उद्योगमा लोडसेडिङ हुन थालेपछि रिसाए उद्योगी, कुलमानलाई कटाक्ष गरेर सरकारको माग्यो साथ
काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । परिसंघले विज्ञप्ति जारी गर्दै उद्योगहरूमा लोडसेडिङ गरिएकोमा आपत्ति जनाएको हो । विज्ञप्तिमा केही समय अगाडि पनि लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गर्दा उद्योगमा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको र अहिले पुनः लोडसेडिङ गराउँदा उद्योगलाई प्रताडित पार्ने काम प्राधिकरणले गरेको उल्लेख छ । यस्ता खालका गतिविधिले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघले जनाएको छ । सरकारले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरुमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन भन्दै परिसंघले प्रश्नसमेत गरेको छ । उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघले सरकार एवं सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
बढ्दैछ सुनको अस्वाभाविक माग, कसले ल्यायो ६०१ क्विन्टल ?
काठमाडौं । विगतमा सुस्त माग रहेको सुन पछिल्लो केही महिनायता भने अस्वाभाविक बढिरहेको छ । विगतमा बजारमा सुनको माग भएन भनेर गुनासो गर्ने व्यवसायीहरुलाई पछिल्लो समय सुनको कारोबार गर्न भ्याइनभ्याई रहेको तथ्यांकले प्रष्ट्याउँछ । फागुन महिनासम्म नेपालमा कुल १ हजार १८८ किलो सुन भित्रिएको तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार फागुनसम्म कुल १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८८ हजार ८ सय ९२ ग्राम अर्थात एक हजार १ सय ८८ किलो सुन नेपाल भित्रिएको छ । जुन गत माघको तुलनामा ३०१ किलो बढी हो । फागुनमा १४ अर्ब बढीको सुन आयातबाट सरकारले १ अर्ब ५८ करोड १० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत माघमा कुल १० अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँबराबरको ८ लाख ८७ हजार ३ सय २८ ग्राम हर्थात् ८ सय ८७ किलो सुन नेपाल आयात भएको थियो । यो बापत् सरकारले कुल १ अर्ब १८ करोड ९४ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यो एक महिनाको अवधिमा सुन ३०१ केजीले बढेको छ । दुई महिनाको अवधिमा कुल ६०१ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत पुस महिनासम्म भने कुल ५८७ केजी सुन आयात भएको थियो । पुस मसान्तसम्म कुल ६ अर्ब ७१ करोड ६लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । गत आवको असार मसान्तसम्म भने कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको २ हजार ६५१ केजी सुन आयात भएको थियो । त्यसबापत सरकारले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा सुनको आयात कम नै भए पनि चालु आवको अघिल्ला महिनाको तुलनामा फागुनमा सुनको आयात राम्रो भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि आयात बढेको व्यवसायीहरू बताउँछन् । सरकारले बजेटमार्फत् सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पु¥याएपछि माग नै नभएर बैंकले आयात कम गरेका थिए । तर, अहिले १० प्रतिशत भन्सारदर कायम भएपछि मागसँगै आयात पनि बढेको हो । नेपालमा वाणिज्य बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री गर्दै आएका छन् ।
नेपालीले प्रयोग गरे २२ अर्बको स्मार्टफोन, १३ प्रतिशतले बढ्यो आयात
काठमाडौं । नेपालीले ८ महिनामा करिब २२ अर्ब रुपैयाँ बढीको स्मार्टफोन प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०८१ /८२ को ८ महिनामा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालु आवको फागुन मसान्तसम्म १४ लाख ७ लाख वटा स्मार्टफोन आयात हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बढी राजस्व उठेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ । उक्त अवधिमा १२ लाख ४९ लाख वटा स्मार्टफोन आयात भएको छ । गत वर्षको तुलना अवधिमा स्मार्टफोनको आयात २ अर्ब ५४ करोड रुपैयाँ बढीले बढेको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा १३ प्रतिशतले आयात बढेको छ । नेपालमा यो वर्ष ५८ वटा देशहरूबाट स्मार्टफोन आयात भएको विभागले जनाएको छ । धेरैजसो भारत, चीन, अस्ट्रेलिया, कुबेत, कतार, जापान र अमेरिका जस्ता देशहरूबाट आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट १५ अर्ब ९ करोड रुपैयाँ बढीको आयात भएको छ । यस्तै भारतबाट ६ अर्ब ३९ करोड र जापानबाट ६ करोड रुपैयाँ बढीको आयात भएको छ ।
घोषित-अघोषित लोडसेडिङप्रति महासंघको गम्भीर आपत्ति, तत्काल कदम चाल्न सरकारसँग आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पु¥याइरहेको जनाएको छ । नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पु¥याइरहेको विज्ञप्तिमा उल्लेख छ । जसका कारण उत्पादनमा भारी गिरावट आएको छ । महासंघका अनुसार बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पु¥याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेकाले यस्ता खालका क्रियाकलापले दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको छ । महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रहसमेत गरेको छ । साथै महासंघले दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह पनि गरेको छ ।
५१ देखि १०० किलोवाटका ईभीले बजार जमाउँदै, राष्ट्र बैंकको नीतिले पारेन प्रभाव
