आज देशभर मौसम सफा रहने, राति पहाडी र हिमाली भागमा वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
प्रतिनिधि सभाका पूर्वसदस्य नेपालको निधनमा शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधि सभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । दिवंगत नेपाल पूर्वमन्त्रीसमेत हुन् । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उनको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ ।
पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको खतरा बढ्यो : टर्की
काठमाडौं । टर्कीले पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको हवाई आक्रमणका कारण युद्धको खतरा थप बढेको जनाएको छ । टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्वीटर) मा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि उनीहरू भारत र पाकिस्तानबीच भइरहेका घटनाक्रमप्रति चिन्तित छन् र यसलाई नजिकबाट नियालिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, 'हामी सर्वसाधारण र नागरिक भवनहरूलाई लक्षित गरी गरिने कुनै पनि प्रकारको उत्तेजनात्मक कार्य र आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडोभन्दा चाँडो कदमहरू चालिनेछन् । ' विज्ञप्तिमा दुबै पक्षलाई एकपक्षीय कदमबाट जोगिन पनि आग्रह गरिएको छ । यसै विज्ञप्तिमा टर्कीले पहलगाम आक्रमणको छानबिन गर्न पाकिस्तानले राखेको मागको समर्थन गर्ने उल्लेख गरिएको छ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङकाे क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन्। यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको थियो । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।
आईएफसीले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त गर्यो
काठमाडौं । विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधिको रूपमा नियुक्त गरेको छ । अब अरन्दाराले काठमाडौंमा रही आईएफसीको लगानी वृद्धि, नयाँ लगानी तथा सल्लाहकार अवसरहरूको विकास र संस्थाको देशभर प्रभाव विस्तार गर्ने प्रयासहरू नेतृत्व गर्नेछिन् । श्रीलंकाली नागरिक अरन्दारा २०११ देखि आईएफसीसँग आबद्ध छिन् र उनले विश्व बैंक समूहमा व्यापक अनुभव हासिल गरेकी छन् । यस नियुक्तिअघि उनले दक्षिण एसियामा आईएफसीको देशीय सल्लाहकार तथा आर्थिक टोलीमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन्, जहाँ उनले वित्तीय समावेशीकरण प्रवद्र्धन, कृषि व्यवसाय सुदृढीकरण र विभिन्न क्षेत्र तथा उद्योगहरूमा लगानी वातावरण सुधारमा ध्यान केन्द्रित गरेकी थिइन् । नेपालमा आफ्नो नयाँ भूमिकामा अरन्दाराले आईएफसीको व्यवसाय विकास पहलहरू अगाडि बढाउने, प्रारम्भिक चरणको संलग्नता विस्तार गर्ने र मुख्य सरोकारवालाहरूसँग साझेदारीलाई गहिरो बनाउँदै आईएफसीको लगानी तथा सल्लाहकार गतिविधिहरूलाई विकास प्रभाव वृद्धि गर्ने हेतुले व्यापक बनाउनेछिन् । विश्व बैंक समूहमा आबद्ध हुनुअघि अरन्दाराले इन्डोनेसियाको पीडब्ल्यूसी र स्विट्जरल्याण्डको ओराकल एजीमा काम गरेकी थिइन् । गत पाँच वर्षमा आईएफसीले करिब ७० करोड अमेरिकी डलर लगानी प्रतिबद्ध गरेको छ, जसमा स्वच्छ ऊर्जा, निजी इक्विटी, वित्तीय तथा आतिथ्य क्षेत्रहरूमा परिचालन प्रयासहरू समावेश छन् । यी लगानीहरूले साना तथा मझौला उद्यमलाई समर्थन, हरित ऊर्जा रूपान्तरण अगाडि बढाउन, र वित्तीय तथा लैङ्गिक समावेशीकरण प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । आईएफसी विश्व बैंक समूहको सदस्य हो । यो विकासशील बजारमा निजी क्षेत्र केन्द्रित विश्वकै सबैभन्दा ठूलो विकास संस्था हो ।
भारत-पाकिस्तान तनावपछि नेपालमा सुरक्षा सतर्कता, सीमा र विमानस्थलमा निगरानी बढाइने
काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल-भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए। भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए । 'आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ,' प्रवक्ता तिवारीले भने, 'सीमानाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।'
राष्ट्र बैंकले गर्यो पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताएको उनको सचिवालयले जनाएको छ ।
धेरै दिनपछि सेयर बजारमा उछाल, ६२ अंकले बढ्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता सेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको सेयर किनबेच भएको छ । कारोबार सङ्ख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
भारत र पाकिस्तानको वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संकटको समाधान खोज्न कतारको अपिल
काठमाडौं । कतारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको कूटनीतिक समाधान खोज्न दुवै देशलाई अपिल गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मा एक विज्ञप्ति पोस्ट गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'भारत र पाकिस्तानबीच लगातार बढ्दै गएको तनावप्रति कतार चिन्तित छ र दुवै देशलाई आग्रह गर्छ कि उनीहरूले यो संकटको समाधान कूटनीतिक माध्यमबाट खोजून् ।' कतारले भारत र पाकिस्तानले तनाव कम गर्न संवादको ढोका खोल्न जोड दिनुपर्ने बताएको छ । उसले भनेको छ कि दुवै देशले सकारात्मक वार्तामार्फत बाँकी रहेका समस्याहरू समाधान गर्नुपर्नेछ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।