विकासन्युज

सिटिजन्स बैंकद्वारा जनकपुरको विद्यालयलाई पंखा सहयोग, करिब १ हजार विद्यार्थी लाभान्वित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ स्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत करिब १ हजार विद्यार्थीको पठनपाठनलाई सहज बनाउन बैंकले यो सहयोग उपलब्ध गराएको हो । विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले विद्यालय प्रशासनलाई पंखाहरू हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै पोखरेलले सानो सहयोगबाट पनि विद्यार्थीहरूलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै, आगामी दिनमा शैक्षिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

सीईओ टीम कुकसँग ट्रम्पको असन्तुष्टि, भन्छन्- म भारतमा नभई अमेरिकामा एप्पल बनेको चाहन्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई आफूले भारतमा उत्पादन नगर्न आग्रह गरेको बताएका छन् । चीनबाट उत्पादन हटाएर अन्य देशतर्फ केन्द्रित हुँदै गरेको एप्पलको कदमप्रति असन्तुष्टि जनाउँदै उनले उत्पादन अमेरिकामा ल्याउन आग्रह गरे । साउदी अरबमा आयोजित यूएस-साउदी लगानी फोरममा बोल्दै ट्रम्पले यस्तो आग्रह गरेका हुन् । मैले टिमलाई भनें, ‘हेर टिम, हामीले तिमीलाई धेरै राम्रो व्यवहार गर्‍यौं, वर्षौंसम्म चीनमा बनाएका कारखानाहरूलाई पनि स्वीकार गर्‍यौं । अब तिमी हामीका लागि बनाऊ । हामीलाई भारतमा तिमीले उत्पादन गर्नुमा चासो छैन, भारत आफै हेर्ला... हामी चाहन्छौं कि तिमी यहाँ बनाऊ’, ट्रम्पले भने । ट्रम्पले एप्पलले अमेरिकाभित्र ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको फेब्रुअरी महिनाको प्रतिबद्धतामा उल्लेख गरेका थिए । चीनमा लगभग ९० प्रतिशत प्रमुख स्मार्टफोन उत्पादन हुने अवस्थामा एप्पलले त्यो निर्भरता घटाउँदै भारतमा उत्पादन बढाउने लक्ष्य लिएको छ । कम्पनीले आगामी केही वर्षमा विश्वभरका २५ प्रतिशत आइफोन भारतमै बनाउने योजना बनाएको छ । राष्ट्रपतिले एप्पलले अमेरिकाभित्र उत्पादन बढाउने तयारी गरिरहेको बताएका छन्, तर थप विवरण भने खुलाएका छैनन् । ट्रम्पले एप्पलबारे टिप्पणी गर्दै भारतसँगको व्यापक व्यापार सम्बन्धबारे पनि बोलेका छन् । उनले भारतलाई 'संसारको सबैभन्दा उच्च शुल्क लिने राष्ट्रमध्ये एक' भने, तर भारतले अमेरिकालाई एक यस्तो प्रस्ताव दिएको उल्लेख गरे जहाँ उनीहरू हामीमाथि 'शून्य शुल्क' लगाउन तयार छन् । ह्वाइट हाउसको अप्रिलमा सार्वजनिक गरिएको व्यापार सुरक्षा नीतिअन्तर्गत ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा २६ प्रतिशत पारस्परिक शुल्क लगाएका छन्, जुन हाल जुलाईसम्मका लागि अस्थायी रूपमा घटाइएको छ । भारतमा एप्पलको प्रमुख असेम्ब्ली साझेदार फक्सकनले भारत सरकारबाट एचसीएल ग्रुपसँग संयुक्त लगानीमा अर्धचालक (सेमिकन्डक्टर) कारखाना निर्माण गर्न अनुमति पाएको छ । एप्पलले चीनमा दशकौं लगाएर आपूर्ति श्रृंखला निर्माण गरेको भए पनि अहिले भियतनाम र भारतजस्ता देशहरूमा उत्पादन क्षमता विस्तार गर्ने प्रयास गरिरहेको छ। तर विज्ञहरूका अनुसार आइफोनको उत्पादन अमेरिकामा सार्नु निकै असम्भवजस्तो देखिन्छ, किनभने त्यसो गर्दा अन्तिम मूल्य अत्यधिक महँगो हुनेछ । अनुमानका अनुसार यदि आइफोन अमेरिका भित्र बनाइयो भने यसको मूल्य एक हजार ५ सयदेखि ३ हजा ५ सयसम्म पर्न सक्छ । हाल एप्पलले अमेरिकामा केही मात्र उत्पादन गर्छ । कम्पनीले आफ्नो म्याक्स प्रो अमेरिका भित्र बनाउने गर्छ । फेब्रुअरीमा एप्पलले टेक्सासमा एप्पल इन्टेलिजेन्सका लागि सर्भर उत्पादन गर्ने कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । कार्यक्रमका क्रममा ट्रम्पले सार्वजनिक रूपमा एनभीडीयाका सीईओ जेन्सेन हुआङको प्रशंसा गरेका थिए ।  'मेरा मित्र जेन्सेन यहाँ हुनुहुन्छ, तर एप्पलका सीईओ टिम कुक यहाँ हुनुहुन्न,'उनले भने ।  ट्रम्पले हुआङको एआई चिप बजारमा ९९ प्रतिशत हिस्सा ओगटेको उपलब्धिको प्रशंसा गरे र एनभीडीयाले अमेरिकी एआई पूर्वाधारमा ५०० अर्ब डलर लगानी गर्ने योजना रहेको उल्लेख गरे । 

