विद्युत प्राधिकरणले उत्पादनदेखि वितरणसम्मका काममा आयोगसँग सहकार्य गर्दै जान्छ : शाक्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित विद्युत नियमन आयोगको छैटाैं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका हुन् । उनले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादनसँगै प्रशारण, विक्री वितरणमा समेत जोड दिएको बताए । उनले सेवा पुर्याउने क्रममा केही अप्ठ्याराहरू सिर्जना भए विद्युत नियमन आयोगसँग सहकार्य गर्ने सुनाए । अहिले पनि ऊर्जा क्षेत्रमा हुनुपर्ने नियमन हुन नसकेको संकेत गर्दै शाक्यले आगामी दिनमा विद्युत नियमन आयोगले त्यस्तो नियामकीय अभावलाई पूरा गर्दै जानुपर्नेमा जोड दिए । उनका विद्युत प्राधिकरणले आफै गर्दै आएका कतिपय नियमनहरू विद्युत नियमन आयोगको कार्यक्षेत्रभित्र परेको हुनसक्ने बताउँदै त्यस्तो नियमनको पाटोलाई विस्तारै प्रतिस्थापन गर्दै आयोगबाटै गरिने स्पष्ट पारे । उनका अनुसार डेडिकेटर फिडर तथा ट्रंकलाइनको पुनरावलोकन सम्बन्धमा नियमन आयोगबाटै जाँचबुझ हुनुपर्थ्याे तर त्याे हुन सकेन । आगामी दिनमा आयोगको क्षेत्राधिकारलाई विद्युत प्राधिकरण नमिच्ने उनको भनाइ रहेको छ । शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरुले तयार गरेको आधारशिलामा टेकेर वर्तमान आयोग नेतृत्वले काम गर्नुपर्ने बताए । उनका अनुसार द्रुत गतिमा ब्याट्री इनर्जी स्टोरेज सिस्टम, पम्प स्टोरेज पावर पलान्ट, इलेक्ट्रिसिटि मार्केट, रिजर्भ क्यापसिटी मार्केट जस्ता केही पहिचान भएका क्षेत्रको समेत विद्युत् नियमन आयोगबाट नियमन हुनुपर्छ । हालको विद्युत ऐनमा केही दुविधाहरू रहेर आयोजनाहरूको काम अघि बढ्न कठिनाइ भए त्यसमा पनि आयोगले सहजिकरण गर्नुपर्ने शाक्यको भनाइ छ । ऊर्जा क्षेत्रमा रहेका समस्या र लगानीमैत्री वातावरणका लागि अहिले संसदमा विद्युत विधेयक विचाराधीन रहेको उनी बताउँछन् ।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गर्यो अनिश्चितकालीन जनआन्दोलनको घोषणा
काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालीन जनआन्दोलनको घोषणा गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन सुरु गर्ने बताएका हुन् । उनले आन्दोलन शान्तिपूर्ण हुने दावी गरे । भद्रअवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने उनको भनाइ छ । सुवेदीले भने, ‘संविधान प्रदत्त अधिकार प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं । हामी सबै दलहरु र समूहहरु संयुक्तरुपमा जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल पार्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुने छ ।’ उनले देश महाशक्ति राष्ट्रहरूको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गरे । उनले भने, ‘नेपालको राजनीतिमा वाह्य शक्तिहरुको दबाब र प्रभाव तीब्र रूपले बढिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनैतिक प्रतिस्पर्धा बन्न सक्ने टड्कारो खतरा देखिँदै आएको छ । नेपाली जनताको सार्वभौम निर्णायकत्व संकुचित हुँदैछ । अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतामा ठूलो ह्रास आएको छ ।’ उनले २०७२ मा जारी भएको धर्म निरपेक्ष गणतन्त्रात्मक संविधान पूर्ण रुपमा असफल भइसकेको जिकिरसमेत गरे ।
डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छ : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् । विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानुनी अड्चन आएको भन्दै अब डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरे । उनले आफूले कहिल्यै पनि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नउठाउन नभनेको स्पष्ट पारे । दुवै पक्षलाई न्याय हुने गरी बक्यौता उठाउन सरकारले भनिरहेको अवस्थामा यसलाई छिनोफानो गर्ने काममा लाग्न मन्त्री खड्काको आग्रह छ । उनले अधिकारसम्पन्न नियमन निकाय हुँदा पनि टीओडी मिटरका विषयमा लामो विवाद हुन लज्जास्पद भएको बताए । उनले राम्रो काम गर्न खोज्दा पनि स्वार्थ नमिलेपछि मिडियाबाजी गर्ने काम हुने गरेको भन्दै गुनासो गरे ।
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने एस जयशंकरको चेतावनी
काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् । जयशंकरले उक्त कुरा इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको बैठकका क्रममा बताएका हुन् । अरागची भारत-इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सव अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा सहभागी हुन भारत भ्रमणमा छन् । जयशंकरले यसबारेमा एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै जानकारी दिएका हुन् । उनले २२ अप्रिलमा जम्मू-कश्मीरको पहलगाममा भएको आक्रमणबारे जानकारी दिँदै भनेका छन्, 'यस आक्रमणले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो ।' भारतीय विदेशमन्त्री जयशंकरले बताए अनुसार २२ अप्रिलको पहलगाम आक्रमणपछि भारतले ७ मेमा 'आतङ्कवादी ठेगानाहरू'लाई लक्षित गर्दै सीमा पार आक्रमण गरेको हो । जयशंकरले भने, 'हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरिन्छ भने कुनै शंका छैन- हामी त्यसको दृढ र कडा जवाफ दिनेछौं ।' जयशंकरले इरानी विदेशमन्त्री अरागचीलाई भने, 'एउटा छिमेकी र नजिकको साझेदारको हैसियतले तपाईंले वर्तमान परिस्थितिबारे राम्रोसँग जानकारीमा रहनु आवश्यक छ ।' बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेको जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हो । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।
