काठमाडौंमा ड्रोनबाट हुँदैछ निगरानी, ९० ठाउँमा चेकजाँच
काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’
हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यनी २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए। यही क्षण उनका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उनी सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल भएका छन् । न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाए । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उनी जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उनी अचेल निकै हर्षित छन् । ‘दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु’, उनले भने । हाल उनले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीएका थिए । आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाएका छन् । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताए । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्छन् । ‘मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु । त्यही मूत्र तरकारीमा प्रयोग गर्छु’, उनले भने, ‘यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।’ माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गरेका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहेको बताए । उनी भन्छन्, ‘मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।’ उनले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताए । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाए । चारवटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती गरिरहनुभएका उनले अन्तरबालीका रूपमा बन्दा पनि लगाउँछन् । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताए । यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उनको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उनको आग्रह छ । रासस
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै
काठमाडौं । नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणकोमा प्रकाशन गर्नसमेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्रीदर १९ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३७ पैसा र बिक्रीदर २० रूपैयाँ ४६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
तिते करेला प्रतिकिलो १२० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १७०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १६०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् । फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् । ‘फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,’ फेसबुकमा प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !’
नेपाली चलचित्रका लागि अमेरिका, अस्ट्रेलियाबाट लगानी ल्याउन सकिन्छ: निर्देशक रौनियार
काठमाडौं । नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचय बनाएका निर्देशकमध्येका एक हुन्, दीपक रौनियार । उनले विसं २०७० मा निर्देशन गरेको पहिलो चलचित्र ‘हाइवे’ बर्लिन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘प्रिमियर’ हुने पहिलो चलचित्र बन्यो । निर्देशक रौनियारले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुका साथै ‘अन्तरराष्ट्रिय प्लेटफर्म’मा प्रवेश दिलाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यसै सन्दर्भमा पछिल्ला दिनमा छोटा चलचित्र, वृत्तचित्र तथा चलचित्रहरूले अन्तरराष्ट्रिय महोत्सवमा स्थान पाउने गरेका छन् भने कैयौँ नेपाली चलचित्र अब्बल सावित हुन सफल भएका पनि छन् । यद्यपि यतिमै खुसी हुनुपर्ने अवस्था नरहेको निर्देशक रौनियार बताउँछन् । ‘हामीले विश्वका अधिकांश चलचित्र महोत्सवमा नेपाली झण्डा फरफराइ रहेका छौँ । चलचित्रमार्फत पनि हामीले देशसँगै कला र संस्कृतिलाई चिनाउने काम गरेका हुन्छौँ । तर, हामी अब त्योभन्दा अगाडि बढ्नुपर्छ, यो विन्दुमा अलमल गर्नुहुँदैन,’ उनले भने । विसं २०७० पछि नेपाली चलचित्र बनाउन विदेशी सहायता पनि