अब तलमाथि हुँदैन, दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीवार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताएका हुन् ।  उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन गरेको जानकारी दिए ।  ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्युको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफंग भयो,' उनले भने, 'त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रुपमा थप्यौँ । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ ।’ मन्त्री गुरुङले हिमाली देशहरु जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको भन्दै सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेण्डा स्थापित गर्ने विश्वास व्यक्त गरे ।   

नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा, निर्यात २ खर्ब हुँदा आयात २० खर्ब

काठमाडौं । व्यापार कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । आन्तरिक तथा बाह्य व्यापारको समष्टिलाई नै समग्र व्यापारको रूपमा परिभाषित गर्न सकिन्छ । यद्यपि नेपालले वैदेशिक व्यापारमा अपेक्षित मात्रामा निर्यात विस्तार गर्न नसकेको कारण स्थायी रूपमा व्यापार घाटाको स्थितिमा रहँदै आएको छ । वर्तमान अवस्थामा समेत नेपालको अन्तर्राष्ट्रिय व्यापार उल्लेख्य घाटामै सीमित देखिन्छ । नेपालले चालु आर्थिक वर्षको ८ महिना चैतसम्ममा १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ भने ३४ मुलुकसँग नाफाको व्यापार गरेको छ । नेपालले अफगानिस्तान, डेनमार्क, रुस, अष्ट्रिया, लाटभियालगायत मुलुकसँग नाफामा व्यापार गरेको हो ।  महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार देशमा आन्तरिक उत्पादन कम हुनु तथा भरपर्दो निर्यात गर्ने वस्तुहरूको अभाव हुँदा आयात सधैं बढी र निर्यात कम हुँदा बर्सेनि घाटा बढिरहेको छ । विगत पाँच वर्षको तथ्यांकअनुसार वार्षिक निर्यात २ खर्ब मात्रै छ भने आयात २० खर्ब पुगेको छ ।  नेपालबाट निर्यात हुने वस्तुहरूको प्रकृति हेर्दा अप्रशोधित तथा न्यून प्रशोधित तौल र आयतन बढी मूल्य अभिवृद्धि न्यून हुने वस्तुहरू रहेका छन् ।  आयाततर्फ विलासिताका वस्तु जस्तै इन्धन र दैनिक उपभोग्य वस्तु तथा सवारीसाधन बढी मात्रामा रहेका छन् । उच्च मूल्य र प्रतिस्पर्धात्मक क्षमता भएका आन्तरिक उत्पादनमा वृद्धि गरी निकासी प्रवर्द्धन गरिनु जरुरी छ । भन्सार विभागको तथ्यांकअनुसार विगत पाँच वर्षको आयात यस्तो : अर्बमा  भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात ३ प्रतिशतले घटेर यस आवमा १ खर्ब ५२ अर्ब ३८ करोड रहेकोमा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड पुगेको छ ।  निर्यात गरिएका प्रमुख वस्तुहरूमा भटमास तेल, पामतेल, कटन धागो, ऊनी गलैंचा, जुटका समान अलैंची, तयारी पोशाक, जुसलगायत रहेका छन् । निर्यातको तुलनामा आयात उच्च रहेकाले आव २०८०८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । 

बैंक स्टेटमेन्टको खुलेआम व्यापार, काठमाडौंमै यसरी फस्टाइरहेको थियो फर्जी फ्याक्ट्रीको धन्दा

