विकासन्युज

बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालय बालमन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ ।  सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्‍ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पत्र पठाएको हो । उक्त पत्र आएसँगै सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने तयारी  जिल्‍ला सरकारी वकिलको कार्यालयले गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)सहित दुई तहको सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निष्कर्ष निकालिसकेको फाइललाई महान्यायाधिवक्ताको कार्यालयले उल्ट्याउँदै प्रतिवादीहरूमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।  बालमन्दिरकी तत्कालीन अध्यक्ष रितासिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । गत वर्ष वैशाखमा पनि बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको भन्दै सीआईबीमा जग्गा विवादमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी परेको थियो ।  संगठनको जग्गा व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको हो ।  जाहेरीमा २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ । नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो ।

मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषयवस्तुमा साक्षर गराउनु थियो ।  यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।  यस कार्यक्रममार्फत उद्यमीहरूलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै बीमा सर्भेयर संघ

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा यही वैशाख २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । उनका अनुसार अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । संघले कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद् ओझालाई बोलाएको छ भने प्रस्तुतिकरणको लागि कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई निम्तो गरेको छ । बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका प्रमुख गोविन्द लामिछानेले भने, ‘हामीले नियामक निकायलाई ल्याएर प्रस्तुतिकरण गर्नुको मुख्य उद्देश्य उहाँहरूले बीमक, सर्भेयर, बैंकर्सलगायतबाट आएका सल्लाह सुझावलाई  मनन गर्नुहुन्छ र त्यही सुझावलाई लिएर नीति निर्माणमा ध्यान जाओस् भनेर नै हो ।’ उनले कार्यक्रममा सर्भेयर, बीमा  कम्पनीका सिईओ, कर्मचारी, बीमित, बैंकर्स एशोसिएसन, उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल इन्जिनियरिङ एसोसिएनका प्रतिनिधिहरूलाई बोलाएको जानकारी दिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहने उनकाे दाबी छ । कार्यक्रममा नेपालमा सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्याेरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिनेछन् । कार्यक्रममा प्यानल डिस्कसन, प्रश्नोतर, छलफल कार्यक्रमसमेत राखिएको छ । 

गभर्नर कांग्रेसकै भागमा परेको देउवाको खुलासा, प्रक्रिया लम्बिनुको कारण खुलाए

काठमाडौं ।  प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरको भागबण्डा मिलिसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नरको भागबण्डा मिलाइसकेकाे बताउँदै उनले गभर्नर कांग्रेसको भागमा परेको खुलाएका हुन् । ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाइको कारण ओलीजी र म होइन, ओलीजीले कांग्रेसलाई दिने भनिसक्नु भएको छ,’ उनले भने ।  यस्तै, सभापति देउवाले राष्ट्र बैंककै आन्तरिक कारणले गभर्नर नियुक्ति प्रक्रिया ढिलाइ भएको धारणा राखे । उनले कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या भएको संकेत गरेका हुन् ।  यस्तै, उनले अहिले गठबन्धनमा कुनै समस्या नरहेको पनि बताएका छन् । 

अस्ताए पूर्वमन्त्री प्रदीप नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ ।  केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।          तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए । नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक रहेका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो ।  

चेपाङ समुदायका लागि नेपाल एसबिआई बैंकले गर्‍यो खाद्यान्न वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्य सामग्री वितरण गरेको छ । बैंकका बागमति प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरू हस्तान्तरण गरे ।  बैंकले विपन्न तथा पिछडिएका वर्गहरूमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

