विकासन्युज

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ । अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ । अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलिभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको पालिकाले सबै गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले जानकारी दिइन् । ‘घरमै सुत्केरी हुनेको सङ्ख्या दुर्गमका तीन गाउँमा बढी पाइएको छ’, प्रमुख घर्तीमगरले भनिन्, ‘तथ्याङ्कमा गत वर्ष आठ जना घरमै सुत्केरी भएको पाइन्छ, चालु आर्थिक वर्षमा समेत सात जना घरमै सुत्केरी भएका छन्, घुम्ती गोठमै सुत्केरी भएका समेत छन् ।’ गत आर्थिक वर्षमा निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएका थिए । बागलुङको अधिकांश स्थानीय तह शून्य होमडेलिभरी उन्मुख रहेका छन् । निसीखोला गाउँपालिकामा भने घरमै सुत्केरीलाई मुख्य समस्याको रूपमा लिइएको छ । यहाँको दूर–दराजमा अझै पनि अस्पतालको पहुँचमा आउन नचाहने, अशिक्षा, गरिबीलगायत कारण घरमै सुत्केरी हुने गरेको पाइएको छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदायका रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताइन् । मगरका अनुसार बालविवाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनीहरू अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य स्वयंसेविकालाई ढाँट्ने गर्दछन् । निसीखोला गाउँपालिका–६ चुसिवाङ गाउँमा मात्रै १२ आमामध्ये छ आमा घरमै सुत्केरी भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मनिमला घर्तीले जानकारी दिइन्। उनका अनुसार घरमै सुत्केरी हुनेमध्ये न्यून आय भएका तथा दलित समुदायका महिला बढी छन् । ‘चेतना भयो भनेत स्वास्थ्य संस्थामा सुविधा थियो, उहाँहरूले गर्भवती भएको जानकारी नै गराउन चाहनुहुन्न, परिवारको समेत सहयोग हुँदैन, त्यसमाथि बालविवाह हुन्छ’, प्रमुख घर्तीले भनिन्, ‘घुम्ती बसाइका कारण खर्कमा जाने महिलाहरू उतै सुत्केरी भएर आउँछन्, गाउँपालिका र स्वास्थ्य कार्यालयले जनचेतना फैलाउन थालेको छ, खासगरी गर्भवती भएपछि सम्पर्कमा आए त्यसपछिको खोजी हामीले र स्वास्थ्य संस्थाले गर्दथ्यौँ, तर कतिपयले जानकारी गराउनै मान्नुहुन्न ।’ निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका दुई सय १३ मध्ये ५८ सुत्केरी २० वर्षभन्दा मुनिका भेटिएका छन् । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्षभन्दा मुनिकाले बच्चा जन्माइसकेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालबिबाहलाई लुकाउनसमेत संस्थागत सुत्केरी हुन नचाहने गाउँपालिकामा रहेका छन् ।

यति एयरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्यागप्याक उपहारमा पाइने

काठमाडौं । यति एयरलाइन्समा उडान भर्ने यात्रुहरूले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यति एयरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका हुन् । यति एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटको लागि डेलिभरीको समयमा यति एयरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् । ‍‍यसैगरी, प्रत्येक साता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरूप जित्न सक्ने जनाइएको छ । यति एअरलाइन्सले आफ्ना यात्रुहरूबीच गर्ने लक्की ड्रमार्फत विजेता घोषणा गरी उपहारहरू प्रदान गरिनेछ ।

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

तम्घास । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौंमा छ’, उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन’, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार एक सय ६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।

नेपाल मेडिकल कलेजका सेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजले सेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा गरेको छ । कलेजको २५ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैयाँ कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ । नेपाल मेडिकल कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्राडा अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताए । सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । प्राडा अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाए । कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्राडा अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गरे । कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उनले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।

एभरेष्ट बैंकको फिदिम र फुङ्लिङ गरी एकैपटक दुई शाखाको उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । ति शाखाहरुको बिहीबार उद्घाटन भएको हो ।  फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ ।एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन् । फिदिम र फुङ्लिङ्ग शाखाको उद्घघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितिबीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।  फिदिम र फुङ्लिङ्गमा आफ्नो १३० र १३१ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् ।

सूचना मागेपछि निकालिए शिक्षक,पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ ।  भोजपुर नगरपालिका वडा नं.११ आम्तेकका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण जागिरबाट निकालेको घटनाप्रति महासङ्घको आपत्ति जनाएको हो ।महासङ्घका अध्यक्ष उमीद बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले विज्ञप्ति जारी गर्दै विद्यालयजस्तो संवेदनशील ठाउमा राज्यले बनाएको कानुनको अधीनमा रही नागरिकका नाताले सूचना माग गर्दा जागीरबाट निकालिनुपर्ने घटनाले विद्यालय सञ्चालकको चेतनास्तरमाथि नै प्रश्न गरेको उल्लेख छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले गरेको व्यवस्था अनुसार प्रक्रिया पुर्याएर सूचना माग गरेका ढकाललाई विद्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना दिएनन् । सूचना नदिएपछि ढकालले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरी आयोगले पनि सूचना दिन आदेश गरिसकेको अवस्थामा सूचना मागकर्तालाई सेवाबाट हटाउनु नेपालको कानुन विपरीत रहेकाले तत्काल पुनर्बहालीका लागि महासङ्घले जोडदार माग गरेको हो ।  ढकाललाई विद्यालयले निकालेको मिति २०८१ फागुन १ गतेकै मितिदेखि लागु हुने गरी पुनर्बहाली गरी निजले माग गरेको सूचना आयोगकै आदेशबमोजिम दिनुपर्ने महासङ्घको भनाइ छ । ढकाललाई पुनर्बहाली गरी सूचना नदिएमा महासङ्घ कडाभन्दा कडा कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महाशिवरात्रिको अवसरमा चन्द्रागिरि केबलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ । महाशिवरात्रिमा चन्द्रागिरिमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ । चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

नेपाल भाषाका साहित्यकार सम्मानित

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गरेका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनु हुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नवीन चित्रकार र कवि श्रीराम श्रेष्ठ हुन् । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताए । उनले पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनुपर्ने अवस्था थियो, अहिले त्यो अवस्था छैन भने । वडा नं २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गरे । कामपाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै वडाध्यक्ष महर्जनले भने, ‘स्थानीय सरकारको दायित्वभित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।’ यस क्रममा भाषिक आयोगका सदस्य सुरेशकिरण मानन्धरले युनेस्कोले दिवस घोषणा गर्नुअघि नेपाल भाषालाई मातृभाषाका रूपमा संरक्षण गर्नका लागि कविता वाचन कार्यक्रम आयोजना गरिएको स्मरण गरे । कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गरेका थिए। उनले निवन्ध, कविता र समलोचनामा पनि कलम चलाएका थिए। कथाकार सुवर्णकेशरीले लेखेका ‘इल फपुइकी’ जापानी, अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ । निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष थिए । उनका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्त्वपूर्ण मानिन्छन् । कवि नवीन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुन् । उनले नेपाल भाषाको नाटक निर्देशन पनि गरे । यस्तै पद्मरत्न तुलाधरले लेखेका शिक्षक र विद्यार्थी नाटकमा शिक्षकको भूमिका निर्वाह गरेका छन् । ‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता सङ्ग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रूपमा परिचित हुन् । साहित्यमा कलम चलाउने श्रेष्ठको मूल विधा कविता हो ।