काठमाडौं । राजधानी काठमाडौंको छेउमै सामान्य टोल । बाहिरबाट हेर्दा शान्त र सामान्य वातावरण । तर, त्यो शान्त वातावरणभित्र ठूलो कर्तुत भएको विषय प्रहरीको अनुसन्धानले देखाएको छ । यो घटनाले सिंगो राज्य संयन्त्र, प्रहरी र अनुसन्धान निकायमाथि पनि थप चुनौती थपेको छ ।  तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा रहेको को त्यो घरभित्र कुनै साधारण काम भइरहेको थिएन । ‘फर्जी कागजात’ निर्माण गर्ने एक एक कारखाना थियो त्यो घर । प्रहरीले बुधबार बिहान त्यही घरमा छापा मार्दा त्यो शान्त वातावरणभित्र भइरहेको ठूलो कर्तुतको खुलासा भयो ।  त्यो कर्तुत गर्ने तीन जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका-१ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका- ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ की २३ वर्षीया अञ्जु खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले योजनाबद्ध रूपमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यो तीन जनाको समूहले राजधानीमै आफ्नो फर्जी उद्योग सञ्चालन गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो । उनीहरुले फर्जी शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट, सरकारी कार्यालयको कागजातपत्र र मेडिकल रिपोर्ट बनाउँदै आएको अनुसन्धानबाट खुलेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार उनीहरू जापान लगायतका देशहरूमा वर्किङ भिसामा जान चाहने युवाहरूलाई 'जरुरी' कागजात बनाइदिने गरेका थिए । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि पीआर वा ग्रिनकार्डका लागि चाहिने मेडिकल रिपोर्टसमेत बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ ।  उनीहरुले मनमोहन मेमोरियल अस्पताल र वीर अस्पताल लगायत नाम चलेका सरकारी अस्पतालको मेडिकल रिपोर्ट पनि बनाउने गरेका थिए भने वाणिज्य बैंकको नक्कली स्टेटमेन्ट बनाउने धन्दा पनि सो समूहले गर्दै आएको बुझिएको छ । बैंक स्टेटमेन्टको आधारमा भिजिट भिसा सजिलै पाउन सकिने विश्वासमा धेरैले उनीहरूबाट सेवा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  यी हुन् बरामद भएका सामान एकेडेमिक ट्रान्सक्रिप्ट - ११० थान क्यारेक्टर सर्टिफिकेट - ६० थान माइग्रेसन सर्टिफिकेट - ४२ थान प्रोभिजनल सर्टिफिकेट - ५० थान जग्गाधनी दर्ता पूर्जा - १० थान बैंक तथा सहकारी संस्थाका लेटरप्याड - १७ थान खाली स्ट्याम्प - १५० थान उनीहरूबाट प्रहरीले स्ट्याम्प मेसिन, प्रिन्टर, हेचिङ मेसिन, लेमिनेसन मेसिन, कम्प्युटर उपकरण र मोबाइल सेटहरूसमेत बरामद गरेको छ । ‘यस्ता कागजातले मात्र अपराधको ढोका खोल्दैनन्, देशकै अन्तर्राष्ट्रिय छवि र भिसा प्रणालीमाथि अविश्वासको बीउ रोप्छन्,’ सूचना अधिकारी आचार्यले भने । आचार्यका अनुसार प्रहरीले तीनै जनामाथि आवश्यक अनुसन्धान सुरु गरेको छ ।  यसका पछाडि अझै ठूलो नेटवर्क हुनसक्ने आशंका प्रहरीको छ ।   

सेयर बजारमा ७ अर्बको कारोबार, १६४ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६१२ बिन्दुमा झरेको छ । आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३२० कम्पनीको १ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोल्टी होटलको भएको छ । सोल्टीको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ४४ करोड, युनिभर्सल पावरको ३३ करोड, न्यादी ग्रपको ३२ करोड र सानीमा माइ हाइड्रोको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

प्रधानमन्त्री ओलीको घोषणा - देउवालाई धुमधामसँग पद हस्तान्तरण गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए । उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ काँग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए ।  प्रधानमन्त्री ओलीले भने, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ । १४ महिनापछि त म पनि त्यही हो मानार्थ । तपाईंहरुकै सदस्य । अहिले यो सबै संयोग हो । कतिपय योग्य मान्छेहरू यसमा आउनै नपाएर बाहिरै बसेका छन् । मौका पाएका छैनन् । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’ प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए ।   

