बझाङको खप्तडछान्ना गाउँपालिकाका पूर्वअध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार तत्कालीन अध्यक्ष रोकायासहित, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट जनक थापा मगर, लेखापाल मदनराज जोशी, र उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूले आर्थिक वर्ष २०७६/७७ मा सिम्लका घट्ट सिंचाई कुलो निर्माणका लागि बजेट विनियोजन गरी काम सम्पन्न गरेको देखाइ आर्थिक वर्ष २०७७/७८ मा कुनै काम नगरी रकम भुक्तानी लिएको अख्तियारले जनाएको छ । अनियमितता प्रमाणित भएपछि उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
‘टेस्ला’लाई पछि पार्दै वार्षिक बिक्रीमा ‘सय अर्ब डलर’भन्दा बढी कमाउँदै ‘बीवाईडी’
काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले सन् २०२४ मा ७७७ अर्ब युआन (१०७ अर्ब डलर) को वार्षिक आम्दानी रिपोर्ट गरेको छ । यसले अमेरिकी प्रतिद्वन्द्वी टेस्लालाई पछि पार्दै प्रतिस्पर्धा अझ तीव्र बनाएको छ । सोमबार प्रकाशित फाइलिङअनुसार बीवाईडीले अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत आम्दानी वृद्धि गरेको छ । जुन वृद्धि कम्पनीको हाइब्रिड गाडीको उच्च बिक्री हो । यो संख्या टेस्लाको ९७.७ अर्ब वार्षिक आम्दानीभन्दा बढी छ । बीवाईडीका अध्यक्ष तथा अध्यक्ष वाङ चुआनफु ले सन् २०२४ को तीव्र विकासको प्रशंसा गर्दै भने, ‘बीवाईडी संसारको पहिलो अटोमेकर बन्यो जसले १० मिलियन नयाँ ऊर्जा गाडी उत्पादन गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्यो ।’ ‘बीवाईडीले ब्याट्री, इलेक्ट्रोनिक्सदेखि नयाँ ऊर्जा गाडीहरूसम्म प्रत्येक क्षेत्रमा नेतृत्व गर्दै विदेशी ब्रान्डहरूको प्रभुत्व तोडेको छ र विश्व बजारको नयाँ परिदृश्य पुनःपरिभाषित गरेको छ,’ उनले थपे । यो फाइलिङ बीवाईडीले नयाँ ब्याट्री प्रविधि घोषणा गरेपछि आएको हो, जसले ईभी गाडीहरूलाई पेट्रोल गाडी जति छिटो चार्ज गर्न सक्ने दाबी गरेको छ । गत हप्ता बीवाईडीले नयाँ ‘सुपर ई-प्लेटफर्म’ सार्वजनिक गर्दै मात्र पाँच मिनेटको चार्जमा ४०० किलोमिटर (लगभग २४९ माइल) दूरी गुड्न सक्षम हुने बताएको थियो। विश्लेषकहरूले बीवाईडीको नयाँ ब्याट्री प्रविधि ’अविश्वसनीय’ भन्दै ईभी मालिकहरूको व्यवहारमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सुझाव दिएका छन् । बीवाईडीको हङकङ सूचीबद्ध सेयर यो वर्ष हालसम्म ४६ प्रतिशतले बढेको छ । त्यसैगरी, टेस्लाको सेयर भने ३१ प्रतिशतभन्दा बढीले घटेको छ, जसको कारण विश्वभर उपभोक्ताको असन्तुष्टि, बिक्रीमा गिरावट र एलन मस्कको कठोर रूढीवादी राजनीतिक छवि रहेको बताइन्छ । ट्रम्पको ट्यारिफ असर : क्यानडामा टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का बीवाईडीले ल्यायो सुपर चार्जिङ ईभी प्रविधि, ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा युरोपमा तेस्रो प्लान्ट बनाउनेबारे विचार गर्दै बीवाईडी मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
३९ अंकले बढ्यो सेयर बजार, २३१ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ । आज २३१ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । बुधबार ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ३१ करोड, गार्डियन माइक्रोलाइफको २२ करोड, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड र युनाइटेड मोदी हाइड्रोको १० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशतले बढेकाे छ । बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशतले बढेकाे छ ।
प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ देखि सुरु, आर्थिक सम्बन्ध थप प्रगाढ बढाउने अपेक्षा
काठमाडौं । आगामी साता नेपालका प्रधानमन्त्रीको औपचारिक रुपमा पहिलोपटक थाइल्याण्ड भ्रमण हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० को छैटौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने कार्यक्रम तय भएको हो । यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौं पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्याण्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए । यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरू प्रारम्भ गरेको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यपारिक सम्बन्धले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङ्डम अफ थाइल्यान्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ । यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डीङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारीपत्र स्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मङ्गलबार