फागुन २० गते सार्वजनिक बिदा
मनहरी । बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने समेत निर्णय गरेको छ । सङ्घीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई पदस्थापन गर्ने निर्णय गरिएको छ भने प्रदेशका सिनियर डिभिजनल इञ्जिनियर नवीन सिंहलाई ११औँ तह (सचिव)मा बढुवा गर्ने निर्णय गरिएको उनले जानकारी दिए । बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको । साथै उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै वन डढेलो सम्बन्धमा अष्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
अब अनुमतिबिना विदेशी सिम र रिचार्ज कार्ड बेच्न नपाइने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो-अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो । पछिल्लो समय विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा विदेशी सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी सूचना अधिकारी प्रतिमा घिमिरेका अनुसार विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो-अब्जेक्सन लिनुपर्ने व्यवस्था रहेको भन्दै सोहीअनुसार अनुमति प्राप्त गर्न सूचनामार्फत ध्यानाकर्षण गराएको हो । उनले भने, ‘हाल नेपालमा प्राधिकरणबाट अनुमति नलिइकन विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्ने गरेको पाइएको छ । हामीले सम्बन्धित व्यक्ति र संस्थाहरूलाई सूचना निकालेरै जानकारी गराएका छौं । अब यसरी बिना अनुमति विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न पाइने छैन ।’ त्यस्तै ‘सिमकार्ड र रिचार्ज कार्ड बिक्री र वितरण गर्ने सम्बन्धित व्यक्ति र संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री वितरण गर्न र गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
ओलीलाई बालेनको आग्रह : मलाई मेयर नभई नेपालीका रुपमा बाँच्न दिनुस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आफूलाई मेयर नभई एक नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’ यसअघि उनले अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा स्टाटस राख्दै अमेरिका अल्छीहरूको देश भएको बताएका थिए । ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै मेयर बालेनले अमेरिकीहरू आफै देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताएका थिए ।
चिनियाँ कम्पनी सीएटीएलले फक्सवागनसँग ब्याट्री अनुसन्धान तथा विकासमा सहयोग गर्ने
काठमाडौं । चिनियाँ इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्याट्री कम्पनी सीएटीएलले फक्सवागनसँग ब्याट्री अनुसन्धान तथा विकास, नयाँ सामग्रीको प्रयोग र कम्पोनेन्ट विकासमा सहकार्य गहिराउन रणनीतिक सहकार्य सम्झौता गरेको छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । फक्सवागन चाइनाले सस्तो लागतमा प्रतिस्पर्धी ब्याट्री उत्पादनहरू विकास गर्नुका साथै ब्याट्री रिसाइक्लिङ र स्व्यापिङ जस्ता क्षेत्रमा सीएटीएलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘नेसनल आईसीटी स्कलरसिप-२०८१’ को आवेदन खुला, २ करोडको छात्रवृत्ति वितरण हुने
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप– २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत सात वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्याउन योगदान दिने विश्वास व्यक्त गरे । सूचना प्रविधिको निरन्तर परिवर्तनशील दुनियाँमा नवीनतम प्रविधिहरू सिक्दै जानु आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्नका लागि यो छात्रवृत्ति कार्यक्रम प्रभावकारी छ । यसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न सके, अनुसन्धान र उद्योग तयारी क्षमता अझ बलियो हुनेछ ।’ क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् । उनका अनुसार यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । ‘नेसनल आईसीटी स्कलरसिप’ ले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने अध्यक्ष पाण्डेले बताइन् । यस्ता कार्यक्रमले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरेकी छिन् । देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज लानले बताए । साथै, फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति संयोजक एवं क्यान महासंघका निवर्तमान अध्यक्ष रणजीत पोदारले विद्यार्थीहरूलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको बताए । इन्टर्नशिप, परियोजना तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई रोजगारीका लागि तयार पार्ने आफूहरू लागिपरेको उनले उल्लेख गरे । छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थाहरूलाई सार्वजनिक–निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई. जालानको विश्वास छ । सूचना प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो अवसरको रूपमा रहेको ’नेसनल आईसीटी स्कलरसिप – २०८१’ ले डिजिटल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान दिने उनको विश्वास छ । क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कुल दुई करोड १३ लाख एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदन क्यान महासंघको वेबसाइट वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट (धधध.दिभा.