दाङमा राजस्व संकलन वृद्धि
दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २५ करोड ८२ लाख ८१ हजार रुपैयाँ बढी अर्थात २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको राजस्व कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिए । चालु आवको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको उनको भनाइ छ । कार्यालयले चालु आर्थिक वर्षमा एक अर्ब ७२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आन्तरिक राजस्व कार्यालय दाङको कार्यक्षेत्र दाङसहित रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र प्युठान जिल्ला रहेको छ । सल्यानमा करदाता सेवा कार्यालयसमेत रहेको छ । जसले रुकुम पूर्वी भाग र रुकुम पश्चिममा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै चकचकेमा रहेको करदाता सेवा कार्यालयले प्युठान जिल्लामा सेवा प्रवाह गरिरहेको छ । तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ । पटक–पटक छुटको अफर आउँदा पनि कर तिर्न नआउने गरेको प्रमुख टन्डनले बताए । उनका अनुसार फागुन मसान्तसम्म शूल्क, ब्याज र जरिवाना छुट गरिएको थियो । आयकर ऐन, बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा आय विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।
भन्सारसम्बन्धी विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔं : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताएका छन् । मंगलबारको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने र अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई अगाडि बढाइरको भन्दै खुसी व्यक्त गरे । अर्थमन्त्री पौडेलले भने,‘हामीलाई दुईवटा चिजसँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता छ । छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुसी व्यक्त गर्न चाहन्छु ।’ समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै ग्रहका लागि भिन्नै नियम बनाइरहेका छौं भन्नेगरी सोच्न नहुने बताए । उनले बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने बताए । अर्थ समितिमा केही दिनयता भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।
ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेलेको टिप्पणी गरे । उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलार्य सहयोग गरेको बताए । सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारेका बताए । ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ । अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन गरिएको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्, ’ उनले भने । अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताए । उनले सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गरे । अध्यक्ष दाहालले भने, ‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ । यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरु सहभागी भएर समीक्षा गरौँ । जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए । ’ अध्यक्ष दाहालले उत्पीडित वर्ग समुदायमा चेतना बिस्तार भइरहेको बताए ।
एथर स्कूटरको टेस्ट राइड जोन सुरु, २० हजार रुपैयाँसम्म क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर
काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गरेको छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आएको हो । वैद्य इनर्जी प्रालिले टेस्ट राइड जोनको उद्घाटन परम्परागत बौद्ध पूजासहित गरेको हो । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । सुरुका ५० ग्राहकलाई मात्र यो अफर प्राप्त हुनेछ । एथर ४५० सिरिजका स्कूटरहरूको टेस्ट राइड गर्न पाउने वैद्य इनर्जी प्रालिले जनाएकाे छ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।
पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी । काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरु गर्न लागेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल सुरु गरेको जानकारी दिए । उनले भूमिसम्बन्धी अध्यादेश भूमिसम्बन्धी समस्याहरू समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमिसम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताए । भूमि व्यवस्था समस्या आयोगले आफ्ना काम सुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए ।
होन्डा र सुजुकीले टेस्लाको सीओटू उत्सर्जन पूलमा सहभागी हुने
काठमाडौं । होन्डा र सुजुकीले २०२५ मा अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लासँग सीओटू उत्सर्जन पूल (कार्बन उत्सर्जन सञ्चय) साझा गर्ने भएका छन् । यसले उनीहरूको कुल उत्सर्जनलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ । यसले युरोपेली संघका नियमहरूको पालना गर्ने सजिलो बनाउँछ । यसमा स्टेलान्टिस, टोयोटा, फोर्ड, माज्दा र सुबारु पनि सामेल छन् । यदि युरोपेली संघका २०२५ का मध्यकालीन कार्बन कटौती लक्ष्यहरू वा तथाकथित सीएएफई मापदण्डहरू पूरा नगरेमा अटोमोटिभ निर्माताहरूलाई मिलियन युरोको जरिवाना तिर्नु पर्न सक्छ । कुनै एक कम्पनीले व्यक्तिगत रूपमा आफ्ना उत्सर्जन कटौती लक्ष्यलाई पुरा गर्न नसकेको खण्डमा पूलमा सामेल अन्य कम्पनीहरूको उत्सर्जनसँग मिलाएर कुल उत्सर्जन लक्ष पुरा गर्न सकिन्छ । पूलमा सामेल भएका कम्पनीहरूले आफ्नो उत्सर्जनका डेटा साझा गर्छन् । यसले तिनीहरूलाई कूल उत्सर्जन स्तरमा सन्तुलन बनाउन अनुमति दिन्छ । युरोपेली संघले कार्बन उत्सर्जनको स्तर घटाउनका लागि कडा मापदण्डहरू बनाएको छ । यदि कम्पनीहरूले आफ्नो उत्सर्जन स्तर घटाउन सक्दैनन् भने तिनीहरूले यो पूल प्रयोग गरेर नियमको पालना गर्न सक्छन् । यदि कुनै कम्पनीले निर्धारित उत्सर्जन कटौती लक्ष्य पूरा गर्न सकेन भने यो पूल प्रणाली प्रयोग गरेर यसले आफ्नो उत्सर्जन कटौती लक्ष्य पूरा गर्ने प्रयास गर्न सक्छ, अन्यथा ठूलो रकमको दण्ड लाग्न सक्छ ।
सेयर बजार घट्दो क्रममा, कारोबार रकम ४ अर्बमा झर्यो
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको छ । आज ८६ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१३ कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रपैयाँको कारोबार भएको छ । साथै घलेम्दी हाइड्रोको २२ करोड, नेपाल रिइन्स्योरेन्सको १८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १६ करोड र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । सो सेक्टर ०.११ प्रतिशत बढेकाे छ । घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेकाे छ ।
२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।