षिकस्तर, लैङ्गिक अपमानता, कन्यादानलाई पुण्यको काम मान्नुलगायत रहेका खरेलले बताए । बालविवाह न्यूनीकरण गर्न परिवार र समुदायको परिचालन गर्ने, समुदायमा रहेका विभिन्न समूह ९आमा, उपभोक्ता, किशोरी तथा महिला० तथा धार्मिक व्यक्तित्व, ज्योतिष, पुरोहित, धाँमीझाँक्रीलाई बालविवाहविरुद्ध जानकारी गराई परिचालन गर्ने र दाइजो लेनदेन नगर्ने, कानुन र नीतिको सुदृढीकरण र कार्यान्वयन गर्ने, बालविवाहलाई सम्बोधन गर्ने कानुन तथा नीतिलाई संविधान र अन्तरराष्ट्रिय कानुनसँग समायोजन गर्ने, बालविवाहसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकायका प्रतिनिधिको अभिवृद्धि गर्ने, बालविवाह विरुद्धका न्यायिक कारबाहीलाई उच्च प्राथमिकता दिनेलगायत रहेका उनको भनाइ छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका प्रमुख मीना शर्माले नेपालमा २० देखि २४ वर्ष उमेर समूहका ३६ दशमलव छ प्रतिशत महिलाको विवाह १८ वर्षको उमेरभित्र हुने गरेको बताउँदै ११ प्रतिशत मात्र पुरुषको मात्र विवाह यही उमेरभन्दा कममा हुने गरेको जानकारी दिइन्। उनका अनुसार १० दशमलव चार प्रतिशत बालिकाको विवाह १५ वर्षको उमेरभित्र हुने गरेको छ । ‘नेपालको संविधानको धारा ३९ को उपधारा ९५० ले बालबालिकालाई बालविवाह तथा गैरकानुनी ओसारपसारविरुद्धकोे अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । बालविवाहलाई सङ्घीय कानुनबमोजिम दण्डनीय मानेर प्रतिबन्ध गरी त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरेको छ । तर यी कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालविवाह न्यूनीकरण हुन सकेको छैन’, शर्माले भनिन् । बालश्रम निषेधित तथा नियमितसम्बन्धी ऐन, निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन, जबर्जस्ती करणीसम्बन्धी कानुन, प्रजनन स्वास्थ्यसम्बन्धी कानुनले बालविवाहलाई निरुत्साहित गरेको जनाउँदै उनले बालविवाहसम्बन्धी उमेरको हद घटाउने विषय गम्भिर भएकाले सरोकार भएका सबैसँग आवश्यक छलफल गर्नुपर्ने बताए। उनले उमेर घटाउनुभन्दा विवाहको उमेर २० वर्ष कायम गरी विद्यामान कानुनलाई कडाइका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । समूहगत छलफलमा सहभागी प्रतिनिधिसभाका सांसद रञ्जु झाले सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशमा विज्ञसहितको टोलीले गरेको अन्तरक्रियाका आधारमा विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउनुपर्ने पाइएको उल्लेख गरिन्।  नागरिक समाज, जनप्रतिनिधि, विभिन्न सरोकार भएका निकायका प्रतिनिधि, कानुनविज्ञसहित कानुन, न्याय तथा मानव अधिकार समितिले गरेको अन्तरक्रियामा विवाह गर्ने उमेर घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव प्राप्त भएको उनले जानकारी दिइन् । सांसद झाले यो विषय सामाजिक संरचना र परम्परासँग पनि जोडिएकाले सबै क्षेत्रमा एउटै किसिमको नियम लागू गर्नु उचित नहुने धारणा राखे। शिक्षा, सचेतना, रोजगारीका अवसर सिर्जना गरी बालविवाह न्यूनीकरण गर्न सकिने भन्दै उनले बृहत् छलफलका माध्यमबाट कानुनी र व्यवहारिक बाधाहरू फुकाएर समाजलाई सहज मार्गमा लैजाने जिम्मेवारी सबैको भएकाले आसपी सहकार्य र समन्वय आवश्यकपर्ने बताए । बालअधिकारका क्षेत्रमा तीन दशकदेखि सक्रिय डा तारक धितालले कानुनले समाजलाई निर्देश गर्ने भएकाले विवाह गर्ने उमेर घटाउनु समाजलाई नकारात्मकतातर्फ लैजानु हो भने । ‘आमा शिक्षित छ भने, बच्चाको सिकाइस्तर दुई गुणाबढी हुने भएकाले शिक्षामा जोड दिनुपर्छ । बालविवाहले बच्चा, परिवार र राष्ट्रको विकासमा बाधा पुग्ने भएकाले बालविवाह रोक्नु राज्य, समाज, परिवार र सरोकार भएका निकाय सबैको दायित्व हो’, उनले भनिन् । सामाजिक अभियन्ता भावना भट्टले आर्थिक, धार्मिक, सामाजिक, शैक्षिक र गरिबीका कारण बालविवाह भइरहेकाले जनचेतना अभिवृद्धि गर्नु, रोजगाररीका अवसर सिर्जना गर्नु जरुरी रहेको बताइन् । उनले बालविवाहले आत्महत्यका घटना पनि बढ्नसक्ने भएकाले विवाह गर्ने उमेर २० वर्ष नै कायम राख्नुपर्ने धारणा व्यक्त गरे । ‘दार्चुलामा केही समयअघि १७ वर्षकी केटी र २१ वर्षको केटाले विवाह गरेपछि परिवारको दबाबमा केटालाई कुटपिट गरियो । पछि केटा जेल परेपछि केटीलाई हिनताबोध भएर आत्महत्या गरिन् । यस्ता घटना घट्न नदिन समयमा नै शिक्षा दिनु जरुरी छ’, उनले भने । स्वास्थ्य सेवा विभागअन्तर्गत ज्येष्ठ नागरिक तथा लैङ्गिक हिंसा व्यवस्थापन शाखाकी प्रमुख कविता अर्यालले बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले विवाह गर्ने उमेर घटाउनु उचित नहुने धारणा राखे । ‘मानसिक स्वास्थ्यका साथै प्रजनन स्वास्थ्य, पाठेघरसम्बन्धी समस्या आङ खस्ने, आमाको उमेर नपुगी जन्मने बच्चा अपरिपक्क, अस्वस्था, कुपोषणको समस्या, पुड्कोपनलगायत समस्या देखिने गर्दछ । तसर्थ विवाहबारी २० वर्ष पारी नै उचित विकल्प हो’, उनले भनिन् । खुला छलफलमा सहभागीले बालविवाह आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक कारणले हुने भएकाले ती विषयवस्तु सम्बोधनका लागि तीनै तहका सरकारले एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । अधिकांश वक्ताले स्वास्थ्य, शिक्षा, मनोवैज्ञानिक अवस्थालगायत कारणले पनि किशोरीको उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्नु उचित हुने बताएकी थिइन् । किशोरी सामाजिक, आर्थिक, स्वास्थ्य, शैक्षिकलगायत क्षेत्रमा सक्षम भएपछि मात्र विवाह गर्ने कानुन ल्याउनुपर्नेमा जोड दिइएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसभामुख रानासहित विभिन्न संवैधानिका आयोगका प्रमुख, मन्त्रीहरू, सांसदहरू, प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, कानुन व्यावसायी, अधिकारकर्मी, सामाजिक अभियन्ता, पत्रकारलगायतको उपस्थिति थियो । रासस

