विकासन्युज

सतुंगलमा कजारियाको नयाँ सोरुम, बढ्दो मागलाई पूरा गर्ने लक्ष्य

काठमाडौं । टाइल निर्माता कजारियाले काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष नरेद्र राज श्रेष्ठको उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, दुबै अतिथिहरूले रिबन काटेर सोरुम विस्तारको आरम्भ गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, ‘काठमाडौं कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ।’ कम्पनीका अनुसार काठमाडौंको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचारको आरोपबाट सफाई पाएका छन् । विशेष अदालतले निवर्तमान अध्यक्ष सिलवाललाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टचार मुद्धामा सिलवालविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए । अख्तियारमा मुद्धा दायर भएसँगै उनी पदबाट स्वत निलम्बन भएका थिए । पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा उनीलाई मंसिरमा अख्तियारले मुद्धा दायर गरेको थियो ।

महालक्ष्मी विकास बैंकद्वारा सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ । बैंकले फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन को सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेर्ष यालीको आयोजना गरिएको हो । बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे। यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिइयो।

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्षरामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक सञ्चालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको छ । कम्पनीले हरेक वर्ष अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिबहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, शाखा प्रमुख र केही विभागिय प्रमुख गरी ७० जना सहभागी थिए । कार्यक्रममा ४२ जना एमडी.आर.टी. क्वालिफायर र ३ जना सि.ओ.टि. क्वालिफायरलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गरिएको छ भने कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरलाई पनि सम्मान गरिएको छ । कार्यक्रमको सहजिकरण अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमांशु जोशीले गरेका हुन् । यस्ता कार्यक्रमले लिडर्सलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोँच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिष्पर्धी बनाउन मद्धत मिल्ने विश्वास लिइएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरको मुख्य भूमिका रहेको बताएका छन् ।

ग्यास उद्योगीको स्थगीत आन्दोलन फेरि सुरु

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले स्थगित गरेको आन्दोलनका कार्यक्रम फेरि अघि बढाउने भएको छ । ग्यास उद्योगीले अघि सारेका मागका विषयमा सुनवाइ नभएपछि आन्दोलन फेरि सुरु गर्ने संघले बताएको छ । संघले गत माघ २४ गते १९ बुँदे माग अघि सार्दै माग पूरा नभए माघ २९ गतेबाट चरणबद्ध रुपमा विरोध कार्यक्रम अघि बढाउने तालिका सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा माघ ३० गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा छलफल भएको थियो । छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन हुने बताएका थिए । उनले यसको गृहकार्य गर्न १५ दिन समय लाग्ने आश्वासन बताएका थिए । तर, १५ दिनभित्र सरकार र आयल निगम कुनै निष्कर्षमा पुग्न नसकेपछि संघले विरोधका कार्यक्रम फेरि अगाडि बढाउने निर्णय गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत  फागुन १८ देखि देशभरका ५९ वटै ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगरेको संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनका अनुसार यति गर्दा पनि माग पूरा नभए ग्यास फागुन २४ गतेदेखि इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट नेपालका लागि एलपी ग्यासको बुलेट लोड गराउन छाड्ने र चैत १ गतेदेखि भन्सारबाट बुलेट छुटाउन रोक्ने संघले जनाएको छ । चैत ६ गतेसम्म पनि माग पूरा नभए ७ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्रीवितरण बन्द गर्ने र चैत ११ गतेबाट डिलरले पनि ग्यासको बिक्री रोक्ने संघले जनाएको छ । संघले एलपी ग्यास उपभोक्ताले ग्यास उपभोग गर्दा अपनाउनुपर्ने सावधानी, प्रयोग गर्ने विधिबारे जनचेतना जगाउन सरकारले एलपी ग्यास आयातको १ प्रतिशत छुट्याउनु पर्ने, ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ । 