जोडिएको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत चलचित्र निर्माणका लागि प्राप्त हुने सहयोगका लागि सोही देशका चलचित्रकर्मी निर्माताका रुपमा जोडिएका हुन्छन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि रहेको ‘चलचित्र ऐन’ नयाँ नआउँदासम्म कठिनाइको सामना गर्नुपरेको निर्देशक रौनियारले बताए । ‘हामीले आफ्ना चलचित्रलाई विदेशीमाझ पुर्याउन सफल भएका छौँ, पुरस्कार पनि जितिरहेका छौँ । तर, उनीहरुको लगानी नेपाल ल्याउन मौजुदा कानुनले रोकेको छ, त्यसलाई संशोधन गरेर चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । किनकी हामीले अहिले जे जस्तो उपलब्धि हासिल गरेका छौँ, त्यसका लागि हाम्रो प्रयास, लगनशीलता र मेहनत जोडिएको छ, तर हामीले चाहेको उपलब्धि हासिल गर्न राज्यको भूमिका र सहयोग आवश्यक छ,’ उनले भने । उनले सर्वोच्च शिखर ‘सगरमाथा’ र ‘खेलकुद’ विधाले जस्तै ‘चलचित्र’ क्षेत्रले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत गरेको छ भन्ने तत्थ्यलाई हामी सबैले मनन गरी सोहीअनुसार यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । आफू सम्बद्ध चलचित्र ‘सेतो सूर्य’ संसारकै सबैभन्दा पुरानो भेनिस अन्तररष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर ‘इन्टरफिल अवार्ड’ जित्न सफल भएपछि विश्वका चलचित्रसम्बन्धी आयोजना हुने धेरै मेला महोत्सवमा पुगेका निर्देशक रौनियार आवश्यक नीतिगत सहयोग, आर्थिक लगानी र अनुकूल वातावरण बनाएर चलचित्रकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउँछन् । ‘मसँगै धेरै चलचित्रकर्मी अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पुगिरहनुभएको छ । हाम्रो काम देखेर लगानी गर्न खोज्ने धेरै छन्, हामीले अहिले नेपाली चलचित्रको राम्रो बजार बनिरहेको संयुक्तराज्य अमेरिका, अस्ट्रेलियालगायतका देशबाट लगानी ल्याउन सक्छौँ । तर, नीतिगत कठिनाइ छ, रचनात्मक स्वतन्त्रता पनि कम छ । यसले हामी जस्ता चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सकेको छैन,’ निर्देशक रौनियारले भने । उनले निर्देशन गरेको पछिल्लो चलचित्र हो, ‘राजागञ्ज’ । उक्त चलचित्रले समाजलाई प्रश्न गर्ने, छलफल गराउने र बाटो देखाउने काम गर्ने उनको भनाइ छ । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको चलचित्रले उठाएको विषयले माथि उल्लेखित तथ्यलाई समेटेको उनले बताए । ‘खेलकुद झैँ चलचित्रले पनि समाजलाई जोड्ने काम गर्छ । हामी चलचित्रकर्मीले आफ्नो दायित्व बोध गरेर त्यस किसिमका विषयवस्तुमा आधारित चलचित्र ल्याइरहेका हुन्छौँ, हामीले गल्तीबाट नै सिक्ने हो । चलचित्रमा पनि गलत गर्नु हुन्न् भन्ने देखाउन गलत देखाएर त्यसले दिएको नकारात्मक परिणामले गरिरहेको असर देखाउँदै सही बाटो रोज्न प्रेरित गर्ने हो । एउटा चलचित्रकर्मीका रुपमा मैले आफ्नो दायित्व बोध गरेको छु,’ निर्देशक रौनियारले भने । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्रले पुरस्कार जिते पनि घरेलु व्यापारमा भने त्यस प्रकारको सफलता निर्देशक रौनियारले निर्देशन गर्नुभएको चलचित्रले पाउन सकेको छैन । उनले निर्देशन गर्नुभएको ‘हाइवे’ र ‘सेतो सूर्य’ युट्युबमा सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया आए पनि चलचित्र भवनमा दर्शकको उपस्थिति नगन्य थियो । घरेलु बजारमा कलात्मक चलचित्र कमजोर हुनुलाई जानकारी सम्प्रेषणमा देखिएको कठिनाइ रहेको उनको बुझाइ छ । ‘हामी कहाँ महोत्सवमा छानिएका चलचित्र बुझ्नै कठिन हुन्छ भन्ने भाष्य बनेको छ, त्यो गलत हो । महोत्सवमा पठाउन र चलचित्र भवनमा चलाउन दुई किसिमबाट सम्पादन गरेका हुन्छौँ, साथै उक्त चलचित्रमा गाउँ, समाजकै कथा हुने भएकाले बुझ्न नसकिने वा गाह्रो केही हुँदैन । चलचित्र भवनसम्म आएर हेर्नुभयो भने उस्तै मनोरञ्जन पाउनुहुनेछ, तर यस्ता चलचित्र विषय प्रधान हुन्छन्,’ निर्देशक रौनियारले स्पष्ट गरे । उनले नेपालमा आगामी चैत १ गतेदेखि सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर प्रदर्शन भइसकेको जानकारी पनि दिए ।
आज फागु पूर्णिमा हर्षोल्लासपूर्वक मनाइँदै, आज पहाडी र भोलि तराईका जिल्लामा होली
काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।