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६६ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १० पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२  पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ चार पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ २८ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

चन्द्रागिरि नगरपालिकाद्वारा नवनियुक्त सहसचिव अर्याल सम्मानित

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएकामा उनलाई विशेष सम्मान गरिएको छ । करिब एक वर्ष पाँच महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका उनले समग्र नगरको उन्ननयमा ऐतिहासिक कार्य गर्न सफल भएका थिए । चन्द्रागिरि नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा सहसचिव अर्याललाई नगरप्रमुख घनश्याम गिरीले सम्मान गरे । सो अवसरमा नगरप्रमुख गिरीले नगर प्रहरी गठन, जिपिएस र डिजिटल प्रणाली कार्यान्वयन, प्रसूति अस्पताल निर्माणजस्ता दूरगामी महत्वका योजना कार्यान्वयमा प्रमुख कार्यकारी अधिकृत अर्यालको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले भने, ‘मैले हालसम्म १० जना प्रमुख कार्यकारी अधिकृतसँग काम गर्ने मौका पाएँ तर राजनीतिक लक्ष्यलाई बुझेर छिटो काम गर्नसक्ने क्षमता प्रमुख कार्यकारी अधिकृत अर्यालसँग मात्र पाएँ । सत्य र तथ्यमा आधारित कार्यसम्पादन गर्ने उहाँको शैली अनुकरणीय छन् ।’ सो अवसरमा सहसचिव अर्यालले राष्ट्रसेवक कर्मचारीका लागि चन्द्रागिरि नगरपालिकामा काम गर्ने वातावरण अब्बल रहेको हुँदा आफ्नो क्षमताले भ्याएसम्म नगरको उन्नयनमा आफूले कार्यसम्पादन गरेको बताए । उनले भने, “म खोजेर र रोजेर चन्द्रागिरि नगरपालिकामा आएको होइन, दबाब र प्रभावमा कार्यसम्पादन गर्ने बानी मसँग छैन ।” फरक प्रसङ्गमा सचिव अर्यालले आफूले किताबी सैद्धान्तिक ज्ञानभन्दा समाज र समुदायलाई सुक्ष्म रूपमा अध्ययन गरेका कारण राजपत्राङ्कित प्रथम श्रेणीमा नाम निकाल्न सफल भएको सुनाए । सहसचिव अर्यालले आफूले थालनी गरेका असल अभ्यासलाई आगामी दिनमा अगाडि बढाउन सुझाव दिनुहुँदै ५१ बुँदा संस्थागत ‘सस्थागत स्मरण’ हस्तान्तरणसमेत गरे । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल र उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालले चन्द्रागिरि नगरपालिकालाई पुर्याउनुभएको योगदानलाई सदैव सम्झने बताए ।

सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्ड बिक्री खुला, ४० लाख इकाई खरिद गर्न सकिने

काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि १ अर्ब रुपैयाँको सानिमा फ्लेक्सी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४ करोड इकाई क्यापिटलले पहिलो चरणमा बिक्रीमा राखेको हो । ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो । क्यापिटलको फण्डमा न्यूनतम १ सय इकाईदेखि ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ । यदि उक्त समयमा बिक्री नभएको खण्डमा फागुन २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ । सानिमा बैँकको पूर्ण स्वामित्वमा रहि विगत ९ बर्षदेखी संचालनमा रहेको सानिमा क्यापिटलको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्ड अन्तर्गत यसअघि नै ३ वटा बन्दमुखी योजनाहरु समेत संचालनमा रहेको छ । जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र इकाईधनीहरुलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल बार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरीएको छ ।    

बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु

काठमाडौं । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ । सोमबार यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट १ सय जना तथ्याङ्क प्रविष्ट गर्ने कर्मचारी खटाइएको यातायातमन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने, अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने र ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने छ । कार्यक्रममा मन्त्री महर्जनले प्रविधिले सुशासन कायम गर्नमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले सवारीसाधनको क्षेत्रमा डिजिटाइजेशनले महत्त्वपूर्ण अर्थ राख्ने बताए । अर्का बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको बताए । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले तथ्याङ्क अभिलेखकर्ताले जति छिटो तथ्याङ्क प्रविष्ट गर्न सक्यो त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिए । मन्त्रालयले यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्नेगरी काम भइरहेको उनको भनाइ छ । कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रका विभिन्न प्रयासका विषयमा प्रस्तुतिकरण गरेका थिए । सो अवसरमा मन्त्रालयले सवारीसाधनको फाइल फिर्ता गर्न दिएको सूचनाअनुसार सवारीधनी प्रशान्त चौधरीले कार्यक्रमस्थलमै यातायात व्यवस्था कार्यालय गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरेका थिए ।

भयावह बन्दै आत्महत्या, साइबर अपराध र सडक दुर्घटना, ३ हजारले ज्यान फाले

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा १ हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा १ हजार २३३ जनाको ज्यान गएको छ । गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मन्त्रालयका अनुसार गत साउनमा १ हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा १ हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा १ हजार ८७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा १ हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा २ हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी २ हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौं उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ । भयावह आत्महत्या मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा ३ हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ३ हजार ४५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको ६ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ । यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी ६२८, मङ्सिरमा ४७१ र पुसमा ४२५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ । साइबर अपराध मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल १ हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् । यस्तै, फेसबुक प्रयोग गरेर १ हजार ९८, इन्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०÷८१ मा कुल १९ हजार ७३०, आव २०७९÷८० मा ९ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।

ज्यालामा विभेद भोगेपछि ठेकेदार बनिन् पार्वती, एउटा घरको काम नसकिँदै अर्को ठेक्का

काठमाडौं । पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका-५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक १ हजार रुपैयाँ आम्दानी गर्न थालेकी छिन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । ‘दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् । ‘सुरुमा मजदुरी गर्थे दिनको रु पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफैँ घर निर्माणको ठेक्का लिन थालेकी छु,’ डगौराले भनिन्, ‘अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक १ हजार रुपैयाँ आम्दानी हुन्छ ।’ राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ । ‘मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ, मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन,’ उनले भनिन् । पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेकी छिन् । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ । ‘अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ । पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो,’ उनले भनिन् । दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ । ‘यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ । यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ,’ उनले भनिन् । अहिले उनले अरु महिलालाई रोजगारी दिएको बताइन् । निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताए । ‘परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन् । यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ,’ उनले भने । वेदकोट नगरपालिका-४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताए । ‘न्यून आयस्तर भएका महिला र इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा हामीले आत्मनिर्भर बन्न सहयोग गर्दै आएका छौँ । अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन्,’ उनले भने । उनले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताए ।