विकासन्युज

अमेरिकी इस्पात भन्सार शुल्कबाट मुक्त नहुनु ‘खेदजनक’ : जापान

टोकियो । जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र एल्युमिनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’ भएको बताएको छ । जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (०४०० जिएमटी बुधबार) मा लागू भएको भन्सार शुल्कको विवरण छलफल गर्न जारी राख्ने बताए ।  ‘व्यापार सीमित गर्ने व्यापक उपायहरूले जापान–अमेरिका आर्थिक सम्बन्धका साथै विश्व अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्ने जोखिम रहन्छ’, हयासीले पत्रकारहरूलाई भने, ‘जापानलाई अतिरिक्त भन्सार लगाउनबाट बाहिर नराखिएकामा खेदजनक छ ।’ सन् २०२४ मा जापानले तीन करोड १४ लाख टन इस्पात निर्यात गरेको थियो । सोमध्ये ११ लाख टन अमेरिकामा गएको थियो । वासिङ्टनका अनुसार यो देशको इस्पात आयातको चार प्रतिशत हो । ‘जापानी इस्पात र एल्युमिनियम उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई हानी गर्दैन, बरु, हाम्रा उच्च गुणस्तरका उत्पादनहरू प्रतिस्थापन गर्न कठिन छ र अमेरिकी निर्माण उद्योगको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन आवश्यक छ’, हयासीले भने । अर्थव्यवस्था, व्यापार र उद्योगमन्त्री योजी मुटोले यस हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूलाई जापानलाई धातु र आगामी सवारी भन्सार शुल्कबाट छुट दिन आग्रह गरेका थिए । ‘मन्त्री मुटोको अमेरिकी भ्रमणका क्रममा वासिङ्टनले जापानसँगको आफ्नो सम्बन्धलाई प्राथमिकताका रूपमा लिएको र संयुक्त राज्य अमेरिकामा जापानको लगानीका साथै अमेरिकी अर्थतन्त्रमा रोजगारीका माध्यमबाट खेलेको भूमिकालाई मूल्यवान ठानेको आफ्नो स्थिति व्यक्त गरेको थियो’, हयासीले भने । ‘संयुक्त राज्य अमेरिकामा इस्पात र एल्युमिनियमको जापानी निर्यातको अनुपात… धेरै सानो छ, त्यसैले जापानी कम्पनीहरूमा प्रत्यक्ष प्रभाव त्यति ठूलो हुनेछैन’, जापान बिजनेस फेडरेसनका अध्यक्ष मासाकाजु टोकुराले यस हप्ताको सुरुमा भनेका थिए । यद्यपि विशेष गरी धेरै जापानी कम्पनीहरू मेक्सिको र क्यानाडामा विस्तार भएका छन् र त्यहाँबाट संयुक्त राज्य अमेरिकामा निर्यात गरिरहेकाले अटोमोबाइलहरूमा लगाइएको भन्सार शुल्कले महत्त्वपूर्ण प्रभाव पार्नेछ । ‘सबैभन्दा ठूलो समस्या भनेको व्यापारको पूर्वानुमान क्षमतामा आएको गिरावट हो, जसले कम्पनीहरूलाई लगानी गर्न हिचकिचाउने बनाउन सक्छ’, टोकुराले भने । जापान विश्वको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता टोयोटाको घर हो र अटो उद्योगको स्वास्थ्यले पार्ट्स निर्माणदेखि इस्पात र माइक्रोचिपसम्म धेरै क्षेत्रहरूलाई असर गर्छ । सन् २०२४ मा देशको २१३ खर्ब येन (एक खर्ब ४५ अर्ब डलर) अमेरिकी निर्यातमा कार र अन्य सवारी साधनको हिस्सा लगभग एक तिहाइ थियो । रासस

कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच सम्झौता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच सम्झौता भएको छ । साना तथा मझौला उद्यमअन्तर्गत यातायात सेवासम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रमअन्तर्गत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा सुरक्षण गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र अग्नि हायरको तर्फबाट महाप्रबन्धक अरुणराज उपाध्यायले हस्ताक्षर गरे । यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नि हायर पर्चेजले स्वरोजगार तथा व्यवसाय प्रवद्र्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यावसायीक कृषि प्रवर्द्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा अग्नि हायर पर्चेजले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम असी प्रतिशतसम्म भुक्तानी दिनेछ । यस सम्झौता भएसँगै कोषले आफ्नो व्यवसाय विस्तारलाई नयाँ शिराबाट अगाडि बढाएको जनाएको छ । यसले हायर पर्चेज कम्पनी समेत अन्य बैंक तथा वित्तीय संस्थाहरू जस्तै व्यवसाय विस्तारमा उत्प्रेरित हुने साथै कृषि तथा यातायात क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विकास गर्न चाहने युवा उद्यमीले सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छुट्टै शीर्षक वा उपशीर्षकअन्तर्गतको कर्जा सुरक्षण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र अग्नि हायर पर्चेजको कर्जा तथा असूली विभागको विभागीय प्रमुख प्रबन्धक विराट काजी राउतको उपस्थिति रहेको थियो ।

पोर्शेले मार्जिन जोगाउन कारको मूल्य बढाउने र लागत कटौती गर्ने सम्भावना

काठमाडौं । पोर्शेले कम बिक्री, उच्च लागत र व्यापार सम्बन्धी चिन्ताले सन् २०२५ को आम्दानीलाई असर गर्ने चेतावनी दिएको छ । कम्पनीले अमेरिकाद्वारा यूरोपियन युनियन (ईयू) आयातमा सम्भावित ट्यारिफ वृद्धिभन्दा अगाडि नै असर गर्ने चेतावनी दिएको हो । यसले पोर्शेलाई युरोपको प्रमुख स्टक सूचकांकमा सबैभन्दा ठूलो प्रतिशत गिरावट भोग्नुपर्ने स्थिति बनाएको छ । कार निर्माता कम्पनीले सम्भावित २५ प्रतिशत ट्यारिफ लागत उपभोक्ताहरूमा कसरी हस्तान्तरण गर्ने भन्ने मूल्याङ्कन गर्दै थियो । मूल्यांकनले मार्जिनमा दबाब नदिई बिक्री एकाइमा हुने गिरावटलाई सन्तुलित गर्न मूल्यवृद्धिको संकेत ग¥यो । आफ्नो अभिभावक कम्पनी फक्सवागनजस्तै पोर्शे पनि लागत कटौतीको अभियानमा छ । कम्पनीले करिब ४ हजार जागिर घटाउने र थप कटौतीको योजना बनाउँदैछ । पोर्शेले गत महिनामा चेतावनी दिएको थियो कि नयाँ आन्तरिक दहन इन्जिन र हाइब्रिड मोडेलहरूमा ८०० मिलियन यूरो (८७२.८० मिलियन) खर्चका कारण नाफामा असर पर्नेछ । पोर्शेको बिक्री गत वर्ष ३ प्रतिशतले घटेको थियो र यस वर्ष अझ कम बिक्रीको अपेक्षा गरिएको छ । पछिल्ला लगानीहरूका कारण मूल्यह्रासले यसको मार्जिनलाई केवल १०-१२ प्रतिशतमा झार्ने अनुमान गरिएको छ । यसले आफ्नो मध्यावधि नाफा मार्जिन लक्ष्य पनि घटाएको छ । जुन दशकको अन्त्यतिर मात्र पुग्ने अपेक्षा गरिएको छ । बिहान पोर्शेको सेयरहरू ४.५ प्रतिशतले घटे । जर्मनीको डीएएक्स सूचकांकमा प्रतिशतको हिसाबले सबैभन्दा ठूलो गिरावट देखाइरहेको थियो । विश्लेषकहरूले पोर्शेले बिक्रीमा आएको गिरावटलाई उच्च मूल्य निर्धारणद्वारा सन्तुलित गर्न नसक्ने जनाएका छन् । चीनमा सङ्घर्ष पोर्शे स्टक बजारमा प्रवेश गरेपछि आफ्नो गरिमा गुमाउँदै आएको छ । विशेष गरी चीनमा पोर्शेले चीनमा निकै संघर्ष गरिरहेको छ । यहाँ २०२४ मा बिक्री २८ प्रतिशतले घटेको छ । चिनियाँहरू एक रियल स्टेट संकटले हल्लाएका कारण विलासी सामानहरूमा खर्च गर्न अनिच्छुक छन् । सस्तो देखिने उस्तै खालका उत्पादनहरूको वृद्धि, जस्तै शाओमीको एसयू सेभेनले जर्मन कार निर्माताहरूका सम्भावनाहरूलाई अझ कमजोर बनाएको छ । अडी, मर्सिडिज बेन्ज र बीएमडब्ल्यूले पनि चीनमा तीव्र बिक्री गिरावट दर्ता गरेका छन् । पोर्शेले आफ्नो सफ्टवेयर सुधार गर्ने योजना बनाइरहेको छ र आफ्नो विरासत डिजाइनलाई अघि बढाउन ग्राहकहरूलाई पुनः जित्ने प्रयास गर्ने कम्पनीले जनाएको छ । पोर्शेले कम बिक्री मात्रा हुँदाहुँदै पनि मार्जिन जोगाउन आफ्नो डिलर नेटवर्क र आफ्नै अपरेसनमा थप लागत कटौती गर्ने जनाइएको छ । ग्लोबल अपरेटिङ नाफा २०२४ मा २२.६ प्रतिशतले घटेर ५.६ अर्ब यूरोमा झरेको छ। (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