नेपालमा लोकप्रिय बन्दै सेरेस ईभी

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै गएको छ । इन्धनको बढ्दो मूल्य, वातावरणीय चिन्ता र विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने सरकारी नीतिका कारण पनि यसको प्रयोग बढ्दै गएको हो ।  नेपाली अटो बजार विस्तारै स्मार्ट र ईभीमैत्री बन्दै गएसँगै अटो व्यवसायीहरूले पनि विद्युतीय सवारीमा जोड दिन थालेका छन् । नेपालको अटो क्षेत्रलाई स्मार्ट र दिगो यातायातको नयाँ युगमा प्रवेश गराउनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ईभीमध्ये सेरेस पनि एक हो । कम्पनीका अनुसार आकर्षक डिजाइन, एडभान्स फिचरहरू र वातावरणमैत्री प्रविधिका कारण सेरेस इलेक्ट्रिक गाडी नेपाली चालकहरूमाझ लोकप्रिय हुँदै गएको छ । सेरेस स्मार्ट ड्राइभिङ र स्वच्छ ऊर्जामा ध्यानकेन्द्रित गरेको एक विश्वव्यापी इलेक्ट्रिक भेहिकल ब्रान्ड भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार नेपालमा यस ब्रान्डका मोडलहरूमध्ये सेरेस थ्री प्रमुख हो, जुन पूर्णतया विद्युतीय एसयुभी हो ।  यसले पर्फर्मेन्स, लक्जरी र आधुनिक प्रविधिलाई एकै साथ प्रस्तुत गर्छ । सेरेस थ्रीले एकपटक चार्ज गर्दा अधिकतम ४०५ किलोमिटरको दूरी तय गर्न सक्छ । जसले यसलाई सहरभित्रका साथै लामो यात्राको लागि पनि उपयुक्त बनाउने कम्पनीको भनाइ छ । बलियो ब्याट्री र फास्ट चार्जिंगको सुविधाले चालकहरूलाई ‘रेन्ज’को चिन्ता नगरी यात्रामा केन्द्रित हुन मद्दत गर्ने हुँदा पनि चालकको रोजाइमा सेरेस पर्न सफल भएको हो । सेरेस ईभीले आधुनिक र लक्जरियस ड्राइभिङको अनुभव गराउनुका साथै  डिजिटल ड्यासबोर्ड, टचस्क्रिन डिस्प्ले, रिभर्स क्यामेरा, ड्राइभर असिस्टेन्स प्रणाली जस्ता स्मार्ट सुविधाहरूले यो गाडीलाई अझ सुरक्षित र रमाइलो बनाउँने कम्पनीको दाबी छ ।  विशेषगरी प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि सेरेस उपयुक्त छनोट हुन सक्छ । पेट्रोलियम गाडीभन्दा सस्तो कम्पनीका अनुसार सेरेस डिजेल वा पेट्रोल गाडीहरूभन्दा सस्तो मूल्यमा ग्राहकले किन्न सक्छन् । ईभी गाडी बिजुलीबाट चल्ने हुँदा प्रति किलोमिटरको हिसाबले सस्तो पर्न जाने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्धनमा आधारित गाडीहरूभन्दा ईभीहरूमा चल्ने भागहरू कम हुने भएकाले मर्मतसम्भार खर्च पनि कम नै लाग्छ । नेपाल सरकारले ईभी प्रयोगलाई प्रोत्साहन गर्न सक्रिय रूपमा लागिपरेको छ । ईभीलाई नेपाली अटो बजारमा थप विस्तार गर्दै लैजानमा केही चुनौतीहरु भने छन् । देशभर चार्जिङ पूर्वाधार निर्माण हुनको लागि सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । साथसाथै विद्युतीय गाडीहरूमा आयात कर कम लाग्ने, पेट्रोल र डिजेल गाडीभन्दा फरक सुविधा दिनुपर्ने देखिन्छ । सरकारले यी कुरामा ध्यान दिन सके सेरेसजस्ता ब्रान्डहरूलाई बजार विस्तार गर्न सजिलो हुने कम्पनीको सुझाव छ । 

