विकासन्युज

बीएमडब्ल्यूले यूकेमा ‘इलेक्ट्रिक मिनी उत्पादन’को समय पुनरावलोकन गर्ने

काठमाडौं । बीएमडब्ल्यूले ब्रिटेनमा पूर्ण–इलेक्ट्रिक मिनी कार उत्पादन गर्ने आफ्नो तालिका पुनर्विचार गरिरहेको शनिबार घोषणा गरेको छ । अटोमोबाइल उद्योगमा रहेका अनिश्चितताहरू बढ्दै गएपछि बीएमडब्ल्यूले पुनर्विचार गरिरहेको हो । मिनीले २०२३ मा ६०० मिलियन पाउन्ड (७५७.८० मिलियन) लगानी गरेर २०३० सम्म आफ्नो मिनी ब्रान्डलाई पूर्ण रूपमा इलेक्ट्रिक बनाउने योजना बनाएको घोषणा गरेको थियो । योजनाअन्तर्गत २०२६ मा अक्सफोर्डमा उत्पादन सुरु गरिने उल्लेख थियो । तर शनिबार बीमएमडब्ल्यू समूहले उक्त योजनालाई पुनरावलोकन गरिरहेको जनाएको छ । ‘अटोमोबाइल उद्योगमा रहेका विभिन्न अनिश्चितताहरूलाई ध्यानमा राख्दै बीएमडब्ल्यू समूह हाल अक्सफोर्डमा ब्याट्री–इलेक्ट्रिक मिनी उत्पादन पुनः सुरू गर्ने समयतालिका पुनरावलोकन गर्दैछ,’ कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ । बीएमडब्ल्यूले विद्युत् सवारीसाधनहरूको बिक्री अपेक्षाअनुसार तीव्र गतिमा वृद्धि गर्न सकिरहेको छैन । उद्योगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी अटो आयातमा २५ प्रतिशत ट्यारिफ लगाउने धम्कीको सामना गर्नुपरिरहेको छ । यसैबीच फक्सवागनको अडीले उत्तर अमेरिकामा आफ्नो उत्पादन विस्तार गर्ने योजना बनाएको छ भने मर्सिडिजले पनि अमेरिकामा आफ्नो उत्पादन वृद्धि गर्ने घोषणा गरिसकेको छ । मिनीले आफ्नो विज्ञप्तिमा भनेको छ कि अक्सफोर्ड कारखानाको निर्माण कार्य राम्रोसँग अघि बढिरहेको छ ताकि उक्त प्लान्टलाई भविष्यका लागि तयार पार्न सकियोस् । तर, कम्पनीले बेलायत सरकारलाई आफ्नो समयतालिका पुनरावलोकन गर्ने निर्णयबारे जानकारी गराइसकेको छ । ईभी यातायात समूहहरूले ‘ईयूलाई गरे ‘सीओ टु’ उत्सर्जन नियमहरू खुकुलो नपार्न आग्रह मर्सिडिज बेन्जले लागत कटौती योजना ल्यायो, २०२५ को आम्दानी घट्ने पूर्वानुमान स्मार्ट ईभी लञ्चपश्चात् वीवाईडीविरुद्ध गुनासोको बाढी स्टेलान्टिसले टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पार्ट्स उत्पादन गर्ने साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना

चितवन । चितवनमा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् । चालु आर्थिक वर्षको छ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एक सय १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सात सय ७२ सवारीसाधन संलग्न देखिन्छन् । चालू आवको सुरूको चार महिनामा दुई सय ६१ दुर्घटना भएका थिए । पछिल्लो दुई महिनामा मात्रै दुई सय ४७ दुर्घटना भएको तथ्याङ्कले देखाएको छ । शर्माका अनुसार साँझको समयमा सवारी साधनको बत्ती, सडक बत्ती नियमानुसार नहुँदा दुर्घटना बढी हुने गरेका छन् । यस्तै मादक पदार्थको सेवन गरी सवारीसाधन सञ्चालन गर्ने र साँझको समयमा सहरी क्षेत्रमा सवारीसाधनको चाप उच्च हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ । जिल्लामा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्युदर भने कमी देखिन्छ । पहिलो चौमासिकमा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । शर्माका अनुसार दुर्घटनाबाट चालू आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ । सवारी साधनको दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक सय १५ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा एक सय ४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ ।  जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न गतिविधि गर्दै आएको उनले बताए । उहाँले भन्नुभयो, ‘दुर्घटना न्यूनीकरण गर्न ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’को अवधारणाअन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ ट्राफिक प्रहरीले शिक्षकलाई तालिम दिने र तालिम प्राप्त शिक्षकले विद्यार्थीलाई ट्राफिक शिक्षा दिने गरिएको छ । ट्राफिक शिक्षाका लागि ट्राफिक प्रहरी कार्यालयले शिक्षकलाई आवश्यक सामग्री पनि प्रदान गर्दै आएको छ ।  दुर्घटना न्यूनीकरणकै लागि आँपटारीमा ट्राफिक ‘रिफ्रेस सेन्टर’को स्थापना गरिएको छ भने समय समयम छड्के जाँचलाई तीव्रता दिइएको उनको भनाइ छ । शर्माले भने, ‘दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्छ ।’ रासस

सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा आएका छन् । हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुखको उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । यसैगरी, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो वर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

केबलकार विवाद : फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो । पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला)  निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ । निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् । गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।

ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो निभाइरहेको प्रहरीले जनाएको छ ।

एक तोला सुन किन्न एक लाख ७० हजार ३०० रुपैयाँ लाग्ने

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

विवाहको पार्टीमा पेय पदार्थको रूपमा मोही, बेहुला-बेहुलीसँगै मोहीमा पाहुनाको आकर्षण

काठमाडौं । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौंकी शिक्षा भट्टराईले बताइन् । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताए । विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताए । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गरे । उनले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे । कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताए । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरेका थिए । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए । काठमाडौंमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ । रासस

उचित अवसरको खोजीमा वारेन बफेट, जम्मा गरे ३३४ अर्ब डलर नगद

काठमाडौं । पछिल्लो समय वारेन बफेट ‘रहस्यमयी’ बन्दै गएका छन् । ९४ वर्षीय बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बफेटले पछिल्लो त्रैमासिकमा थप सेयर बिक्री गरेर नगद संकलनलाई बढाइ ३३४ अर्ब डलर पुर्‍याएका छन् । तर उनले आफ्नो निकै प्रतीक्षित वार्षिक पत्रमा किन समयक्रममा सेयर खरिद गर्ने लगानीकर्ता अब जोगिने रणनीतिमा देखिएका छन् भनेर खुलाएनन् । तर, बफेटले यो अवस्थाले कुनै पनि सेयरहरूप्रति उनको प्रेमबाट टाढा जाने सङ्केत नरहेको उल्लेख गरेका छन् । ‘केही विश्लेषकहरूले अहिले बर्कशायरको असाधारण नगद अवस्थालाई महत्त्वपूर्ण रूपमा लिएका भए पनि तपाईंहरूको पैसा अझै पनि धेरैजसो सेयरहरूमा नै लगानी गरिएको छ,’ बफेटले शनिबार सार्वजनिक गरेको २०२४ वार्षिकपत्रमा लेखेका छन्, ‘यो प्राथमिकता परिवर्तन हुने छैन ।’ अहिले ब्याजदरहरू लामो समयको उच्च बिन्दुबाट घट्ने अपेक्षा गरिएको छ । त्यसैले बर्कशायरको ठूलो नगद सञ्चितिले लगानीकर्ताहरू र विश्लेषकहरूलाई प्रश्न उठाउन बाध्य तुल्याएको छ । पछिल्ला वर्षहरूमा बफेटले महँगो बजार र सीमित लगानी अवसरहरूप्रति निराशा व्यक्त गर्दै आएका छन् । केही लगानीकर्ता र विश्लेषकहरूले उनको निष्क्रियताप्रति असन्तोष जनाउँदै यसको कारण मागेका छन् । थुप्रै पटक सेयर बिक्री गरे पनि बफेटले बर्कशायर सेयरहरूलाई नगदभन्दा प्राथमिकता दिन जारी राख्ने