यचन) मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ । छात्रवृत्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि क्यान महासंघले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ, जसमा सह–संयोजक उपाध्यक्ष चिरञ्जीवी अधिकारी, हर्क सेटी, शेखरनाथ दुलाल, सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्य राजु कट्टेल, दिपेन्द्र पौडेल र ओमकार बस्नेत तथा लेखा समिति सदस्यद्वय सन्तोष ढुंगाना सदस्य रहेका छन् । छात्रवृत्ति सह–संयोजक एवं महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमै प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पारेर देशलाई सूचना प्रविधिको हब बनाउने लक्ष्य रहेको बताए । देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अवसर दिएर नेपालमा प्रविधि नवप्रवर्तनको वातावरण बनाउन यो छात्रवृत्ति प्रभावकारी हुने उनको धारणा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा. शालिग्राम पराजुलीले यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अवसर दिने बताउँदै नवप्रवर्तनशील प्रतिभा निखार्न र सूचना प्रविधि क्षेत्रको जनशक्ति अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, ३ सय बढी कम्पनीको १५० बढी स्टल
काठमाडौं । १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेका थिए। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा यो प्रदर्शनीको आयोजना गरेका हुन् ।प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी कम्पनीहरूको १५० बढी स्टल राखिएको छ । प्रदर्शनीमा निर्माण व्यवसायसम्बन्धी उत्पादन र नवीनतम प्रविधि राखिएको छ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु गरिएको हो । ‘कन्स्ट्रक्सन मेटेरियल्स’, ‘कन्स्ट्रक्सन मेसिनरी’, ‘प्रिफ्याब स्ट्रक्चर’, ‘युपिभिसी विन्डोज मेसिनरी’, ‘युपिभिसी प्रोफाइल’, ‘डोर्स एन्ड विन्डोज’, ‘आर्किटेक्चर हार्डवेयर’, ‘बाथरुम फिटिङ्स’, ‘पाइप, टायल्स एन्ड स्यानिटरी वायर’, ‘रफिङ’, ‘प्री इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स’, ‘विन्डोज’लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी फागुन ११ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । ४० देखि ४५ हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने विश्वास आयोजकको छ ।
एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर
काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरु संचालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकहरूलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् । कर सहित रु ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् । यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो । ग्राहकहरूले एनसेल एपमार्फत वा १२३४ १४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ । यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित मात्र रु. ५० मा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ । ग्राहकहरूले एनसेल एपबाट वा १२३४ १४# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजालिने लगायतका कार्यका लागि उपयुक्त छ । विषेशगरी छोटो छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकहरुका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरुका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।
बाइनान्सविरुद्ध नाइजेरियाले गर्यो ८१.५ अर्ब डलरको मुद्दा दायर, अनुमति नलिई कारोबार गरेको आरोप
काठमाडौं । नाइजेरियाले क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइनान्स’विरुद्ध ७९.५ अर्ब डलरको आर्थिक क्षतिपूर्ति र २ अर्ब डलरको कर बक्यौता माग गर्दै मुद्दा दायर गरेको छ । बुधबार सार्वजनिक अदालतका कागजातअनुसार बाइनान्सको गतिविधिले देशको अर्थतन्त्रमा ठूलो असर पुर्याएको नाइजेरियाको दाबी छ । बाइनान्समाथि नाइजेरियाको आरोप देशको मुद्रा (नाइरा)को अवमूल्यन गरेको दोष बाइनान्सलाई दिइएको छ । सन् २०२४ मा बाइनान्सका दुई कार्यकारीहरू पक्राउ परेका थिए । क्रिप्टोकरेन्सी वेबसाइटहरूले कारोबार गर्ने प्रमुख माध्यम स्थानीय मुद्रा नाइरा बनेपछि सरकारले हस्तक्षेप गरेको हो । बाइनान्सले यसबारेमा कुनै टिप्पणी गरेको छैन । यो नाइजेरियामा आधिकारिक रूपमा दर्ता छैन । कम्पनीले पहिल्यै नाइजेरियाको संघीय राजस्व सेवा (एफआईआरएस) सँग कर मुद्दा समाधान गर्न सहकार्य गरिरहेको बताएको थियो। कर बक्यौता र थप जरिवाना माग एफआईआरएसका अनुसार बाइनान्सले देशमा ‘ठूलो आर्थिक उपस्थिति’ राखेकाले कर्पोरेट कर तिर्नुपर्ने हुन्छ । बाइनान्सले २०२२ र २०२३ को आयकर तिर्नुपर्ने अदालतमा दाबी गरिएको छ । तिर्न बाँकी रकममा वार्षिक १० प्रतिशत जरिवाना थप गर्ने माग गरिएको छ । केन्द्रीय बैंकको उधारो दरअनुसार २६.७५ प्रतिशत ब्याज पनि थप गरिनेछ । नाइजेरियाले कर छलीका चार आरोपहरू लगाएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने, कम्पनी आयकर नतिर्ने, कर विवरण दाखिला नगर्ने र ग्राहकहरूलाई कर छल्न मद्दत गर्नेजस्ता आरोप लगाएको हो । बाइनान्सले २०२३ मा नाइजेरियामा नाइरा कारोबार रोक्ने घोषणा गरेको थियो । कम्पनीले सम्पत्ति शुद्धीकरणको आरोप अस्वीकार गरेको छ । बाइनान्समाथि धेरै देशमा नियम उल्लङ्घन गरेको आरोप बाइनान्समाथि धेरै देशहरूमा नियम उल्लङ्घन गरेको आरोप लागेको छ । २०२३ मा अमेरिकी सरकारले बाइनान्सविरुद्ध सम्पत्ति शुद्धीकरण र अवैध कारोबारको आरोपमा मुद्दा चलाएको थियो । बाइनान्स संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज हो, जसले डिजिटल मुद्राहरू (जस्तैः बिटकोइन, इथेरियम, यूएसडीटी आदि) किनबेच गर्न सुविधा दिन्छ। यसको स्थापनाः २०१७ मा चांगपेंग झाओले गरेका थिए । यो विश्वभर करिब १०० भन्दा बढी देशहरूमा उपलब्ध छ । कम्पनी अझै पनि संसारभर क्रिप्टोकरेन्सी एक्सचेन्जमा नम्बर १ छ । कानुनी समस्याहरू भए पनि बाइनान्सको ट्रेडिङ भोल्युम अरू सबै एक्सचेन्जभन्दा धेरै छ । (एजेन्सीहरूको सहयाेगमा)