विकासन्युज

तीन महिनामा आयात हुनुपर्ने सुन माघमै भित्रियो, कसले ल्यायो ३०१ केजी सुन ?

काठमाडौं । माघमा सुनको आयात अस्वाभाविक रूपमा बढेको छ । विगतका महिनाहरूमा मासिक एक सय केजीको हाराहारीमा आयात हुने सुन माघ महिनामा मात्रै ३०१ केजी भित्रिएको हो । भन्सार विभागको तथ्यांकअनुसार माघमा कुल ८८७ केजी सुन आयात भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसबापत सरकारले कुल १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत पुस महिनासम्म भने कुल ५८७ केजी सुन आयात भएको थियो । चालु आवको पुस मसान्तसम्म कुल ६ अर्ब ७१ करोड ६लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा सरकारले कुल ८१ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सात महिनाको अवधिमा भने कुल १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँबराबरको १५०१ केजी सुन आयात भएको थियो । सो बापत सरकारले कुल १ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, गत आवको असार मसान्तसम्म भने कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको २ हजार ६५१ केजी सुन आयात भएको थियो । त्यसबापत सरकारले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा सुनको आयात कम नै भए पनि चालु आवको अघिल्ला महिनाको तुलनामा माघमा सुनको आयात राम्रो भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि आयात बढेको व्यवसायीहरू बताउँछन् । यो विवाहको सिजन भएको कारणले पनि सुनको आयात बढेको हुन सक्ने व्यवसायी र बैंकरहरू बताउँछन् । सरकारले बजेटमार्फत् सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि माग नै नभएर बैंकले आयात कम गरेका थिए । तर, अहिले १० प्रतिशत भन्सारदर कायम भएपछि मागसँगै आयात पनि बढेको हो । नेपालमा वाणिज्य बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री गर्दै आएका छन् । चालु आवको माघसम्म २ अर्ब ७५ करोड ३५ लाख रुपैयाँको चाँदी आयात हुँदा सरकारले ३२ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

महाशिवरात्रीलाई भव्य बनाउन आवश्यक तयारी गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तिब्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुगेका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवीथत गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गरे । उनले महाशिवरात्री नेपालीहरुको महान पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्री भएको उल्लेख गरे । महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने बताए । ‘देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महशुस गर्न सक्नुभयो, त्यति नै महत्व, महाविशरात्रीको महत्व र देशको महत्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ,’ उनले भने । उनले महाशिवरात्री मुल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए ।

तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपाल प्रहरीले माग्यो थप १३ जना प्रहरी निरीक्षक र ६० सहायक निरीक्षक (सुचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा थप पद खुला गरेको छ । गत भदौ २८ गते प्रकाशित विज्ञापनमा तोकिएको संख्यामा संशोधन गर्दै थप माग गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकका लागि ६४ जनाको माग गरिएकोमा थप १३ पद थप गरी कुल ७७ जनाका लागि अवसर खुला गरिएको छ । त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ । नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ । थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

