विकासन्युज

प्रधानमन्त्रीले कुलमानको बर्खास्तीबारे जवाफ दिने, आइतबारबाट संसद अवरोध हट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने सहमति जुटेको छ । शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, सत्ता पक्ष र अन्य दलका प्रमुख सचेतकहरूबीच छलफलपछि प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने सहमति भएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रमुख प्रतिपक्ष दलहरूले सदन अवरुद्ध गर्दै आएका थिए । उनीहरूले प्रधानमन्त्री स्वयंले स्पष्टीकरण नदिएसम्म संसद चल्न नदिने अडान लिएका थिए । सत्तापक्षले सम्बन्धित मन्त्री वा उपप्रधानमन्त्रीमार्फत जवाफ दिने प्रस्ताव राखे पनि प्रतिपक्षले अस्वीकार गरेको थियो । बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले १८ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने र आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने जानकारी दिए । राष्ट्रिय सभामा दर्ता भएका पाँच वटा प्रतिस्थापन विधेयक १७ गतेसम्म पारित गर्नुपर्ने भए पनि प्रतिपक्षको अवरोधका कारण प्रक्रिया रोकिएको बर्तौलाले बताए । अब प्रधानमन्त्रीको सम्बोधनपछि संसदले नियमित कार्यसूची अघि बढाउने अपेक्षा गरिएको छ ।

राजावादीले खोसे सुरक्षाकर्मीको बन्दुक, कान्तिपुर टीभी र अन्नपूर्णमा पनि ढुङ्गामुढा, सशस्त्र प्रहरी घाइते

काठमाडौं । राजावादीको आन्दोलन थप हिंसात्मक बनेको छ । तीनकुनेमा घरमा आगजनी गर्ने, ढुङ्गामुढा गर्ने प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसेका छन् । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो । यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् ।

 आन्दोलनमा घाइते भएकाहरूको केएमसीले नि:शुल्क उपचार गर्ने 

काठमाडौं  । काठमाडौं मेडिकल कलेजले (केएमसी) आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने जनाएको छ । शुक्रबार काठमाडौंका विभिन्न स्थानमा आन्दोलनका क्रममा घाइते भएकाहरूको  नि:शुल्क उपचार गर्ने जनाएको हो । मेडिकल कलेजले एक विज्ञप्ति निकाल्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरूको नि:शुल्क उपचार गर्ने उल्लेख गरेको छ । तर उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामाग्री भने स्वयं व्यक्तिले प्रबन्ध गर्नुपर्ने अस्पतालले जनाएको छ । 

काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । गणतन्त्रको रक्षा र ‘बेथिति तथा प्रतिगमन’ विरुद्ध समाजवादी मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत स्थानबाट निस्किएका जुलुसहरू भृकुटीमण्डपमा पुगेपछि आमसभामा परिणत भएकाे छ । मोर्चाका नेताहरूले गणतन्त्र, समाजवाद र समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउँदै सरकारको आलोचना गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।  

राजावादीका नाइके ‘प्रसाईं’ विरुद्ध फेरि उजुरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । पन्तले उजुरीमा प्रसाईंले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाएका छन् । उजुरी आजै ब्युरोमा दर्ता भएको प्रहरीले जनाएको छ । यसअगाडि प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । वर्तमान व्यवस्थालाई चुनौती दिँदै आज राजावादीहरू प्रदर्शनमा उत्रिएका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ मेडिकल व्यवसायी प्रसाईं हुन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । यता गणतन्त्रवादीहरूले पनि प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

स्थिति तनावग्रस्त भएपछि तीनकुनेमा हवाई फायर

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएको छ । स्थिति तनावग्रस्त भएपछि तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ । राजावादीहरूले तीनकुनेको एक घरमा आगो लगाएका छन् । उक्त घरमा आगो निभाउन गएको दमकललाई प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजावादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । राजावादीहरूले तीनकुने क्षेत्रका तीनवटा निजी घरमा तोडफोड गरेका हुन् । जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।  

 ७.७ म्याग्निच्युडको भूकम्पपछि ३० तले भवन ढल्दा ४३ जना फसे 

काठमाडौं । म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आपत्कालीन अवस्था घोषणा  यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मामा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताए । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो । रासस

राजावादीले घरमै लगाए आगो, आन्दोलन हिंसात्मक

काठमाडौं । राजावादीहरूले तीनकुनेकाे एक घरमा आगो लगाएका छन् । घरमा ढुङ्गामुढा गरेर उनीहरूले आगो लगाएका हुन् । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजवादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।