नेपाली उत्पादनलाई विदेश निर्यातमा जोड दिऔं : उद्योगमन्त्री
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालीहरूले आफ्नो उत्पादनलाई देश र दुनियाँले देख्ने गरी विश्वव्यापी रूपमा व्यापारीकरण गर्न आवश्यक रहेको बताएका छन् । १० औं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार हाल मुलुकले अपेक्षाकृत ढंगले अन्तर्राष्ट्रियस्तरमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सकिरहेको छैन । उनले भने, ‘हामीले आयात र निर्यातको अवस्था देखेकै छौं । विदेशी वस्तु बढी मात्रा प्रयोग गर्ने गरेका छौं । तर स्वदेशी वस्तुहरूलाई निर्यात गर्न सकिरहेका छैनौं । अब यसलाई वृद्धि गर्नुपर्नेछ । यसका लागि विशेष गरी निजी क्षेत्र र उद्योग वाणिज्य आपूर्तिको क्षेत्रले लाग्नुपर्ने देखिन्छ । पछिल्लो प्रतिस्पर्धा या पछिल्ला संघर्षहरू आफ्नौ उत्पादन ब्राण्डमा लगाउनुपर्छ ।’ ‘हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ । ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग हुन्छ,’ उनले थपे । मन्त्री भण्डारीले यसका लागि ठोस नीति तथा योजना बनाउन आवश्यक रहेको बताए। निर्यातलाई चलायमान बनाउन सरकार लागि परेको समेत उनको भनाइ छ । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।
भृकुटीमण्डपलाई व्यवस्थित बनाउने सरकारको योजना दबाउने काम नहोस् : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । भृकुटीमण्डपमा आजदेखि १० औं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली नेपाली उत्पादनको अन्तर्राष्ट्रिय व्यापारीकरण र मुलुकको अर्थतन्त्रमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। उनले नेपाली वस्तुको गुणस्तर र ब्राण्डलाई विश्व बजारमा पुर्याइने जानकारी दिए । नेपाली वस्तुको विदेशी बजार माग धेरै आउने अपेक्षा रहेको उनको भनाइ छ । मेलाले विदेशी तथा स्वदेशी व्यवसायीहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको विश्वास छ । उनले नेपाली उपात्दनको ब्राण्डिलाई विश्व बजारमा पु¥याउनु जरुरी रहेको पनि उल्लेख गरे । उपाध्यक्ष श्रेष्ठले भृकुटीमण्डपको अवस्था जीर्ण भएकाले तत्काल कदम चाल्न सरकारलाई अनुरोध गरे । उनले भने, ‘हाम्रो देशमा अन्तर्राष्ट्रियस्तरीय मेला महोत्सवको आयोजना गर्न निकै समस्या छ । भृकुटीमण्डपको अवस्था जीर्ण छ । हामीले सोंचेअनुसारको मेलालाई सभ्य र भव्य बनाउन सकिरहेका छैनौं । हाम्रा छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरीय प्रर्दशनी केन्द्र छन् । प्रदर्शनी केन्द्रको अभावले हाम्रो उत्पादन अनि हाम्रो ब्राण्डिङको अन्तर्राष्ट्रियकरण हुन सकेको छैन ।’ मेला प्रदर्शनीका लागि दीर्घकालीन समाधान खोजिनुपर्नेमा उनको जोड छ । आफूहरुले सरकारसँग बारम्बार माग गर्दै आए पनि यसको समाधान हुन नसकिएको उनको आक्रोश छ । उपाध्यक्ष श्रेष्ठले सरकारलाई उद्योगमन्त्रीमार्फत व्यवस्थित र सुविधा सम्पन्न प्रदर्शनीको व्यवस्था गरिदिन माग समेत गरे । उनले भने, ‘सरकारले आगामी नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सभा, समारोह, गोष्ठी सेमिनारलगायत मनोरञ्जन पार्क बनाउने भनेको छ यसलाई दबाउने काम नहोस् ।’ उनले १० खर्बको निर्यात गर्न विश्व बैंकले डकुमेन्ट तयार गरिसकेको र त्यसमा धुलो लागिसकेको समेत उल्लेख गरे।
आजदेखि भृकुटीमण्डपमा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु (फोटो-फिचर)
काठमाडौं । दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा विभिन्न देशहरूहरुको सहभागी रहेको छ । व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू राखिएको जानकारी दिए । यो मेलाबाट नेपाली सामग्रीको गुणस्तर र ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने उनको विश्वास छ। मेलामा चीनबाट पावर ट्रान्समिशन इक्विपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् । मेलामा चीनका ४० कम्पनीले सहभागी जनाएका छन् । चिनियाँ विद्युतीय सवारीसाधनका पार्टपूर्जा, हस्तकला, वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी छन् । मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना गरिएको हो । यसैगरी, हेरिटेज कार्पेट सहप्रायोजकको रूपमा रहेको छ । मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइएको छ । हेर्नूहोस् तस्बिरहरू : नरेश बोहोरा/विकासन्यूज
बजाज नेपालको ‘ह्वील्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न
काठमाडौं । बजाज नेपालले 'ह्वील्स अफ मेमोरी' फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ । प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू सेयर गर्न आग्रह गरिएको थियो । प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ । तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरूप १२ जना विजेता छनोट गरिएको छ । सम्मानस्वरूप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन भइरहेको छ । कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ । साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरूबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ । नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।