जाँदा जाँदै आफ्नो हस्ताक्षरका प्रयाप्त नोट बजारमा पठाएर बाहिरिँदै गभर्नर, प्रिन्टिङका लागि यी ६ कम्पनी छनोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली चलनचल्तीका नोट छाप्न ६ वटा कम्पनीलाई छनोट गरेको छ । राष्ट्र बैंकले बुधबार सूचना सार्वजनिक गर्दै नोट छनप्नका लागि ६ वटा कम्पनी छनोट भएको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डी ला रुउ इन्टरनेसनल लिमिटेड, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ वक्र्सलाई नोट छाप्नका लागि छनोट गरेको हो । छनोट भएका ६ वटै कम्पनीले दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेन्डर) मा प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी चैतमा राष्ट्र बैंकबाट बाहिरिँदैछन् । उनी बाहिरिँदै गर्दा नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएका हुन् । अहिले गभर्नर अधिकारीको हस्ताक्षर रहेका नोट बजारमा सीमितमात्रै देखिन्छन् । यसअघिका गभर्नर चिरञ्जिवी नेपालले हस्ताक्षर गरेका नोट बजारमा भेटिन्छन् ।

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

काठमाडौं ।  प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ । कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, भैरहवाबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-छेन्दु उडान हुँदै

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।  ‘पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहदा पनि उडान सुचारु हुन नसक्दा हामी निजी क्षेत्रका पर्यटन व्यवसायीले नै केही प्रयास गरौँ भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्स सँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो’, उनले भने । यसमा विशेषतः चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले सुरुआती उडानहरुमा सहकार्य गरिरहेको बताउँदै उनले नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले पनि संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी दिए । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । आगामी तीन महिनासम्मको अवधिमा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाईमार्गबाट सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जानकारी गराएको उनले बताए । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेको परिषद्ले जनाएको छ । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप पहिलोपटक व्यावसायिक चार्टर्ड उडान हुन लागेको बताउँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अब चार्टर्ड मात्र नभई नियमित उडान हुनुपर्ने बताए । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकिएमा त्यसले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । नेपालस्थित चिनिया राजदूतावासका डिसिएम वाङ सिनले पोखराबाट हुन लागेको व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै नेपाल चीनबीचको वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्दै जाने उनले विश्वास व्यक्त गरे । उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । उक्त दिन दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्नेछन् । उक्त व्यावसायिक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी बन्ने जनाइएको छ । पहिलो व्यावसायिक उडानका क्रममा हुनेसात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जनकारी लिइने परिषद्का महसचिव जीवनराज सापकोटाले जानकारी दिए । त्यस्तै नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै गरिने सेल्स मिसनका कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ’, उनले भने । त्यस्तै पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिहरू सहित समकक्षीसँग भेटवार्ता एवं महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ । सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक गर्न लागिएको व्यवसायिक चार्टर्ड उडान आफैँमा महत्वपूर्ण रहेको पोखरा भ्रमणवर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताए । रासस