काठमाडौं । नेपाली अटो बजारमा ५१ देखि १०० किलोवाटका विद्युतीय सवारी साधन (ईभी)ले बजार तताएको देखिएको छ । उपभोक्ताको माग बढ्दा व्यवसायीले पनि ५१ देखि १०० किलोवाटका विद्युतीय गाडीको आयात बढाउन थालेका हुन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा साढे १७ अर्बको विद्युतीय सवारी साधन नेपालमा भित्रिएका छन् । विभागका अनुसार त्यसमा सबैभन्दा बढी हिस्सा ५१ देखि १०० किलोवाटका विद्युतीय सवारीको छ । ८ महिनाको अवधिमा कुल ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँबराबरका ३ हजार ८ सय ७९ वटा ५१ देखि १०० किलोवाटका विद्युतीय सवारी साधन नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ७४ करोड रुपैयाँबराबरका तीन पाँग्रे विद्युतीय सवारी, ४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँबराबरका ५० किलोवाटका सवारी साधन र २ अर्ब २८ करोड ९४ लाख रुपैयाँबराबरका १०१ देखि २०० सम्म किलोवाटका विद्युतीय सवारी भित्रिएको तथ्यांकमा उल्लेख छ । यस्तै, ९ करोड ८९ लाख रुपैयाँबराबरको मोटरसहितका विद्युतीय जीप र ६४ लाख रुपैयाँबराबरको एसेम्बल नगरिएका कार, जीप तथा भ्यान आयात भएको तथ्यांकमा उल्लेख छ । गत माघको तुलनामा फागुनमा विद्युतीय सवारी साधनको आयत १०.२१ प्रतिशतले बढेको छ । गत माघसम्म कुल १५ अर्ब ७८ करोड रुपैयाँको विद्युतीय सवारी साधन भित्रिएका थिए । माघसम्म कुल ८ अर्ब ७० करोड रुपैयाँबराबरका ३ हजार ४ सय ९१ वटा ५१ देखि १०० किलोवाटका विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए । यो एक महिनाको अवधिमा ३८८ वटा ५१ देखि १०० किलोवाटका गाडीको संख्ष बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै विद्युतीय गाडीमा केही कडाइ गरेको थियो । तर, त्यसको असर नपरेको तथ्यांकले देखाउँछ ।
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतिबाट निर्वाचित भएका छन् । बिहीबार पोखरामा सम्पन्न एशोसियसनको १९ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो। साथै संघको उपाध्यक्षमा दिनेश थकाली (कामना सेवा बिकास बैंक), सचिवमा माधवप्रसाद उपाध्याय (गरिमा बिकास बैंक), कोषाध्यक्षमा कपिल ढकाल (ज्योति विकास बैंक) चयन भएका छन् । साथै, संघको सदस्यहरूमा नरेशसिंह बोहरा (लुम्बिनी विकास बैंक), प्रकाश पौडेल (साइन रेसुंगा डेभलपमेण्ट बैंक), दिपेश लम्साल (महालक्ष्मी बिकास बैंक), हरिबहादुर बुढाथोकी (ग्रीन डेभलपमेण्ट बैंक) र दिनेश पोखरेल (सप्तकोशी डेभलपमेण्ट बैंक) चयन भएका छन् । यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०८१/८२ को अनुमानित आय व्यव र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबै सदस्य बैंकहरूको सहयोगबाट विकास बैंकको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।
८ महिनामा भित्रियो ६२ अर्बको सवारीसाधन, ईभीमात्र साढे १६ अर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नेपालमा ६२ अर्बभन्दा बढीको सवारीसाधन भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार सरकारले यी सवारीसाधन आयातबाट मात्रै ४८ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन गरेको छ । ६२ अर्बमध्ये २ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्याक्टर भित्रिएको छ भने ६ अर्ब ९ करोड रुपैयाँ बराबरको मिनीबस, कार, जिप भ्यान, ५ अर्ब ९४ करोड बराबरको अन्य सवारीसाधन र १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक सवारीसाधन (ईभी) स्वदेश भित्रिएका हुन् । यसैगरी, ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारीसाधन, ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको पार्टपुर्जा, १६ अर्ब ११ करोड रुपैयाँ बराबरका मोटरसाइकल, १ अर्ब २२ करोडको साइकल तथा २ अर्ब ९० करोड बराबरको अन्य गुडाउने खालका वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ। यो अवधिमा सरकारले ट्याक्टर आयातबाट २६ करोड ६७ लाख रुपैयाँ, बस मिनिबस, कार जिप भ्यान लगायतमा २ अर्ब २३ करोड, अन्य सवारीसाधन ११ अर्ब ३६ करोड, ईभीमा १० अर्ब २२ करोड, ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधनमा ३ अर्ब ७६ करोड, पार्टपुर्जा आयातमा २ अर्ब ९५ करोड, मोटरसाइकलमा १६ अर्ब १ करोड, साइकलमा २४ करोड ३० लाख र अन्य गुडाउने खालका वस्तुबाट ९८ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । आठ महिनाको अवधिमा कुल ७ हजार ८९ वटा इलेक्ट्रिक सवारीसाधन आयात भएका छन् । जसमध्ये एसेम्बल नगरिएका ५० किलोवाटसम्मका सवारीसाधन ९ वटा, ५० किलोवाटसम्मका सवारीसाधन २ हजार ५३१, ५१ देखि १०० किलोवाटसम्मको सवारीसाधन ३ हजार ८७९, १०१ तथा २०० किलोवाटसम्मका ६५४, २०१ देखि ३०० किलोवाटसम्मको १४ वटा र त्योभन्दा बढी क्षमताका २ वटा सवारीसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।
सिद्धार्थ नगरपालिकासहित ६ नगरपालिका उत्कृष्ट घोषित
काठमाडौं । विभिन्न ६ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएका छन् । नगरपालिका संघको ३२ औं स्थापना दिवसका अवसरमा विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थ नगरपालिका, मध्यपुर थिमी नगरपलिका, कलैया उपमहानगर पालिका, थाकुर बाबा नगरपालिका, गैंडाकोट नगरपालिका र घोडाघोडी नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।