एउटै गाउँपलिकामा २३८.२३ मेगावाटका १३ आयोजना, विद्युत् बिक्रीबाट रोयल्टी उठाएर पूर्वाधार निर्माण गर्ने
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकामा २३८.२३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९०.५ मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१.५ मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए । विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६.२३ मेगावाट क्षमताका ९ वटा आयोजना निर्माणको प्रक्रियामा छन् । ‘भिरपहरा छिचोलेर बनाइएको आयोजनामार्फत यहाँ सडक सञ्जाल विस्ता हुनुका साथै यातायात सञ्चालन भई स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको छ,’ अध्यक्ष पुनले भने, ‘दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्री भएका प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्न सकिन्छ ।’ गत भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ को १६.५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । धवलागिरि गाउँपालिका-४ खाम्लामा रहने बाँधमार्फत ५.७०० किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका-७ भारवाङमा बन्ने विद्युत गृहमा १९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए । उनका अनुसार विसं २०८३ फागुन २१ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत ११ अर्ब २३ करोड २७ लाख रुपैयाँ अनुमान गरिएको छ । हाइड्रोइम्पाएर प्रालि प्रवर्द्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि-४ सिम्कोश दोभानको बाँधबाट घिम्लेटी जोड्ने ४ किमी लामो सुरुङ निर्माण सुरु गरिएको छ । उक्त आयोजना प्रमुख रमेश सुवेदीले विसं २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत गृह निर्माण थालिएको जानकारी दिनुभयो । यस आयोजनाको कुल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । हाइड्रोभिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको धवलागिरि-४ जेल्तुङमा प्रस्ताव गरिएको विद्युत गृह निर्माणस्थल हालै सडक सञ्जालमा जोडिएको छ । खाम्लास्थित अपर म्याग्दी-१ को बाँधबाट नाउँरा हुँदै बगर जोड्ने उक्त सडक ६ किमी दूरीको छ । जेल्तुङबाट १२ किमी दूरीमा रहेको दोभानसम्म पहुँचमार्ग निर्माणलाई निरन्तरता दिने तयारी भइरहेको धवलागिरि-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । धवलागिरि–३ मा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको छ । विद्युत् खरिद-बिक्री सम्झौता, वित्तीय स्रोत, जग्गा व्यवस्थापनलगायत काम सकेर यही वर्षदेखि बाँध, पेनस्टक पाइपलाइन र विद्युत गृह निर्माण सुरु गर्ने तयारी भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको दरखोला जलविद्युत् आयोजनाको बाँध धवलागिरि-३ कुनौटो र सोही वडाको सोलवाङमा विद्युत गृह प्रस्ताव गरिएको छ । ३ किमी १ सय मिटर पेनस्टक पाइपलाइन रहने उनले जानकारी दिए । धवलागिरि-४ मुदीमा १४.७० मेगावाट क्षमताको मुदीखोला, २३.७० मेगावाट क्षमताको म्याग्दीखोला (ए), धवलागिरि-१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला र १४.७० मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले सम्बन्धित प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको जनाएको छ । धवलागिरि-४ का वडाध्यक्ष यामबहादुर घर्तीले वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेका आयोजनाहरूले स्थलगत सर्वेक्षण, वित्तीय स्रोत व्यवस्थापन र विद्युत् खरिद-बिक्री प्रक्रियामा रहेका जानकारी दिए । उनका अनुसार १४.७० मेगावाटको मुदीखोला, २० मेगावाटको कुनबानखोला, ३.४५ मेगावाट क्षमताको सिम्कोश, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ९.५ मेगावाटको म्याग्दीखोला (बि) र ४.६ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना निर्माण र सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट विभिन्न प्रवर्द्धक कम्पनीले अनुमति लिएका छन् । म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ डाँडाखेतमा सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्यएको छ । आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको जानकारी दिए । डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सबस्टेसन निर्माण र १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट सबस्टेसन तथा प्रसारणलाइनको कामले गति लिन थालेपछि कालीगण्डकी, म्याग्दी, राहुघाट र सहायक नदीहरूमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको बताए ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरले १४ वर्षपछि पायो तिव्रता, भारतीय पर्यटक बढ्न थाले
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् । ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म ४९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमी पर्दछ । करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन् । बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन् भने करिडोर स्तरोन्नतिसँगै कालोपत्र हुँदै गएपछि सवारीसाधन सञ्चालन हुने थालेका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरवाहलगायत मुलुकका ठूला सहरसम्म पुग्न सहज भएको छ । करिडारमा यातायाता सञ्चालन हुन थालेपछि गाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न सहज भएको स्थानीय किसान श्रीसले बताए । करिडोरको ट्र्याक वर्षौं अगाडि खुलेपछि अहिले स्तरोन्नति भएको भन्दै यसले गाउँलाई सिधा सहरसँग जोडेको उनको भनाइ छ । श्रीसले भने, ‘कालीगण्डकी करिडोरले हाम्रो गाउँलाई सुगम बनायो, दिनानुदिन गाडी ओहोरदोहोर गर्छन्, यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन्, पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार/पाँच घण्टामा पुग्न सकिन्छ, बुढापाकाहरू अहिलेको यो विकास देखेर दङ्ग छन्, करिडोरले यो क्षेत्रका नागरिकको जीवनशैली बदल्न थालेको छ ।’ जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले करिडोर सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्न थालेका बताए । भारतबाट मुक्तिनाथ जाने धेरैजसो पर्यटक जैमिनी धामको दर्शन गरेर जाने गरेको भन्दै यसले आर्थिक चलायमान हुने उनको भनाइ छ । स्थानीय सरकारले पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसार गर्नसके बाह्य पर्यटकलाई तान्न सकिने थापाले धारणा राखे । अहिले दैनिक बुटवलबाट जैमिनीसम्म सिधा यातायात सञ्चालन हुँदा सामान ढुवानी र यात्रा गर्न सहज भएको उनले उल्लेख गरे । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दक्षिण बागलुङ समृद्धिसँग जोड्न कालीगण्डकी करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अब बागलुङका हरेक नागरिक व्यापार र व्यवसायसँग जोडिए करिडोरबाट प्रशस्त लाभ लिनुका साथै आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ । किसानले उत्पादन गरेको तरकारी, फलफूल र अन्य वस्तु सहजै विभिन्न सहरमा पु¥याउन सकिने हुँदा उचित मूल्यसमेत पाइने शर्माले बताए । ‘करिडोर बागलुङवासीका लागि वरदान सावित हुँदै गएको छ, हिजो सुनसान रहेको ठाउँमा अहिले धमाधम बजार बस्न थालेका छन् । एक दिन यात्रा गर्नुपर्ने ठाउँमा अहिले दुई/चार घण्टामा पुग्न सकिन्छ,’ उनले भने, ‘यो रुट धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना छन्, नगरपालिकाले पनि करिडोरबाट लाभ लिनेगरी योजना बनाइ रहेको छ ।’ करिडोरले जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किमी क्षेत्र जोडेको छ । नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म ४९५ किमी रहेको करिडोर बागलुङको मालढुङ्गा २४० किमी लामो छ । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत यसले छोट्याइदिएको छ । करिब १४ वर्ष अगाडि निर्माण सुरु भएको करिडोर आयोजना हालसम्म बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।
पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
काठमाडौं । फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जनाएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । ‘यसपटक हामीले २ सेकेन्डमा १० जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ,’ उनले भने । उनले पशुपति प्रवेश गर्ने बाहिर ४ वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका ३/३ र पूर्व र दक्षिण ढोकामा २/२ वटा लाइन रहने जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे । ‘हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा ५ लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ,’ संयोजक खत्रीले भने । उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए। सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिए। उनका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
फाइल फाेटाे काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिए । एक कार्यक्रमकाबीच नगरप्रमुख पुष्करराज जोशीले वडा नं ९ का वडाध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का वडाध्यक्ष जयदत्त पन्तलाई संयुक्त रूपमा एम्बुलेन्स हस्तान्तरण गरे । उनले नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसँगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरीलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने विश्वास लिइएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए । दशरथचन्द नगरपालिकाले तीन वर्षदेखि गर्भवती तथा सुत्केरीलाई अन्यत्र अस्पताल लैजानुपरेमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको बताउँदै उनले त्यसको निरन्तरताका लागि जोशीबुङ्गामा पनि एम्बुलेन्स सेवा उपलब्ध गराइएको उल्लेख गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरप्रमुख जोशीले नगरवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन नगरपालिकाले योजनाबद्ध काम गरिरहेको बताए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त, को हुन् उनी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्ष पदमा ओझालाई नियुक्त गरेको हो । ओझालाई आगामी ४ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । उनीहरूलाई पछि पार्दै ओझा अध्यक्ष बनेका हुन् । पूर्वपत्रकार समेत रहेका ओझाको स्थायि घर कञ्चनपुर हो । उनी हाल ३३ वर्षका भए । ओझा नेपाली कांग्रेसको संस्थापन पक्ष निकट छन् । नवनियुक्त अध्यक्ष ओझाको पुर्ख्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा भएपनि हाल उनी कञ्चनपुर बस्दै आएका छन् । देउवाकै जोडबलमा उनी अध्यक्ष बनेको स्रोतको दाबी छ । ओझासँग वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमा काम गरेको अनुभव छ । ओझा विभिन्न क्याम्पसमा अध्यापन समेत गराउँदै आएका छन् । ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरेको थियो । सर्टलिष्टमा परेकालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालयमा बोलाइएको थियो । कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्तापछि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइएको थियो । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्दामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सरकारले कुलमानलाई हटाउने तयारी गरेपछि राज्यमन्त्रीले भने : मन्त्रीको घरमा भाडा माझ्नु पर्थ्याे ? प्रतिवाद गर्छु
