विकासन्युज

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् । बुधवार गोरखापत्र दैनिकको १ सय २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका हुन् । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनले स्पष्ट पारे । मन्त्री गुरुङले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रवन्ध भइसकेको छ । म्यान पावरको हिसावले प्रवन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौं । अबदेखि यस्ता चिजहरु छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।’ उनले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताए ।  उनले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने जिकिर गरे । उनले चलचित्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताए । सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चित गर्ने राज्यको दायित्व भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ ।  नाइमाले यही वैशाख २२ देखि औपचारिक रूपमा स्टल बुकिङ खुला गराएको हो । इच्छुक व्यक्ति र कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ  । नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ । मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ । उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ । मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन् । 'नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,' नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।  'हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई  एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं,' उनले थपिन् ।

भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको अख्तियार प्रमुखको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो आरोप लगाएका हुन् ।  भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनको भनाइ छ ।  उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे ।  आयुक्त राईले भने, ‘मैले आफ्नो कार्यकाल सम्हालेपछि कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भनिरहकै अवस्था हो । ठूला माछाहरुलाई लगेन भन्ने कुरा ५÷१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने ? हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’ उनले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरे । उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरुको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे ।

भारतको हवाई आक्रमणमा परी मसूद अजहर परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु

काठमाडौं । चरमपन्थी संगठन जैश-ए-मोहम्मदले जनाएको छ कि पाकिस्तानमाथि भारतले गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र उनका चार नजिकका सहयोगीको ज्यान गएको छ । यस सम्बन्धमा जैश-ए-मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । मृतकमध्ये मसूद अजहरकी ठूलो बहिनी, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चा पनि छन् । संगठनले यो पनि जनाएको छ कि आक्रमणमा मसूद अजहरका तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा पनि मारिएका छन् । विज्ञप्तिअनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमाथि भएको हमलामा मसूद अजहरका नातेदारहरूको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० जना सैनिकको मृत्यु भएको थियो । २२ अप्रिलमा पहलगाममा भएका वीभत्स आतङ्कवादी हमलाका निर्दोष पीडितहरू र तिनका परिवारलाई न्याय दिनका लागि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको जनाएको छ । यस कारबाहीमा ९ आतङ्कवादी शिविरहरूलाई लक्षित गरिएको थियो र ती पूर्ण रूपमा नष्ट भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले १० जना भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ । एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन् कि सीमापारबाट भएको गोलीबारीमा मारिएका भारतीय नागरिकको संख्या १० पुगेको छ । साथै ३२ जना घाइते भएका छ न्। यी सबै घटनाहरू भारत र पाकिस्तानको पुन्छ जिल्लामा नियन्त्रण रेखाको नजिक भएका हुन् । यता चीनको विदेश मन्त्रालयले कश्मीरमा भारतले गरेको हवाई आक्रमणलाई 'दुर्भाग्यपूर्ण' भनेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे एक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि उनीहरू वर्तमान परिस्थितिबारे 'चिन्तित' छन् । चीनको विदेश मन्त्रालयले भनेको छ, 'भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैं रहन्छन्। ती दुबै चीनका पनि छिमेकी हुन् । चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्दछ ।’ मन्त्रालयका प्रवक्ताले दुबै देशलाई शान्त रहन, संयम अपनाउन र त्यस्ता कार्यहरूबाट टाढा रहन आग्रह गरेका छन्, जसले परिस्थितिलाई अझ जटिल बनाउन सक्छ।  

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा

काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिएको हो ।   नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।   यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मीको धुर्कोट गाउँपालिका- ३ का २८ वर्षीय दीपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ ।   वैदेशिक रोजगारीको नाममा छ जना पीडितबाट नौ लाख ५० हजार उठाएर महत बेपत्ता भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।  