क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणः नेपालथोक-बर्खे खोलाखण्डलाई १ करोड ८२ लाखको ठेक्का

काठमाडौं । बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग सरकारले पुनः निर्माणका लागि ४ वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ ।फागुन मसान्तभित्र चारवटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको छ । चार वटा प्याकेजमा ठेक्का आह्वान गरिने सडक विभागका सूचना अधिकारी अमित कुमार शर्माले जानकारी दिए । उनका अनुसार चारवटा प्याकेजमा ठेक्का आह्वान गरिने तथा एउटा प्याकेज जाइकालाई निर्माण गर्न दिने तयारी रहेको छ । उनले भने, ‘पहिलो प्याकेजको बोलपत्र बुधबार भएको छ । हामी छिटोभन्दा छिटो ठेक्का खुलाउने तयारी गरिरहेका छौं । कहाँदेखि कहाँसम्म भन्ने हालसम्म टुङ्गो लागेको छैन ।’ पहिलो प्याकेजमा नेपालथोक-बर्खे खोला सडकखण्डको ठेक्का आह्वान गरेको छ । बुधबार सडक डिभिजन खाल्टे सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडकखण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनःनिर्माणका लागि ठेक्का आह्वान गरेको जनाइएको छ । अब बाँकी तीनवटा प्याकेजमध्ये एउटा प्याकेज पुनःनिर्माणका लागि जाइकालाई दिने बताउँदै जापानलाई पर्खिँदा एउटा प्याकेजको ठेक्का आह्वान गर्न ढिलो हुने बताइएको छ । साढे आठ अर्ब लागतमा स्थायी पुनःनिर्माण गरिने बीपी राजमार्ग स्थायी पुनःनिर्माणमा ४ वटा प्याकेजमध्ये एउटा प्याकेज जाइकालाई पुनर्निर्माणका लागि दिने तयारी भएको छ । एउटा प्याकेज जाइकाले पुनःनिर्माण गरेर बाँकी सरकार आफ्नै लागतमा गर्ने भएको छ । नेपालथोक-बर्खे खोला खण्डलाई १ करोड ८२ लाखको ठेक्का सडक डिभिजन खाल्टे सिन्धुलीले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत पहिलो प्याकेज नेपालथोक–बर्खे खोला खण्डको ठेक्का आह्वान गरेको विभागले जनाएको छ । बुधबार सडक डिभिजन सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडकखण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनःनिर्माणका लागि ठेक्का आह्वान गरेको विभागको भनाइ छ । विभागका अनुसार १ करोड ८२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का आह्वान गरेको छ । यो सडकखण्ड निर्माणका लागि ठेक्का आह्वान गरेको मितिले एक महिनाभित्र आवेदन दिनुपर्ने बताइएको छ । आवेदनपछि निर्माण कम्पनी छनोट गरी निर्माणको सम्झौता गरिने समेत जनाइएको छ। निर्माण कम्पनीले सम्झौता गरेको दुई वर्षसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको सडक विभागले जनाएको छ । क्षतिग्रस्त २६ आयोजना पुनःनिर्माणका लागि पौने १९ अर्ब बजेट, बीपी राजमार्गलाई साढे ८ अर्ब

सात दिनपछि बढ्यो सेयर बजार, ८ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार सात दिनपछि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा पुगेको छ । आज १४६ कम्पनीको मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार ३२३ कम्पनीको २ करोड २९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंकको भएको छ । माछापुच्छ्रेको ८१ करोड रुपैयाँको कारोबार भएको छ । साथै हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४९ करोड, घलेम्दी हाइड्रोको ३९ करोड र नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशतले बढेकाे छ । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशतले घटेकाे छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।