अर्थ संकटमा निजी क्षेत्रको चिन्ता: नीति स्थायित्व र लगानीमैत्री वातावरण माग

काठमाडौं । निजी क्षेत्रले आगामी १० वर्षलाई लगानी दशक घोषणा गर्नेदेखि नागरिकले भोग्दै आएका झन्झटहरु हटाउन माग गरेको छ । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ को सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधीहरु सो कुरा बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको १० वर्षलाई लगानी दशकको घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।  उनले यसबारे अर्थमन्त्रीलाई पनि भनिसकेको बताउँदै लगानी दशकले लगानीगर्ने लगानीकर्तामा उत्साह छर्ने काम गर्ने बताए ।  उनले मुलुकमा नीतिगत स्थायीत्व कायम समेत हुन जरुरी रहेको बताउँदै अबका दिनमा सरकारले यसमा काम गर्न जरुरी रहेकोमा जोड दिए ।  अध्यक्ष ढकालले भने, ‘जति पनि हाम्रो साधारण खर्च बढिरहेको छ, त्यसको स्रोत के हो ? अहिले वैदेशिक सहायता आउन पनि छाडिसकेको छ । आन्तरीक पुँजी परिचालन गरेर यहीबाट राजस्व उठाउनुपर्छ । त्यसका लागि स्रोत भनेको लगानी बिस्तार नै गर्ने हो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नैपर्ने हो । अहिले लगानी प्रवद्र्धनका लागि कानुन पनि परिवर्तन भइसकेको छ । लगानीको वातावरणलाई हामी पहिलो प्राथमिकता दिएर जान सकियो भने लगानी सिर्जना समेत हुनेछ । रोजगारी सिर्जनासँगै राजस्व वृद्धि समेत हुनेछ । धेरैभन्दा धेरै आम जनतालाई सेवा सुविधा समेत दिनेछ ।’  उनले त्यसो हुन सकेमात्रै हामीले चाहेको सुखी नेपाली समृद्ध नेपालको आकंक्षा समेत पूरा हुने दाबी गरे । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले आर्थिक शिथिलताको अवस्था लामोसमयदेखि झेलिरहेको बताउँदै समाधानमा अब राज्य गम्भीर हुनैपर्ने बताए ।  उनले सरकारले हरेक पटक सुधार गर्ने बताएपनि अहिले पनि अवस्था जस्ताको तस्तै रहेको गुनासो गरे । नीतिगत रुपमा केही सुधार हुन नसकेको बताउँदै उनले आयातमा आधारित अर्थतन्त्र भएको देशमा चालु खाता बचतमा हुनु राम्रो नभएको बताए । उनले भने, ‘निजी क्षेत्रले आर्थिक सिथिलताको अवस्था विगतदेखि झेलिरहेको छ । सरकारले हरेक पटक सुधार गर्ने बताएपनि अहिले पनि अवस्था जस्ताको तस्तै । नीतिगत रूपमा केही सुधार हुन सकेको छैन । आयातमा आधारित अर्थतन्त्र भएको देशमा चालु खाता वचतमा हुनु राम्रो होइन । अहिले निजी क्षेत्रको अवस्था जुन शिथिलताबाट ग्रुजिरहेको छ । औद्योगिक उत्पादन निरन्तर घटिरहेको छ । निर्माण क्षेत्र संकुचित छ । साना तथा मझौला व्यवसायीहरुको व्यापार बन्द भएको छ । आम मानिसको हातमा पैसा छैन । यो अवस्थाले देशको उद्योग र लगानी प्रभावित भइहरको छ ।’ उद्योग व्यवसाय सञ्चालन गरेर पाइलैपाइलामा झमेला भोग्नुभन्दा विदेश जाने प्रवृत्ति बढेको अध्यक्ष अग्रवालले बताए । उनका अनुसार यसमा सुधार गर्न जरुरी छ ।  संकुचित नीतिहरुका कारण पछिल्लो तीन वर्षमा १ लाखभन्दा बढी उद्यमी व्यवसायी कालोसूचीमा पर्नु चिन्ताको विषय भएको उनले जानकारी दिए ।  अग्रवालका अनुसार सहकारी संस्था समस्याग्रस्त हुने अवस्थाले हजरौं परिवारको क्रय शक्ति खुम्चिएको, निजी क्षेत्रको मनोवल समेत खस्किएको छ । ऋण लिएर व्यवसाय बिस्तार गर्न आँट नै आएको छैन ।  नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले उद्योग, व्यवसाय दर्ता स्थानीय तह केन्द्रसम्म गरिने र नागरिकसँग राष्ट्रिय परिचय पत्र मागिदाँ जनता आजित भएको बताए ।  उनले भने, ‘पहिला सरकारले नागरिकलाई विश्वास गर्ने वातावरण बनाउनुपर्नेछ ।  नेपालमै गर्नसक्ने धेरै मान्छे छन्, तिनिहरुलाई राज्यले विश्वास नै गर्न सकेन । अहिले राज्यका धेरै निकायले नागरिकको बायोमेट्रिक राख्ने गरेका छन । ती डेटाको सुरक्षण कहाँ कसरी भइरहेको छ, कसले गर्छ जनताले केही बुझ्न सकिरहेका छैनन् ।’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले १३ खर्बको लगानी, करिव १७ लाख श्रमिक, ४० लाख घरपरिवारलाई सेवादिइरहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बेला आएको बताए । उनले सिन्डिकेटका नाममा यो क्षेत्रलाई विगतमा पछि पार्ने काम भएको बताए ।  यातायात क्षेत्रमा भएको दोहोरो कर प्रणाली हटाउनुपर्नेमा उनले जोड दिए ।