ललितपुर महानगरले ३९ करोड वित्तीय समानीकरण अनुदान पाउँदा अन्य पालिकाले कति पाए ?
काठमाडौं । ललिपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ७२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ललितपुर महानगरलाई ३९ करोड ७२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान दिन प्रस्ताव गरेको हो । आयोगले ललितपुर महानगरलाई ७ करोड ७५ लाख रुपैयाँ न्यूनतम, ३१ करोड ३४ लाख रुपैयाँ शूत्रमा आधारित र ६३ लाख रुपैयाँ कार्यसम्पादनमा आधारित अनुदान दिने प्रस्ताव गरेको हो । ललितपुरकै गोदावरी नगरपालिकाले १८ करोड ९० लाख रुपैयाँ अनुदान पाउने भएको छ । यता महालक्ष्मी नगरपालिकाले १७ करोड ८८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । त्यस्तै, बागमती गाउँपालिकाले ७ करोड ७८ लाख रुपैयाँ , कोञ्ज्योसोम गाउँपालिकाले ७ करोड १४ लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएका छन् । महांकाल गाउँपालिकाले सबैभन्दा कम ६ करोड ८७ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको अफर : २० रुपैयाँमै नयाँ सिमकार्ड !
काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ ल्याएको छ । यस योजनाअन्तर्गत, एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरूले मात्र २० रुपैयाँमा नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन् । पहिले नै टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरूले पनि यही अफर उपभोग गर्न सक्ने कम्पनीले जनाएकाे छ । उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरिका कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन ब्यालेन्सका रूपमा उपलब्ध हुने ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् ।यस अतिरिक्त ३० दिनसम्मका लागि प्रतिदिन टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटासमेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहने टेलिकमको भनाइ छ । नयाँ सिम पाउन विद्यार्थीले एसईईको प्रवेश पत्र, कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो, आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचयपत्रको फोटोकपी लगायत सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा त्यसभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्न पनि टेलिकमले जानकारी गराएको छ । यस अफर २०८१ चैत १५ देखि २०८२ असार ३० सम्म मात्र उपलब्ध हुनेछ । नेपाल टेलिकमले विद्यार्थीहरूलाई डिजिटल युगमा सशक्त बनाउन र टेलिकम सेवाको पहुँच वृद्धि गर्न यो विशेष योजना ल्याएको हो ।
यूरोपमा बिक्री घटेपछि नयाँ बजार खोज्दै टेस्ला, साउदी अरेबियामा बिक्री सुरु गर्ने
काठमाडौं । टेस्लाले अर्को महिनादेखि साउदी अरेबियामा बिक्री सुरु गर्ने भएको छ । उक्त जानकारी विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । यसले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र राज्यबीच २०१८ मा कम्पनीलाई निजी बनाउन मस्कले छोटो समयका लागि गरेको प्रयासपछि उत्पन्न विवाद अब समाधान भएको संकेत गर्छ । टेस्लाले अन्य मध्यपूर्वी देशहरूमा कारोबार गर्छ, तर खाडी क्षेत्रको सबैभन्दा ठूलो बजार साउदी अरेबियामा अहिलेसम्म प्रवेश गरेको थिएन । विवाद त्यतिबेला सुरु भएको थियो जब मस्कले २०१८ मा साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) सँगको भेटपछि टेस्लालाई निजी बनाउनको लागि ‘आर्थिक सहायता सुनिश्चित भएको छ’ भनेर ट्वीट गरेका थिए । त्यो ट्वीटले लगानीकर्ताहरूबाट मुद्दा सामना गर्नुपर्यो किनकि उक्त प्रस्ताव कहिल्यै कार्यान्वयन भएन । मुद्दाको दौरान मस्क र पीआईएफ प्रमुख यासिर अल-रुमय्यान बीचको तनावपूर्ण पाठ सन्देशहरू सार्वजनिक भएका थिए। मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान र नयाँ प्रशासनमा महत्त्वपूर्ण भूमिका निभाएसँगै अहिले तनाव कम हुँदै गएको छ । यस महिनामा ट्रम्पले भनेका थिए कि उनी आफ्नो पहिलो विदेश यात्रा सम्भवतः साउदी अरेबियामा गर्नेछन् किनकि उनले जनवरीमा राज्यलाई चार वर्षमा अमेरिकी अर्थतन्त्रमा १ ट्रिलियन डलरभन्दा बढी खर्च गर्न आग्रह गरेका थिए, जसमा सैन्य खरिदहरू पनि समावेश छन् । टेस्लाको