उनीसँग शिष्टाचार भेट गरेका थिए । सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । दुुई मुलुकबीचको संस्कृति र जनता–जनताको सम्पर्क दुुई वर्ष वर्षभन्दा बढी पुरानो मानिन्छ । नेपाल र थाइल्याण्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् । राजा जनक दुई मुलुकको संस्कृतिको एक पुल मानिन्छन् । नेपाल र थाइल्याण्डले संस्कृति, पर्यटन, व्यापार, लगानी, कृषि, मानव संसाधन विकासलगायत साझा हितका विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको सहयोगका साथ बहुआयामिक सम्बन्धका क्षेत्रमा काम गर्दै आएका छन् । उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सही दिशामा आकार दिन र मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दुई देशबीच फराकिलो र गहिरो सहयोगका लागि प्रचुर सम्भावना रहेका छन् । क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि बिमस्टेक प्रक्रियालाई बढावा दिने नेपालको प्रतिबद्धता व्यक्त हुँदै आएको सन्दर्भमा बिमस्टेकको सफलता यस क्षेत्र र बाहिरका सबै सदस्य राष्ट्रको हितमा हुने ठानिएको छ । छैटौं शिखर सम्मेलनको आयोज राष्ट्र हुनुका नाताले बिमस्टेक प्रक्रियालाई सफलतापूर्वक सञ्चालन गर्न थाइल्याण्डको नेतृत्वदायी भूमिका रहनेछ भने बिमस्टेक शिखर सम्मेलनको आयोजक राष्ट्रमा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुनु कूटनीतिक महत्वको विषय रहनेछ ।
नविल बैंकमा नेतृत्व परिवर्तन, सेयर बजारमा शून्य प्रभाव
काठमाडौं । नबिल बैंकको उच्च नेतृत्व परिवर्तन हुँदा यस कम्पनीको सेयर मूल्यमा शून्य प्रभाव परेको छ । सेयर बजार खुल्नुअघि नै बैंकको मूल नेतृत्व परिवर्तन भएको सूचना बैंकले सार्वजनिक गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा स्वीकृत भएको बैंकले औपचारिक रूपमा जनाएको छ । साथै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका छन् । नबिल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दुई जना कार्यरत थिए, मनोज ज्ञवाली र सुजित शाक्य । बैंकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । बुधबार नविल बैंकको सेयर प्रतिकित्ता ४७७ देखि ४८५ रुपैयाँसम्ममा कारोबार भएको छ । कारोबार बन्द हुन्दा प्रतिकित्ता ४८१ रुपैयाँ मूल्य कायम भएको छ । मंगलबारको तुलनामा यो मूल्य ८७ पैसाले बढी हो । बुधबार नेप्से परिसूचक भने ४०.४७ अंकले बढेर २६२३ भएको छ । यस वर्ष नविलको सेयर मूल्य प्रतिकित्ता ७०० सम्ममा कारोबार भएको छ । न्यूनतम मूल्य भने ४१९ रुपैयाँसम्म झरेको थियो । यतिबेला सेयर किन्नेका लागि नविल कम जोखिमयुक्त र बढी लाभदायक हुने जानकारहरु बनाउँछन् ।
कुलमानको समर्थनमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन (फोटोफिचर)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गरिएको छ । महिला र पुरुषहरूको समूहले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि जम्मा भएर सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घिसिङको समर्थनमा नारा लगाउँदै सरकारको निर्णयको खण्डन गरेका छन् । सरकारले घिसिङको काम सन्तोषजनक नभएको भन्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ । प्रदर्शनकारीहरूले घिसिङको बर्खास्ती निर्णयको विरोध गर्दै उक्त निर्णय पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार घिसिङको नेतृत्वमा प्राधिकरणले राम्रो काम गरेको थियो र उनलाई हटाउनु न्यायसंगत छैन । यस विरोध प्रदर्शनको क्रममा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।
प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने
काठमाडौं । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक बस्ने समय परिवर्तन भएको सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए ।
एनआईसी एशिया बैंकले मनायो ग्लोबल मनी विक, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित
काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियानअन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रम सञ्चालन गरेका थिए । जसबाट ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भए । विशेषगरी, वित्तीय साक्षरताको पहुँच न्यून रहेका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलालगायतका जिल्लाहरूमा समेत वित्तीय शिक्षाका कार्यक्रम सञ्चालन गरिएका थिए । यस अभियानलाई थप प्रभावकारी बनाउन बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू पनि निर्माण तथा प्रकाशन गरेको छ । बैंकले यी कार्यक्रममार्फत बालबालिका, विद्यार्थी तथा युवालाई वित्तीय ज्ञान, सीप र जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिएको छ ।