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् ।  मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गरे । उनले भने, ‘सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन गरिएको छ, वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिरहेको छ, पटक–पटक संवाद पनि भइरहेको छ ।’ मन्त्री लेखकले पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि यही फागुन १२ गते पुनः आह्वान गरेको जानकारी दिए । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले शान्तिपूर्ण तवरबाट समस्याको समाधान गर्ने विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको प्रष्ट पारे । मन्त्री लेखकले केबलकार निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी सरकारको मन्त्रिपरिषद्बाट २०७५ साल पुस १६ गते नै निर्णय भएको जानकारी गराए । ‘केबलकार निर्माण गर्ने कार्य पहिलेदेखि नै सुरु भएको थियो, निर्माणाधीन आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटन स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा व्यवस्था क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन २०८० साल माघ २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्रीस्तरबाट निर्णय भएको थियो’, उनले भने । सोही अनुरुप सुरक्षाको निमित्त सोही ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको उनको भनाइ छ ।

भारतीय पर्यटक आगमनमा हुन सकेन सुधार, फेब्रुअरीमा ९७ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को दोस्रो महिना अर्थात फेब्रुअरीमा झण्डै ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२४ को फेबु्रअरीको तुलनामा यस वर्षका फेब्रुअरीमा पर्यटक आगमन ०.६ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको फेबु्रअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । सन् २०१९ को फेब्रुअरीको तुलनामा भने विदेशी पर्यटक आगमन ५.४ प्रतिशतले घटेको पर्यटन बोर्डको भनाइ छ । बोर्डका अनुसार सन् २०१९ को फेब्रुअरीमा १ लाख २ हजार ४२३ जना पर्यटक नेपाल आएका थिए । फेबु्रअरीमा भारतबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा २५ प्रतिशतले कमी भएको छ । गत वर्षको फेब्रुअरीमा २५ हजार ५७८ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकोमा यस वर्षको सोही महिनामा १९ हजार १८७ जना मात्रै नेपाल भ्रमणमा आएका छन् । यो वर्षको पहिलो महिना अर्थात जनवरीमा पनि भारतीय पर्यटकको आगमनमा कमी आएको थियो । गत वर्षको तुलनामा भारतीय पर्यटक १५.१ प्रतिशतले कमी थियो । यस वर्षको जनवरीमा भारतबाट २० हजार ४८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने गत वर्षको सोही महिनामा २४ हजार १३९ पर्यटकले नेपाल भ्रमणमा आएका थिए । फेब्रुअरीमा चीनबाट आउने पर्यटकको संख्यामासमेत कमी देखिन्छ । बोर्डको तथ्यांकअनुसार सन् २०२४ फेबु्रअरीको तुलनामा यस वर्षको सोही महिनामा चीनबाट आउने पर्यटकको संख्यामा ९.८ प्रतिशतले कमी आएको छ । यस वर्षको फेब्रुअरीमा ८ हजार २२३ चिनिया पर्यटक नेपाल भ्रमणमा आइपुगेका छन् । जबकि सन् २०२४ को फेबु्रअरीमा ९ हजार १८० चिनिया पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को फेब्रुअरीको तुलनामा चिनिया पर्यटकको संख्यामा ४६ प्रतिशतले कमी आएको छ । उक्त वर्षमा चीनबाट १५ हजार ३४५ चिनिया पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा थोरै वृद्धि देखिन्छ । यस वर्षको दोस्रो महिनामा १० हजार ३४८ अमेरिकन पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको सोही महिनामा ९ हजार ८९ अमेरिकन नेपाल भ्रमणमा आएका थिए । त्यस्तै थाइल्याण्डबाट फेब्रुरीमा ५ हजार ६०९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही महिनामा थाइल्याण्डबाट ४ हजार ७९९ पर्यटक नेपाल आएका थिए । युके(बेलायत) बाट सन् २०२५ को दोस्रो महिनामा ५ हजार ५७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन गत वर्षको दोस्रो महिनाको तुलनामा १०.६ प्रतिशतले बढी हो । गत वर्षको फेब्रुअरीमा ४ हजार ५७१ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बंगलादेशबाट ४ हजार ८४७ विदेशी पर्यटक नेपाल आइपुगेका छन् । गत वर्षको सोही महिनामा ४ हजार ९९ भित्रिएका थिए । त्यसैगरी श्रीलंकाबाट ४ हजार ३७०, अस्ट्रेलियाबाट ३ हजार ७३७, दक्षिण कोरियाबाट २ हजार ७७९ र जापानबाट २ हजार ६४३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।