रियादमा अप्रिल १० मा हुने प्रक्षेपण कार्यक्रममा यसको विद्युतीय गाडीहरू र सौर्य ऊर्जाबाट सञ्चालित उत्पादनहरू प्रदर्शन गरिने जनाइएको छ । ‘साइबरक्याबसँग स्वचालित ड्राइभिङको भविष्य अनुभव गर्नुहोस् र हाम्रो ह्युमनोइड रोबोट अप्टिमसलाई भेट्नुहोस्, जब हामी एआई र रोबोटिक्समा आउने नयाँ कुरा प्रदर्शन गर्छौं,’ पोष्टमा थपिएको छ तर ती उत्पादनहरू कहिले बिक्रीमा आउने भन्ने बारेमा उल्लेख गरिएको छैन । टेस्लाको सुरुवात त्यतिबेला हुन लागेको छ जब टेस्लाले युरोपमा ईभी बिक्री घटिरहेको देखेको छ । यसको कारण मस्कको अतिवादी दक्षिणपन्थी राजनीतिज्ञहरूलाई समर्थन गरेको मानिएको छ र अमेरिकी प्रदर्शनकारीहरूले संघीय सरकारमा उनले गरेका ठूलो कटौतीहरूका कारण ‘टेस्ला टेकडाउन’ नामक प्रदर्शनहरू गरेका छन् । पीडब्ल्यूसी परामर्शदाता फर्मको २०२४ को रिपोर्ट अनुसार साउदी अरेबियामा विद्युतीय गाडीहरूको बिक्री सुस्त छ । ती सवारीहरू कुल कार बिक्रीको केवल १ प्रतिशत छन् । मस्कसँग सार्वजनिक झगडा भएको एक महिना पछि पीआईएफले लुसिडमा १ अर्ब डलरभन्दा बढी लगानी गरेको घोषणा गरेको थियो । जसले टेस्लालाई चुनौती दिने लक्ष्य राखेको ईभी स्टार्टअपमा आफूलाई प्रमुख लगानीकर्ता बनायो । ९२७ अर्बको पीआईएफले हालसम्म सुरुवात नभएको घरेलु ईभी ब्रान्ड कीरमा पनि लगानी गरेको छ । यद्यपि साउदीका सडकहरूमा अझै पनि ठूला इन्धन खपत गर्ने गाडीहरू प्रचलनमा छन्, जहाँ इन्धन सस्तो, ईभी चार्जिङ संरचना दुर्लभ र मरुभूमि बाटो विद्युतीय गाडीमा पार गर्नु लगभगजस्तो असम्भव बनाउँछ । सम्बन्धमा सुधारको पहिलो संकेतहरूमध्ये एक मस्क नोभेम्बरमा न्यूयोर्कमा भएको यूएफसी मिक्स्ड मार्सल आट्र्स खेलमा रुमय्यान र ट्रम्पसँगै देखिनु थियो । केही हप्ताअघि मस्कले रियादको भविष्य लगानी पहल सम्मेलनमा भिडियो लिंकमार्फत अनपेक्षित रूपमा उपस्थिति जनाएका थिए । सन् २०२३ मा अमेरिकी जूरीले मस्कलाई लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोपमा दोषी ठहर गरेको थिएन । मस्कले अदालतमा बताएअनुसार पीआईएफले नै टेस्लालाई निजी बनाउन चाहेको थियो र उक्त मुद्दाको क्रममा मस्क र रुमय्यानबीच वादविवाद सार्वजनिक भएका थिए। युरोपमा टेस्लाको बिक्री यस वर्ष अहिलेसम्म ४२.६ प्रतिशतले घटेको छ जबकि ईभीको माग बढिरहेको छ । मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभागले हजारौं रोजगारी कटौती, विदेशी सहायता रोक्का र हजारौं कार्यक्रम तथा ठेक्काहरू रद्द गरेको भन्दै अमेरिकाभर कार्यकर्ताहरूले ‘टेस्ला टेकडाउन’ प्रदर्शनहरू गरेका छन् । ‘टेस्ला’लाई पछि पार्दै वार्षिक बिक्रीमा ‘सय अर्ब डलर’भन्दा बढी कमाउँदै ‘बीवाईडी’ ट्रम्पको ट्यारिफ असर : क्यानडामा टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का
विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन सिद्धार्थ बैंकले ग्लोबल मनी विकमा गर्यो विभिन्न कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ लाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । बैंकले डिजिटल कारोबार, बैंकिङ सेवा, वित्तीय सचेतना र सुरक्षा उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी गराएको छ । १,२१२ विद्यार्थीहरू प्रत्यक्ष रूपमा वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका छन् भने ४४८ विद्यार्थीहरू बैंकका विभिन्न शाखाहरूमा भ्रमण गरी व्यवहारिक बैंकिङ प्रशिक्षण लिएका छन् । सप्ताहव्यापी रूपमा सम्पन्न ३८ विभिन्न कार्यक्रमहरूमार्फत १,६६० विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले देशभरका व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय चेतना अभिवृद्धि गर्ने र आर्थिक सशक्तीकरण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस अभियानले वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यलाई सार्थक बनाउँदै ‘ग्लोबल मनी विक २०२५’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको बैंकको विश्वास छ ।
माछापुच्छ्रे बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले होटल बसाइ, खानपान तथा अन्य सेवाहरूमा छुट पाउने अवसर प्राप्त गर्नेछन् । माछापुच्छ्रे बैंकले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न तथा सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्य गर्दै आएको छ ।