ईभी संसारमा फरारीको उदय, २०२६ बाट ग्राहकको हातमा

काठमाडौं । विश्वप्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता फरारीले आफ्नो पहिलो पूर्ण रूपमा विद्युतीय मोडेलको डेलिभरी सन् २०२६ को अक्टोबरबाट सुरु गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनेडेट्टो विग्नाले मंगलबार यस्तो जानकारी दिएका हुन् । कम्पनीले यो घोषणा पहिलो त्रैमासिकमा १५ प्रतिशत मुनाफा वृद्धिसँगै गरेको हो । फेब्रुअरीमा विग्नाले घोषणा गरेका थिए कि पेट्रोल इञ्जिनका लागि प्रसिद्ध फरारीको पहिलो इलेक्ट्रिक कार “क्यापिटल मार्केट डे“ का अवसरमा अक्टोबर ९ मा सार्वजनिक गरिनेछ ।  यद्यपि मंगलबार उनले भनेअनुसार अक्टोबरमा केवल उक्त कारको टेक्नोलोजिकल कोर मात्र देखाइनेछ । तीन चरणमा कारको सार्वजनिक गरिने बताइएको छ ।  'त्यसपछि केही महिनामै कारको डेलिभरी सुरु हुनेछ- अक्टोबर २०२६ बाट,' विग्नाले आम्दानी विवरण सार्वजनिक गरेपछि विश्लेषकहरूसँगको कुराकानीमा बताए ।  यो पहिलो पटक हो- जब फरारीले नयाँ कार ग्राहकहरूसम्म कहिले पुग्ने भन्ने समयावधि स्पष्ट गरेको हो । एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने, 'यो भनेको फरारीको योजनामा केही ढिलाइ भएको संकेत हो, किनकि धेरैले कार यसै अक्टोबरमा पूर्ण रूपमा देखिने अपेक्षा गरेका थिए ।' तथापि फरारीले कार अनावरण गरेपछि लगभग तीन क्वार्टरपछि मात्र डेलिभरी गर्ने चलन छ । फरारीले भविष्यमा पनि पेट्रोल र हाइब्रिड कारहरू सँगै ईभी बेच्ने योजना बनाएको छ । कम्पनीले २०१९ देखि बेच्न सुरु गरेका हाइब्रिड मोडेलहरूले २०२४ मा कुल बिक्रीको ५१ प्रतिशत हिस्सा ओगटेका थिए ।  वार्षिक आर्थिक लक्ष्य कायमै फरारीले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले कम्पनीको सन् २०२५ को मुनाफा मार्जिनबाट ५० बेसिस पोइन्ट कटौती गर्न सक्ने चेतावनी दिएको छ । तर मर्सिडिज, फोर्ड र स्टेलान्टिसजस्ता अन्य कार निर्माता कम्पनीहरूले हालै आर्थिक पूर्वानुमान फिर्ता लिँदा पनि फरारीले आफ्नो वार्षिक आर्थिक लक्ष्य कायम राखेको छ । कम्पनीले सन् २०२५ सम्म कम्तीमा २.६८ अर्ब युरो (३.०४ अर्ब डलर) को ईबीआईटीडीए र कम्तीमा ३८.३ प्रतिशत मार्जिन कायम रहने विश्वास व्यक्त गरेको छ । 'फरारी आत्मविश्वासी देखिन्छ,' बर्नस्टीनका विश्लेषकहरूले भने । मिलानको स्टक एक्सचेञ्जमा फरारीको सेयर मूल्य १.६ प्रतिशतले बढेर बन्द भएको थियो । कम्पनीको पहिलो त्रैमासिकमा मूल आम्दानी ६९३ मिलियन युरो पुगेको छ, जुन रोयटर्सको सर्भेअनुसार अपेक्षित ६८९ मिलियन युरोसँग मिल्दोजुल्दो छ । फरारीले गत साता नयाँ २९६ स्पेसियल प्लग-इन हाइब्रिड मोडेल र त्यसको कन्भर्टिबल संस्करण सार्वजनिक गरेको थियो । कम्पनीले यस वर्षभित्र कुल ६ नयाँ मोडेल, जसमा पहिलो ईभी पनि समावेश छ सार्वजनिक गर्ने वाचा गरेको छ । बीवाईडीलगायत अन्यसँग प्रतिस्पर्धा  फरारीलाई बीवाईडीसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नु पर्दैन किनकि दुवैका ग्राहक फरक छन् । तर ईभी प्रविधिमा प्रभुत्व राख्नका लागि ईभी बजारमा बीवाईडीजस्ता कम्पनीहरूको गति र नवप्रवर्तनको सामना गर्नुपर्ने देखिन्छ । यदि भविष्यमा फरारीले मिड-रेञ्ज ईभी उत्पादन गर्‍यो भने त्यसले बीवाईडीसँग केही हदसम्म प्रतिस्पर्धा गर्नसक्ने देखिन्छ ।  

भारतको हमलापछि पाकिस्तानको सेयर बजार धराशायी

काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो । भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो । बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो ।  पहलगाम हमलापछि निरन्तर गिरावट २२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्‍याएको छ । बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो ।  विशेषज्ञहरूको चेतावनी २ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ । भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति  

रिलायन्स स्पिनिङ मिल्सको कुल नाफा १ अर्ब बढी, इपीएस  २५.४९ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।  कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । गत असारको तुलनामा चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ । विसं। २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले   स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ । यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ । कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै  सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको छ ।