ट्रम्पको एक घोषणाले विश्वका शीर्ष मूल्यवान कम्पनीलाई फाइदैफाइदा

काठमाडौं । अमेरिकासहित विश्वभरका सेयर बजार केही समयदेखि उकालो लागेको छ । धेरै कम्पनीहरूको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ । यदि विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको कुरा गर्‍याैं भने तिनीहरूको सेयर मूल्य पछिल्लो एक महिनामा आकाशिएको छ।  ती कम्पनीहरू हुन्- माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अमेजन र अल्फाबेट । यी सबै अमेरिकी कम्पनीहरू हुन् । यी कम्पनीहरूको सेयरमा पछिल्लो एक महिनामा २० प्रतिशतभन्दा बढी वृद्धि आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर व्यापार युद्ध सुरु भएको थियो । विश्वका धेरै सेयर बजार ध्वस्त भएका थिए, जसबाट अमेरिका पनि अछुतो रहन सकेन ।  अमेरिका र चीनबीच एक अर्कामाथि बढी ट्यारिफ लगाउने प्रतिस्पर्धा चलेको थियो । त्यसबाट यी मूल्यवान कम्पनीहरूको सेयर बजारमा नराम्रो असर परेको थियो । यद्यपि अहिले अवस्था केही सुधारिएको देखिन्छ। कसको कति वृद्धि ? पछिल्लो एक महिनामा यी मूल्यवान कम्पनीहरूको सेयर ८ प्रतिशतदेखि २१ प्रतिशतसम्म उफ्रेका छन् । सबैभन्दा बढी वृद्धि माइक्रोसफ्ट कम्पनीको सेयरमा देखिएको छ । यसै कारणले यो कम्पनी अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।  यसले एप्पललाई पछि पारेर पहिलो स्थान हासिल गरेको छ । माइक्रोसफ्टको क्लाउड सेवा र एआई (कृत्रिम बौद्धिकता) को बढ्दो मागले सेयर वृद्धिमा सहयोग पुर्‍याएको हो । कम्पनीहरूमा देखिएको तीव्र वृद्धिको एक प्रमुख कारण ट्रम्पको एक घोषणा पनि हो । ट्रम्पले हाललाई ट्यारिफलाई ९० दिनका लागि स्थगित गरेका छन् । यसले गर्दा विश्वव्यापी व्यापार युद्ध केही समयका लागि रोकिएको छ । यी ९० दिन जुलाईमा समाप्त हुनेछन् । त्यसपछि ट्रम्पले के निर्णय लिन्छन् भन्ने कुरा पछि मात्र प्रस्ट हुनेछ । कसलाई कति फाइदा? पछिल्लो एक महिनामा विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको सेयर यति प्रतिशतले बढेका छन्ः माइक्रोसफ्टः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको सेयर एक महिनामा २१.६३ प्रतिशतले बढेको छ । एप्पलः दोस्रो स्थानमा रहेको एप्पलको सेयर एक महिनामा १३.१७ प्रतिशतले बढेको छ । एनभिडियाः तेस्रो सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाको सेयर एक महिनामा १७.२७ प्रतिशतले बढेको छ । अमेजनः चौथो स्थानको अमेजनको शेयर एक महिनामा ८.४० प्रतिशतले बढेको छ। अल्फाबेटः गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर एक महिनामा ११.१० प्रतिशतले बढेको छ । ट्यारिफपछि अवस्था खराब डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा राष्ट्रपति पद सम्हालेपछि भारत र चीन लगायत विश्वका धेरै देशहरूमा ट्यारिफ लगाउने घोषणा गरे । यसले गर्दा व्यापार युद्ध सुरु भयो र धेरै देशहरूको सेयर बजार ध्वस्त भयो । अमेरिका पनि यसबाट बच्न सकेन । त्यसपछि यी कम्पनीहरूको सेयर मूल्य निकै घटेको थियो । यदि पछिल्ला ६ महिनाको कुरा गरौं भने यी पाँचै कम्पनीहरूको अवस्था खासै राम्रो देखिँदैन । ६ महिनाको रिटर्न हेर्दा माइक्रोसफ्ट बाहेक सबै कम्पनीहरू घाटामा छन् । माइक्रोसफ्टले यी ६ महिनामा करिब ६ प्रतिशतको रिटर्न दिएको छ भने सबैभन्दा बढी घाटा एनभिडियाले बेहोरेको छ–  यसको सेयर ६ महिनामा १८ प्रतिशतभन्दा बढी घटेको छ ।