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई हटाउन गरेको प्रस्तावमा सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले असन्तुष्टि जनाएका छन् । उनले काम गर्ने व्यक्तिलाई सरकारले हटाउन लागेको भन्दै असन्तुष्टि पोखेका हुन् । खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छन् । सोही विषयमा टिप्पणी गर्दै उनले असन्तुष्टि पोखेका हुन् । ‘काम गर्ने मान्छेलाई हटाउनु हुँदैन, मन्त्रीज्यू (दिपक खड्का)ले त्यो प्रस्ताव लिनु भएको छ भने म त्यसको विरोध गर्छु, त्यसको प्रतिवादमा उत्रिन्छु, यो गलत निर्णय हुन्छ,’ उनले विकासन्युजसँग भने । ‘काम गरेन भनेर आरोप लगाएर के कुलमानले मन्त्रीको भाडा माझ्नुपर्थ्याे ? काम गर्ने मान्छेलाई गर्न दिनुपर्छ, मत भन्छु कुलमानको कार्यकाल अझै चार वर्ष थप्नुपर्छ,’ उनले थपे । अहिले मन्त्रिपरिषदको बैठक चलिरहेको छ ।
एमालेकै उपाध्यक्ष भन्छन्- अब नेपालमा अन्तर्राष्ट्रिय सहयोग नआउन सक्छ, भाषण गरेर मात्रै हुँदैन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम बढेको बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम बढेको बताएका हुन् । नेकपा एमाले प्रचार विभागले आज यहाँको कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूका कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्य मित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताएका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गरे । ‘युएसएआइडीको सहयोगमा भइरहेका काम रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्योलता सृजना भएको छ’, उनले भने, ‘यदि एमसीसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुपर्याे, कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुप¥यो ।’ उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने बताउँदै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताए ।
एनआईएमबिको नेतृत्वका लागि १३ जना तयार, स्थापनाकालदेखि नेतृत्व गर्दै आएका पाँडेलाई चुनौती
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)को सञ्चालक पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठका अनुसार बैंकको सञ्चालक बन्न १३ जनाले उम्मेदवारी दिएका हुन् । उनकाअनुसार बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जनाले उम्मेदवारी दिएका छन् भने सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी परेको छ । बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यले उम्मेदारी दिएका हुन् । ७० वर्षिय पाँडेले छाया इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनी हाल पनि बैंकको अध्यक्षका रूपमा कार्यरत छन् । साथै पाँडे सञ्चालक पदमा निर्वाचित भए फेरी बैंकको अध्यक्ष बन्ने पक्का रहेको स्रोतको दाबी छ । तर, उम्मेद्वारहरुले प्यानल नै बनाएर अगाडि बढेपछि उनीमाथि चुनौती थपिएको हो । बैंकको स्थापना कालदेखि बैंकको व्यवस्थापकीय तथा सञ्चालक समितिको नेतृत्व गर्दै आएका पाँडेमाथि अहिले आएर बैंकको नेतृत्वमा जान केही चुनौती थपिएको बैंकभित्रकै सञ्चालकहरु बताउँछन् । पर्वत कुमार कार्कीले नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् । उनी कोषको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । यस्तै, केयुपि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै प्रजन्य राजभण्डारीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत श्रेष्ठले बताए । राजभण्डारी र आचार्य हाल पनि बैंकको सञ्चालक पदमा कार्यरत छन् । श्रेष्ठका अनुसार सर्वसाधारण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे, विकास थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाले आवेदन दिएका छन् । बैंकले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित फागुन १५ गते ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा बिहान १० बजे राष्ट्रिय सभा गृह काठमाडौंमा हुनेछ । सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव वि.सं २०८० चैत २० गते सम्पन्न ३७औं वार्षिक साधारण सभामा समेत थियो । तर, सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचनको कार्य स्थगित भएको थियो । तर, सर्वोच्च अदालतले गत कात्तिक १४ गते साविकको अन्तरिम आदेश र रिट निवेदन समेत खारेज हुने गरी फैसला गरेपछि बैंकको सञ्चालकहरूको निर्वाचन हुन लागेको हो । विगतमा बैंकमा सञ्चालकहरू सर्वसम्मतिबाट चुनिन्थे । तर, पछिल्लो समय साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक मर्जरपछि भने सञ्चालकहरूको निर्वाचन हुन लागेको हो । मर्जरपछि सेयरधनीहरूको सेयर स्वामित्व कम भएपछि सहमति नहुँदा निर्वाचन प्रक्रियामा जानु परेको देखिन्छ । यसरी सञ्चालक पदका लागि निर्वाचन हुँदा भविष्यमा कुनैपनि निर्णय गर्दा समस्या हुने देखिन्छ । कुनै उम्मेदवारले निर्वाचनको कार्य प्रारम्भ हुनु अगावै उम्मेदवारको सूचीबाट नाम हटाउन निवेदन दिएमा निर्वाचन अधिकृतले निजको नाम उम्मेदवारको सूचीबाट हटाउन सक्ने जनाएको छ । सञ्चालक पदको उम्मेदवार हुन बैंकको कम्तिमा १ सय कित्ता सेयर धारण गरेको हुनुपर्नेछ । तर, संगठित सेयरधनीहरूको हकमा भने संस्थाबाट लिखित अधिकार लिएको हुनुपर्नेछ । सञ्चालक पदका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।