बीमा कम्पनीबाट पौने २७ अर्ब दाबी भुक्तानी हुन सकेन, यस्तो छ पाँच वर्षको ट्रेण्ड

काठमाडौं । विभिन्न जीवन बीमा कम्पनीहरूले पाँच वर्षमा बीमितलाई ६६ अर्बभन्दा बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा ६६ अर्ब ५८ करोड रुपैयाँको दाबी भुक्तानी दिएका हुन् । आव २०७६/७७ मा दाबी भुक्तानी संख्या १ लाख ६ हजार २३९ बापत् २२ अर्ब ३२ करोड क्षतिपूर्ति दिएको देखिन्छ । यो संख्या वृद्धि भएर आव २०८०/८१ सम्ममा आइपुग्दा बीमा कम्पनीहरूले २ लाख ८० हजार १५१ बापत ६६ अर्ब ५८ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् । आव २०७७/७८ मा दाबी भुक्तानीको संख्या १ लाख ३६ हजार ४६४ रहेकोमा बीमा कम्पनीले ३६ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी दिएका छन् । त्यस्तै, आव २०७८/७९ मा २ लाख ४० हजार ९६८ र आव २०७९/८० मा २ लाख ५४ हजार ७९८ दाबी भुक्तानीको संख्या रहेको छ । निर्जीवन बीमा कम्पनीले आव २०७८/७९ मा ५३ अर्ब ८५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् भने आव २०७९/८० मा ६४ अर्ब ५६ करोड बीमितलाई दाबी भुक्तानी गरेको देखिन्छ । आव २०७६/७७ मा भुक्तानी हुन बाँकी दाबी संख्या १२ हजार ६३२ रहेकोमा आव २०८०/८१ मा आइपुग्दा ५८ हजार १२५ रहेको छ । आव २०८०/८१ मा भुक्तानी हुन बाँकी दाबी रकम ५ खर्ब ८१ अर्ब रहेको छ । आव आव २०७६/७७ मा भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ९५ करोड रुपैयाँमात्रै बाँकी थियो । तथ्यांक हेर्दा वार्षिक रूपमा दाबी भुक्तानीको संख्या बढ्दै गएको देखिन्छ भने भुक्तानी रकम पनि बढ्दै गएको छ । साथै भुक्तानी दाबी संख्या पनि बढ्दै गएको छ । जीवन र निर्जीवन कम्पनीबाट कुल २६अर्ब ७९ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी हुन नसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । निर्जीवन बीमाको दाबी भुक्तानी अवस्था निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो पाँच वर्षमा बीमितलाई १ खर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा एक खर्ब ७८ अर्ब रूपैयाँ दाबी भुक्तानी दिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुबाट आव २०७७/७८ मा एक लाख ४६ हजार ९३१, २०७८/७९ मा १ लाख ४७ हजार ५२४ र आव २०८०/८१ मा एक लाख ५१ हजार ७२३ दाबी भुक्तानी संख्या रहेको देखिन्छ । आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । आव २०८०/८१ मा आइपुग्दा यो रकम बढेर १७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । आव २०७९/८० मा निर्जीवन नीर्जीवन बीमा कम्पनीले सर्वाधिक २४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । आव २०७७/७८ को तथ्यांक हेर्दा निर्जीवन बीमा कम्पनीले बीमितलाई १७ अर्ब ५३ करोड दाबी भुक्तानी दिएका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल दाबी भुक्तानी हुन बाँकी रकम १३ अर्ब २० करोड ७१ लाख रुपैयाँ रहेकोमा आव २०७७/७८ मा बढेर २१ अर्ब ७५ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै आव २०७८/७९ मा २३ अर्ब ४० करोड ३६ लाख रुपैयाँ भुक्तानी दाबी हुन बाँकी रहेकोमा आव २०७९/८० मा २१ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चालु आव २०८१/८२ को पहिलो ६ महिनामा भने ६५ हजार १२० दाबी भुक्तानीको लागि निवदेन पर्दा निर्जीवन जीवन बीमा कम्पनीहरुले १० अर्ब १६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् ।

सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ ।  नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा बिहीबार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्मा र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।  सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिँदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । परिसंघले ‘रिसर्च सेल’ स्थापना गरी कुनै पनि नीतिगत सुझाव दिँदा अनुसन्धानमा आधारित रहेर दिँदै आएको छ । प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए । उनले प्रतिष्ठानले अनुसन्धानमा आधारित रहरै सरकारलाई सुझाव दिँदै आएकाले परिसंघसँगको सहकार्यले यस कार्यलाई थप बलियो एवं प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा. दिपक कुमार खड्कालगायत सहभागी थिए ।

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

काठमाडौं । नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आउँदो २०८१ चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। यसका लागि वाडाले आजदेखि बुकिङ्ग प्रक्रिया खुल्ला गरेको छ । पोखरामा पहिलो पटक आयोजना हुन लागेको यस अटो शोको तयारीका लागि नाडाले काठमाडौंमा वाडा अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । प्रदर्शनीमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल, मेसिनरी इक्युप्मेन्ट्स, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणहरुको प्रदर्शनी हुनेछ । वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले यस शोले सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी र उपभोक्तालाई नविनतम् प्रविधिको साक्षात्कार गराउने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसैक्रममा नाडाले अन्य प्रमुख सहरहरूमा पनि अटो प्रदर्शनीको आयोजना गर्ने योजना बनाएको छ ।

यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९८ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर ०९ रूपैयाँ २२ पैसा र बिक्रीदर ०९ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रूपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३७ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३७ पैसा र बिक्री दर १९ रूपैयाँ ४५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ २० पैसा र बिक्रीदर ४५० रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रूपैयाँ ९४ पैसा तय गरिएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।