बताएका छन् । ‘बर्कशायरका लगानीकर्ताहरू ढुक्क हुन सक्नुहुन्छ कि हामी सदैव उनीहरूको ठूलो हिस्सा रकम सेयरहरूमा लगानी गर्नेछौं – मुख्यतया अमेरिकी सेयरहरूमा । यद्यपि तीमध्ये धेरैको अन्तर्राष्ट्रिय कारोबार पनि हुनेछ,’ बफेटले लेखेका छन्, ‘बर्कशायर कहिल्यै नगद जस्तै सम्पत्तिहरूलाई उत्कृष्ट व्यवसायहरूको स्वामित्वभन्दा प्राथमिकता दिनेछैन । चाहे ती व्यवसायहरू पूर्ण रूपमा नियन्त्रणमा होऊन् वा आंशिक रूपमा मात्र ।’ लगानीकर्ताहरूलाई अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ किनभने ओमाहा–आधारित यस कम्पनीले गत वर्षको अन्तिम त्रैमासिकमा लगातार नवौं पटक नेट सेयर बिक्री गरेको छ । बर्कशायरले २०२४ मा १३४ अर्ब डलरभन्दा बढी मूल्यका सेयर बिक्री गर्‍यो । यो मुख्यतः बर्कशायरका दुई ठूला सेयर होल्डिङहरू– एप्पल र बैंक अफ अमेरिका – को आकार घटेका कारण हो । यसैबीच यस्तो देखिन्छ कि बफेट आफ्नै सेयरलाई पनि आकर्षक ठानिरहेका छैनन् । बर्कशायरले सेयर पुनः खरीद (बायब्याक) निलम्बन जारी राख्यो । उसले चौथो त्रैमासिक र फेब्रुअरी १० सम्मको पहिलो त्रैमासिकमा कुनै सेयर पुनः खरीद गरेन । यो सबै हुँदा पनि बर्कशायरले शनिबार सार्वजनिक गरेको रिपोर्टअनुसार कम्पनीको सञ्चालन आम्दानीमा ठूलो वृद्धि भएको देखिएको छ । ‘धेरैजसो अवसरहरू आकर्षक देखिँदैनन्’ बफेटले दुई वर्ष लगातार २० प्रतिशतभन्दा बढी वृद्धि भोगेको बुल मार्केटको बीचमा कुनै ठूला लगानी गरेका छैनन् । यसैबीच केही विश्लेषकहरूले अमेरिकी अर्थतन्त्र सुस्त हुँदै गएको, नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत परिवर्तनका कारण बजार अस्थिर रहेको र उच्च मूल्याङ्कनको चिन्ता बढ्दै गएको बताउँदै आएका छन् । बर्कशायरका सेयरहरू पछिल्लो दुई वर्षमा क्रमशः २५ प्रतिशत र १६ प्रतिशतले बढेका थिए र यस वर्ष हालसम्म ५ प्रतिशत वृद्धि भएका छन् । बफेटले सेयर मूल्याङ्कनबारे चिन्ता व्यक्त गरेजस्तो देखिने सानो सङ्केत पत्रमा दिएका छन् । ‘हामी कुनै पनि प्रकारका सेयरहरूको बारेमा निष्पक्ष छौं जहाँ तपाईंको र मेरो परिवारको बचतलाई सबैभन्दा राम्रो तरिकाले लगानी गर्न सकिन्छ, त्यहाँ हामी लगानी गर्छौं,’ बफेटले लेखेका छन्, ‘धेरैजसो अवस्थामा केही आकर्षक देखिँदैन; धेरै कम अवस्थामा मात्र हामीलाई उत्तम अवसरहरू भेटिन्छ ।’ यस वर्षको पत्रमा बफेटले उत्तराधिकारी ग्रेग एबेलको लगानी अवसर पहिचान गर्ने क्षमताको समर्थन गर्दै उनलाई स्वर्गीय चार्ली मङ्गरसँग तुलना गरेका छन् । गत वर्षको वार्षिक बैठकमा बफेटले घोषणा गरेका थिए कि एबेल– जो बर्कशायरका गैरबीमा सञ्चालनका उपाध्यक्ष हुन्– अब बर्कशायरको सार्वजनिक सेयर पोर्टफोलियोलगायत सम्पूर्ण लगानी निर्णयहरूमा अन्तिम निर्णय लिने छन् । केही लगानीकर्ता र विश्लेषकहरूले बफेटका पछिल्ला सतर्क निर्णयहरू बजार भविष्यवाणी नभई ग्रेग एबेलको लागि कम्पनीलाई तयार पार्न गरिएको भन्दै अति ठूला होल्डिङहरू घटाएर उनको लागि नगद सञ्चित गरिरहेको हुन सक्ने अड्कल गरेका छन् । (एजेन्सीहरूको सहयोगमा) वारेन बफेटको साम्राज्य विभाजित हुने, उत्तराधिकारीहरूको नाम सार्वजनिक परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध वारेन बफेट, गरे थप १.१ बिलियन डलर दान