विकासन्युज

बैंकको ब्याज घट्दा बीमा कम्पनीको ‘ब्यालेन्ससिट’मा प्रभाव, लगानीका लागि विकल्प खोज्दै

काठमाडौं । वाणिज्य बैंकहरुको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव बीमा कम्पनीको आम्दानीमा पर्ने देखिएको छ । पछिल्लो डेढ/दुई वर्षदेखि बैंक तथा वित्तिय संस्थाको ब्याजदर निरन्तर घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.७५ प्रतिशत छ । गत वर्ष अर्थात् २०८०/८१ को पुस मसान्तसम्मको अवधिमा बैंकहरुको निक्षेपको ब्याजदर ७.३२ प्रतिशत थियो । एक वर्षको अवधिमा पनि बैंकको ब्याजदरमा यति ठूलो परिवर्तन भइसकेको छ । बैंकको ब्याजदर घट्दा बीमा कम्पनीको वित्तीय विवरणहरुमा त्यसको प्रभाव देखिन थालेको छ । निर्जीवन तथा जीवन बीमा कम्पनीले प्रिमियमबाट उठाएको ठूलो हिस्साको रकम बैंक तथा वित्तिय संस्थाको निक्षेपमा लगानी गर्ने गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को तथ्यांक हेर्ने हो भने जीवन बीमा कम्पनीहरुले ८१ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुले ७९.२५ प्रतिशत लगानी बैंकको मुद्धती निक्षेपमा गरेको देखिन्छ । जीवन बीमा कम्पनीले चालु आव २०८१/८२ को पहिलो ६ महिनामा विभिन्न क्षेत्रमा (बैंक, सेयर, सरकारी ऋणपत्र, होटल तथा पर्यटनलगायत) ७ खर्ब तीन अर्ब ३४ करोड ४५ लाख लगानी गरेका छन् । गत वर्षको सोही आव अर्थात २०८०/८१ को दोस्रो त्रैमाससम्ममा कम्पनीहरुले ६ खर्ब ३५ अर्ब ८७ करोड ९५ लाख लगानी गरेको थियो । प्राधिकरणले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ‘क’ वर्गको मुद्धती निक्षेपमा ४ खर्ब ९९ अर्ब ९१ करोड ८८ लाख लगानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले ‘क’ वर्ग बैंकको मुद्धती निक्षेपमा ४ खर्ब ३२ अर्ब ८१ करोड ९० लाख लगानी गरेको थियो । चालु आव २०८१/८२ को दोस्रो त्रैमासको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा लगानी ६८ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ६२ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ थियो । चालु आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीले ‘क’ वर्गको बैंकमा ४६ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । गत आवको सोही अवधिमा कम्पनीहरुले ४३ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको थियो । दिर्घकालिन असर बैंकको ब्याजदर घट्दा बीमा कम्पनीहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष दुईटै असर पर्ने बीमा कम्पनीहरुको भनाइ छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश कुमार खत्री बैंकको ब्याजदर घट्दा त्यसको असर बीमा कम्पनीहरुलाई तत्कालिनभन्दा पनि दिर्घकालिन रुपमा देखिने बताउँछन् । ‘बीमा कम्पनीहरुले प्रिमियमबाट उठेको रकमको ठूला हिस्सा बैंकको मुद्धती निक्षेपमा लगानी गरेको हुन्छ,’ उनले भने, ‘बैंकको ब्याजदर घटेसँगै त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरु र कम्पनीहरुले बीमितलाई दिने प्रतिफलमा पर्न जान्छ ।’ ब्याजदर घट्दाको असर कहिले पर्छ भन्ने कुरा मूल्यांकन गरेपछि मात्रै थाहा हुने सीईओ खत्रीले बताए । सीईओ खत्री बीमा कम्पनीहरुले कति रकम, कति समयको लागि मुद्धती निक्षेपमा राखिएको हो त्यसको आधारमा नै कति असर पर्छ भन्ने थाहा हुने प्रष्ट्याउँछन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्री बैंकको ब्याजदर घट्दा त्यसको असर लगानीबाट उठ्ने आम्दानीमा कमी आउने बताउँछन् । सीईओ क्षेत्रीले यो आर्थिक वर्षमा लगानी आम्दानी झण्डै ५० प्रतिशत कमी हुन सक्ने बताए । लगानीको आम्दानी घट्दा कम्पनीको नाफामा गिरावट आउने उनको भनाइ छ । सिटिजन्स लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेल पनि बैंकको ब्याजदर घट्दा त्यसको असर कम्पनीको आम्दानीमा पर्ने बताउँछन् । पौडेल बीमा कम्पनीले बैंकमा दिर्घकालिन मात्रै नभएर निश्चित समयका लागि पनि लगानी गर्ने हुँदा यसले पनि आम्दानी घट्ने बताउँछन् । वैकल्पिक लगानीमा जोड नेपाल बीमा प्राधिकरणले निर्देशिका नै बनाएर बीमा कम्पनीहरुलाई लगानी गर्न पाउने क्षेत्र तोकिदिएको छ । प्राधिकरणले जारी गरेको बीमकको लगानीसम्बन्धी निर्देशिका २०७५ अनुसार बीमा कम्पनीहरुले ११ वटा क्षेत्रमा लगानी गर्न पाउँछन् । प्राधिकरणले ती विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ भनेर तोकिदिए पनि बीमकहरुको लगानी भने बैंक तथा वित्तिय संस्था सीमित हुँदै आएको छ । नेशनल लाइफ इन्स्योरेन्सका सीईओ खत्री प्राधिकरणले लगानी गर्ने विभिन्न विकल्पहरु तोकिदिएको भएपनि नबुझीकनै ह्वात्तै लगानी गर्न नमिल्ने बताउँछन् । ‘कम्पनीहरुले नबुझीकनै ह्वात्तै लगानी गर्ने कुरा हुँदैन, कुन क्षेत्र कस्तो छ, लगानी गर्दा त्यसको प्रतिफल कस्तो आउँछ लगायत कुरा बुझेर मात्रै लगानी गर्ने हो, किनकि हामीले गर्ने लगानी बीमितलाई फिर्ता गर्ने पैसा हो, कुनै दिन हामीले फिर्ता गर्नैपर्छ, भोलि लगानीमा कुनै समस्या आयो भने त्यसको जिम्मेवार हामी नै हुनुपर्छ,’ उनले भने । पछिल्लो समय भने कम्पनीहरुले आफ्नो लगानीलाई विविधिकरण गर्दै लगेको उनले बताए । बीमा कम्पनीहरुले विस्तारै अन्य क्षेत्रमा लगानी बढाउँदै लगेको र विस्तारै बैंकिङ क्षेत्रबाहेकका अन्य क्षेत्रमा लगानी बढ्दै जाने खत्रीको भनाइ छ । सलिकोको सीईओ क्षेत्री निर्जीवन बीमा कम्पनीको हकमा दुर्घटना भइराख्ने र भुक्तानी दिइराख्नुपर्ने हुँदा तरलता आवश्यक भइरहन्छ । अहिले नीर्जीवन बीमा कम्पनीहरुले पनि प्राधिरकरणले तोकिएको क्षेत्रहरुमा लगानी बढाइरहेको उनले बताए । लगानी गर्न पाउने व्यवस्था प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले २०÷२० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । कम्पनीहरुले वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३०÷३० प्रतिशत लगानी गर्न पाउने तोकिएको छ । त्यस्तै जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले विकास बैंकको मुद्दती निक्षेपमा कुुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । कम्पनीहरुले फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । प्राधिकरणका अनुसार क, ख र ग वर्गको ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० प्रतिशत, निर्जीवनले २० प्रतिशत र पुनर्बीमाले २० प्रतिशत लगानी गर्न पाउने व्यवस्थ छ । यस्तै, कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १०÷१० प्रतिशत लगानी गर्न सक्छन् । नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा ५ प्रतिशत लगानी तोकिदिएको छ । त्यसैगरी घर जग्गा व्यवसायमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ भने कृषि, पर्यटन, उर्जा, शिक्षा र स्वास्थ्यमा कम्पनीहरुले १० प्रतिशत लगानी गर्न सक्छन् । त्यसबाहेक इन्भेष्टमेन्ट कम्पनीमा बीमा कम्पनीहरुले ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।      