सिंहदरबारबाट म निस्किनासाथ कुलमान हटाइयो, जालझेल भयो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूमाथि पुनः जालझेल भएको गुनासो गरेका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेकोमा दुःख व्यक्त गरे । उनका अनुसार संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी छलफल टुंगिएपछि आफू सिंहदरबारबाट बाहिरिएलगत्तै कुलमान हटाइएको थियो । ‘प्रधानमन्त्रीले आएर संसदमा स्पष्टीकरण नदिएसम्म सदन अघि बढ्दैन,’ दाहालले भने, ‘प्रधानमन्त्रीले सहज रूपमा लिनुपर्छ, चित्तबुझ्दो जवाफ आए संसद चल्छ, अन्यथा आन्दोलन अघि बढ्छ ।’ उनले भने, ‘जनताको समर्थन पाएका कुलमानलाई पुरस्कृत गर्नुपर्ने हो, तर उल्टै हटाइयो ।’ दाहालका अनुसार टीआरसीबारे छलफल सकेर आफू बाहिरिएपछि मन्त्रिपरिषद् बैठक बसेर कुलमान हटाउने निर्णय गरिनु ठूलो जालझेल भएको हो । ‘एक-दुई दिन पर्खिएको भए पनि हुन्थ्यो, तत्काल निर्णय गर्नुपर्ने बाध्यता थिएन,’ उनले थपे । उनले राप्रपाको ज्ञानेन्द्र शाही लगायतले टीआरसीसँग कुलमान साटियो भन्ने प्रचार गरेको प्रति पनि आपत्ति जनाए । अध्यक्ष दाहालले यो घटनाले आफूलाई फेरि ‘स्वर्ग र नर्क’ सम्झाएको बताए ।
भारतीय लगानीकर्तालाई कार्कीले भने- नेपाल विद्युतसँगै सौर्य ऊर्जाको पनि आकर्षक गन्तव्य हो
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल भारत ऊर्जा सम्मेलन (भारत-नेपाल ऊर्जा सम्मेलन) को अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताए । उनले २०५७ देखि मात्र विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए । नेपाल र भारतबीच हाल एक हजार मेगावाट विद्युत आदान प्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पुर्याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको, भारती कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौं मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए । नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाट भन्दा बढी रहेकोले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य हुन सक्ने उनले बताए । नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसी जस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको पनि उनले जानकारी गराएका थिए । नेपालको प्रचुर जलविद्युत उत्पादन सम्भावनालाई वास्तविकतामा परिणत गर्दै नेपाललाई क्षेत्रीय बजारमा बढीरहेको ऊर्जाको मागलाई परिपूर्ति गर्ने मुलुकको रुपमा विकास गर्न सकिने कार्कीको भनाइ थियो । इप्पान उपाध्यक्ष आनन्द चौधरीले प्रस्तुतीकरण दिँदै नेपालमा ३ हजार ५०० मेगावाट विद्युत उत्पादन भइरहेकोमा ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको, ४ हजार १०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्तामाझ रहेको बताए । उनले निजी तथा सरकारी स्वामित्वमा रहेका नेपालका ठूला र आकर्षक ३ दर्जन जलविद्युत आयोजनाहरूको बारेमा भारतीय लगानीकर्तालाई संक्षिप्त जानकारी पनि गराए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले धेरै कुरामा सहजीकरण गर्ने हुँदा ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे । अहिले विद्युत उत्पादनका लागि उपयुक्त नीति रहेको, नेपाल र भारतबीच ४०० केभीको एएटा प्रसारणलाइन सञ्चालनमा रहेको र थप २ वटा लाइन निर्माणाधिन रहेकोले विद्युत उत्पादन र आदान प्रदानका लागि पर्याप्त पूर्वाधार तयार रहेको उनले बताए । नेपालको जलविद्युत नीति लगानीकर्ताहरूको संरक्षणका लागि उपयुक्त र उत्कृष्ट रहेकोले नेपालमा लगानीका लागि सबै ठूला भारतीय लगानीकर्ताहरुलाई चटौतले आग्रह गरे । ’जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ भन्ने नारा सहित नेपाली राजदूतावास भारत र आईएफजीईको आयोजना तथा इप्पानको संस्थागत सहभागीतामा उक्त सम्मेलन सम्पन्न भएको छ ।
६ घण्टापछि सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए । के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो । प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।