गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला : ४ लाखको सिस्नो र २ लाखको गुन्द्रुक बिक्री
बागलुङ । जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरू अहिले आर्थिक रूपमा सवल बनेका छन् । जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् । स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताइन् । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उनको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनले बताइन् । उनले भनिन्, ‘बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारी नै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरू अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।’ आफूहरूले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उनको भनाइ छ। मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताइन् । गत वर्ष चार लाखको सिस्नोको पाउडर, दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उनले जानकारी दिइन् । जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताए । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उनको भनाइ छ। महिलाले सुरुमा करिब २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरूको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् । रासस
एक्स बैंकर र बैंक अफ इङ्ग्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नी क्यानडाका प्रधानमन्त्री बन्दै
काठमाडौं । ५० वर्षीय मार्क कार्नीले लिबरल पार्टीका अन्य प्रमुख प्रतिस्पर्धीहरूलाई पराजित गर्दै पार्टीको नेतृत्वको चुनाव जितेका छन् । अब उनी जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै क्यानडाका नयाँ प्रधानमन्त्री बन्नेछन् । उनी पूर्व बैंकर र बैंक अफ इङ्ग्ल्याण्डका पूर्वगभर्नर हुन् । फोर्ट स्मिथमा जन्मिएका कार्नीले ब्रुकफिल्ड एसेट म्यानेजमेन्टमा आफ्नो भूमिका तथा ब्लूमबर्ग एलपीको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष पदमा रहेर विभिन्न कर्पोरेट भूमिकाहरूबाट प्रशस्त सम्पत्ति कमाएका छन् । उनको नेटवर्थ ६.९७ मिलियन डलर आँकलन गरिएको छ । कसरी खडा गरे आफ्नो साम्राज्य? कार्नीले आफ्नो अधिकांश सम्पत्ति वित्तीय क्षेत्रमा लामो अनुभवबाट कमाएका हुन् । उनले आफ्नो करिअरको सुरुआत गोल्डम्यान स्याच्समा १३ वर्ष काम गरेका थिए । अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी पूरा गरेपछि उनले यो इन्भेस्टमेन्ट बैंकमा काम गर्न थालेका हुन् । उनले बोस्टन, लन्डन, न्युयोर्क, टोकियो र टोरन्टोजस्ता विश्वका प्रमुख वित्तीय केन्द्रहरूमा काम गरेका छन् । महत्त्वपूर्ण पदहरूमा अनुभव मिडिया रिपोर्टहरूका अनुसार ५९ वर्षीय कार्नीले सावरे रिस्कका सह-प्रमुख तथा इनभेस्टमेन्ट बैंकिङका प्रबन्ध निर्देशकका रूपमा काम गरेका थिए । यस अवधिमा उनले ठूलो मात्रामा सम्पत्ति कमाए, जुनपछि उनले ‘विशाल सम्पत्ति’ भनेर वर्णन गरेका थिए । उनले दक्षिण अफ्रिकाका नागरिकहरूलाई रंगभेद समाप्त भएपछि अन्तर्राष्ट्रिय बण्ड बजारमा प्रवेश गर्न मद्दतसमेत गरेका थिए । सन् १९९८ को रुसी वित्तीय संकट र २००८ को वित्तीय संकटजस्ता आर्थिक उतार–चढावको बेलामा निजी पुँजी र मुद्रा बजारहरूमा उनको अनुभव अत्यन्त उपयोगी साबित भएको थियो । कार्नी भन्छन्, ‘जब म गोल्डम्यान स्याच्समा काम गर्थें, त्यतिबेला यो ब्रान्ड विश्वको सबैभन्दा ’विषाक्त’ वित्तीय संस्था होइन, बरु सबैभन्दा राम्रो वित्तीय ब्रान्ड थियो ।’ बैंक अफ क्यानडा र बैंक अफ इङ्ग्ल्याण्डका गभर्नर त्यसपछि कार्नी केन्द्रीय बैंकिङ क्षेत्रमा प्रवेश गरे । सुरुमा उनी बैंक अफ क्यानडाका गभर्नर बने, त्यसपछि सन् २०१३ मा बैंक अफ इङ्ग्ल्याण्डका गभर्नर बने । सन् २००७ को विश्वव्यापी वित्तीय संकट को समयमा उनले क्यानडालाई नेतृत्व दिए । उनकै कारण क्यानडा जी सेभेन राष्ट्रहरूमा पहिलो देश बन्यो जसले संकटअघिको आफ्नो जीडीपी स्तर पुनः प्राप्त गर्न सफल भएको थियो । सन् २०१२ मा ’सेन्ट्रल बैंक गभर्नर अफ द इयर’ को उपाधि पाएपछि उनी झन् चर्चित बने । क्यानडाको अर्थतन्त्रलाई मजबुत बनाए कार्नीले आफ्नो दूरदर्शिता र कुशल नेतृत्वको माध्यमबाट क्यानडाको अर्थतन्त्रलाई मजबुत बनाए । उनको नेतृत्वमा क्यानडाले धेरै आर्थिक चुनौतीहरू सफलतापूर्वक सामना गर्यो । अब प्रधानमन्त्रीका रूपमा उनले क्यानडालाई कुन नयाँ उचाइमा पुर्याउने हुन्, त्यो हेर्न बाँकी छ । उनका नीतिहरू र निर्णयहरूले देशको भविष्यलाई आकार दिने अनुमान छ । क्यानडाका नागरिकहरूले उनको नेतृत्वबाट ठूलो आशा गरेका छन् ।
बेष्ट फाइनान्सको सीईओ बने बीएन घर्ती, दशकपछि बैंकिङ क्षेत्रमा पुनरागमन
काठमाडौं । एक दशकपछि बालनरसिंह (बीएन) घर्ती पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका छन् । घर्तीमाथि लागेका आरोप अदालतले सफाइ दिएपछि उनी पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका हुन् । बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ । फागुन २६ गतेदेखि लागू हुने गरी घर्ती फाइनान्स कम्पनीको सीईओ बनेका हुन् । उनलाई आगामी ४ वर्षको लागि फाइनान्सको सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजसुन्दर श्रेष्ठले जानकारी दिए । उनी तत्कालीन किष्ट बैंकको कामु सीईओ भएर काम गरेको बेला मुद्दा परेको थियो । लामो समय कानुनी झन्झटमा रहेका उनले अदालतबाट ‘क्लिनचिट’ पाएपछि बैंकिङमा पुनः फर्किएका हुन् । अब्बल बैंकरका रूपमा पनि परिचित उनले केही समयअघि मात्रै ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।
मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
काठमाडौं । टेस्लाको सेयरले अहिलेसम्म यस्तो घाटा बेहोरेको थिएन । जबदेखि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क वाशिंगटन गएर ट्रम्प प्रशासनमा सामेल भए तबदेखि टेस्लाको सेयर घटिरहेको छ । लगातार सात हप्तासम्म टेस्लाको सेयर घटेको छ । सार्वजनिक कम्पनी बनेको १५ वर्षमा यो टेस्लाको अहिलेसम्मकै सबैभन्दा लामो गिरावट हो । २०२५ मा करिब ३० प्रतिशत गिरावट यस वर्ष टेस्लाका सेयरमा करिब ३० प्रतिशत गिरावट आएको छ। यो गिरावट विश्वका प्रमुख कम्पनीहरू गुगल र एनभीडीयाको भन्दा पनि धेरै हो । गुगलका सेयरहरू यस वर्ष करिब ८ प्रतिशत घटेका छन् भने एनभीडीयाका सेयरमा करिब १८ प्रतिशत गिरावट आएको छ । टेस्लाका सेयर पछिल्लो एक महिनामा मात्रै करिब २५ प्रतिशत घटिसकेका छन् । विश्लेषकहरूले टेस्लाका नयाँ गाडीहरूको बिक्री घट्दै गएको र ‘कम लागतको मोडेल’ सम्बन्धी मस्कबाट हालसालै कुनै अपडेट नआएको कारण देखाएका छन् । गोल्डम्यानका विश्लेषकहरूले युरोप, चीन र अमेरिकाका विभिन्न बजारमा टेस्लाका इलेक्ट्रिक गाडी बिक्री घटेको उल्लेख गरेका छन् । गोल्डम्यानका विश्लेषकहरूले भने, ‘चीनमा एफएसडी (पूर्ण स्वचालित ड्राइभिङ) को लागि टेस्लाले कडा प्रतिस्पर्धा सामना गरिरहेको छ, जहाँ प्रमुख प्रतिस्पर्धीहरूले स्मार्ट ड्राइभिङ सुविधाहरूको लागि छुट्टै सफ्टवेयर खरिद गर्नुपर्दैन ।’ यसैबीच बाएर्डले टेस्लालाई ‘बेयरिश फ्रेश पिक्स’ सूचीमा समावेश गरेको छ । विश्लेषकहरूले लेखेका छन्, ‘उत्पादन अवरोधले टेस्लाको आपूर्ति चेनलाई जटिल बनाउनेछ ।’ मस्कको राजनीति र प्रभाव तर वाल स्ट्रिटका लगानीकर्ताहरू मात्र बिक्री र उत्पादनजस्ता मौलिक कारकहरूलाई लिएर चिन्तित छैनन् । मस्कको राजनीति र ह्वाइट हाउसमा उनको संलग्नताले टेस्लामा कति असर पार्नेछ भन्ने विषयमा पनि छलफल भइरहेको छ । बाएर्डका विश्लेषकहरू लेख्छन्, ‘मस्कको ट्रम्प प्रशासनसँगको सम्बन्धले माग पक्षमा अनिश्चितता थपेको छ ।’ मस्क हालै ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ (डीओजीई) को नेतृत्व गरिरहेका छन् । उनी पहिल्यैदेखि कृत्रिम बौद्धिकता स्टार्टअप एक्सएआई, सामाजिक सञ्जाल कम्पनी एक्स र अन्तरिक्ष तथा रक्षा कम्पनी स्पेसएक्सको नेतृत्व गरिरहेका थिए । टेस्ला र मस्कविरुद्धको प्रतिक्रियाहरू मस्क हाल ट्रम्प प्रशासनको संघीय सरकारको बजेट, श्रमशक्ति र संस्थागत क्षमतामा कटौती गर्ने प्रयासको सार्वजनिक अनुहार बनेका छन् । साथै उनी एक्समा विवादास्पद राजनीतिक टिप्पणीहरू पोस्ट गर्दै आएका छन् । अमेरिका र युरोपमा मस्क तथा टेस्लाविरुद्धको असन्तुष्टि बढ्दै गएको छ । टेस्लाका सोरूमहरूमा आगजनी तथा तोडफोडका घटनाहरू पनि देखिएका छन् । यहाँसम्म कि टेस्लाका कट्टर समर्थक विश्लेषकहरू र प्रशंसकहरू पनि अब मस्कको राजनीतिक गतिविधिले टेस्लाको ग्राहक र लगानीकर्तामा असर पारिरहेको स्वीकार्न बाध्य भएका छन् । ईभी समर्थक वेबसाइट क्लिनटेचनिकाले बिहीबार ‘टेस्लाका मालिकहरूले अब आफ्नो गाडी बेच्नुपर्छ ?’ भन्ने शीर्षकमा एक नैतिक लेख प्रकाशित गर्यो । उक्त लेखमा टेस्लाको बोर्डले मस्कलाई सीईओ पदबाट हटाउनुपर्छ कि भनेर बहस गरिएको थियो। मस्क र टेस्लाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । टेस्लाका बुलहरूका लागि कठिन समय शुक्रबार वेडबुश सेक्युरिटीजका ड्यान आइभ्सले लेखे, ‘टेस्लाका बुलहरू (उत्साही लगानीकर्ताहरू) अहिले कठिन अवस्थामा छन् । मस्क, डीओजीई र ट्रम्प प्रशासनसँग सम्बन्धित नकारात्मक धारणा विश्वभर फैलिएको छ ।’ उनले यो समय टेस्ला बुलहरूका लागि ‘गम्भीर परीक्षणको क्षण’ भएको बताए । तर वेडबुशले यो सेयरको गिरावटलाई अवसरको रूपमा लिएको छ । फर्मले टेस्लालाई आफ्नो ‘सबैभन्दा उत्कृष्ट विचारहरू’ सूचीमा समावेश गरेको छ र १२ महिनाभित्र ५५० डलरको लक्ष्य निर्धारण गरेको छ । वेडबुशले लेख्यो, ‘टेस्लाका लागि ट्रम्प प्रशासनकै नेतृत्व सबैभन्दा राम्रो कुरा हुनसक्छ किनकि यसले स्वचालित गाडीहरूको लागि संघीय नियमहरू नरम पार्नेछ।’ विश्वभर टेस्लाको बिक्रीमा गिरावट हाल विश्वभर टेस्लाका कारहरूको बिक्री घटिरहेको छ । जर्मनीमा फेब्रुअरी महिनामा ७६ प्रतिशत, नेदरल्याण्डमा २४ प्रतिशत, स्वीडेनमा ४२ प्रतिशत, फ्रान्समा ४५ प्रतिशत, इटालीमा ५५ प्रतिशत, स्पेनमा १० प्रतिशत र पोर्चुगलमा ५३ प्रतिशतले बिक्रीमा गिरावट आएको छ । चीनमा उत्पादित टेस्ला गाडीहरूको विश्वव्यापी बिक्रीमा ४९ प्रतिशत गिरावट आएको छ । यो गिरावटले टेस्लाको भविष्यमा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ। कति घट्यो मस्कको नेटवर्थ ? ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार एलन मस्कको नेटवर्थ यस वर्ष १०३ अर्ब डलरले घटेको छ । यद्यपि यसको बावजुद पनि उनी अझै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अहिले मस्कको नेटवर्थ ३३० अर्ब डलर रहेको छ । यस वर्ष सम्पत्ति गुमाउने मामलामा पनि मस्क पहिलो स्थानमा छन् । उनको सम्पत्ति घट्नुको मुख्य कारण टेस्लाका सेयरहरूमा आएको भारी गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)
सात महिनामा ३२ प्रतिशतले बढ्यो सेयरधितो कर्जा, माछापुच्छ्रे र नेपाल एसबिआईको उच्च वृद्धि
काठमाडौं । सात महिनाको अवधिमा वाणिज्य बैंकको सेयरधितो कर्जा ३२.३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकको सेयरधितो कर्जा गत असारको तुलनामा माघसम्म ३२.३८ प्रतिशतले बढेको हो । वाणिज्य बैंकहरुले माघसम्म कुल ९३ अर्ब १२ करोड ४० लाख रुपैयाँ प्रवाह गरेको छ भने गत असारमा ७० अर्ब ३४ करोड ४० लाख रुपैयाँ लगानी गरेका थिए । यो अवधिमा सबैभन्दा बढी सेयरधितो कर्जा वृद्धि माछापुच्छ्रे बैंकको देखिएको छ । सो बैंकको सेयरधितो कर्जा १९७.१६ प्रतिशतले बढेको छ । बैंकले गत असारमा कुल ४६करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघसम्म कुल १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । यस्तै नेपाल एसबिआई बैंकको सेयरधितो कर्जा पनि १३४.४७ प्रतिशतले बढेको छ । बैंकले गत असारमा २० करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेकोमा माघसम्म कुल ४७ करोड २० लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कुमारी बैंकको सेयरधितो कर्जा ९७.४७ प्रतिशत, एनएमबिको ८१.१५ प्रतिशत, प्राइमको ६१.७१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरधितो कर्जा ५८.८२ प्रतिशतले बढेको देखिन्छ । माघसम्म सबैभन्दा बढी सेयरधितो कर्जा नबिल बैंकले लगानी गरेको छ । नबिलले माघसम्म कुल १२ अर्ब ९५ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारमा यस बैंकले ११ अर्ब ४२ करोड ७० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको थियो ।
भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिमालय पर्वत श्रृंखलामा बेला—बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताए । उनले केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे। उनले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताए । विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाई घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको बताए । अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको जानकारी दिए । राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ ।’ राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउन जरुरी रहेको बताए ।
सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट हुने
काठमाडौं । सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच समझदारी भएको छ । बैंक र ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सीप अनुसारको रोजगारी नहुँदा विदेशिँदै युवा
सिन्धुली । सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर शहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त । चिया पसलकै एउटा कुनामा भेटिए पुजन बस्नेत । उनी तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुनुहुन्छ । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी)मा स्नातक गरेका छने । उनीसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर सीप अनुसारको काम र कमाइ छैन । बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गरे । तर लगानीको अभावले सम्भव भएन । बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो । उनले भने, ‘लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन । त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु ।’ रोजगारीका लागि विदेशिने निर्णय उनको रहर नभएर बाध्यता हो । त्यसो त उनले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिएका थिए । १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन । हुन त पुजनले जिल्लास्थित एक संस्थामा काम गरिरहेका छन् । तर श्रमअनुसारको पारिश्रमक नपाउँदा उनीमा नैराश्यता छाएको छ । विहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उनको गुनासो छ । यो केवल बस्नेतको कथा मात्र होइन । उनी जस्ता धेरै युवाहरु यही बाध्यताले विदेशिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् । बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा छन् । उनी पढाइलाई निरन्तरता दिने वा अधुरै छाड्ने भन्ने अन्योलमा छन् । ‘घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,’ सविनाले भने । सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन् । उनीहरूसँग कुराकानी हुन्छ । विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ । पुजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ । आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा वर्षेनी १० हजार युवा जिल्लाबाट विदेशिएका छन् । वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेशिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भएपनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन । सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भइ फर्किएका छन् । यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन । रासस