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘यहाँ उत्पादित सामग्री एवं खाद्यपदार्थदेखि सबै स्थानीय उत्पादनलाई मार्केटिङ गर्नका लागि एउटा स्थानका रुपमा यो भवन रहनेछ,’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर त्यसलाई युवाले उपयोग गरे संसारभर प्रचारप्रसार गर्नसक्छन् ।’ उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटनलगत्तै नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम सहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । ‘अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जानेगरी यहाँहरूले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ,’ उपप्रधानमन्त्री सिंहले भने । भवन पाँच करोड ४१ लाख ५२ हजार ९७५ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

स्वास्थ्य बीमा व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए । केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये यसरी सकिंदैन भन्ने क्लिपहरु मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेकामा यता मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ । मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भैरहेको बताएको सचिवालयले उल्लेख गरेको छ । ‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ,’ सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’ मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन त्यसैले अब यो हटाउने भन्ने नभइ यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरि सक्यौ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रष्ट पारेको छ ।

शिखर र सलिकोबीच प्रतिस्पर्धा, यी हुन् सात महिनामा २ अर्ब बढीको व्यवसाय गर्ने ४ कम्पनी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले सो बीमा शुल्क संकलन गरेका हुन् । जुन बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । प्राधिकरणको तथ्यांक अनुसार माघमा मात्रै २ लाख ३२ हजार ३६१ बीमा लेख जारी हुँदा कुल ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । चालु आवको माघमा निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसाय गत आवको माघमा गरेको भन्दा बढी हो । गत आवको माघमा कम्पनीहरुले २ लाख ६१ हजार ५९० बीमा लेख जारी गरेर ३ अर्ब १४ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका थिए । चालु आवको माघसम्मको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार उक्त कम्पनीले माघ मसान्तसम्ममा कुल ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले माघमा मात्रै ५४ करोड १७ लाख व्यवसाय गरेको छ । शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी (सलिको) को व्यवसाय धेरै छ । सलिकोले माघसम्ममा एक लाख ६२ हजार ९६३ बीमालेख जारी गर्दा कुल २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । सलिकोले माघमा मात्रै २२ हजार ९४९ बीमालेख जारी गरी ३८ करोड ३९ लाख व्यवसाय गरेको छ । त्यस्तै तेस्रोमा सिदार्थ इन्स्योरेन्स कम्पनीले माघसम्ममा १ लाख ७६ हजार ८३९ बीमा लेख जारी हुँदा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले माघमा मात्रै ३० करोड ९३ लाख बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रडेन्सियलले माघसम्मा २ अर्ब २ करोड ६८ लाख व्यवसाय गरेको छ । माघ मसान्तसम्ममा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड २ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख, एलएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख, द ओरिन्टियलले १ अर्ब ५२ करोड ५२ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ९२ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड ९५ लाख, युनाइटेड अजोडले १ अर्ब ४० करोड १४ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

काठमाडौं । नागढुंगाबाट सुनसहित भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार पक्राउ परेका छन् । उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो । उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

थाइल्यान्डको गाडी उत्पादन जनवरीमा २४.६३ प्रतिशतले घट्यो, बिक्री र निर्यातमा गिरावट

काठमाडौं । थाइल्यान्डको गाडी उत्पादन गत वर्षको जनवरीको तुलनामा २४.६३ प्रतिशतले घटेर १ लाख ७ हजार १०३ युनिटमा सीमित भएको छ । यसको मुख्य कारण कमजोर घरेलु बिक्री र घट्दो निर्यात रहेको थाइल्यान्ड उद्योग महासंघ (एफटीआई) ले सोमबार जनाएको छ । थाइल्यान्ड दक्षिणपूर्वी एसियाको प्रमुख गाडी उत्पादन केन्द्र थाइल्यान्ड दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो गाडी उत्पादन केन्द्र हो । थाइल्यान्ड टोयोटा, होन्डाजस्ता विश्वका ठूला गाडी उत्पादक कम्पनीहरूको निर्यात केन्द्र पनि हो। एफटीआईका प्रवक्ता सुरापोङ्ग पैसिट्पट्टनापोङ्गले भने, ‘म धेरै चकित भएँ । उत्पादन संख्या निकै कम छ ।’ उत्पादन गिरावटका मुख्य कारण डिसेम्बरमा उत्पादन १७.३७ प्रतिशतले घटेको थियो, तर जनवरीको गिरावट अझ गम्भीर भयो । थाइल्यान्डको गाडी उत्पादन घटिरहेको यो लगातार अठारौं महिना हो। गाडी बिक्री र निर्यातमा गिरावट घरेलु बिक्री जनवरीमा १२.२६ प्रतिशतले घटेर ४८ हजार ०९२ युनिट मात्र भयो । यसअघि डिसेम्बरमा २०.९४ प्रतिशतको गिरावट आएको थियो । यसको मुख्य कारण घरेलु ऋणको भार बढ्दा बैंकहरूले कर्जा कडाइ गर्नु हो । गाडी निर्यात जनवरीमा २८.१३ प्रतिशतले घटेर ६२ हजार ३२१ युनिट मात्र भयो, जुन ३३ महिनाको सबैभन्दा न्यून स्तर हो । चिनियाँ गाडीहरूसँगको बढ्दो प्रतिस्पर्धाले निर्यातमा नकारात्मक प्रभाव पारेको छ । डिसेम्बरमा निर्यात १५.४६ प्रतिशतले घटेको थियो, तर जनवरीमा झनै तीव्र गिरावट देखियो । अस्ट्रेलिया, फिलिपिन्स र जापान थाइल्यान्डका प्रमुख गाडी निर्यात बजारहरू हुन् । सरकार र अमेरिकी नीतिहरूको प्रभाव थाइल्यान्ड सरकारले सवारी कर्जामा सहायता गर्ने योजना ल्याउने सम्भावना छ, जसलाई एफटीआईले नजिकबाट निगरानी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि गाडीहरूमा कर लगाउने सम्भावना रहेको बताएका छन्, जसले अन्तर्राष्ट्रिय निर्यातमा प्रभाव पार्न सक्छ । (एजेन्सीहरूको सहयोगमा)

यूएसएआईडीअन्तर्गत डिजाइन नभएका कार्यक्रमहरूबाट सहयोग आएको छैन : अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख छ । मन्त्रालयका अनुसार यूएसएआईडी नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्‍चालन हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा जारी गरेको कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको छ । यसैगरी यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको मन्त्रालयले जनाएको छ । डिजाइनको क्रममा रहेका यी कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्‍त नभएको मन्त्रालयले जनाएको छ ।

गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा एकल अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ । आज ९० कम्पनीको मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । सोमबार ३१० कम्पनीको २ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको ८० करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड, घलेम्दी हाइड्रोपावरको ३८ करोड र सीइडीबी होल्डिङको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।